
लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको 'घरको शिक्षा' सार्वजनिक भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण समारोहबीच पुस्तक सार्वजनिक भएको हो।
न्यौपानेको यो नवौँ प्रकाशित कृति हो। पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो। कार्यक्रममा पुस्तकमा बाल मनोविज्ञानमा आधारित विषयवस्तु समावेश गरिएको जानकारी गराइएको थियो।
कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, पुस्तकका प्रमुख पात्र न्यौपानेका छोरा हार्दिकलगायतको सहभागिता थियो।
न्यौपानेका यसअघि एम्बुसमा ६ वर्ष, कर्मस सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप प्रकाशित भएका थिए।
कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै शिक्षाविद् कोइराला, शिक्षक महासंघका महासचिव सुवेदी, प्रधानाध्यापक भट्टराईलगायतले पुस्तक पठनीय र संग्रहनीय रहेको बताएका थिए।
कार्यक्रममा बोल्दै लेखक न्यौपानेले शिक्षा र सिकाइमा सुधार नै पहिलो आवश्यकता रहेकाले आफूले शिक्षा र सिकाइका सन्दर्भमा नवौँ पुस्तक तयार गरेको बताए। पुस्तकको कभर डिजाइनमा न्यौपानेका छोरा हार्दिकले कोरेको चित्रलाई प्रयोग गरिएको छ। पुस्तकको भाषा सम्पादन मीनराज वसन्तले गरेका हुन्।