मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ पौष ११ सोमबार ०६:१३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवाको ‘आत्मघाती’ अडान

Read Time : > 4 मिनेट
२०७९ पौष ११ सोमबार ०६:१३:००

राजकीय सत्ताका यी पदहरूको प्रमुख हिस्सेदारी गुम्यो : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश उपसभामुख

निर्वाचनमा गठबन्धनको सुविधाजनक बहुमत नआएपछि र माओवादी ३२ सिटमै सीमित रहेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको विश्लेषण यही थियो । यसैका आधारमा संसदीय दलको नेतामा चयन भएपछि देउवाले नयाँ सरकारको नेतृत्व आफैँले गर्ने रणनीति बनाए र गठबन्धनको बैठकमा त्यसैअनुसार प्रस्तुत भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपूर्वकै सहमतिअनुसार आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने अडान लिए ।

देउवा र प्रचण्डको अडानकै कारण शनिबार साँझसम्म सत्तागठबन्धन निरन्तर नहुने परिस्थिति सिर्जना भएको थियो । वारपारकै अवस्था आएपछि देउवा थप ढुक्क हुन चाहे र नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पठाए । ओलीले निधिलाई यसरी आश्वस्त पारे कि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दैनन् । आफ्ना दूतमार्फत आएको सन्देशपछि आइतबार बिहान देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको अडान दोहोर्‍याए । 

निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको र मुलुकका चुनौतीको सामना गर्न निरन्तरता दिनुपर्ने गठबन्धनमा रहेका दलहरूको सामूहिक निष्कर्षलाई पनि देउवाले आफ्नो अनुकूलताको निर्णय मानेका थिए । गठबन्धन १५ वर्ष जाने चुनावयताका वाचा पनि थिए । 

विश्लेषण र दूतमार्फत आएको सन्देश दुवै गलत देखियो र देउवाको अडान ‘आत्मघाती’ भयो । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए र कांग्रेस सत्ता–राजनीतिको सबै खेलबाट एकैपटक बाहिरिएको छ । उसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र कुनै पनि प्रदेशमा मुख्यमन्त्री नपाउने संसदीय अंकगणित तयार भएको छ । संसद्को ठूलो दलले अचानक प्रतिपक्षमा बस्नुपर्ने परिस्थिति सिर्जना भएसँग कांग्रेसभित्र आरोप–प्रत्यारोप सुरु भएको छ । पार्टीमा शक्तिशाली मानिएका देउवाको निर्णयबाट उनीनिकटकै नेता चकित छन् र आत्ममन्थनमा जुटेका छन् । इतर समूहले सबै घटनाको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने बताएको छ । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको हातबाट नेतृत्व गुमेपछि कुनै प्रतिक्रिया दिन मानेनन् । उनले यसबारे केही दिनपछि मात्रै आफ्नो भनाइ राख्ने बताए । ‘अहिले नै यो विषयमा केही बोल्दिनँ । एक–दुई दिनपछि मात्रै मुख खोल्छु,’ उनको भनाइ थियो । गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनका तर्फबाट राष्ट्रपतिमा पौडेललाई अगाडि सार्ने कांग्रेसको तयारी थियो । यसका लागि पौडेलले गठबन्धनका नेताहरूलाई भेटेर गठबन्धन नटुटाउन आग्रहसमेत गरेका थिए । शनिबार बिहान पनि प्रचण्डनिवास खुमलटार पुगेर पौडेलले प्रचण्डसँग भेटेर गठबन्धन टुट्ने अवस्था आउन नहुने भन्दै गठबन्धनमा सहमति जुटाउनका लागि आग्रह गरेका थिए । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठक बसेर पार्टीको आगामी भूमिकाबारे छलफल गर्ने बताए । ‘अहिले व्यक्तिगत रूपमा कांग्रेसले अब के गर्छ भन्ने होइन । भर्खर सरकार गठन प्रक्रिया सुरु भएको छ, सरकार बनोस् । अन्तिम अवस्थासम्म हामीलाई गठबन्धनकै सरकार बन्छ भन्ने विश्वास थियो, तर कुरा मिलेन, बनेन यत्ति नै हो । अहिलेलाई भन्नु अरू छैन । अब केही दिनमा पार्टीको बैठक बसेर छलफल गर्छौँ, समीक्षा गर्छौँ । त्यसपछि कांग्रेसको भूमिका के–कसरी अगाडि जान्छ भन्ने तय हुन्छ,’ अहिलेकै गठबन्धन बचाउन सक्रिय देउवानिकट मानिने नेता खड्काले नयाँ पत्रिकासँग भने । 

चुनावी अंकगणितमा विश्लेषण गर्न सक्ने कांग्रेस नेता डा. मीनेन्द्र रिजाल गठबन्धन छाडेर प्रचण्ड एमालेसहितको गठबन्धनमा जानु चुनावअगाडिकै गठबन्धनको परिणाम भएको ठान्छन् । ‘बहुसंख्यक कांग्रेसलाई आज प्रचण्डप्रति निराशा छ, आक्रोश पनि छ । मलाई निराशा र आक्रोश केही छैन । अघिल्लोपल्ट पनि निर्वाचनअघि सरकार गठनका लागि गठबन्धन निर्माण गर्नुभयो । त्यो एक कालखण्डसम्म सफल पनि बन्यो । यसपटक पनि हामीले निर्वाचनअगाडि सत्ता निर्माण गर्‍यौँ । त्यो जनमतबाट होइन, काठमाडौंको कोठामा बसेर सत्ता निर्माण गर्ने अभ्यास गर्‍यौँ । त्यसको परिणाम जे पनि आउन सक्थ्यो । यो जोसँग मिले पनि हुने बाटो हामीले खोल्यौँ । अर्कालाई किन दोष दिने ?’ रिजालले भने । 

रिजालले यो घटना कांग्रेसका लागि समीक्षाको विषय हुनुपर्ने बताए । ‘कांग्रेसमा पुराना र नयाँ नेता अहिले नै प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्थ्यो । सबैले सत्ता चाहियो भनेर हिँड्नुभएको थियो । यसले पुराना नेतालाई एकपटक ठन्डा दिमागले पार्टी निर्माणमा कहाँ चुक्यौँ भन्ने सोच्ने बाटो मिलेको छ भने नयाँ नेतालाई पार्टी निर्माण नगरी प्रधानमन्त्री बनिँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ भन्ने सिकाएको छ,’ रिजालले नयाँ पत्रिकासँग भने, ‘कांग्रेसलाई यो अवसरको रूपमा साबित हुनेछ भन्ने मलाई लागेको छ । यो चुनौती सामना गर्ने गरी कांग्रेसमा नेतृत्व गर्छु भन्ने महत्वाकांक्षा राख्ने सबैले संकल्प लिएर हिँड्नुभयो भने यो सानो घटना मात्र हुनेछ । यो घटनाले कांग्रेसको इतिहासलाई खासै बढी प्रभावित गर्दैन । कांग्रेस अझै बलियो भएर नेपालको लोकतान्त्रिक राजनीतिमा अगाडि बढ्छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले गठबन्धनबाहेकको सरकारको विकल्प नखोज्दा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । उनले अब कांग्रेसले पार्टीको संगठन सुधार र संसद्मा सशक्त भूमिका निभाउन लाग्ने बताएका थिए । महत कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बन्नेमा ढुक्क अवस्थामा रहँदा एमालेले खेल्ने मौका पाएको बताउँछन् । ‘उहाँहरू (माओवादी)ले एमालेसँग समानान्तर छलफल गरिरहनुभएको रहेछ । हामीसँग सिरियस कुरा भएको होइन भन्नुहुन्थ्यो । कांग्रेसले गठबन्धनले निरन्तरता पाउने बटमलाइनमा छलफल गरिरहेको थियो । स्वाभाविक रूपमा कांगेस पहिलो पार्टी भएकाले प्रधानमन्त्रीमा हामीले दाबी गरिरहेकै थियौँ । गठबन्धनकै सरकारमा फोकस भएकाले हामीले अरू अप्सनलाई गम्भीर रूपमा लिएनौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘गठबन्धनको विकल्पमा एमालेसँग मिलेर सरकार बनाउने हाम्रो ध्येय थिएन । गठबन्धन भएकाले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग पनि हामीले सरकार बनाउने गरी छलफल गरेनौँ । अब प्रतिपक्षको भूमिकामा रहेर संसद्मा सशक्त प्रतिपक्षको भूमिका निभाउनेछौँ र संगठन निर्माणमा केन्द्रित हुनेछौँ ।’

कांग्रेसको इतर समूहका नेता गुरुराज घिमिरेले वैकल्पिक गठबन्धनको बलमा प्रचण्ड प्रधानमन्त्री बन्नुलाई राजनीतिक दुर्घटनाका रूपमा व्याख्या गर्दै यसलाई नेतृत्वको असफलताका रूपमा टिप्पणी गरे । ‘यो घटनाक्रममा संवैधानिक र राजनीतिक पक्ष छ । संवैधानिक दृष्टिबाट बहुमत जुटाउने र सरकार बनाउने सामान्य लाग्ला । तर, राजनीतिक रूपमा यो ठूलो दुर्घटना हो,’ घिमिरेले भने, ‘सरकार बन्ने स्थितिमा गठबन्धनसँग एक सय ३६ सिट हुँदा अरू दुई सिट मिलाएर सरकार बनाउने अवस्थामा विपक्षी गठबन्धनको सरकार बन्नु नेतृत्वको असफलता हो ।’

घिमिरेले विगतमा आफूहरूले गठबन्धन उपयुक्त छैन भनेर भन्दै आएको अहिले पुष्टि भएको दाबी गर्दै पछिल्लो घटनाक्रममाथि केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताए । ‘यो विषय केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्छ । नेतृत्वले यसको जिम्मा लिनुपर्छ । पार्टी सभापतिलाई यो अवस्थामा पुर्‍याउने जो–जो नेता र पदाधिकारी जिम्मेवार छन्, ती सबैले केन्द्रीय समितबाट राजीनामा दिनुपर्छ ।’

रिजाल पछिल्लो राजनीतिक घटनाक्रम ओली र प्रचण्ड दुवैका लागि परीक्षा भएको बताउँछन् । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो, तर आउने दिनमा उहाँले अहिलेसम्म बोकेर हिँडेको राजनीतिलाई कुन धारमा जोड्नुहुन्छ भन्ने प्रश्न छ । शान्ति, अहिंसा र लोकतन्त्रको मूलधारमा जोड्नुहुन्छ कि सत्ताको खोजीका लागि फेरि पारंगत खेलाडीका रूपमा आफूलाई प्रमाणित गर्नुहुन्छ– त्यो नेपाली राजनीतिको एउटा विषय बन्ला,’ रिजालले भने, ‘ओलीजीलाई यति मात्रै भन्छु– अब कांग्रेस र एमालेबीच प्रतिस्पर्धाको सम्बन्ध बनोस्, वैमनश्यताको होइन । जुन लोकतन्त्रका लागि दीर्घकालीन रूपमा फलदायी हुन्छ ।’

डा. मीनेन्द्र रिजाल, कांग्रेस नेता
बहुसंख्यक कांग्रेसलाई आज प्रचण्डप्रति निराशा छ, आक्रोश पनि छ । मलाई निराशा र आक्रोश केही छैन । अघिल्लोपल्ट पनि निर्वाचनअघि सरकार गठनका लागि गठबन्धन निर्माण गर्नुभयो । त्यो एक कालखण्डसम्म सफल पनि बन्यो । यसपटक पनि हामीले निर्वाचनअगाडि सत्ता निर्माण गर्‍यौँ । त्यो जनमतबाट होइन, काठमाडौंको कोठामा बसेर सत्ता निर्माण गर्ने अभ्यास गर्‍यौँ । त्यसको परिणाम जे पनि आउन सक्थ्यो । यो जोसँग मिले पनि हुने बाटो हामीले खोल्यौँ । अर्कालाई किन दोष दिने ?

कांग्रेसलाई यो अवसरको रूपमा साबित हुनेछ भन्ने मलाई लागेको छ । यो चुनौती सामना गर्ने गरी कांग्रेसमा नेतृत्व गर्छु भन्ने महत्वाकांक्षा राख्ने सबैले संकल्प लिएर हिँड्नुभयो भने यो सानो घटना मात्र हुनेछ । यो घटनाले कांग्रेसको इतिहासलाई खासै बढी प्रभावित गर्दैन । कांग्रेस अझै बलियो भएर नेपालको लोकतान्त्रिक राजनीतिमा अगाडि बढ्छ ।