१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विश्व चकित बनाउने शोभराजको अपराध यात्रा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५९:oo

बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराजको जीवन निकै अनौठो र रहस्यमय छ । अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन् । बाल्यकाल फ्रान्समै बिताएका उनले पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधिमा संलग्न भए । 

उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको पहिलो अपराध थियो । उनकै सहमतिमा लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा सो कुरा उल्लेख छ । 

सोही अपराधमा जेलमा रहँदा अन्डरवर्ल्डसमूहका सदस्य फिलिक्स इसकोन्जीसँग भेटे । जेलबाट दुवैजना छुटेपछि त्यहाँको अन्डरवर्ल्डसमूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे सूचना बटुले । त्यसपछि एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा संलग्न भए । 

यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे । पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा भारतको मुम्बई आए । पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको पुस्तकमा उल्लेख छ । तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन् । मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले । जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे । तर, एक वर्षको बीचमा नै उनी होटेल अशोकामा रहेको सुन पसल चोरीमा समातिए । तैपनि उनी जेलबाट भाग्न सफल भएकोमा तत्कालै प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए । 

त्यहाँबाट धरौटीमा रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे । काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो । चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए । जहाँ उनका भाइ एन्ड्री बस्थे । इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो । पछि ग्रिसमा पक्राउ परे । तर, शोभराजसँग प्रहरीबाट उम्कने अनेकौँ उपाय थियो । त्यहाँबाट पनि उनी भाग्न सफल भए । उनीसँगै प्रक्राउ परेका उनका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो । 

पछि शोभराज थाइल्यान्ड पुगे । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन् । त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे । त्यहाँ उनी लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए । उनीबाट लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामा नै मच्चियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए । त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो । त्यसपछि उनीहरू मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे । तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । यो सन् १९७५ को कुरा हो । सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा उनीहरूले दुई विदेशी नागरिकको हत्या गरे । 

नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो । अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड भएको बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ गर्‍यो । उक्त घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो । 

भारतको एक ठूलो मानिने तिहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए । त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो । जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । यसै क्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो । कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए । अनौठो के भने जन्मदिनको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो ।

त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका थिए । लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेलजीवन बिताए । त्यतिखेरसम्म उनी अन्तर्राष्ट्रियस्तरमै मोस्ट वान्टेड अपराधीका रूपमा कहलिसकेका थिए । त्यतिवेला शोभराजलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए । नेपालमा पनि सुपुर्दगीका लागि आग्रह गर्ने छलफल भएको थियो । तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन । भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट भियतनाम पुगेर सामान्य नागरिकका रूपमा पाँच वर्ष बिताए । त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए । काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० असोजमा पक्राउ गरेको हो । अब नेपालको जेलबाट मुक्त भएपछि एक कुख्यात अपराधीको जीवनको नयाँ अध्याय सुरु भएको छ । 

उनीविरुद्ध थाइल्यान्डलगायत कतिपय देशमा गम्भीर प्रकृतिका मुद्दा अझै बाँकी छन् । नेपालमा पक्राउ परेका वेला थाइल्यान्डले समेत उनलाई सुपुर्दगीका लागि चासो दिएको प्रहरी अधिकारी बताउँछन् । तर, सुपुर्दगी सन्धि नभएकाले फ्रान्समा नै निष्कासन गर्ने तयारी गरेको छ । 

ad
ad