मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ८ आइतबार १६:४६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले ‘कोभिड– १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

Read Time : < 1 मिनेट
२०७९ माघ ८ आइतबार १६:४६:००

जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड– १९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताएका छन् । किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकाे समाचार समिति सिएनएनले जनाएको छ ।

जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस संक्रमणहरु देखापर्ने गरेको समाचारमा जनाइएको छ । 

जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएका सिएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पुर्‍याउन, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौँ,’ किसिदाले भनेका छन् । गत अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो । सिएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड– १९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसको उच्चस्तरको खोप र अघिल्लो संक्रमणबाट जनसंख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ । आफ्नो पछिल्लो अपडेटमा कोभिड– १९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसहरूलाई मास्क लगाउन सिफारिस गरेको र ‘भिडभाड, घेरिएको वा कमजोर भएका जोकोहीलाई पनि मास्क लगाउन सिफारिस गरेको छ । रासस