मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १९ मंगलबार ०६:५८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : दोस्रो स्थानमा रहेको जनकपुर प्ले अफतर्फ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १९ मंगलबार ०६:५८:००

जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराउँदै नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको प्ले अफ बलियो बनाएको छ । सातौँ खेलमा जित निकालेको जनकपुरले १० अंक जोडेको छ । जनकपुर दोस्रो स्थानमा रह्यो । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सोमबार सन्दीप जोरा ब्याटिङ र समिउल्लाह सिनवारी बलिङमा चम्केपछि जनकपुरले फार वेस्टलाई सहजै पराजित गरेको हो । फार वेस्ट ६ खेलमा दुई अंकका साथ पुछारमा छ । फार वेस्टको प्ले अफ खेल्ने सम्भावना गणितीय आधारमा मात्र बाँकी छ । 

 फार वेस्ट ७९ रनमै अलआउट 
पहिलो ब्याटिङ गरेको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा फार वेस्ट युनाइटेड १५.१ ओभरमा ७९ रनमै समेटियो । फार वेस्टलाई लक्ष्यसम्म नपुर्‍याउन सामिउल्लाह सिनवारीले तीन ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । यसैगरी, सोमपाल कामीले १८ रनमा दुई विकेट र पवन सर्राफले १५ रनमा दुई विकेट हात पारे । सराफुदिन असराफ, जितेन्द्र मुखिया र ललित राजवंशीले समान एक विकेट हात पारेका थिए । फार वेस्टका कप्तान हस्मतुल्लाह साहिदीले सर्वाधिक ३२ रन बनाए । 

अफगानिस्तानका २८ वर्षीय साहिदीले ३२ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी, रासिद खानले अविजित १६ रन र भीम सार्कीले १६ रन जोडे । ओपनर देव खनाल एक रनमा आउट भए । विनोद भण्डारी र उमैर अली तथा करण केसी शून्यमा पेभिलियन फर्किए ।

 ३० बलमा जोराको अर्धशतक
टस हारेर ब्याटिङ गरेको जनकपुरका लागि चौथो क्रमका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय इनिङ्स खलेका थिए । उनले ३० बलमा अर्धशतकीय रनको योगदान दिए । अली वैसीको ओभरमा आउट हुनुअघि जोराले ३२ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ५५ रनको योगदान गरे । कप्तान ट्रेभोन ग्रिफिथ ३२ रन, सराफुद्दिन असरफ २० रन, चाडविक वाल्टनले २४ रनको योगदान दिए । राजेश पुलामीले १६ रन बनाए । 

पहिलो विकेटका लागि विदेशी खेलाडीद्वय ट्रेभोन र सराफुद्दिनले ५२ रनको साझेदारी गर्दै जनकपुरलाई बलियो स्थितिमा पु¥याए । पाँचौँ विकेटका लागि प्लेयर अफ दी म्याच जोरा र राजेश पुलामीले ६१ रनको साझेदारी गरे । बलिङतर्फ फार वेस्टका प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिएका थिए । 

 सुमित र उपुल चम्किँदा पोखराको जित
ओपनर सुमित महर्जन र कप्तान उपुल थरंगाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पोखराले लिगमा तेस्रो जित निकालेको छ । प्रतियोगिताको १९औँ खेलमा तेस्रो जित निकालेपछि पोखराले प्ले अफ सम्भावना कायम राखेको छ । पोखराले काठमाडौं नाइट्सलाई पाँच विकेटले हरायो । पोखरा आठ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । पोखरा लगातार पाँच खेलमा पराजित भएको थियो । त्यसपछिका खेलमा पोखराले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । काठमाडौं समान अंक भए पनि नेट रनरेटका आधारमा तेस्रो स्थानमा रह्यो । 

काठमाडौं नाइट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । पोखराले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६८ रनको योगफल खडा गर्‍यो । पोखराका लागि सुमितले ५२ बलमा सात चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७६ रनको योगदान गरेका थिए । विकेटकिपर तथा ब्याट्सम्यान उपुलले ५९ बलमा पाँच चौका र एक छक्का मद्दतमा ५८ रन जोडेका थिए । उपुल र सुमितले तेस्रो विकेटका लागि एक सय १२ रनको बलियो साझेदारी गर्दा पोखरा जिततर्फ लम्किएको थियो । काठमाडौंका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिँदा अविनाश बोहरा र अनिल खरेलले समान एक विकेट लिएका थिए । 

 ब्लेकको आक्रामक अर्धशतक 
टस हारेर ब्याटिङ गरेको काठमाडौंले एलेक्स ब्लेकको आक्रामक अर्धशतक मद्दतमा चार विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो । इंग्ल्यान्डका ३३ वर्षीय ब्याट्सम्यान ब्लेकले २८ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ६४ रन बनाएका थिए । प्रतियोगितामा उनको दोस्रो अर्धशतक हो । यसैगरी, सुनम गौतमले ४२ बलमा ४५ रन बनाए । यसैगरी, विरन्दीप सिंहले ३२ रन तथा रायन बर्लले अविजित १० रन जोडेका थिए । पहिलो विकेटका लागि सुनम र विरन्दीप सिंहले ७३ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि एलेक्स र रायनले ६७ रनको साझेदारी गर्दा काठमाडौंले बलियो योगफल बनाएको थियो ।