
चालू आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा देशको वैदेशिक व्यापार २१.८९ प्रतिशतले संकुचित भएको छ । यो अवधिमा आयात र निर्यात दुवै खस्किएपछि वैदेशिक व्यापार प्रभावित भएको हो । वैदेशिक व्यापारमा संकुचन आउँदा सरकारको आर्थिक वृद्धिदर खुम्चिने अर्थशास्त्रीहरूको विश्लेषण छ ।
वैदेशिक व्यापार खुम्चिएर राजस्वमा त कमी आइरहेको छ नै, यसले आर्थिक गतिविधिमा संकुचन आएर आर्थिक वृद्धिदरलाई समेत असर पार्ने अर्थशास्त्री पुष्कर बज्राचार्यले बताए । आयातमा आधारित नेपालको अर्थतन्त्रमा वैदेशिक व्यापार खुम्चिनुले नकारात्मक असर पुग्ने जोखिम बढेको उनको भनाइ छ । आयातको विकल्प नखोजी कडाइ मात्रै गर्ने नीतिले अहिले व्यापारिक संकुचनको स्थिति बनेको उनले बताए ।
चालू आर्थिक वर्षमा सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । एक साताअघि विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो । उच्च ब्याजदर, न्यून लगानी तथा उत्पादन र व्यापारिक मन्दीले आर्थिक वृद्धिदरलाई संकुचित पार्ने अर्थशास्त्रीहरूले विश्लेषण गर्दै आइरहेका छन् ।
विभागका अनुसार ६ महिनामा सात खर्ब ९२ अर्ब रुपैयाँबराबरका वस्तु आयात भएका छन् । यो गत आर्थिक वर्षको उही अवधिको दाँजोमा २०.६८ प्रतिशतले कम हो । तर, निर्यातसमेत ३२.०१ प्रतिशतले खस्किएको छ । उसो त आयातको तुलनामा निर्यातको हिस्सा ज्यादै कमजोर छ । सय रुपैयाँको कुल व्यापारमा ९० रुपैयाँको आयात गर्छाैँ भने १० रुपैयाँको मात्रै निर्यात हुन्छ ।
विभागका अनुसार ६ महिनामा सबैभन्दा बढी आयात हुनेमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको हिस्सा छ । यो अवधिमा ७० अर्ब १० करोड रुपैयाँको डिजेल, ३३ अर्ब ५३ करोडको पेट्रोल र २८ अर्ब २० करोडको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, २३ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमासको तेल र १६ अर्ब ७१ करोडको कच्चा पाम तेल आयात भएको छ । १० अर्ब ९५ करोड रुपैयाँको सुन आयात भएको छ भने ११ अर्ब रुपैयाँभन्दा बढीको हवाई इन्धन आयात भएको छ ।
अत्यधिक निर्यात हुनेमा भटमासको तेल, पाम तेल, कार्पेट र अलैँचीजस्ता वस्तु छन् । विभागका अनुसार ६ महिनामा आठ अर्बको भटमासको तेल, ११ अर्ब ३८ करोडको पाम तेल, पाँच अर्ब ४६ करोड रुपैयाँको कार्पेट र तीन अर्ब ७३ करोडको अलैँची निर्यात भएका छन् ।