१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o६:५८:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

टुटेको र जुटेको गठबन्धन एवं आगामी राजनीति

सत्तासँग जोडिएका सात दलको चित्त बुझाएर गठबन्धन जोगाउनु चुनौतीपूर्ण छ, ढंग पुगेन भने एउटै रथलाई चारतिरबाट तानेकोजस्तो अवस्था आउन सक्छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:५८:oo

राजनीति सम्भावनाको खेल हो भनेर त्यसै भनिएको होइन । कहिलेकाहीँ यसले अप्रत्यासित रूपमा यसरी नचिताएको कोल्टे फेर्छ कि आफूलाई सत्ता–खेलको उद्भट खेलाडी भन्ठान्नेहरू पनि क्षणभरमै चार बल्ड्याङ खान्छन् । यो आइतबार भयो त्यही । हेर्दाहेर्दै केही घन्टाकै अन्तरालमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुनः प्रधानमन्त्री बन्ने सबै सपना हुरीले उडायो । क्षणभरमै सत्ता राजनीतिको ‘इपिसेन्टर’ बालुवाटारबाट बालकोट सर्‍यो र प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत सबै प्रमुख पद एकलौटी गर्ने मनसुवा राखेका उनी लट्टीपट्टी सबै हारेको जुवाडेझैँ रित्तो हात बुढानिलकण्ठ फर्कनुपर्ने अवस्थामा पुगे । सबै कुरा यथावत् रहेमा उनका कारण उनलाई मात्र क्षति भएन, कांग्रेस पार्टी पनि केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था आयो । 

प्रश्न उठ्छ, वाम–लोकतान्त्रिक गठबन्धन भत्क्यो कसरी र वाम एवं उदीयमान शक्तिमाझको नयाँ गठबन्धन बन्यो कसरी ? प्रधानमन्त्री देउवा कसरी यस्तो आत्मघाती हठ गर्न पुगे र यसरी पासा पल्टिन पुग्यो ? यो मुुलुकमा राजनीतिमा किञ्चित पनि रुचि हुने सबैलाई थाहा थियो कि माओवादी अध्यक्ष प्रचण्ड जसरी पनि पहिलो खेपमै प्रधानमन्त्री बन्न चाहन्छन् । स्वयं उनको बाँहजोडी नेता भएकाले देउवालाई उनको यो चाहना थाहा नहुने कुरै भएन । वास्तवमा उनले त असम्भव अवस्थामा आफूलाई प्रधानमन्त्री बन्न सम्भव बनाएका प्रचण्डलाई अबको प्रधानमन्त्री तपाईं भनेर वचन नै दिएका थिए । आखिर त्यस्तो के कारण हुन सक्छ कि उनी आफ्नो वचनबाट एकाएक च्युत भए र प्रचण्ड हठात् एक सय असी डिग्रीको फन्को मारेर अर्को ध्रुवमा पुग्न बाध्य भए ? मेरो आकलनमा यसका केही खास कारण हुन सक्छन् । 

पहिलो त प्रधानमन्त्री नपाए पनि प्रचण्ड गठबन्धन टुटाएर एमालेको पोल्टामा पुग्दैनन् भन्ने देउवा र उनको ‘कोर टिम’को बुझाइ । दोस्रो, त्यस्तो प्रयास गरे भने पनि एमालेले उनलाई प्रधानमन्त्री दिँदैन भन्ने विश्वास । तेस्रो,  अढाई वर्ष पर्खेर दोस्रो आधामा प्रधानमन्त्री बन्न उमेरको जुन गौँडामा उनी छन्, त्यसकारण पनि सहज हुँदैन भन्ने उनको ठम्याइ । र चौथो, कहीँ न कहीँ विगतमा सुशील कोइरालालाई झैँ कुनै बाह्य शक्तिले उनी जसरी पनि पहिलो खेपमै प्रधानमन्त्री बन्न सक्छन् भनेर दिलाएको विश्वास । 

त्यसो त शेरबहादुर देउवालाई बालकोटको भान्सामा वैकल्पिक सत्ताको कुनै खिचडी पाकिरहेको त छैन भन्ने आशंका नभएकोचाहिँ होइन । त्यसैले उनले आफ्ना विश्वासपात्र विमलेन्द्र निधिलाई ओलीको ‘मुख सुँघ्न’ पठाएका पनि हुन् । तर, सत्ता राजनीतिका चम्बु खेलाडी न ठहरिए केपी ओली, उनले निधिलाई त्यहाँ पाकिरहेको पकवान्नको सुइँकोसमेत दिएनन् र उल्टो ढुक्क बनाएर पठाए । त्यसपछि त देउवाले निर्णायक वार्ताका नाममा प्रचण्डलाई अलमल्याउने र राष्ट्रपतिले दिएको समय घर्काउने र संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा एकल ठूलो दलको नेताका रूपमा आफू प्रधानमन्त्री बन्ने युक्ति अपनाए । 

उनलाई के विश्वास थियो भने एकपल्ट प्रधानमन्त्री आफ्नो पोल्टामा परेपछि पद–आकांक्षी पार्टीहरू खुरुखुरु आफूतिर आई नै हाल्छन् । तर, संसदीय राजनीतिका नयाँ खेलाडी भए पनि राजनीतिक चतु¥याइँमा प्रचण्ड पनि कोहीभन्दा कम होइनन् । 

पछिल्लो गठबन्धन र राजनीतिक उलटफेरका ‘मास्टर माइन्ड’ केपी ओली नै हुन् । तर, त्यसलाई सम्भव भने शेरबहादुर देउवाको हठ र प्रचण्डको चुनौतीलाई अवसरमा बदल्ने खुबीले बनायो ।
 

यसपटक उनले पनि सबै अन्डा एउटै टोकरीमा राख्ने गल्ती गरेका थिएनन् । आफ्ना विश्वासिला नेतामार्फत वैकल्पिक द्वार खुलै राखेका थिए । त्यसैले, उनले समय घर्किनुअगावै बालुवाटारको कुटिल वार्ताको युक्तिलाई बाईबाई गरे र प्रधानमन्त्रीको बाजी मारे । र देखियो, गुरुप्रसाद मैनालीको कथाका अमर पात्र चामे र गौंथलीको झैँ ओली–प्रचण्ड सम्बन्धमा निर्णायक मोड– ‘एकछिनमा काटाकाट एकछिनमा चाटाचाट !’ 

यो राजनीतिक उलटफेरका ‘मास्टर माइन्ड’ केपी ओली नै हुन् । तर, त्यसलाई सम्भव भने शेरबहादुर देउवाको हठ र प्रचण्डको चुनौतीलाई अवसरमा बदल्ने खुबीले बनायो । जुन ‘सर्जिकल प्रेसिजन’का साथ यो काम फत्ते भयो त्यसलाई मान्नैपर्छ । एक हिसाबले भन्ने हो भने यो सानोतिनो ‘कोर्स करेक्सन’ नै हो । यदि आफ्नै हातमा सत्ता भएका वेला केपी ओलीले बुद्धि पु¥याएका भए मुलुकले विगत दुई वर्षको महाभारत देख्नुपर्ने थिएन र वाम राजनीति एउटा सुविचारित ‘कोर्स’बाट अघि बढ्न सम्भव हुन्थ्यो । राजनीति न हो, यसमा कहिले काहीँ ‘यदि’ र ‘तर’को कुनै मतलव हुँदैन । 

यसलाई सत्ताको विद्रुप खेल भनौँ या ‘कोर्स करेक्सन’, अब प्रचण्डको नेतृत्वको सत्तारुढ गठबन्धनका चुनौती र अवसर के हुन सक्छन् त्यसलाई आकलन गरौँ । चुनौतीको हिसाबले हेर्दा पहिलो त सत्तासँग जोडिएका यी सात दलको चित्त बुझाएर गठबन्धन जोगाउनु नै ठूलो चुनौती हो । ढंग पुनेन भने एउटै रथलाई चारतिरबाट तानेकोजस्तो अवस्था आउन सक्छ । यसका अतिरिक्त अर्थतन्त्रको सुधार, सुशासनको प्रत्याभूति, जनअपेक्षाको सम्बोधन र विकासका सवाल त छँदै छन् ।

लामो समयदेखि अड्किएर बसेको टीकापुर घटनासँग जोडिएको सवाल, नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, प्रदेश प्रहरी, प्रदेशले पाउनुपर्ने अधिकारको कानुनी ढंगले हस्तान्तरण र संविधान संशोधनजस्ता विषय पनि सम्बोधनकै पर्खाइमा छन् । गाह्रो साँघुरोमा साथ दिएका माधव नेपाललाई पनि सेफ ल्यान्डिङको ठाउँ बनाउनु पनि छँदै छ । यी सबैको केन्द्र भागमा छ केपी ओलीको ‘मुड स्विङ’ । किनकि उनले नयाँ प्रधानमन्त्रीलाई अढाई वर्ष काम गर्न दिएर आफ्नो पालो कुर्छन् कि नाइँ ? त्यो कसले जान्दछ र ?

तर, चुनौतीसँगै प्रचण्ड सरकारसामु अवसर पनि छ । प्रधानमन्त्रीका बाँकी दुई आकांक्षी देउवा र ओलीको तुलनामा उनी भर्खरका छन् । यो देउवाभन्दा कता हो कता ‘सेलेबल इमेज’ हो । उनमा परिस्थितिको सही आकलन गरेर नीतिहरू बनाउने र बदल्ने ‘डाइनामिज्म’ पनि छ । विगतको उनका दुई कार्यकालको अनुभवले उनलाई परिपक्व पनि बनाएको छ ।

सबैभन्दा सकारात्मक पक्ष के भने उनीसँग फरक पार्टीका भए पनि केही गरौँ भन्ने जोस र जाँगरले भरिपूर्ण युवाको राम्रो टिम छ । उनको टिममा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरू पनि जनताको पारखी नजरको ‘राडार’मा परेका छन् । अतः तिनलाई असफल हुने छुट छैन । पटक–पटक मन्त्रिपरिषद्मा बसेर काम गरिसकेका अनुभवी र नयाँ उत्साह एवं उमंग बोकेर आएर ऊर्जावान्हरूलाई कुशल नेतृत्व दिन सक्दा विकासले बाटो समाउने र राजनीतिक स्थायित्वले जरा गाड्ने अवसर पनि छ उनीसँग । 

रह्यो, गठबन्धन टुटेर विलखबन्द परेको कांग्रेसको कुरा । आफूले देखाउन सक्ने खुबी केही बाँकी नरहेको र कुर्सीमा बसेको ‘रेकर्ड’ बनाउनुबाहेक केही गर्न नसक्ने हुँदा पनि जीवनको उत्तराद्र्धमा समेत शेरबहादुर देउवामा देखिएको कुर्सीको भोकको निर्मम समीक्षा गर्न जरुरी छ । सम्भावना भएर पनि फरक एवं स्वतन्त्र छवि नबनाई उनका पछि लुरुलुरु अनुचर झैँ लागेका नेताहरूले पनि आत्ममन्थन गर्नुपर्छ ।

सबैभन्दा जरुरी पार्टीभित्र मात्र होइन, मुुलुककै समकालीन राजनीतिक परिदृश्यमा उज्ज्वल छवि बनाएका गगन थापा, विश्व प्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेताहरूले पार्टीको संगठन र संसदीय मोर्चामा निर्णायक हस्तक्षेप गर्न जरुरी छ । पुस्ताको कुरालाई बिर्सेर पार्टीमा भएका पुराना पुस्ता अभिभावक बन्न र मार्गदर्शन गर्न गुटको साँघुरो घेराभन्दा माथि उठ्न आवश्यक छ । 

यो समस्या चुनावपूर्वको गठबन्धनले ल्याएको हुँदै होइन । गठबन्धन टुटेको सबै दोष प्रचण्डका टाउकोमा हालेर आफ्ना सभापतिलाई बिचरा धोका पाए भन्ने निष्कर्षमा पुग्नु सबैभन्दा सजिलो बाटो हो । प्रधानमन्त्री पद बर्चोट छोड्दै छोड्दिनँ भन्ने र राष्ट्रपतिलगायत अन्य महत्वपूर्ण पद पनि आफ्नै पार्टीसँग राख्नैपर्ने बाध्यताले यो अवस्था सिर्जना गरेको हो । गठबन्धनका क्रियाकलापमा पार्टीका आधिकारिक निकाय संंलग्न भएर पनि यो परिणाम आएको भए दोष पार्टीको हुन्थ्यो ।

यहाँ त सभापति र उनीनिकटको ‘कोटरी’ मात्र संलग्न भएकाले ती दण्डित हुनैपर्छ । निःसन्देह, कांग्रेसका लागि राजनीतिक घटनाको पछिल्लो विकास ठूलो क्षति हो । अतः यो समग्र परिस्थितिको सम्यक् समीक्षा गरेर अगाडि बढ्न सके कांगे्रसभित्र नेता विशेषको दिन जाला, तर पार्टीको दिन जाँदैन । पाँच वर्ष मिलिक्कै जान्छ । नयाँ नेतृत्व र नयाँ ऊर्जासाथ अघि बढ्न सक्यो भने कांग्रेसको वर्तमान धर्मराएकोजस्तो देखिए पनि भविप्य उज्ज्वल छ । सत्ताको स्वभाव चञ्चल हुन्छ । अतः कतिखेर यो कसका हातमा पुग्छ, के भन्न सकिन्छ र ? 
 

ad
ad