मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ११ बुधबार ०८:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्यतमोर जलविद्युत् आयोजनाको प्रगति ८० प्रतिशत

Read Time : > 1 मिनेट
२०७९ माघ ११ बुधबार ०८:०९:००

निर्माणाधीन अवस्थामा रहेको मध्यतमोर जलविद्युत् आयोजनाको प्रगति करिब ८० प्रतिशत पुगेको छ । यसको निर्माण सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गरिरहेको छ । सो जलविद्युत् अयोजनाकोे सुरुङ निर्माण सम्पन्न भएसँगै समग्र कार्य प्रगति करिब ८० प्रतिशत पुगेको हो । 

कोरोनाका कारण सबै क्षेत्र शिथिल भए पनि यो ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण कार्यमा सो महामारीमा पनि निरन्तर निर्माणको क्रम रोकिएको थिएन । निर्माण कार्यलाई निरन्तरता दिएकै कारण हालसम्मको प्रगति सन्तोषजनक रहेको आयोजनाले जनाएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, मिमक्वाखोला गाउँपालिका–१ र २ खोक्लिङ र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ ।

निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सन् २०१९ मार्च ९ देखि आयोजनाको सिभिलतर्फ निर्माण कार्य सुरु गरिएको थियो । मध्यतमोर जलविद्युत् आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले कामको प्रगति ७५ देखि ८० प्रतिशत बीचमा रहेको बताए । आयोजनाको सम्पूर्ण काम सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए । 

आयोजनामा मुख्य ठेकेदारका रूपमा चच्याचङ फस्र्ट हाइड्रो तथा पावर कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेको छ । यस्तै, इलेक्ट्रो मेकानिकलको कार्य सिडब्लुटिडब्लू, हाइड्रो मेकानिकलको कार्य माछापुच्छ«े मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत् प्रसारण लाइनको कार्य कस्मिक इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ प्रालिले गरिरहेको बताइएको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १२ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुस्थित २२० केभिए क्षमताको सव–स्टेसनमार्फत जडान गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो सव–स्टेसनमार्फत मध्यतमोरबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाले जानकारी दिएको छ । निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजना जिल्लाको हालसम्मकै ठूलो आयोजना पनि हो । आयोजनाको लागत रकम १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।