१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ५ शनिबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिन गराउनेसम्ममा वडाध्यक्षकै संलग्नता

Read Time : > 2 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४६:oo

नक्कली आमा बनेकी फुलियादेवी र भारतीय नागरिक धीरज मुखिया पक्राउ

सप्तरीमा जनप्रतिनिधिले भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको भेटिएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय मूलका उनका भान्जालाई प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ की फुलियादेवी मुखिया र भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी धीरज मुखिया छन् । धीरज फुलियादेवीका भान्जा हुन् । केही वर्षदेखि मामाघरमा बस्दै आएका धीरजलाई नागरिकता बनाइदिन गत शुक्रबार फुलियादेवीले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबर्साइन पुगेकी थिइन् । नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शंका लागेर सोधपुछपछि दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

भागेश्वर यादव, वडाध्यक्ष, डाक्नेश्वरी नगरपालिका–३, सप्तरी

सर्जमिन र सिफारिस गर्ने वेला धीरज भारतीय हो भन्ने मलाई थाहा थिएन । पैसा लिएको प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार छु ।

इलाका प्रशासन कार्यालय बोदेबर्साइनका प्रमुख दिनेशकुमार राउतले सिफारिस बोकेर नागरिकता लिन आएका उनीहरूलाई सोधपुछ गर्दा शंकास्पद पाएपछि नियन्त्रणमा लिइएको बताए । ‘शंका लागेर सोधपुछ गरिरहेका थियौँ, सोही क्रममा उनीहरू नक्कली आमाछोरा भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट पनि टेलिफोन आयो । सोधपुछ गर्दा पनि शंकास्पद नै देखिएपछि प्रहरी बोलाएर उहाँलाई पठायौँ,’ प्रमुख राउतले भने । 

निवर्तमान वडाध्यक्ष प्रदीप साहले केही वर्षदेखि मामाघरमै बसोवास गर्दै आएका धीरजलाई नागरिकता बनाइदिन यसअघि आफूलाई निकै दबाब आएको बताए । ‘उनी भारतीय नागरिक हुन् । मलाई विभिन्न प्रलोभन दिइएको थियो । तर, सिफारिस दिन म तयार भइनँ,’ साहले भने, ‘पछि वडाध्यक्ष लेखेको स्ट्याम्प र मेरो हस्ताक्षरसमेत किर्ते गराई नागरिकता लिन उनीहरू इलाका प्रशासन कार्यालय पुगेका थिए । त्यसवेला मलाई त्यहाँबाट फोन आएपछि मैले मेरो छाप र हस्ताक्षर होइन भनेको थिएँ ।’ त्यतिवेला आफूले माइजू र भान्जालाई सम्झाएर कार्यालयबाट घर फर्काएको उनको भनाइ छ । ‘अहिले त सिफारिस मात्रै दिइएको छैन, प्रहरी चौकीमा सर्जमिनसमेत गराइएको छ,’ उनले भने, ‘प्रलोभनमा नपरी भारतीय नागरिकका लागि यस्तो कार्य हुनै सक्दैन ।’ श्रीमान् वैदेशिक रोजगारका लागि मलेसियामा रहेको फुलियादेवीले भान्जालाई वैदेशिक रोजगारमा पठाउने उद्देश्यले नागरिकता लिन लागेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । ‘पहिले धेरैपटक नागरिकता बनाउने विषयमा विवाद भइसकेपछि अहिले वडाध्यक्षलाई डेढ लाख रुपैयाँ दिएर सर्जमिनदेखि सिफारिससम्म गराएको हो,’ उनले भने, ‘सर्जमिनका लागि वडाध्यक्षले स्थानीयदेखि प्रहरीलाई पनि मिलाएको देखिएको छ ।’

वडा कार्यालयको तथ्यांकअनुसार व्यक्तिगत घटना दर्ता सम्बन्धित वडामा टोली आएका वेला २१ भदौ ०५९ जन्ममिति राखेर १३ चैत ०७७ मा भारतीय मूलका धीरजलाई जन्मदर्ता दिइएको छ । तर, यसअघिका वडाध्यक्षले नागरिकता सिफारिस गर्न नमान्दा उनको नागरिकता बन्न नसकेको स्थानीयले बताए । 

वडाध्यक्ष भागेश्वर यादवले धीरज भारतीय नागरिक रहेको भन्ने आफूलाई जानकारी नरहेकाले सिफारिस र सर्जमिन गरिदिएको बताए । ‘सर्जमिन र सिफारिस गर्ने वेला धीरज भारतीय हो भन्ने मलाई थाहा थिएन,’ उनले भने, ‘पैसा लिएको प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार छु ।’ 

भारतीय मूलका युवकलाई नागरिकता बनाइदिन आमा बनेकी माइजू र उनका भान्जामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । गत सोमबार सप्तरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

‘हामीले सात दिनको म्याद पाएका छौँ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गरिरहेको छ, के–कसरी सर्जमिन मुचुल्कासम्म पुगेको हो, त्यो पनि अनुसन्धानकै पाटो छ,’ उनले भने, ‘छिट्टै स्पष्ट हुनेछ ।’ प्रमख जिल्ला अधिकारी भूपेन्द्र थापाले नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताए । 

ad
ad