
प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै इटाहरीमा सञ्चालन भइरहेको महिला राष्ट्रिय टी–२० क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले ३७ बलअघि नै जित निकाल्यो । समूह २ मा प्रदेश १ ले तीन खेलबाट सर्वाधिक ६ अंक बटुलेको छ । कर्णालीले तीन खेलमै हारको सामना गरेको छ । प्रदेश १ ले तीनवटै खेलमा जित निकाल्न सफल भयो । बिहानको मौसममा हुस्सु लागेपछि रेफ्रीले खेल ११ ओभरमा झारेका थिए ।
पहिलो ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा पाँच विकेट गुमाएर ३९ रनको झिनो योगफल खडा ग¥यो । प्रदेश १ ले ३.५ ओभरमा कुनै पनि विकेट नगुमाईकन ४० रन बनायो । प्रदेश १ को सानदार जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीले पहिलो विकेटका लागि नटआउट योगदान गरेका थिए । काजलले १५ बलमा दुई चौकाको सहयोगमा १३ रनको योगदान दिइन् ।
रुविनाले १४ बलमा तीन चौका र एक छक्का प्रहार गरी २२ रन बनाइन् । खेलमा म्यान अफ दी म्याच रुविना नै भइन् ।
यसअघि ब्याटिङ गरेको कर्णालीका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । तेस्रो क्रममा ब्याटिङ गरेकी रामा बुढाथोकीले सर्वाधिक १८ रनको योगदान दिइन् । उनले २९ बलमा एक चौका प्रहार गरिन् । बलिङका क्रममा प्रदेश १ का ज्योति दनवारले दुई ओभरमा चार रन खर्चेर एक विकेट लिइन् ।
प्रतियोगिताअन्तर्गत १०औँ खेलमा उपाधि दाबेदार सुदूरपश्चिमले एपिएफलाई चार विकेटले हराएको छ । एपिएफले पहिलो ब्याटिङ गरेको थियो । एपिएफले २० ओभरमा नौ विकेट गुमाएर ९१ रनको मध्यम योगफल खडा ग¥यो । प्रत्युत्तरमा सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनायो । खेलमा सुदूरपश्चिमकी कविता जोशी म्यान अफ दी म्याच भइन् ।
सुदूरपश्चिमलाई सानदार जित दिलाउने क्रममा डोली भट्टले उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक ३३ रन बनाइन् । यसैगरी, रितु कनौजियाले २२ बलमा १० रन बनाइन् । डोली र रितुले पाँचौँ विकेटका लागि ५० रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जिततर्फ लगेका थिए । इनिङ्सको एक समय सुदूरपश्चिम २६–४ को स्थितिमा थियो । सो खेलमा एपिएफले सुदूरपश्चिमलाई १८ अतिरिक्त रन दिएको थियो । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ममता चौधरीले २६ रन तथा रोमा थापाले १५ रनको योगदान दिए ।