१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:२७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘लिग फिक्सिङ’बारे अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२७:oo

गृह मन्त्रालयले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सम्भवतः भइरहेको खेल मिलेमतोको अनुसन्धान गर्न मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानबिनका लागि निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टियू)मा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कमेन्टेटर सचिन तिमल्सिनाले नेपाल टी–२० लिगमा फिक्सिङ भइरहेको खुलासा गरेका छन् । काठमाडौं नाइट्सका कप्तानसमेत रहेका मल्लले पत्रकार सम्मेलनमै टोलीका एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको बताएका हुन् । 

यसअघि, कमेन्टेटर तिमल्सिनाले सामाजिक सञ्जालबाट नेपाल टी–२० लिगमा खेल मिलेमतोको आशंका भइरहेको खुलाएका थिए ।  मल्ल र तिमल्सिनाले नेपाल टी–२० लिगमा भइरहेका घटनासम्बन्धी भनाइ सार्वजनिक गरेपछि गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो । गृह मन्त्रालयले टियू क्रिकेट मैदानभित्र स्पष्ट फिक्सिङ र फिक्सिङ भए वा नभएको अनुसन्धान गर्न सिबिआईलाई निर्देशन दिइएको हो । 

खेल मिलेमतोसम्बन्धमा खासै प्रमाण अहिलेसम्म प्राप्त नभए पनि आफूहरूले अनुसन्धान प्रक्रिया अगाडि बढाएको सिबिआईका एसएसपी दिनेश आचार्यले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘खेल मिलेमतो भएको सम्बन्धमा केही पनि प्रमाण हामीलाई प्राप्त भएको छैन,’ एसएसपीले आचार्यले भने, ‘हामीले अनुसन्धान अगाडि बढाएका छौँ ।’ मैदानबाहिर चलखेल गरिरहेका सट्टेबाजीहरूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । ‘दर्शकदिर्घामा सट्टेबाजीहरूलाई पक्राउ गरेका छौँ, उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ आचार्यले भने 

काठमाडौं नाइटस्का कप्तान ज्ञानेन्द्र मल्ल भन्छन् ‘ हाम्रो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको थियो, यसबारे हामीले सम्बन्धित निकायलाई जानकारी र रिपोर्ट गरेका थियौँ । खेल मिलेमतोमा संलग्न हुनु एक पाटो हो, कसैले प्रस्ताव गर्नु अर्को पक्ष हो, प्रस्ताव आयो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन, प्रस्ताव कसैले पनि राख्न सक्छ ।’

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर तथा नेपाल टी–२० लिगका डाइरेक्टर विक्रान्त खनालले लिग खेल मिलेमतो नभएको र स्वच्छ रूपमा अगाडि बढिरहेको दाबी गरेका छन् । उनले खेलाडीकै जानकारीमा आएका शंकास्पद व्यक्तिहरूलाई आफूहरूले कारबाही गरेकोसमेत बताए । ‘मिडियामा जस्तो आएको छ, त्यो वास्तवमा केही पनि हैन, हामीले खेलाडीहरूकै सूचनाकै आधारमा खेल मिलेमतो गरेको शंकाकै आधारमा केही व्यक्तिलाई निलम्बन गरेका छौँ,’ खनालले नयाँ पत्रिकालाई भने, ‘यो सबै गतिविधि लिगभन्दा बाहिर रहेका समूहले गराइरहेको हो ।’ 

मंगलबार साँझ खेलाडीसँग लिगका डाइरेक्टर खनालले वार्ता गरेका छन् । प्रक्रिया पूरा भएसँगै खेलाडीहरूको खातामा पारिश्रमिक आउने उनले बताए । ‘खेलाडीहरूसँग वार्ता भयो, घटनासम्बन्धमा जानकारी लियौँ, खेलाडीको खातामा किन रकम नआएको भन्ने जानकारी दियौँ, सबै प्रक्रिया पूरा भएपछि उनीहरूको खातामा पारिश्रमिक रकम जम्मा हुनेछ,’ खनालले भने, ‘अहिले केही पनि समस्या छैन ।’ उनले खेलाडीकै उजुरीमा टिमका म्यानेजरलाई समेत कारबाही गरेको बताए । सुरुदेखि नै विवादमा परेको लिगलाई नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई आयोजनाको जिम्मा दिएको थियो । 

काठमाडौंका खेलाडीलाई फिक्सिङको प्रस्ताव
लिगको सुरुका दिनदेखि नै फिक्सिङ भइरहेको चर्चा भइरहेको थियो । यद्यपि, यसबारेमा खेलाडी, पदाधिकारी तथा प्रशिक्षकहरूले बोलेनन् । तर, मंगलबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा काठमाडौं नाइट्सका कप्तान मल्लले सबैलाई सनसनी बनाउने रूपमा नेपाल टी–२० लिगमा आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरे । ‘हाम्रो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको थियो,’ मल्लले भने, ‘यसबारेमा हामीले सम्बन्धित निकायलाई जानकारी र रिपोर्ट गरेका थियौँ ।’ कप्तान मल्लले प्रस्ताव र फिक्सिङ फरक पाटो भएको जनाए । ‘खेल मिलेमतोमा संलग्न हुनु एक पाटो हो, कसैले प्रस्ताव गर्नु अर्को पक्ष हो, प्रस्ताव आयो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन,’ उनले भने, ‘प्रस्ताव कसैले पनि राख्न सक्छ ।’ उनले टोलीका कुन खेलाडीलाई कसले प्रस्ताव गरेको भन्ने खुलाएनन् । 

पारिश्रमिक मुद्दा उठाउँदा खेल ढिला 
प्रतियोगिताअन्तर्गत २२औँ खेल काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच थियो । खेलाडीहरूले पारिश्रमिक नपाउँदा टस गर्न नै मानेनन् । सम्बन्धित निकायका पदाधिकारी र खेलाडीबीचको लामो वार्तापछि खेल सुरु भएको थियो । अम्पायरद्वय राम पाण्डे र सञ्जय गुरुङले ९–९ ओभरको खेल गराए । लिगका डाइरेक्टर खनालले विदेशबाट रकम (डलर) ल्याउनुपर्ने भएकाले यसको प्रक्रिया ढिला भएको स्पष्ट पारेका छन् । 

‘भारतबाट पैसा आउनुपर्छ, त्यो पनि डलरमा हो, राष्ट्र बैंकले यससम्बन्धमा खुकुलो पारेको छैन, डलरमा ठूलो रकम पठाउनुपर्दा फरक लाइसेन्स बनाउनुपर्ने रहेछ,’ खनालले भने, ‘खेलाडीहरूको पारिश्रमिक पठाउन र नयाँ लाइसेन्स बनाउन नै सम्बन्धित व्यक्तिहरू भारतमा गएका छन्, उनीहरू लिग छाडेर भागेका होइनन् ।’