मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १७ आइतबार ०६:०९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवालाई महामन्त्रीद्वयको दबाब : गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गरौँ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १७ आइतबार ०६:०९:००

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए । शनिबार ४७औँ मेलमिलाप दिवसमा संयुक्त शुभकामना वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले घुमाउरो रूपमा सभापति देउवामाथि जिम्मेवारी लिन दबाब दिएका छन् । वक्तव्यमा नेतृत्वले सावधानी पुर्‍याउन नसक्दा कांग्रेस प्रतिपक्षमा पुगेको र यस अवस्थाले पार्टीमा असन्तुष्टि बढेको उल्लेख गरिएको छ ।

‘निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनुपर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक होइन,’ वक्तव्यमा छ ।

यससँगै अब कांग्रेसले परिवर्तित अवस्थाको गम्भीर आत्मसमीक्षा गरेर अबको बाटो तय गर्नुपर्ने महामन्त्रीद्वयको भनाइ छ । महामन्त्रीद्वयले अब कांग्रेसले राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने, सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने र जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने,’ वक्तव्यमा छ, ‘कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ । आत्मसमीक्षा गरेर मात्रै पुग्दैन, त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा योपटक पछि परेका मात्रै हौँ, हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका वेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन ।’

वक्तव्यमा कांग्रेसमा देखिएको अलमलको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । महामन्त्रीद्वयले बिपीको मर्मलाई आत्मसात् गर्दै एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ०३३ मा ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति लिएर बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।