१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीको सभामुखमा राप्रपाका पाठककाे उम्मेदवारी, छलफलमै कांग्रेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:२१:oo

बागमती प्रदेशको सभामुखका लागि सत्तागठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने भएका छन्। सभामुखको उम्मेदवारका लागि प्रदेश सभा सदस्य पाठकको नाम टुंग्याइएको राप्रपाले जनाएको छ।

समानुपातिक तर्फबाट प्रदेश सभामा निर्वाचित राप्रपाका सांसद भुवन पाठकले आफूलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पुष्टि गरे। उनले पार्टीले सत्तागठबन्धनको तर्फबाट प्रदेश सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिँदै बिहीबार तोकिएको समयमा प्रदेश सचिवालयमा उस्थित भएर उम्मेदवारी दर्ता गर्ने बताए। 

सत्तागठबन्धनले सत्ता समीकरण मिलाउने क्रममा बागमती प्रदेशमा राप्रपालाई सभामुख दिने सहमति गरेको थियो। सोहीअनुसार राप्रपाका पाठकले भोलि बिहीबार सभामुख पदका लागि उम्मेदवारी दिनेछन्। उनलाई सत्तगठबन्धन दलहरू एमाले, माओवादी र राप्रपाको समर्थन छ।

यता सत्तागठबन्धनबाहिर रहेका दलहरू कांग्रेस, एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छैन। यद्यपि, माओवादीका शालिकराम जम्कट्टेललाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले सभामुखमा पनि सत्तागठबन्धनलाई नै समर्थन गर्ने कि अरू नै विकल्प रोज्ने टुंगोमा पुगेका छैनन्। 

बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एकीकृत समाजवादीका सांसद कृष्णप्रसाद खनालले आफूहरू छलफलमै रहेको बताए। उनले सभामुखको विषयमा बिहीबार नै निर्णयमा पुग्ने बताए। 

यता कांग्रेस पनि सभामुखको उम्मेदवारीको विषयमा छलफलमै रहेको कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले जानकारी दिए। उनले सभामुखमा उम्मेदवारी दिने भए पनि उम्मेदवार को हुने भन्नेबारेमा छलफल भइरहेको बताए। बिहीबार उम्मेदवारको मनोनयन गर्ने समय अघि नै उम्मेदवार टुंगिने उनले दाबी गरे।

बागमती प्रदेश सभामुख पदको निर्वाचनका लागि यही पुस २८ गते बिहीबार बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएकोे छ। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। 

यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख पदको उममेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। 

बागमती प्रदेश सभामा अहिले कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन् ।

ad
ad