मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १३ शुक्रबार १५:३०:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

शरीरका छर्रा निकाल्न बिदेसिएका ‘कमान्डर’ फर्किए बाकसमा

Read Time : > 1 मिनेट
२०७९ माघ १३ शुक्रबार १५:३०:००

पहिला जुम्ली रोजगारका लागि छिमेकी मुलुक भारत (इन्डिया) मात्रै जाने गरेका थिए। पछिल्लो समयमा रोजगारका लागि तेस्रो मुलुक कतार, साउदी, मलेसियातिर बढी जाने गरेका छन्। 

स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्छ भन्दै १० वर्ष जनयुद्धमा होमिएका तातोपानी गाउँपालिका– ३ लिताकोटका ४० वर्षीय तिलकबहादुर कार्की ०७८ पुस २८ गते रोजगारका लागि साउदी पुगेका हुन्।

वर्ष दिनको अन्तराल ०७९ पुस २८ गते सुतेकै अवस्थामा मृत भेटिए। उनी साउदीमा फलाम कारखानामा काम गर्दै आइरहेका थिए। मृत्यु भएको १५ दिनपछि उनको शव बिहीबार बिहान घर पुर्‍याइएको थियो। बुबा कल्चु कार्कीले मृत छोराको शव राखिएको बाकसको ताला खोल्दा परिवारमा रुवाबासी चल्यो। तिलकको बिहीबार नै दाहसंस्कार गरिएको छ।

धन कमाउले लक्ष्य बोकेर विदेश गएको छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी– ३  लिताकोटकी एकुमाया कार्की भावविह्वल  भइन्। पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनी बेहोस नै भइन्।

तिलककी श्रीमती लक्ष्मी श्रीमानकाे शव लिन काठमाडौं पुगिन्। भावविह्वल अवस्थामै उनी काठमाडौं पुगेर फर्किइन्। उनीसँगै काठमाडौं गएका नातेदार रामकृष्ण न्यौपाने भन्छन्, ‘कमाउने उमेरमा दैवले खोसेर लग्यो। परिवार बिचल्लीमा छ। यो सबै बेरोजगारीको उपज नै हो।’

तिलकले पुस २६ गते बेलुकीपख फोन गरेर आफू बिरामी भएर निको भइसकेको बताएका थिए। त्यो दिन उनले परिवारका सबै सदस्यसँग कुरा गरेका थिए। 

तिलकका आमाबुबा, श्रीमती, दुई छोरा र एक छोरी छन्। तिलकसँगै उनका जेठा बुबाको छोरा बखतबहादुर पनि सँगै साउदी गएका थिए। तिलकको मृत्यु भएपछि उनले नै घरमा जानकारी दिएका थिए। तिलक तत्कालीन नेकपा माओवादीको सेक्सन कमान्डरसमेत थिए।

०६१ मा भूमिगत भएका उनको घरनजिकै ०६२ सालमा नेपाली सेनासँगको भिडन्तमा शरीरमा छर्रा लाग्यो। तीनवटा छर्रा शरीरमै हुँदा पीडा खेपिरहेका उनी उपचारमा राहत मिल्ला भनेर बिदेसिएका थिए।

‘शरीरको छर्रा निकालौँला। छोराछोरीलाई लेखपढ गराउँला भनेर साउदी पुगेका थिए,’ आफन्त भक्तबहादुर रावल भन्छन्, ‘न परिवारमा खुसी मिल्यो न त शरीरको छर्रा नै निकाल्न पाए। झनै परिवार बिचल्लीमा छोडेर गए।’

तिलकले पटक–पटक शरीरको छर्रा निकाल्ने प्रयास गरे। तर, आर्थिक अभावका कारण सफल भएन। पटक–पटक उनी संलग्न माओवादी सरकारमा पुग्यो। तर, उनको समस्या सम्बोधन हुन सकेन। पटक–पटक पार्टी सरकारमा गयाे पनि र ‘जनमुक्ति सेना’कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन। परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसमा आए।

तिलकले महिनामा ३४ हजार नेपाली रुपैयाँ कमाउँथे। उनले मंसिरसम्मको तलब घर पठाए। लिताकोटका कार्कीटोलमा करिब ६० घर छन्। कार्कीटोलबाट करिब ६० कै हाराहारीमा खाडी पुगेका छन्। तिलकको मृत्युले जुम्लाको शान्त तिलाकोट गाउँ शोकमा डुबेको छ।

कार्कीको शव नेपाल ल्याउनका लागि जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङलगायतले सहयोग गरेका थिए। सांसद तामाङले मृतकका परिवारलाई सहयोग गर्न सरकारसँग आग्रहसमेत गरेकी छिन्।

वैदेशिक रोजगारमा गएका धेरै नेपाली नागरिकले दुःख पाउने गरेका छन्। वैदेशिक रोजगारका खाडी मुलुक कतार पुगेका चन्दननाथ नगरपालिका- ७ का तेजबहादुर रावल भन्छन्, ‘विदेशमा पैसा रूखमा फल्छ जस्तो गर्छन्। तर, त्यस्तो छैन। धेरै दुःख गर्नुपर्छ। स्वदेशमा रोजगार छैन। नेपाली रोजगारकै लागि बिदेसिनु बाध्यता छ।’
 
जिल्ला प्रशासन कार्यालय जुम्ला राहदानी फार्टका खरिदार नरबहादुर बुढाका अनुसार पासपाेर्ट बनाउनेको संख्या धेरै छ। धेरैजसो बैदेसिक रोजगारकै लागि पासपाेर्ट बनाउने गर्दछन्। 

इ–पासपाेर्ट जुम्लामा ०७८ चैत १६ गतेदेखि सुरु भएको हो। इ–पासपाेर्ट सुरु भएदेखि आठ सयजनाले लिएको तथ्यांक छ।