मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ ३ मंगलबार ०८:३३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको ट्राफिक व्यवस्थापन हातको इसाराका भरमा

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ ३ मंगलबार ०८:३३:००

५६ मध्ये २५ ठाउँका ट्राफिक लाइट मात्रै बल्छन्, धेरै जाम हुने सिंहदरबार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, जडीबुटी, पुतलीसडक चोकका बत्तीसमेत बिग्रिएका छन्

उपत्यकाका अधिकांश ट्राफिक लाइट बिग्रिएका छन् । लाइट बिग्रिएपछि ट्राफिक प्रहरी हातका भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाभित्र रहेका ५६ ट्राफिक लाइटमध्ये २५ ठाउँमा मात्रै प्रयोगमा छन् । हाल सिंहदरबार चोक, नयाँ बानेश्वर चोक, नारायणगोपाल चोक, जडीबुटी चोक, पुतलीसडक चोकलगायत मुख्य सडक क्षेत्रका ट्राफिक लाइट बिग्रिएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार नारायणगोपाल चोकमा रहेको ट्राफिक लाइट सौर्य ऊर्जाबाट चल्ने भएकाले त्यहाँ पावर नपुग्ने हुँदा चल्दैनन् । जडीबुटीमा सडक निर्माण र विस्तार भइरहेकाले बन्द गरिएको छ । अन्य केही मुख्य सडकमा भने विद्युत् कनेक्सन टुटेका कारण, टाइमिङ सेटमा समस्याका कारण सञ्चालनमा छैनन् । ‘उपत्यकाका सीमित ठाउँमा मात्रै ट्राफिक लाइट छन् । तर, तीमध्ये पनि अधिकांश बिग्रिएका छन्,’ हातका भरमा ट्राफिक व्यवस्थापन गर्दा जाम बढेको छ, जनशक्ति पनि धेरै खर्चिनुपरेको छ ।’ उनका अनुसार उपत्यकाका केही ठाउँमा जडान गरिएका ट्राफिक लाइट वैज्ञानिक छैनन् । एउटा चोकमा हरियो बल्दा अर्को चोकमा रातो बल्छ । जसका कारण खाली सडकमा पनि सवारीसाधन रोकिन्छ । हाल पुतलीसडक, शान्तिनगर, तिनकुने, टिचिङ अस्पतालबाहिर रहेको ट्राफिक लाइटकै कारण त्यस क्षेत्रमा जामसमेत बढाएको ट्राफिक प्रहरीको भनाइ छ । यी ठाउँका ट्राफिक लाइट सडक विभागले जडान गरेको हो । विनाअध्ययन ट्राफिक लाइट जडान गर्दा उल्टै जाम बढाएको छ ।  

मर्मत र नयाँ जडानमा चासो नदिएको गुनासो 
ट्राफिक लाइट जडान र मर्मतबारे ट्राफिक प्रहरीसँग सम्बन्धित निकायको समन्वय नगरेको एसएसपी भट्टको भनाइ छ । उनका अनुसार बिग्रिएका ट्राफिक लाइट र सडक बत्ती मर्मत गर्ने जिम्मा सडक विभाग र महानगरको हो । तर, ट्राफिक व्यवस्थापनमा सास्ती भइरहेका वेला यी निकायले ट्राफिक लाइट जडान र मर्मतमा चासो दिएका छैनन् । ‘ट्राफिक लाइटमा एउटै निकाय जिम्मेवार भयो भने मात्रै त्यसको नियमित मर्मत–सम्भार हुन्छ । एउटाले जडान गर्ने, अर्कोले मर्मत गर्ने भए समयमा कहिल्यै मर्मत हुँदैन,’ भट्टले भने । 

ट्राफिक व्यवस्थापनमा मात्रै १५ सयजना परिचालन
उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो जनशक्ति खर्च भइरहेको छ । प्रविधिको प्रयोगले जनशक्ति घटाउन सकिने भए पनि त्यसतर्फ सडक विभाग र महानगरले चासो दिएका छैनन् । हाल उपत्यकामा एक हजार सात सय ट्राफिक प्रहरी छन् । यसमध्ये दुई सय प्रहरी प्रशासनिक काममा र अन्य ट्राफिक प्रहरी जनशक्ति सडकमै परिचालन भइरहेको छ । भिआइपी ओहोरदोहोर गर्ने र बढी जाम हुने क्षेत्रमा बढी ट्राफिक प्रहरी परिचालन गरिन्छ । तर, यी ठाउँमा ट्राफिक लाइट जडान गरेर सहज बनाउन सकिने भए पनि समन्वयकारी निकायहरू जिम्मेवार नभएको ट्राफिक कार्यालयका प्रवक्ता भट्टको भनाइ छ ।

उनका अनुसार सबैतिर ट्राफिक लाइट जडान गरियो भने ट्राफिक जनशक्ति सडकमा कम परिचालन गरे पुग्छ । उपत्यकाका तीन स्थानमा ट्राफिक लाइट आवश्यक छ, तर जम्मा ५६ ठाउँमा मात्रै ट्राफिक लाइट जडान गरिएको छ । 

टाइमिङ नमिल्दा बन्द गरिन्छ ट्राफिक लाइट 
उपत्यकाका कुनै–कुनै चोकमा ‘पिक आवर’मा थेगिनसक्नु जाम हुन्छ, तर ती चोकका ट्राफिक लाइटमा सेट गरिएको समय कम हुन्छ । जता जाने सवारीसाधनको संख्या बढी छ, त्यसतर्फ बल्ने हरियो लाइटको टाइमिङ कम भएकाले कतिपय ठाउँका कुनै–कुनै वेला ट्राफिक लाइट बन्द पनि गरिन्छ । अत्यधिक जाम भयो भने सिंहदरबार, नयाँ बानेश्वर, नारायणगोपाल चोक, थापाथली, त्रिपुरेश्वरलगायत सडकको ट्राफिक लाइट बन्द गरेर हातले ट्राफिक व्यवस्थापन गरिन्छ । अत्यधिक जाम हुने वेलामा लाइटमा सेट गरिएको टाइमिङले नपुग्ने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, राष्ट्रपति वा प्रधानमन्त्रीको सवारीका वेला पनि ट्राफिक लाइट बन्द गरिन्छ ।

खानेपानीको पाइप फुटेर एक सय १३ स्थानका सडकमा अवरोध 
मेलम्ची खानेपानीको पाइप फुट्दा उपत्यकाका सडकमा थप अवरोध पुगिरहेको छ । ट्राफिक कार्यालयका अनुसार एक सय १३ स्थानका सडकमा मेलम्चीको पानी पाइप फुटेर अवरोध पु¥याएको छ । ती क्षेत्रमा खाल्डाखुल्डी परेको, पानी जमेको र सडक हिलाम्य हुँदा यातायात सञ्चालनमा अवरोध र जाम भइरहेको छ । बानेश्वरको थापागाउँ, चाबहिल चोक, नारायणगोपाल चोक–लाजिम्पाट, कोटेश्वर जडीबुटीलगायत सडकमा मेलम्चीको पाइप फुटेर आवागमनमा अवरोध भइरहेको छ । यसबाहेक उपत्यकाका सडकमा अवरोध र जाम हुनुको अर्को कारण विवाह र भोजभतेर पनि रहेको ट्राफिक कार्यालयले जनाएको छ । जेब्राक्रस र अकासे पुल प्रयोग नगर्दा पनि सवारीसाधन आवागमनमा अवरोध पुग्ने गरेको छ  ।

एसएसपी राजेन्द्रप्रसाद भट्ट : प्रवक्ता, ट्राफिक प्रहरी कार्यालय

नारायणगोपाल चोकमा रहेको ट्राफिक लाइट सौर्य ऊर्जाबाट चल्ने भएकाले त्यहाँ पावर नपुग्ने हुँदा चल्दैन । जडीबुटीमा सडक निर्माण र विस्तार भइरहेकाले बन्द गरिएको छ । अन्य केही मुख्य सडकमा भने विद्युत् कनेक्सन टुटेका कारण, टाइमिङ सेटमा समस्याका कारण सञ्चालनमा छैनन् । उपत्यकाका सीमित ठाउँमा मात्रै ट्राफिक लाइट छन् । हातका भरमा ट्राफिक व्यवस्थापन गर्दा जाम बढेको छ । केही ठाउँमा जडान गरिएका ट्राफिक लाइट वैज्ञानिक छैनन् । एउटा चोकमा हरियो बल्दा अर्को चोकमा रातो बल्छ । जसका कारण खाली सडकमा पनि सवारीसाधन रोकिन्छ ।

८० करोडमा ४४ इन्टेलिजेन्स लाइट थप्ने योजना 
सडक विभागले ४४ ठाउँमा ट्राफिक लाइट जडान गर्ने योजना ल्याएको छ, तर यो योजना अझै अध्ययनकै क्रममा छ । सडक विभाग, ट्राफिक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख बेलबहादुर भुजेलका अनुसार विभागले इन्टेलिजेन्स ट्राफिक लाइट जडानको योजना ल्याएको हो । यसका लागि विभागले अर्थ मन्त्रालयसँग रकम माग गरिरहेको छ । 

४४ स्थानमा यो लाइट जडान गर्न करिब ८० करोड लागत लाग्छ । यो लाइट अत्याधुनिक लाइट हो । यसमा गाडी चापअनुसार मेसिनले टाइमिङ सेट गर्छ । जहाँ बढी सवारीसाधन छन्, त्यता हरियो र जहाँ सवारी चाप कम छ, त्यहाँ बढी रातो लाइट बल्छ । यो लाइट एक चोकदेखि अर्को चोकको टाइमिङसँग पनि मिल्छ । हाल नेपालमा यस्तो प्रकारको ट्राफिक लाइट जडान भएको छैन । 

यी स्थानमा जडान हुनेछन् इन्टेलिजेन्स ट्राफिक लाइट 
इन्टेलिजेन्स ट्राफिक लाइट करिडोर क्षेत्र र बढी जाम हुने सडकमा प्रयोग हुनेछ । नारायणगोपाल चोकदेखि थापाथली, नरायणहिटी राजदरबारको दक्षिण सडक हुँदै भद्रकाली, कमलपोखरी–पुतलीसडक–थापाथली, माइतीघर–कोटेश्वरलगायत क्षेत्रमा जडान गरिनेछ । अबको चार–पाँच महिनामा अध्ययन सकिने र ६ महिनाभित्र ठेक्का लगाइने तयारी छ । काम सुरु भएको दुई वर्षभित्र सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट बल्ने जनाइएको छ ।