Skip This
पिएसओ फिर्ता माग्दै गृहमा दबाब 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २९ शुक्रबार o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पिएसओ फिर्ता माग्दै गृहमा दबाब 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार o७:४८:oo

व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) फिर्ता माग्दै गृह मन्त्रालयमा पूर्वमन्त्री, नेता तथा व्यवसायीले दबाब दिन थालेका छन् । सुरक्षा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरेपछि पिएसओ माग्दै नेताहरू गृह मन्त्रालय धाउन थालेका छन् । 

फणीन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय
पिएसओ फिर्ता भएपछि कतिपयले त्यस विषयमा चासो राख्दै फोन गर्ने गरेका छन् । तर, हामी कार्यविधिविपरीत कसैलाई पनि पिएसओ खटाउँदैनौँ ।

कतिपय आफैँ मन्त्रालय गएका छन् भने केहीले फोनमार्फत दबाब दिने गरेका छन् । आफूलाई सुरक्षा जोखिम रहेको भन्दै पिएसओ खटाइदिन दबाब आउन थालेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । गृह मन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका नेपाल प्रहरीका एक सय ९० जना तथा सशस्त्र प्रहरीमा एक सय २६ जना फिर्ता गरिएका छन् । 

दबाब दिनेमा धेरैजसो नेताहरू नै छन् । तर, गृहले सुरक्षा समितिको बैठकबाट निर्णय नभएसम्म खटाउन नसकिने जवाफ दिने गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल पिएसओ फिर्ता भएपछि कतिपयले त्यस विषयमा चासो राख्दै फोन गर्ने गरेको बताउँछन् । ‘पिएसओ फिर्ता भएपछि कतिपयले त्यस विषयमा चासो राख्दै फोन गर्ने गरेका छन् । तर, हामी कार्यविधिविपरीत कसैलाई पनि पिएसओ खटाउँदैनौँ,’ उनले भने । 

कतिपय नेताले सुरक्षा जोखिमभन्दा रवाफ र व्यक्तिगत सहयोगीका रूपमा प्रहरी लिने गरेका छन् । पूर्वमन्त्रीका साथै हालै निर्वाचित केही सांसदले समेत मौखिक तथा लिखित रूपमा सुरक्षाकर्मी मागेका छन् । पिएसओको सुविधाबारे गुनासो गर्नेमा पूर्वप्रहरी अधिकारीसमेत छन् । कार्यविधिअनुसार अवकाशपछि प्रहरी महानिरीक्षकले मात्र पिएसओको सुविधा पाउँछन् । एआइजी तथा डिआइजीबाट अवकाश पाएका प्रहरीले भने आफूलाई सुरक्षा जोखिम रहे पनि यस्तो सुविधाबाट वञ्चित गरिएको गुनासो गरेका छन् । 

मेयर बालेन्द्र साहले पनि मागे पिएसओ 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेको स्रोत बताउँछ । मौखिक रूपमा मागे पनि उनले लिखित निवेदन भने दिएका छैनन् । जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ । 

खासगरी सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् । मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।