
जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मंगलबारदेखि भएको लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा बन्द भएको हो ।
बिहीबार बिहानदेखि हिमपात रोकिएको छ । यद्यपि, दुई दिन निरन्तर परेको हिउँका कारण हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । बिहीबारदेखि मौसम खुलेपछि भने धावनमार्गमा जमेको हिउँ फाल्न सुरु भएको छ ।
मौसम खुलेपछि नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सुरक्षाकर्मीले विमानस्थलमा जमेको हिउँ फालेर खुलाउने प्रयास गरिरहेका छन् । बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले धावनमार्गको हिउँ फाल्न सुरु गरेका छन् ।
नेपाली सेना २४ नम्बर बाहिनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।
तीन दिनदेखि हिउँ परेर नेपालगञ्जदेखि जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा छन् । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएर स्थलमार्ग बन्द भएपछि हवाई मार्गका चाप बढेको छ । करिब चारवटा जहाजका यात्रुहरू अहिले नेपालगञ्जमा थन्किएका छन् । प्राधिकरणका अनुसार आज चारवटा उडान भर्ने तयारी छ ।