१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ११ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सौन्दर्य प्रतियोगिता आयोजना गर्ने पाण्डे बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ११ बुधबार ०९:०६:००

जिल्ला अदालत काठमाडौंले मोडेल भिजाज कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डे भनिने मनोजकुमार जैसीलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६ महिना कैदका साथै पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उनीमाथिको मानव बेचबिखन अभियोगमा भने २३ माघमा सजाय निर्धारण गर्ने गरी पेसी तोकिएको अदालतले जनाएको छ । न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार यस्तो फैसला गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले गत १ असारमा १८ वर्षमुनिकी एक किशोरीमाथि आठ वर्षअघि बलात्कार गरेको दाबीसहित मुद्दा दर्ता गरेको थियो । पाण्डेउपर मानव बेचबिखन–ओसारपसारको मुद्दा पनि दर्ता भएको थियो । अभियुक्त पाण्डे हाल पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा दर्ता भएको सात महिनामै अदालतबाट फैसला आएको हो । जसमध्ये बालयौन दुराचारको अपराधमा पीडित युवतीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४ को दफा ८(२) मा कसुरदार ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने उल्लेख छ । 

सौन्दर्य प्रतियोगितामा भाग लिएकी १६ वर्षीया एक किशोरीलाई पाण्डेले सन् २०१४ मा होटेलमा बोलाई बलात्कार गरेको भनेर उजुरी दिएकी छिन् । पाण्डेका साथै अरूलाई पनि बोलाएर बलात्कार गरेको भन्दै ती किशोरीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । जसपछि प्रहरीले पाण्डेलाई ७ जेठमा पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई थुनाबाटै मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो । 

पाण्डेले ती किशोरीको बलात्कार गर्नुका साथै त्यसको भिडियोसमेत बनाएर पटक–पटक जबर्जस्ती करणी गरेको अभियोग छ । आठ वर्षपछि घटना सार्वजनिक भएका कारण जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थिएन । त्यसपछि उनले मानव बेचबिखन तथा ओसारपसार कसुरमा उजुरी दिएकी थिइन् र प्रहरीले अनुसन्धान गरी सोही अभियोगमा मुद्दा दायर गरेको थियो । पाण्डेले ती किशोरीलाई बलात्कार गरेको भिडियो देखाउँदै अन्यसँग पनि सम्बन्ध राख्न लगाएका थिए । लगातार ६ महिनासम्म यो क्रम चलेको सरकारी पक्षको दाबी थियो ।