१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार २२:३५:oo
Read Time : > 9 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

४७ वर्षअघि यसरी भागेका थिए शोभराज

Read Time : > 9 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:३५:oo

कुख्यात अपराधी चार्ल्स शोभराज १९ वर्ष तीन महिना नेपालको जेलमा बसेर छुट्दैछन् । २०३२ सालमा पहिलोपटक नेपाल आउँदा उनले दुई अमेरिकी र क्यानेडियन नागरिकको हत्या गरेका थिए । त्यतिवेला प्रहरीलाई छक्याएर भाग्न सफल भए पनि २०६० सालमा नेपाल आउँदा पक्राउ परे । अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएपछि कारागार पुगे । ज्येष्ठ नागरिक र स्वास्थ्यअवस्थाका आधारमा सर्वाेच्च अदालतले बुधबार कैद छोट्याएर उनलाई छाड्न आदेश दिएसँगै १९ वर्ष तीन महिनापछि उनी खुला आकाशमा फर्कंदैछन् ।  


२०३२ सालमा प्रहरीले ती हत्या घटनामा उनीमाथि शंका व्यक्त गरे पनि निकै चतुर तरिकाले उनले प्रहरीलाई छक्याएका थिए । उनकै सहमतिमा लेखिएको पुस्तक ‘लाइफ इन्ड क्राइम्स अफ चार्ल्स शोभराज’ नामक पुस्तकमा यसको विस्तृत विवरण छ । 

त्यसबेला कसरी भागेका थिए शोभराज ? 

सन् १९७६ डिसेम्बर । काठमाडौंमा क्रिसमसको रमझम सुरु भइसकेको थियो । प्रहरीको थोत्रो गाडी झोंछेस्थित ओरेन्टल लजअगाडि रोकिन्छ । त्यति वेला झोँछे  गजँडीहरूको स्वर्गका रूपमा चिनिन्थ्यो । त्यहीकारण झोँछेले ‘फ्रिक स्ट्रीट’ को अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो ।  

दाह्री पालेका एक पर्यटक ओरेन्टल लजको लबीमा बसिरहेका थिए । उनी  अमेरिकाको टेक्सासबाट नेपाल घुम्न आएका थिए । ‘फ्रिक स्ट्रिट’को मजा लिइरहेका वेला तीन प्रहरी अधिकारी लजभित्र छिरेपछि उनी निराश भए । हतास हुँदै होटलको माथिल्लो कोठामा पुगे, जहाँ अन्य दुई साथी सेली र केट थिए । फ्रिक स्ट्रिटमा प्रहरीको छापा हानेको आशंकामा उनी डराएका थिए । 

खासमा प्रहरी अधिकारी सेली र केटलाई खोज्न होटलमा आएका थिए । प्रहरीको कुरा सुनेपछि सेली र केटको आवाजले सानो होटल गुन्जियो । उनीहरू तीनैजना प्रहरी अधिकारीको पछि लाग्दै होटलको लबीमा पुगे । ‘हामी अस्पतालको शवगृह जानुपर्ने भयो,’ सेलीले होटलबाट तल झर्दै गर्दा अर्का साथी ल्युकलाई बोलाइन् । प्रहरीले एक विदेशीको शव भेटाएको छ र त्यसको सनाखत गर्न चाहेको छ । शव क्यालिफोर्नियाकी उनीहरूकै साथी कोनीको हुन सक्ने प्रहरी आशंका छ । पत्रकारिता पढेका ल्युक नेपाल प्रहरीले विदेशी नागरिकको मृत्युको घटनाको कसरी अनुसन्धान गर्ला भन्ने उत्सुकता बोक्दै प्रहरीको भ्यानमा चढ्छन् । 

अस्पतालको भवन पुरानो बंकरजस्तो छ । ढोकामा बसेका दुईजनाले प्रहरीका उपरीक्षकलाई सलाम गरे । अन्य दुई केटी साथीलाई बाहिरै बस्न आग्रह गर्दै ल्युक प्रहरी उपरीक्षक चन्द्रवीर राईलाई पछ्याउँदै भवनभित्र छिर्छन् । 

शवगृहभित्र एउटा जलेको शरीर छ । धर्के सटको थोरै बाउलाबाहेक शरीरका सबै कपडासमेत जलेका छन् । राम्रोसँग सो शरीर नहेरीकनै एसपी राईले ल्युकलाई भवनको अर्काे कुनामा रहेको एक युवतीको शव हेर्न लैजान्छन् । जहाँ छातीमा गहिरोसँग काटिएको एक युवतीको आधा जलेको शव छ । ‘उसलाई चिन्छौ ?’ एसपी राईले ल्युकलाई सोधे । विभत्स तरिकाले हत्या गरिएको शरीर हेर्दै उनी भन्छन्, ‘हे भगवान्, यी तिनै हाम्री साथी हुनुपर्छ ।’ कोनीकै शव हुन सक्ने उनको आशंका हुन्छ । 

शरीर यसरी जलेको छ कि उनले लगाएको गहनासमेत जलेर काला भएका छन् । वान्ता रोक्ने प्रयास गर्दै उनी भवनबाट फर्किन्छन् । प्रहरीले मृतकको सनाखत गर्न उनकी साथी सेलीसँग सोध्छन्, जसले उनीहरूको साथी कोनी जो ब्रुनिजबारे पटक–पटक कुरा गरेका थिए । 

युवतीको शरीर रहेको ठाउँबाट ढोकातर्फ फर्कदै गर्दा ल्युक एक अग्लो कद भएको पश्चिमी राष्ट्रको व्यक्तिको शवमा रोकिन्छन् । ‘यो शव चिन्नुहन्छ ?’ शव देखाउँदै एसपी राई विनम्रतापूर्वक प्रश्न गर्छन् । काठमाडौंबाट ३० किलोमिटर परको खोलाकिनारमा सो शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पहिला शवको सनाखत गर्न चाहेको थियो । 

कोनीको साथीका रूपमा आएका क्यानेडियन नागरिक लउरेन्ट क्यारिरेको शव हुन सक्ने उनको अनुमान थियो । लउरेन्टसँग एक साताअघि उनीहरू गीत गाउँदै सँगै बसेका थिए । त्यस वेला लउरेन्टले सगरमाथाको बेस क्याम्पसम्म ट्रेकिङ जाने योजना सुनाएका थिए । टाउको नै छुट्टिने गरी उनै लउरेन्टको घाँटी काटिएको थियो । 

‘त्यति ठूलो शरीर भएको मान्छेलाई त्यसरी काट्नमा कम्तीमा पनि पाँचजना मान्छे चाहियो होला,’ उनले सोचे । भित्रका नसा बाहिर निस्कने गरी उनको शरीर जलाइएको थियो । आधा नाक जलेको थियो । छातीमा कालो खरानी टाँसिएको थियो । नाडीमा जल्न बाँकी रहेको कपडाको टुक्राले हात बाँध्नका लागि सो कपडा प्रयोग गरिएजस्तो देखिन्थ्यो । सो कपडाको टुक्राले ल्युकलाई पहिले लउरेन्टल लगाएको सर्टको याद दिलायो । 

शव हेरिसकेपछि उनले एसपी राईलाई त्यही कुरा भने– मृतक लउरेन्ट हुन सक्छन्, कोनीका साथी । तर, उनले पक्का भने गर्न सकेनन् । 

‘कोनीको शव !’ शरीर  काम्दै शवगृहको बाहिर रहेका सेली र केटले सोध्दछन् । ‘हो जस्तो लाग्छ, तिमी आफैँ गएर एकपटक हेर,’ ल्युकले भने । त्यसपछि सेली भित्र गइन् । 

विद्यार्थीसमेत रहेका सुशील माथेमा ओरेन्टल होटलमा रिसेप्सनिस्टका रूपमा काम गर्दथे । घटनाको अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गर्‍यो । कुनै कुरा लुकाउन सक्ने भएकाले हिरासतमा राखेर प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । उनले आफूलाई थाहा भएको कुरा पहिला नै प्रहरीलाई भनिसकेका थिए । 

चार दिनअघि बिहानै पछाडि झोला भिरेर होटलको माथिल्लो तलाबाट निस्किएका लउरेन्टले आफू धुलिखेल जान लागेको बताएका थिए । होटलबाट उनी एक्लै निस्किएका थिए । दुई दिनसम्म पनि लउरेन्ट नफर्किएपछि त्यसको दुई दिन पछि कोनी पनि उनलाई भेट्न भन्दै होटलबाट निस्किएकी थिइन् । त्यसबाहेक माथेमासँग भएको अर्काे सूचना भनेको केही दिनअघि भारतीय नागरिक दुवैजनालाई खोज्दै होटलमा आएका थिए ।

जलेको शरीर कोनीकै रहेको सेलीले सनाखत गरेपछि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसपी राई नेपाल घुम्न आएका तीनैजना अमेरिकी विद्यार्थीलाई भ्यानमा राखेर प्रहरी कार्यालयमा पुगे । तीनैजनाले आफूहरूलाई कोनीका बारेमा सम्झना भएसम्मका कुरा बताए । उनीहरूले २२ डिसेम्बरमा कोनीलाई अन्तिमपटक भेटेका थिए । त्यही दिन बेलुका कोनीको लास प्रहरीले भेटाएको थियो । 

‘अ....उनले ओबराई (सोल्टी) होटलमा एक गहनाका डिलरसँग मिटिङको समेत कुरा गरेकी थिइन्,’ सेलीले सम्झँदै भनिन् । ’त्यो गहनाको व्यापारीलाई तपाईंले भेट्नुभएको छ ?’ एसपी राईले सोधे । 

‘छैन,’ सेलीको जवाफ थियो ।

एक दिन संयोगवश कोनीलाई फ्रिक स्ट्रिटमा भेट्दा उनले ती व्यापारीका बारेमा कुरा गरेकी थिइन् । ती व्यापारीले हिराको खानीमा जाने प्रस्ताव राखेको कोनीले बताएकी थिइन् । हिराको खानी नै नभएको नेपालमा त्यस्तो कुरा भएकोमा एसपी राई आश्चर्यमा परे । उनीहरूले कोनीको कोठामा भेटिएको नोटबुक प्रहरीलाई दिए । त्यो व्यापारी यही मान्छे हुनुपर्छ, एलेन गौटियर नामतर्फ संकेत गर्दै सेलीले भनिन् । जसमा ठेगाना लेखिएको थियो– कोठा नम्बर ५०४, कानित हाउस, साई सालादेड, बैंकक । 

प्रहरी कार्यालयबाट निस्किएपछि उनीहरू दिउँसो देखेको शवगृहको दृश्य बिर्सने प्रयास गर्दै क्रिसमस मनाउन सधैँ जाने रेस्टुरेन्टमा गए । तर, उनीहरूले भुल्न सकेनन् । सेलीले ओरेन्टल होटलमा पुग्नेबित्तिकै बान्ता गरिन् । ट्रेकिङको मजा लिन आएका उनीहरू घन्टा गन्दै भोलिपल्टै सहर छाड्ने निर्णयमा पुगे । क्रिसमसको बिहान काठमाडौंलाई चिसो र हुस्सु ढाकेको थियो । उनीहरू झोला बोकेर भारततर्फ आफ्नो गन्तव्य सोझ्याउँछन् । 

त्यही बिहान सेतो दास्तुन गाडी विष्णुमती खोला पार गर्दै स्वयम्भूतर्फ लाग्छ । सो कारलाई प्रहरी जिपले ओभरटेक गर्छ र जिपको पछाडि रहेका दुई व्यक्ति रोक्नका लागि कारलाई इसारा गर्छन् । जिपबाट एसपी राई बाहिर निस्कँदै कारमा रहेका दुई पर्यटकलाई अभिवादन गर्छन् । एसपी राईले सुरुमा ती पर्यटकको नाम र देश सोधे । ती पर्यटक थिए, चार्ल्स सोभराज । अन्तर्राष्ट्रिय कुख्यात अपराधी । जो थाइल्यान्डमा शृंखलाबद्ध हत्यापछि नेपाल आएका थिए।

एसपी राईले नाम सोधेपछि उनी मुस्कुराए । ‘म हेनरिकुस बिन्तान्जा, छोटकरीमा हेन्क भन्छन्, हल्यान्डबाट आएको,’ एसपी राईसँग हात मिलाउँदै उनले आफ्नो परिचय दिए । आर्म्सटडम युनिभर्सिटीमा आफू समाजशास्त्रको प्रोफेसर भएको बताउँदै सँगै रहेकी श्रीमतीको परिचय दिन्छन्, ‘उनी कुकी हेमकर हुन्,’ कालो चस्मा लगाएकी चार्ल्सकी श्रीमती मेरी एन्डी मुस्कुराउने प्रयास गर्छिन् । 

कोनीका साथीले उनलाई मिटिङका लागि बोलाएको गहना व्यापारी भियतनामी अनुहार भएको बताएकाले एसपी राई काठमाडौंमा भियतनामी अनुहार भएका पर्यटक खोजिरहेका थिए । शोभराजको भियतनामी अनुहार थियो ।  उनकी आमा भियतनामी र बुबा भारतीय मुलका हुन् । 

अनुसन्धानका क्रममा होटल ओबरायमा भियतनामी अनुहारका पर्यटक बस्ने गरेको थाहा पाएपछि उनले चार्ल्सको गाडीलाई पछ्याएका थिए । एसपीको सोधपुछको क्रममा आफ्नी श्रीमतीको परिचय दिँदै उनी भन्छन्, ‘यदि तपाईं हल्यान्ड जानुभएको भए, पहिले नै उनलाई चिनिसक्नुहुन्थ्यो । उनी त्यहाँ ठूली सेलिब्रटी हुन्, सधैँ टेलिभिजनमा छाउँछिन् ।’ चार्ल्स र उनकी श्रीमती थाइल्यान्डमा  डच दम्पतीको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर नेपाल आएका थिए । उनीहरूकै नामबाट प्रहरीलाई छक्याइरहेका थिए । 

भिसाबाट लिइएको कोनीको फोटो एसपी राई चार्ल्सलाई देखाउँछन्, ‘यो मान्छेलाई चिन्नुहुन्छ ?’ दुवैले नचिनेको भन्दै टाउको हल्लाउँछन् । ‘के भएको हो र एसपीसाब ?’ फोटो हेरेपछि चार्ल्सले सोधे । ‘यदि तपाईलाई अप्ठ्यारो हुन्न भने हामी तपाईंको कारमा सामान्य चेकजाँच गर्न चाहन्छौं,’ एसपी राई नरम हुँदै अनुमति माग्छन् । चार्ल्स खुसी हुँदै गाडी चेकजाँच गर्न दिन्छन् । 

चार्ल्सको गाडीबाट एउटा जिन्स पाइन्ट फेला पर्छ ।
‘यो जिन्स पाइन्ट तपार्ईंको हो ?’ 
‘मैले कहिल्यै यो पाइन्ट त देखेको थिइनँ ।’ 
‘अनुसन्धानलाई सहयोग गर्नका लागि तपाईंलाई हामीसँगै प्रहरी कार्यालय जान आग्रह गर्छु । दुःख दिनुपरेकोमा माफी चाहन्छु,’ एसपी राई भन्छन् । 
‘हामी दुई दिनपछि भारत जानु छ, तर पनि तपाईंको सुन्दर देशमा अझै केही दिन बस्न लेखेको रहेछ । ठीक छ,’ एसपी राईको आग्रह स्वीकार गर्दै शोभराज दम्पती प्रहरी कार्यालय जान तयार हुन्छन् । 

ल्युक, सेली र केटी भारत जानका लागि बस चढेको एक घन्टापछि चेकप्वाइन्टबाट फर्काइन्छन् । उनीहरूले भनेको हुलियाअनुसार चार्ल्स शोभराज समातिएकाले पहिचानका लागि उनीहरूलाई कार्यालय बोलाइन्छ । प्रहरी कार्यालयमा शोभराज र उनकी श्रीमती छन् । ‘ऊ नै हो भनेर म पक्का गर्न सक्दिनँ, एसपीसाब,’ शोभराजको अनुहारबाट आँखा हटाउँदै सेली भन्छिन् । शोभराजको हेराइले पहिले नै उनी डराइसकेकी थिइन् । 

‘अब मलाई दिक्क लागिसक्यो एसपीसाब, अझ मेरी श्रीमतीलाई  धेरै असर परेको  छ,’ नाडीमा बाँधेको सुनको ओमेगा घडी हेर्दै उनी भन्छन्, ‘हामी ओबराय होटल फर्कंदा हुन्छ ?’

केही समयपछि चार्ल्स फर्किए । उनको पहिचानका लागि बोलाइएका तीन युवती चार्ल्ससँग डराएका छन् । चार्ल्स प्रहरी कार्यालयमा आइसकेको उनीहरूलाई जानकारी थिएन । उनीहरूको सुरक्षालाई ध्यानमा राखी एसपी राईले बडिगार्ड खटाउँदै थप केही दिन काठमाडौंमा बस्न आग्रह गरे । 

भोलिपल्ट चार्ल्स आफैँ एसपी राईको कार्यालय पुग्छन् । जहाँ उनले अघिल्लो दिन आफ्नो कलम छाडेका थिए । प्रहरीले आफूमाथि कम शंका गरोस् भन्नका लागि त्यसरी कलम लिने बहानामा उनी आफैँ गएका थिए । चिया पिउँदै केही समय एसपी राईसँग कुरा गर्छन् । 

‘थाइल्यान्डमा जलेका अवस्थामा भेटिएका शवसम्बन्धी समाचार पढ्नु भयो मिस्टर ह्यांक ?’ एसपी राईले उनले सोधे । जुन हत्या शोभराजले नै गरेका थिए । थाइल्यान्डमा शृंखलाबद्ध हत्या गरेपछि उनी नेपाल आएका थिए । ‘म कहिल्यै पत्रिका पढ्दिनँ, एसपीसाब,’ एसपी राईको प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘अझ बैंककका पत्रिकामा खासै चासो लाग्दैन, मलाई थाईहरू पटक्कै मन पर्दैन ।’ 

केही समयको बातचितपछि एसपी राईसँग हात मिलाएर मुस्कुराउँदै चार्ल्स निस्कन्छन् । जुन उद्देश्यले उनलाई बोलाएर सोधपुछ गरिएको थियो, एसपी राईले हत्यामा उनको संलग्नताबारे कुनै संकेत पाउन सकेनन् । अपराधीमा हुने कुनै पनि गुण उनले चार्ल्समा पाएनन् । अपराधीहरू प्रायः प्रहरीसामु हतास हुन्छन्, तर उनी हँसिलो, नरम र चिन्तामुक्त रूपमा प्रहरीसामु प्रस्तुत भएका थिए ।

घटनामा चार्ल्सविरुद्ध खासै कुनै प्रमाण जुट्न नसकेपछि प्रहरीले कोनीसँग ओरेन्टल होटलमा एउटा कोठामा बस्ने लउरेन्ट क्यारिरेले हत्या गरेको आशंका गर्‍यो । 

शव फालिएको ठाउँनजिकैका एक किसानले सो दिन राति एउटा कार सो क्षेत्रमा घुमिरहेका देखेका थिए । सो कार नम्बरको पहिलो अंक ५ थियो, जुन चार्ल्स शोभराजले भाडामा लिएको दास्तुन कारको नम्बरसँग मिल्थ्यो । त्यस वेला काठमाडौंमा त्यस्ता आधुनिक कार एकदमै कम थिए । कारको नम्बर मिलेको र उनीहरूको कारमा भेटिएको जिन्स पाइन्ट हत्या गरिएका कोनीको हुन सक्ने आशंकामा प्रहरीले चार्ल्स र उनकी श्रीमतीमाथि थप छानबिन गर्ने निर्णय गर्‍यो । उनीहरू बस्ने कोठामा समेत छापा हान्ने प्रहरी योजना बन्यो । 

थाइल्यान्डमा जलाएर भएको हत्याको घटना फैलँदै गर्दा काठमाडौंमा भएको उस्तै प्रकृतिको अर्काे हत्याको खबर पनि सर्वत्र फैलियो । थाइल्यान्डबाट ठूलो मात्रामा काठमाडौंमा हेरोइन भित्रिएको चर्चा पनि थियो, त्यसवेला । त्यसकारण हत्या र लागुऔषधको ओसारपसार अन्तसम्बन्धित हुनसक्ने कतिपयको आशंका थियो । 

तीनैजना युवती एसपी राईलाई अनुसन्धानमा सहयोग गरिरहेका थिए । आफूमाथिको अनुसन्धानबाट चार्ल्स कत्ति पनि विचलित भएका थिएनन् । कुनै पनि परिस्थितिलाई आफ्नो काबुमा लिएर अरूलाई प्रभाव पार्न उनी  निपूर्ण थिए । मनोविज्ञानसम्बन्धी दर्जनौँ किताब पढेका चार्ल्सले आफूलाई निर्दाेष देखाउँदै प्रहरीलाई प्रभावमा पार्नु कुनै ठूलो काम थिएन । 

लउरेन्स क्यारिरे जसको हत्या उनले गरेका थिए, सोही व्यक्तिको पासपोर्ट बोकेर हुलिया परिवर्तन गरी उनी एक दिनका लागि थाइल्यान्ड पुग्छन्, जसबाट प्रहरी झन् अन्योलमा पर्छ । क्यारिरेले नै कोनीको हत्या गरेको हुन सक्ने आशंका प्रहरीले बलियो बनाउँछ । 

कोनीको शवको सनाखत भएपछि अमेरिकन दूतावासले अमेरिकास्थित उनको परिवारलाई टेलिग्राफ पठायो । लगभग शव सनाखत भएपछि थप पुष्टिका लागि कोनीको दाँतको रेकर्ड परिवारसँग माग्दै टेलिग्राफ पठाइएको थियो।  

लउरेन्टको शव अझै सनाखत हुन सकेको थिएन । प्रहरीले उनले नै कोनीको हत्या गरेको हुन सक्ने आशंकामा उनको खोजी गरिरहेको थियो । २८ डिसेम्बरको बिहानै प्रहरी ओबेराय होटल पुग्यो । चार्ल्स शोभराज बसेको कोठामा छापा हान्न । एसपी राई आफैँ गएका थिए । होटलको चार सय १५ नम्बरको कोठामा ढकढक गरेको धेरै समयसम्म पनि कुनै प्रतिक्रिया आएन । प्रहरी बल प्रयोग गरी भित्र प्रवेश गर्‍यो । कोठामा कोही थिएन । झोला, सामान यत्रतत्र लथालिंग फालिएको थियो । 

बेहोस बनाउन प्रयोग गर्ने चकलेट, पासपोर्टमा फोटो परिवर्तन गर्ने सामान तथा विभिन्न किताब त्यहाँ थिए । जुन चार्ल्स शोभराजकै सामान थिए । 

थाइल्यान्डबाट नै उनी कोनीको हत्याको योजना बनाएर आएका थिए । थाइल्यान्डमा पनि उनले आफूलाई गहना व्यापारीका रूपमा प्रस्तुत गरी विभिन्न व्यक्तिसँग नजिकिएर उनीहरूको हत्या गरी लुटपाट गरेका थिए । 

दर्जनौँ देशमा प्रहरीलाई छक्याउन सफल भएकाले आफू नेपालमा पनि सफल हुनेमा उनी विश्वस्त थिए । आफ्नो कोठामा प्रहरीले छापा हान्न सक्ने अनुमान उनले गरिसकेका थिए । रिसेप्सन हुँदै झोला बोकेर निस्कँदा कर्मचारीले शंका गर्न सक्ने भएकाले कोठाको झ्यालबाट आवश्यक सामान चौरमा फाली राति नै उनी होटलबाट भागेका थिए । प्रहरीको फन्दामा परिसके पनि शोभराज सजिलै नेपाल प्रहरीलाई झुक्याएर भारत भागेका थिए । भारतमा एक फ्रेन्च पर्यटकको समूहलाई औषधिमार्फत लठ्याएर लुटपाट गर्ने प्रयासमा असफल भएपछि उनी त्यहाँ पक्राउ परे । त्यसभन्दा अघि नै उनी भारतमा मस्ट वान्टेड थिए । 

त्यसपछिको १२ वर्ष उनी भारतको जेलमा बसे । सात वर्ष जेल बसेपछि उनी त्यहाँको तिहार जेलबाट सुरक्षाकर्मीलाई फलफूलमा विषादी मिसाएर बेहोस बनाई भाग्न सफल भएका थिए । आफ्नो बर्थडे पार्टीका नाममा उनले भोज दिई बेहोस बनाएर भागेका थिए । त्यसको करिब एक महिनापछि उनी गोवामा पक्राउ परे । 

भारतको जेलबाट छुटेपछि केही वर्ष फ्रान्समा ’सेलिब्रेटी क्रिमिनल’ का रूपमा बसे भने सन् २००३ मा नेपाल आउँदा पक्राउ परे । क्यासिनोबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय  सुनायो । त्यसबेलाको नेपालको कानूनअनुसार जन्मकैद सजाय भएकालाई अधिकतम २० वर्ष सजाय हुन्छ । सोही आधारमा उनी आगामी असोज १ गते छुट्नेमा सर्वाेच्च अदालतले उनी ७८ वर्ष भएको र स्वास्थ्यअवस्था पनि राम्रो नभएको आधारमा कैद छोट्एर तत्काल छाड्न भनेको हो । अध्यागमन विभागले उनलाई नेपालबाट निष्काशनको तयारी गरेको छ । यससँगै शोभराजको जीवनको नयाँ अध्याय सुरु भएको छ । 
 

ad
ad