मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format o९:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले पर्याप्त अभ्यास गर्न पाएका छैनन् ।

रंगशाला नहुँदा जिल्लास्तरीय विभिन्न खेलकुद आयोजनासमेत प्रभावित बनेको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले प्रदेशकै नमुना रंगशाला निर्माण हुने जानकारी दिएका छन् । 

‘हामीले ५० करोड लगानीमा बन्ने रंगशालाका लागि टेन्डरसमेत आह्वान गरिसकेका छौँ,’ खड्काले भने, ‘जुम्लामा दुई वर्षभित्र खेलाडीहरूले सुविधायुक्त रंगशालाको उपयोग गर्न पाउनेछन् ।’ उनका अनुसार नयाँ रंगशालासँगै खेल क्षेत्रमा देखिएका समस्याको अन्त्य हुनेछ । ‘सघन सहरी विकास कार्यक्रम’अन्तर्गत चन्दननाथमा ठूलो लगानीमा रंगशाला बन्न लागेको हो । ५० मध्ये १३ करोडको लागतमा रंगशाला निर्माण हुनेछ । ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्नेछन् ।

जुम्लाका लागि रंगशाला निर्माणलाई प्रदेश गौरवकै आयोजनाका रूपमा समेत हेरिएको छ । ‘यसले जुम्लाको खेल क्षेत्रमा देखिएका तमाम समस्याको समाधान गर्ने र नयाँ खेलाडी उत्पादन हुने अपेक्षा छ,’ खड्काले भने । वर्षौंदेखि रंगशाला निर्माण हुने भनिए पनि अहिले यसले मूर्त रूप पाउन लागेको हो । ‘रंगशाला निर्माणसँगै जुम्ली खेलाडीले हिउँदमा धुलो तथा हिउँ र बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने, विभिन्न खेलको आयोजना गर्न स्थान अभावले भौँतारिनुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने । 

खेलाडी उत्साहित 
जुम्लामा सुविधायुक्त रंगशाला निर्माण हुने भएपछि खेलाडी उत्साहित भएका छन् । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया भन्छन्, ‘वर्षौंदेखि रंगशाला निर्माण हुने भनिए पनि पूर्णता पाएको थिएन । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको ५० करोड लगानीमा रंगशाला बन्ने कुराले उत्साहित छौँ,’ उनले भने, ‘अझ मेरो नाममा रंगशाला बन्न लागेको छ ।’ रंगशाला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने किसिमको हुनुपर्ने रोकायाले सुझाव दिएका छन् ।

‘दौड प्रतियोगिता आयोजना गर्न चार सय मिटरको ट्र्याक हुनुपर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि चार सय मिटर नै धावक दौडन मिल्ने ट्र्याक हुनुपर्छ ।’ सब–इन्जिनियर खड्काले एथलेटिक्स खेलाडीको माग जायज भएको बताए । तर, जग्गा अभावका कारण चार सय मिटरको धावन मार्ग निर्माण गर्न समस्या रहेको उनको भनाइ छ । अहिलेका योजनाअनुसार दुई सय ९० मिटरको दौडन मिल्ने हुनेछ ।