१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
चक्रपथको धुम्बाराही खण्डमा रहेको प्राकृतिक पानीको मूलमा कपडा धुँदै सर्वसाधारण । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

घनाबस्तीबीच जीवित छन् खानेपानीका मूल : मूलकै पानीले जोगाइरहेको छ ढुंगेधाराको अस्तित्व

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४२:oo

चक्रपथको धुम्बाराही सडकखण्डको भित्तामा हरेक दिन बिहानैदेखि राति अबेरसम्म खानेपानी भर्न आउनेको भिड लाग्छ । पानी भर्न मात्रै होइन, पानीको यो प्राकृतिक स्रोतछेउमा लुगा धुने र कहिलेकाहीँ त सवारीसाधन धुँदै गरेको दृश्यसमेत देखिन्छ । उपत्यकामा पानीका सबैजसो प्राकृतिक मूल सुकिसकेको अवस्थामा मुख्य सहरको बीचमा यसरी कलकल पानी आइरहेको देख्दा धेरै मानिस अचम्ममा पर्छन् । तर, धुम्बाराहीमा भने यो पानीको मूलमा करिब दुई सय वर्षदेखि निरन्तर पानी आइरहेको  स्थानीयको भनाइ छ । 

सडकको भित्तापट्टि पाखाबाट रसाइरहेको यो मूलले आसपासका बासिन्दाको पानीको प्यास मात्रै मेटाइरेहको छैन, लुगा धुनसमेत पुगेको छ । चाबहिलदेखि समेत पानी लिन आउने गरेको स्थानीय बताउँछन् । ‘बिहान–बेलुका खानेपानी भर्नेको भिड लाग्छ । दिनभर लुगा धुनेहरू आउँछन्,’ धुम्बाराहीकी तारा खड्काले भनिन् । 

यहाँको मूलको स्रोत के हो, कसैलाई जानकारी छैन । तर, कुनै वेला आसपासमा रहेका ठूला ठूला रूख र नजिकैको धोबीखोला यसको स्रोत हुन सक्ने अनुमान गरिन्छ । ‘यो मूलको पानी प्रयोग गर्न थालेको ३० वर्ष भयो, यही पानी खाने र अन्य प्रयोजनमा प्रयोग गर्छु,’ खड्काले भनिन्, ‘छिमेकीहरू किनेको पानीले घर चलाउँछन्, मलाई चाहिँ मूलको पानीले नै पुगेको छ ।’

डेढ सय परिवार लाभान्वित 
सडकका भित्ताबाट रसाएको मूलको पानी संकलन गर्न दुईवटा कुवा बनाइएको छ । एकापट्टि लुगा धुने पानी र अर्कोपट्टि खानेपानी भर्ने व्यवस्था मिलाइएको छ । स्थानीयले पालैपालो मूलको पानी भरेर ल्याउँछन् । यो मूलको पानीले करिब डेढ सय परिवार लाभान्तिव हुने गरेका छन् । 

काठमाडौं उपत्यकामा खानेपानीका अधिकांश परम्परागत स्रोत सुकिसकेका छन् । नगण्य मात्रामा मात्रै मूल, ढुंगेधारा, इनार र पोखरी भने जीवित छन् । त्यसमा पनि खुला रूपमा रहेका मूलको संख्या त निकै कम छन् । धुम्बाराहीको पीपलबोटमा पनि दुईवटा कुवा (जोर कुवा) अझै जीवित छन् । यहाँ पनि जमिनबाट फुटेको मूललाई कुवा बनाइएको छ । खुला रूपमा रहेका दुइटा कुवाको पानी भर्न दिनहुँ भिड हुने गर्छ । जोर कुवामा आसपासका स्थानीयलाई पुग्ने गरी पानी आउँछन् । तर, अधिकांशले ट्यांकर र जारको पानी प्रयोग गर्ने गरेको बताउँछन् । डेरा गरी बस्ने र बुढापाकाहरू अझै पनि कुवामा पानी भर्न आउँछन् ।

चाबहिलको मेडिकेयर अस्पतालअगाडि पनि पानीको प्राकृतिक मूल देख्न सकिन्छ । यहाँको पानीमा त झन ट्याक्सी धुने, लुगा धुनेको भिड लाग्ने गरेको छ । यसबाहेक कीर्तिपुर, कोटेश्वर महादेवस्थान ओरालो, नैकाप र ललितपुरको हात्तीवन हुँदै बग्ने कर्मनासा खोलामा मिसिने केही मूल मात्रै अब बाँकी छन् । यसबाहेक मध्य–सहरका एतिहासिक र ठूलो रकम खर्चेर संरक्षण गरेका मूल सुकिसकेका छन् । उपत्यकामा यस्ता खुला रूपमा रहेका खानेपानीका मूल अब औँलामा गन्न सकिने गरी मात्रै छन् ।

मूलकै पानीले जोगिएका छन् ढुंगेधारा
उपत्यकामा खानेपानीको प्राकृतिक स्रोत मूल–मुहान नदेखिए पनि त्यसको पर्याय ढुंगेधारा (हिटी) र कुवा (वुंगा) हुन् । यहाँ मूलकै पानी जोडिएको छ । जतिवटा ढुंगेधारामा पानी आउँछ, ती सबै मूलकै पानी हो । जहाँ मूल छ, त्यसलाई ढुंगेधारामा जडान गरेर परम्परागत धारामा खसालेको पाइन्छ । 

उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता पद्मसुन्दर जोशीका अनुसार उपत्यकामा हाल पाँच सय ७३ वटा ढुंगेधारा छन् । त्यसमा दुई सयवटामा बर्खाका वेलामा पानी आउँछ । करिब १६ वटामा हिउँदमा पनि पानी आउँछ । त्यसबाहेक दुई सयभन्दा बढी सुक्खा छन् भने करिब ३० वटा लोप भइसके । ‘उपत्यकामा कहाँ–काहाँ मूल–मुहान छन्, खोजीको विषय हो । तर, सहरीकरणले यस्ता प्राकृतिक मूल–मुहान र खोला सत्यानाश भइसके,’ उनले भने, ‘पहिले–पहिले मूल जम्मा गरेर हिटी र मूलको पानी सानो छ भने कुवा (वुंगा) बनाउँथे, अहिले ती पनि सुकिसके ।’ उनले जहाँ–जहाँ मूल थियो, त्यहाँ हिटी बनेको बताए । सहरीकरणसँगै दुर्लभ बनेका खानेपानीका सबैजसो मूल कुनै न कुनै किसिमबाट उपयोगमा ल्याएको जोशीको भनाइ छ । उनका अनुसार यसबाहेक सुन्दरीजल, कर्मनासा, हनुमन्ते, विष्णुमतीलगायत खोलामा मिसिएका केही मूल–मुहान भने जीवितै छन् ।

सहरका बीचका यी मूल अब फर्किंदैनन्
सहरको मध्यभागमा पर्ने डिल्लीबजार, कालीकास्थान, धोबीधारा, पुरानो बानेश्वरलगायत क्षेत्रमा करिब १५ वर्षअघि तीनवटा खानेपानीका मूल थिए । तर, छेउछाउमा अग्ला भवन बनेपछि ती मूल सुके । जलविद् मधुकर उपाध्यायका अनुसार डिल्लीबजारमा अग्रवाल भवन बनेपछि यहाँको प्राकृतिक मूल सुक्यो । पीपलबोट क्षेत्रमा पनि अग्ला भवन बनेपछि मूल सुकेका थिए । ‘उपत्यकामा धेरै स्थानका मूलमा १५–२० वर्षअघिसम्म पानी रसाउँथ्यो, तर सहरीकरण र रूखबिरुवा विनाश भएपछि सुके,’ उनले भने, ‘अहिले उपत्यकाको मुख्य सहरमा खुला मूल–मुहान भेट्टाउन मुस्किल छ ।’

 

ad
ad