मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
सौरभ यादव राजविराज
२०७९ पौष ५ मंगलबार ०६:०८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपचार नपाएर पाँच विपन्न युवाको ज्यान गयो, तर विपन्नका नामको बजेट फ्रिज

Read Time : > 3 मिनेट
सौरभ यादव, राजविराज
२०७९ पौष ५ मंगलबार ०६:०८:००

कञ्चनरूप नगरपालिकाका १२ सय २१ विपन्न परिवारका लागि सरकारले दश हजारका दरले एक करोड २२ लाख दश हजार पठाएको थियो । तर, नगरपालिकाले खर्च नै गरेन ।

उपचार नपाएर पछिल्ला दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु भएको थियो

कञ्चनरूप नगरपालिका– ४ की बबिता पासवानका आमा र भाइ । अत्यधिक टाउको दुख्दा पनि आर्थिक अभावका कारण अस्पताल जान नसकेकी २६ वर्षीया बबिताको दुई महिनासम्म घरमै छटपटाएर ९ मंसिरमा मृत्यु भएको थियो । ‘चन्दा उठाएर भए पनि उपचार गर्न खोजेको हो, तर कसैले दिएन,’ आमा सीतादेवीले भनिन् । त्यस्तै, वडा नं. १ का सुरज सदा, ४ का राजदेव सदा, ८ का चन्दु सदा खंग र ९ का भिखो खंगले पनि उपचार अभावमै ज्यान गुमाएका थिए । कञ्चनरूप नगरपालिकामै केही बिरामी अहिले पनि उपचार अभावमा बाँचिरहेका छन् । स्थानीय सरकारले आपूmहरूको स्वास्थ्यप्रति कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।

...                                                  ...

सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाए । अन्य दर्जनौँ दलित र विपन्न परिवार उपचारको अभावमा छटपटाइरहेका छन् । तर, विपन्न परिवारका लागि आएको बजेट फ्रिज भएको पाइएको छ ।

कोरोना प्रभावित पाँच लाख विपन्न परिवारलाई दश हजार रुपैयाँका दरले राहत वितरण गर्न सरकारले गत पुस अन्तिम साता सबै स्थानीय तहमा पाँच अर्ब रुपैयाँ निकासा गरेको थियो । कञ्चनरूप नगरपालिकाका एक हजार दुई सय २१ विपन्न परिवारका लागि पनि सरकारले जनही दश हजार रुपैयाँका दरले एक करोड २२ लाख दश हजार रुपैयाँ पठाएको थियो । तर, सो रकम वितरण गर्न नसकेर नगरपालिकाले फ्रिज गरेको छ । 

नगरपालिका स्रोतका अनुसार त्यसरी आएको बजेट भागबन्डा नमिल्दा वितरण हुन नसकेको हो । ‘सुरुमा नगरप्रमुख वसन्त मिश्राले आफूनिकटहरूलाई बाँड्ने तयारी गरेका थिए । पछि अन्य जनप्रतिनिधि र कर्मचारीले पनि भाग खोजेपछि विवाद भयो । लामो समयसम्म भागबन्डाको कुरा नमिल्दा वितरण हुन सकेन र बजेट नै फ्रिज भयो,’ स्रोतले भन्यो । 

निवर्तमान नगरप्रमुख मिश्राले भने आफ्नो कार्यकालमा बजेट फ्रिज नभएको दाबी गरे । ‘मेरो कार्यकाल सकिनुअघि सबै काम टुंग्याइसकेको थिएँ । विपन्नहरूको छनोट भइसकेको थियो । वैशाखमा स्थानीय तहको निर्वाचन भएर नयाँ नेतृत्व आएपछि किन वितरण भएन भन्ने मलाई थाहा भएन,’ मिश्राले नयाँ पत्रिकासँग भने । 

कञ्चनरूप नगरपालिकामा हाल ललनप्रसाद गुप्ता मेयर छन् । उनले अघिल्लो कार्यकालका जिम्मेवार पदाधिकारीको लापरबाहीको कारण बजेट फ्रिज भएको दाबी गरे । ‘विपन्न परिवारका लागि बजेट आएको विषयमा मैले असारको अन्तिम दिनतिर मात्र थाहा पाएँ । त्यसपछि सबै शाखामा गएर धमाधम काम गर्न निर्देशन दिएको थिएँ । नभ्याइने भएपछि फ्रिज हुनुभन्दा मैले सो बजेट आफ्नै जिम्मेवारीमा स्वास्थ्य शाखाको खातामा राख्न लगाएको थिएँ । तर, पछि महालेखापरीक्षकको कार्यालयले त्यसरी बजेट राख्न नमिल्ने भन्दै चिठी पठाएपछि वितरण गर्न नपाई बजेट फिर्ता भयो,’ उनले भने । 

दलित अगुवा भोला पासवानले जनप्रतिनिधिहरूबीचको विवादका कारण विपन्नका नाममा आएको बजेट फ्रिज हुनु चिन्ताजनक भएको बताए । ‘एकातिर विपन्न जनता रोग र भोकले मरिरहेका छन् । दुई छाक टार्न धौधौ हुँदै छ । सरकारले पठाएको रकम कमिशनको चक्करमा फ्रिज हुने गरेको छ । यो जनतामाथि गरिएको धोका हो,’ उनले भने । 

राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण 

त्यस्तै, उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार नयाँ पत्रिकाले ‘उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सोमबार एक विज्ञप्ति जारी गर्दै दलित आयोगले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

‘यस्ता घटना बर्सेनि हुने गरेका छन्, तैपनि नदोहोरिनका लागि राज्यले पर्याप्त पहल गरेको देखिँदैन । त्यसैले यस्ता घटना पुनः हुन नदिनका लागि राज्यले दीर्घकालीन नीति बनाउनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता संवेदनशील घटनाको अल्पकालीन र दीर्घकालीन समाधानका लागि आयोगले विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराए पनि सरकारको बेवास्ताले गर्दा समस्या बढिरहेको आयोगको ठहर छ । आयोगले पीडित परिवारलाई सहयोग गर्न, बिरामीलाई स्वास्थ्य उपचार र शीतलहरबाट बच्न अन्य आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आर्थिक अभावका कारण उपचार नपाएर सप्तरीमा दुई साताको अवधिमा दलित समुदायका पाँच युवाको मृत्यु भएको थियो । मृत्यु हुने सबै ४० वर्षमुनिका छन् ।

मेयर गुप्ताको अभिव्यक्तिको आलोचना, फिर्ता नलिए आन्दोलन गर्ने 

मेयर ललनप्रसाद गुप्ता

सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा मेयर ललनप्रसाद गुप्ताले दिएको गैरजिम्मेवार अभिव्यक्तिप्रति दलितसम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् ।

जिल्लामा कार्यरत आधा दर्जनभन्दा बढी संघसंस्थाले सोमबार विज्ञप्ति जारी गर्दै मेयर गुप्ताको गैरजिम्मेवार र पदीय मर्यदाविपरीतको अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा चोट पुगेको प्रतिक्रिया दिएका छन् । गुप्ताको अभिव्यक्ति सिंगो दलित समुदायप्रतिको अपमान भएको विज्ञप्तिमा उल्लेख छ । 

मेयर गुप्ताले आइतबार कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु उपचार नपाएर नभई रक्सी सेवन र चेतनाको कमीले भएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

‘दैनिक रूपमा काम गर्ने अवसरसमेत नपाएर भोकै बस्न विवश मृतक परिवारलाई सान्त्वना दिनुको साटो नगरभरिका सम्पूर्ण दलितलाई रक्सी सेवनकर्ताको रूपमा स्थापित गर्नु सिंगो दलित समुदायप्रतिको अपमानको रूपमा हामीले लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ । मेयर गुप्ताले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।