मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७९ पौष १२ मंगलबार ०७:४२:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णय : निर्मला हत्या घटनाको छानबिन गरी पीडितलाई न्याय दिने

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ पौष १२ मंगलबार ०७:४२:००

टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको ‘केस’ सम्भवतः सबैभन्दा धेरै ‘फलोअप’ गरेका थिए । घटनाको चार वर्षपछि संयोगवश उनी गृहमन्त्रीको कुर्सीमा पुगेका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय पनि निर्मलालाई ‘न्याय दिने’ गरेका छन् । 

गृह मन्त्रालयमातहतका सबै विभागीय प्रमुखलाई राखेर नवनियुक्त गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी प्रमाणका आधारमा दोषीलाई यथाशक्य चाँडो कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिए । घटनाको अहिलेसम्म प्रभावकारी अनुसन्धान नहुँदा दोषीलाई कारबाही गर्न नसकिएको पनि उनले निर्णयमा उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेले गरेको निणर्यमा भनिएको छ, ‘११ साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धान अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा उक्त हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक छ । पीडित परिवारलाई न्याय दिन शंकास्पद व्यक्तिलाई छानबिन गर्नुपर्छ । तथ्ययुक्त प्रमाण संकलन गरेर पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई दिर्नेशन दिन निर्णयार्थ यो प्रस्ताव सदर गरेको छु ।’ 

निर्मलाको बलात्कार र हत्या सम्भवतः सबैभन्दा धेरै जनचासो जोडिएको घटना हो । तत्कालीन केपी ओली नेतृत्वको सरकार सोही घटनाका कारण चर्को आलोचनामा परेको थियो । नेपाल प्रहरीका तत्कालीन आइजिपी सर्वेन्द्र खनालले पनि चौतर्फी आलोचना सहनुपरेको थियो । ओलीपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १० साउन ०७८ मा हत्यारा पत्ता लगाउन गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिँदै अनुसन्धान गर्न भनेको थियो । सोहीकारण थापाले निर्मला घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका थिए । त्यसअघिका आइजिपी ठाकुर ज्ञवालीले पनि यो घटनाको अनुसन्धानलाई पहिलो प्राथमिकतामा राखेका थिए । वर्तमान आइजिपी धीरजप्रताप सिंहले त प्रहरी प्रधान कार्यालयमै पत्रकार सम्मेलनमार्फत निर्मला घटनाको अनुसन्धान आफ्नै कार्यकालमा निष्कर्षमा पुग्ने बताएका थिए । 

नागरिकतासम्बन्धी अनुसन्धानमा हस्तक्षेप हुँदैन  : रवि लामिछाने, गृहमन्त्री 
मेरा नागरिकता र राहदानीको विषयलाई लिएर प्रहरीमा अनुसन्धान जारी छ । यस विषयमा म जानकार छु । अनुसन्धान निष्पक्ष होस् भन्ने चाहन्छु । यसमा मेरो कुनै हस्तक्षेप हुनेछैन । 

आइजिपी सिंहले भनेका थिए, ‘निर्मला पन्त हत्या अनुसन्धान नयाँ मोडमा पुगेको छ । हाम्रा टोली अनुसन्धानमै छन् । यसले पक्कै निष्कर्ष पाउनेछ । आशा छ, मेरै कार्यकालभित्र यो सम्भव हुनेछ ।’ तर, घटना गुत्थी अझै फुक्न सकेको छैन । यही पृष्ठभूमिमा नवनियुक्त गृहमन्त्री लामिछानेले पनि निर्मला घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको सन्देश कार्यकालको पहिलो निर्णय गरेर दिएका छन् । 

‘निर्मला पन्त बलात्कार घटनाप्रति सबैको चासो छ । लामो समयसम्मको अनुसन्धानपछि पनि यो सल्टिन सकेको छैन । पीडितले अझै न्याय पाउन सकेका छैनन्, जुन जरुरी थियो । त्यसो हुँदा मैले यो विषयलाई प्राथमिकतामा राखेको हुँ । यो घटनाको अनुसन्धान अब नयाँ शिराबाट अघि बढ्नेछ,’ लामिछानेले पत्रकारहरूसँग भने । निर्मला घटनाको अनुसन्धान गर्न अहिलेसम्म फरक–फरक पाँच समिति बने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पनि कारबाहीमा परे । भलै उनीहरूविरुद्धको कारबाही पछि फुकुवा गरियो । गत ११ साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनको शव उल्टाखामस्थित उखुबारीमा फेला परेको थियो । घटनालाई लिएर चौतर्फी विरोध भयो । अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालले एआइजी धिरू बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरे । 

राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संगठनले समेत समिति गठन गरेर अनुसन्धान टोली घटनास्थल पठायो । तर, अनुसन्धान निष्कर्षमा पुग्न सकेन । बरु, फरक–फरक अनुसन्धान समितिका फरक–फरक प्रतिवेदनले घटना झन् गिजोलिन पुग्यो । जिल्ला, प्रदेश र सिआइबीका छुट्टाछुट्टै टोली अहिले पनि अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छुट्टाछुट्टै टोली अहिले पनि अनुसन्धानमा खटिएका छन् । उनीहरूमध्ये कति देखिने त कति नदेखिने भूमिकामा रहेर अनुसन्धान गरिरहेका छन् । यस क्रममा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरेको छ । उपलब्ध प्रमाणसँग ‘भेरिफाइ’ गरिरहेको छ । 

सिआइबी प्रमुख एआइजी उत्तम सुवेदीले घटनास्थलमा अहिले पनि सक्रियताका साथ अनुसन्धान भइरहेको बताए । ‘निर्मला पन्त हत्या अनुसन्धानलाई लिएर गृहमन्त्रीज्यूको पहिलो निर्णय भएको मैले पनि थाहा पाएँ । यो घटनामा हामी सुरुदेखि नै सजग छौँ । हाम्रो टोली अहिले पनि अनुसन्धानरत छ,’ उनले भने, ‘निर्मला पन्त हत्या जटिल प्रकृतिको घटना हो । यसको अनुसन्धानमा प्रहरी टोली घटनास्थलमा रहनु स्वाभाविक हो । यस्ता घटनामा समय लाग्छ । यसो भन्दैमा अनुसन्धान थाती राख्ने विषय रहेन । त्यसो हुँदा अनुसन्धान जारी छ ।’ एआइजी सुवेदीका अनुुसार हालसम्म सो घटनालाई लिएर एक हजारभन्दा धेरैलाई पक्राउ गरी छाडिएको छ । पाँच सयभन्दा धेरैसँग त सोधपुछ मात्रै गरिएको छ । प्रहरी अधिकृतसहित नौजनाको त डिएनए परीक्षणसमेत भएका छन् ।