
कांग्रेस केन्द्रीय सदस्य एवं सासद मोहनबहादुर बस्नेतले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने बताए। बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक विद्यालयको ८ कोठे भवन नयाँ भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले शैक्षिक क्षेत्रको विकास अपरिहार्य रहेको बताए। राज्यले शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै नि:शुल्क बनाउने बाटो तय गर्नुपर्ने उनको भनाइ थियो।
‘अहिले पनि धेरै विद्यार्थीहरूले राम्रोसँग अध्ययन गरेका छन् तर पैसाकै अभावका कारण पढ्न सक्ने अवस्था छैन। राज्यले शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै नि:शुल्क बनाउनुपर्छ,’ उनले भने।
विद्यालय भवन व्यावसायिक शंकर श्रेष्ठले बनाइदिएका हुन्। भवन निर्माणका लागि श्रेष्ठले १ करोड २० रकम सहयोग गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
भूकम्पपछि अस्थायी टहरोमा विद्यालय सञ्चालन हुँदै आएपछि श्रेष्ठले आर्थिक सहयोग साथै २ रोपनी ७ आना जग्गासमेत दान गरेको विद्यालयले जनाएको छ।
सांसद बस्नेतले फरक प्रसंगमा आत्मदाह गरेका स्वर्गीय प्रेम आचार्यको छोराछोरीलाई शिक्षा र परिवारलाई रोजगारको जिम्मेवारी आफूले लिएको बताए।