मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सेरफ मोक्तान काठमाडाैं
२०७९ पौष ७ बिहीबार १९:३९:००
Read Time : > 5 मिनेट
ब्लग डिजिटल संस्करण

मेसी, अनवरत संघर्षका प्रतीक

मेसीले हार नै हारको पहाडमाथि जितको त्यस्तो झन्डा गाडेका छन्, जसले मानव सभ्यतालाई भाग्यवादको परिभाषा बदल्न बाध्य बनाएको छ

Read Time : > 5 मिनेट
सेरफ मोक्तान, काठमाडाैं
२०७९ पौष ७ बिहीबार १९:३९:००

लियोनेल आन्द्रेस मेसीबाट एकदम सटकट बनेर जन्मेको नाम हो ‘मेसी’ । जो विगत डेढ दशकदेखि फुटबल जगतमा एक किसिमको पर्यायावाची शब्द मात्रै नभई जबर्जस्त उपमा एउटा सिंगो शब्दकोशको रूपमा उभिरहेको छ । 

अर्जेन्टिनाको एउटा गुमनाम सहर ‘रिजारियो’मा जन्मेको एउटा बालक आजकोजस्तो अत्यन्त प्रतिस्पर्धात्मक र शारीरिक खेल फुटबलको बादशाह होला भन्ने कल्पना कसैले गर्ने कुरै भएन । किनभने, उनलाई सानै उमेरमा ‘ग्रोथ डिफिसेन्सी’ नामक दीर्घ रोग लागेको थियो । त्यही समय स्पेनिस फुटबल र सिंगो युरोपेली फुटबल जगतमा छिमेकी क्लब रियल मड्रिडको दबदबा रहेको समयमा बार्सिलोना हरेक समय आफ्नो दरिलो उपस्थितिको खोजीमा रहेको थियो । त्यही वेला उसको नजर गम्भीर रोगसँग जुधिरहेको एउटा १३ वर्षको बालकमा पर्यो । त्यो बालकको परिवार आर्थिक रूपमा उसको उपचार गर्न असमर्थ थियो र एक होनहार प्रतिभाशाली बालकको भविष्य अन्धकारतिर धकेलिँदै थियो । 
मेसीको सम्पूर्ण उपचार बार्सिलोनाले व्यहोर्ने र उनले बार्सिलोनाबाट फुटबल खेल्ने सर्तमा सहमति भयो र कागजको टुक्रा न्याप्किनमा दुईपक्षबीच सम्झौतास्वरूप हस्ताक्षर भयो । 

२०२२ को विश्वकपमा मेसीको प्रदर्शन साँच्चै अतुलनीय र अद्भूत रहेको थियो । पोल्यान्डसँगको खेलमा पेनाल्टी मिस गर्दा उनी आलोचनामा परे । तर, उनले आफ्नो कन्फिडेन्टलाई अलिकति पनि कम हुन दिएनन् ।

मेसी बार्सिलोनाको एकेडेमीमा हुर्कन थाले । उनी १७ वर्षको उमेर पुग्दा सन् २००४ मा मेसीले बार्सिलोनाको सिनियर टोलीबाट खेल्ने मौका पाए । त्यही मौकालाई उसले यसरी उपयोग गरे कि संसारले एक असीम प्रतिभाशाली फुटबलर देख्न पायो । आज फुटबल दुनियाँको एक हिस्साले फुटबलको भगवानको रूपमा उनलाई नमन गर्न पायो । 

मेसीले फुटबल करियरमा आजको मितिसम्म व्यक्तिगत, क्लबस्तरीय र राष्ट्रिय टोलीबाट जित्न बाँकी कुनै पनि उपाधि छैन । व्यक्तिगत रूपमा ६ वटा युरोपियन गोल्डेन बुट, सातवटा बालोन डी’ओर, दुई फिफा गोल्डेन बल, दर्जनौँ प्लेयर अफ दि टुर्नामेन्ट, सयौँको संख्यामा म्यान अफ दि म्याच जितेका छन् । १५ वर्षको अवधिमा १० वटा ला लिगा, चार वटा च्याम्पियन्स लिग जित्नु जुन युरोपेली फुटबलको बादशाह रियल मड्रिडलाई पछि पारेर मात्रै सम्भव छ र यीलगायत क्लब फुटबलमा उनले ३५ वटा उपाधि जितेका छन् । 

लेखक ः सेरफ माेक्तान

मेसीले बार्सिलोनाबाट खेल्नुपूर्व रियल र बार्सिलोनाबीचको उपाधि संख्यामा ठूलो अन्तर थियो । मेसीले बार्सिलोनाबाट खेलेर बिदा हुँदाको समयसम्म आइपुग्दा उक्त खाडल घटेर बराबरीमा झरिसकेको छ । अन्तर्राष्ट्रिय रूपमा मेसीले उमेरसमूहको यू–२० विश्वकप, ओलम्पिक फुटबल, कोपा अमेरिका र हाल विश्वकप जितिसकेका छन् । स्मरणयोग्य कुरा त के हो भने ब्राजिलजस्तो फुटबलको महाशक्तिले एक शताब्दीसम्म जित्न नसकेको ओलम्पिक फुटबल मेसीले आफ्नो पहिलो उपस्थितिमा उत्कृष्ट प्रदर्शन गरेर जितेका थिए । 

भनिन्छ, मेसीले बार्सिलोनाबाट फुटबल खेल्न थालेदेखि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । तर, मेसीले धेरै चोटीपछाडि फर्किनुपरेको छ । धेरै खेल हारेका छन् । धेरै उपाधि अरूले उचाल्दा दर्शक बनेर हेरेका छन् । मेसी आजको सफल मेसी हुनका पछाडि धेरै असफलताका पर्खालहरू थिए । पहाडहरू थिए । मेसीले आज फुटबल इतिहासको सर्वकालीन महान् खेलाडीको स्थान पाउनुभन्दा पहिला धेरै चोटहरू भोगेका छन् । धेरै पराजयहरू भोगेका छन् । धेरै असफलताहरू भोगेका छन् । मात्रै उनले आफूलाई निखार्दै लगेका थिए । आफूलाई परिस्कृत र परिमार्जित एवं परिपक्व बनाउँदै लगेका थिए । र, आफूलाई प्रमाणित गर्दै लैजाँदा हामी दर्शकलाई कुनै सिनेमाको दृश्य जसरी सिक्वेलको रूपमा क्रमागत रूपमा आएको र भएको देखेर सहज र मनोरम लागेको मात्रै हो । 

फुटबल दुनियाँमा एउटा यस्तो हिस्सा थियो, जो विश्वकपको पूर्वसन्ध्या, पूर्वप्रभात र अझ भनौँ फ्रान्ससँगको फाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका खेलाडी मोन्टिएलले प्रहार गरेको बलले जाली चुम्नुभन्दा अघिल्लो क्षणसम्म पनि मेसी फुटबलको महान् खेलाडीको रूपमा दर्ज हुनका लागि मेसीले विश्वकप जित्नुलाई अनिवार्य सर्त मान्दथ्यो । र, अर्काथरी जमात जो आजभन्दा धेरै वर्ष पहिलादेखि मेसीले फुटबल दुनियाँमा पाएका व्यक्तिगत र क्लबस्तरीय सफलता र प्रदर्शनले नै उनलाई फुटबलको महान् खेलाडी प्रमाणित गरेको मत राख्दथे । १८ डिसेम्बर २०२२ एउटा यस्तो मिति रह्यो जहाँ मेसीले विपक्षीले राखेको सर्तलाई सहर्ष समाधान गरिदिएका छन्, विश्वकपको उपाधि चुमेर । 

आलोचकहरूले भनेजस्तै मेसीलाई फुटबल इतिहासको महान् खेलाडीको रूपमा स्थापित हुन् विश्वकप जित्नु नै अन्तिम सर्त भइसकेको थियो । मेसी विश्वकप जित्ने अन्तिम मौका उपयोग गर्न ३५ खेलसम्मको लामो अपराजित यात्रा तय गर्दै कतार पुगेका थिए ।

अब विपक्षीले उनलाई कस्तो खालको शर्त र चुनौती राख्लान त्यो हेर्न बाँकी नै छ । र त्यो चुनौती सान्दर्भिक र सुहाँउदो भयो भने पक्कै मेसी यसका लागि तयार हुने छन । एउटा दिवा स्वप्ना कल्पना गरौँ मेसीलाई नेपालको कुनै क्लबमा आएर एक उपाधी जित्ने चुनौती उसको सामु राखिदिओस । यसो भयो भने नेपाली फुटबलले एकै महिनामा आर्थिक हिसाब र खेल भावना एवं प्रेमको हिसाबले अतुलनिय फड्को मार्ने छ । 

मेसी आजको मेसी हुनुपूर्व उनले भोगेका चोट र हारका कुरा गरिरहेका थियौँ । हो, मेसी हार नै हारबाट विक्षिप्त भएको एउटा पात्र पनि हो । क्लबस्तरमा मेसीले पछिल्लो समय पोर्चुगलको लिस्बोन सहर, इटालीको रोम सहर, इङ्ल्यान्डको एनफिल्ड रंगशालामा र गत सिजन मात्रै स्पेनको बेर्नाबेउ रँगशालामा ब्यहोरेका हारहरू मेसीको चर्चित एवं हृदयविदारक हार हुन । त्यसैगरी २०१५ को कोपा अमेरिका फाइनल २०१६ को पनि कोपा अमेरिका फाइनल मेसीले हारेका थिए । त्यसअगाडि २००७ को कोपा अमेरिका फाइनल र २०१४ को विश्वकप फाइनल समेत मेसीले हारेका थिए । यी फाइनलहरू हारेपछि मेसीको नसिवमा अन्तर्राष्ट्रिय उपाधि नरहेको भन्दै धेरैले अन्तराष्ट्रिय फुटबलको सबैभन्दा अभागी खेलाडीको ट्याग उनलाई झुन्डाइ दिएका थिए । 

२०१६ को कोपाको फाइनलमा पेनाल्टी मिस गरेका उनले हारको पीडाबाट विक्षिप्त भएर अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । विश्वभरिका समर्थकहरूको आशा र चाहना फेरि मेसीलाइ अर्जेन्टिनाको जर्सीमा फुटबल खेलेको हेर्नु थियो । अर्जेन्टिनाका राष्ट्रपतिसमेतले मेसीलाई सन्न्यास फिर्ता लिन आग्रह गरेका थिए । र मेसी फेरि अर्जेन्टिनाको टोलीमा फर्किए । त्यस समय मेसी जिम्मेवारीबाट भागेर कायर भएको भनेर पनि खुब आलोचना भएको थियो । राष्ट्रिय टोलीमा पुनः फिर्ता भएपछि मेसीले अन्तराष्ट्रिय उपाधिलाई अझ महत्व दिए, तर २०१८ को विश्वकपमा मेसी पुनः असफल भए र अन्तिम १६ बाटै घर फर्किए । २०१५ पछिको अवधिमा मेसीले व्यक्तिगत उपलब्धी हाँसिल गरेता पनि उल्लेखित हारहरूलाई टार्न सकेनन् । 

त्यही हारहरूबाट पाठ सिक्दै र आत्मबल बलियो बनाउँदै मेसीले आफ्नो अर्जुन दृष्टि अन्तर्राष्ट्रिय उपाधिमा मात्रै पार्न थाले । फलस्वरूप २०१८ को विश्वकपमा फ्रान्ससँग हारेयता खेलेका खेलमध्य कुनै खेल हारेका थिएनन् । तर, उनी कोपा अमेरिका २०२० मा ब्राजीलसँग सेमिफाइनलमा हारेर फेरि पनि अन्तर्राष्ट्रिय उपाधिविमुख भए । उक्त प्रतियोगितामा उनले रातो कार्डसमेत सामना गर्नुपर्दा मेसी अन्तराष्ट्रिय फुटबलको उपाधि भोकले गर्दा अनुशासनहीन खेलाडीको पहरेदार बनेको भन्ने आरोपसमेत उनीमाथि लाग्यो । तर, पनि उनी विचलित भएनन् । उक्त हारपछि कुनै खेल नहारी मेसीले कोपा २०२१ को उपाधि जिते । तर, ६ वर्षको अवधिमा चारपटक प्रतियोगिता गराएर जसरी पनि मेसीलाई अन्तराष्ट्रिय उपाधि जिताउन दक्षिण अमेरिकी फुटबल निकाय कन्मेबोलले सेटिङ गरेको भनेर मेसीको महत्वपूर्ण अन्तराष्ट्रिय उपाधिमाथि धेरैले आलोचना र प्रश्न खडा गरे । 

आलोचकहरूले भने जस्तै मेसीलाई फुटबल इतिहासको महान् खेलाडीको रुपमा स्थापित हुन् विश्वकप जित्नु नै अन्तिम शर्त भइसकेको थियो । मेसी विश्वकप जित्ने अन्तिम मौका उपयोग गर्न ३५ खेलसम्मको लामो अपराजित यात्रा तय गर्दै कतार पुगेका थिए । तर, पहिलो खेलमै साउदी अरेवियासँग अप्रत्याशित हार ब्यहोरेपछि मेसीको झनै आलोचना भयो । तर, उनले हार मानेन । आफ्नो उत्कृष्ट खेल र नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले कुनै कसर बाँकी राखेनन् । फलस्वरूप उनले विश्वकपको उपाधि चुमेरै छाडे । 

धेरै हार नै हारको पहाडमाथि उनले एउटा जितको झन्डा गाड्न सफल भएका छन् । त्यो जित यस्तो रह्यो कि यसले धेरै अनुत्तरित प्रश्नहरूको जवाफ दिएका छन् । धेरै जिज्ञासा र कौतुहलताको समाधान दिएका छन् । आफ्नो उमेर बराबरको अर्जेन्टिनाको विश्वकप खडेरीमा बहार ल्याएका छन । सबैभन्दा महान् कुरा उनी फुटबलको सर्वकालीन महान् खेलाडीको विवादको समाधान दिन सफल भएका छन् । 

२०२२ को विश्वकपमा मेसीको प्रदर्शन साँच्चै अतुलनीय र अद्भुत रहेको थियो । पोल्यान्डसँगको खेलमा पेनाल्टी मिस गर्दा उनी आलोचनामा परे । तर, उनले आफ्नो कन्फिडेन्टलाई अलिकति पनि कम हुन दिएनन् । उनी कति कन्फिडेन्ट थिए भन्ने कुरा पछिल्ला खेलहरूमा उनको खेल शैली ड्रिबलिङ शैली र पेनाल्टी हान्ने शैलीमा ल्याएको सरलताबाट नै प्रष्ट देखिन्थ्यो ।

खैर, मेसीको सफलता र असफलताबारे लेख्न थालियो भने ठूलो ठेली नै बन्न सक्ला । तर, महत्वपूर्ण कुरा यो स्थापित भएको छ कि लियोनल मेसी उनका समर्थक र फुटबल प्रेमीहरूका लागि मात्रै नभई सिँगो मानव सभ्यताको लागि यस्तो एउटा प्रेरणाको स्रोत बनेका छन् कि उनलाई हेरेर मानिसहरूले अझ विशेष गरी दुःख र पराजयबाट आजित भई भाग्यलाई दुर्भाग्य भनी कर्तव्यबाट भागिरहेकाहरूले यो सिक्न सकिन्छ कि भाग्य र भाग्यको कथित खेल भनिएका चिज  मानिसको मेहनत, परिश्रम र आत्मविश्वासले बदलिदिन सक्छ । आजको युवा जमातले खास सिक्न पर्ने कुरा पनि यहि हो । धेरैले अन्तराष्ट्रिय उपाधि अर्थात विश्वकप मेसीको नसिवमा नरहेको भनेर चित्त बुझाइरहेको अवस्था थियो । तर मेसीले आफ्नो खेल जीवनको उत्तरार्धसम्म पनि मेहनत र अथक प्रयासलाई कुनै कमि हुन दिएनन् र आफ्नो कथित दुर्भाग्यलाई सौभाग्यमा बदल्न सफल भए । उनको जीवनबाट पाइने यो पाठ संसारको कुनै विश्वविद्यालयको कुनै पनि विधामा प्रयोगात्मक रूपमा गरेर देखाउन सम्भव नहोला, तर मेसीले प्रमाणित गरेर देखाएका छन र त उनी मेसी हुन् । ‘द गोट’ (ग्रेटेस्ट अफ अल टाइम) हुन् ।