मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव सप्तरी
२०७९ पौष ४ सोमबार ०६:१६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेयरको गैरजिम्मेवार अभिव्यक्ति–आर्थिक अभावले होइन, रक्सी सेवनबाट मृत्यु भएको हो 

Read Time : > 2 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ पौष ४ सोमबार ०६:१६:००

उपचार नपाएर पाँच विपन्न युवाको ज्यान गएको घटना

मेयर ललनप्रसाद गुप्ता

सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर ज्यान गुमाएको घटनाप्रति मेयर ललनप्रसाद गुप्ताले गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले उनीहरूको रक्सी सेवन र चेतनाको कमीले मृत्यु भएको बताए ।

‘निजहरूको उपचार र आर्थिक अभाव नभई रक्सी सेवन र चेतनाको कमीको कारणले मृत्यु भएको व्यहोरा अवगत गराउन चाहन्छौँ,’ मेयर गुप्ताले विज्ञप्तिमा भनेका छन् । उनले रक्सी तथा लागुपदार्थजस्ता सेवन न्यूनीकरणका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट पहल तथा सहयोग गर्नुपर्ने अनुरोध पनि गरेका छन् । 

‘उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु’ शीर्षकमा नयाँ पत्रिकाले शनिबार पहिलो पृष्ठमा कभर स्टोरी प्रकाशित गरेको थियो । १ नम्बर वडाका ३७ वर्षीय सुरज सदाको १४ मंसिरमा, ९ नम्बर वडाका ३९ वर्षीय भिगो खंगको १६ मंसिरमा, ४ नम्बर वडाकी २६ वर्षीया बबिता पासवानको ९ मंसिरमा, ८ नम्बर वडाका ३५ वर्षीय चन्दु सदा खंगको ६ मंसिरमा तथा ४ नम्बर वडाका ३१ वर्षीय राजदेव सदाको ११ मंसिरमा मृत्यु भएको थियो । उनीहरूको मृत्युबारे नयाँ पत्रिकाले स्थलगत रिपोर्टिङ गरेको हो । 

सुरजको नजिकैको क्लिनिकमा रगत र पिसाब जाँच गर्दा पेटमा पानी जमेको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले थप उपचारका लागि विराटनगर वा धरान लैजान सुझाव दिए पनि आर्थिक अभावले लैजान नसकेको उनकी आमा लटरी सदाले नयाँ पत्रिकाको स्थलगत रिपोर्टिङमा बताएकी छिन् । त्यस्तै, भिखोको १६ दिनसम्म राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरेपछि विराटनगर वा धरान रेफर गरिए पनि आर्थिक अभावले लैजान नसकेको उनकी श्रीमती सीताले बताएकी छिन् । खसी बेचेको ३० हजार र छिमेकीबाट चन्दा उठाएको १५ हजार गरी जम्मा भएको ४५ हजार गजेन्द्रनारायण अस्पतालमै सकिएको र थप पैसा जुटाउन नसकेपछि घरमै राख्दा ज्यान गएको उनले बताइन् । भिखोको कलेजोमा समस्या भएको चिकित्सकले बताएका थिए । 

बबिताको दुई महिनासम्म टाउको दुख्दा पनि अस्पताल लैजान नसक्दा मृत्यु भएको आमा सीतादेवी पासवानले बताएकी छिन् । आर्थिक अभावकै कारण उनले वर्ष दिनअघि उपचार गर्न नसकेर श्रीमान्समेत गुमाएकी थिइन् । त्यस्तै, चन्दुलाई पनि स्थानीय स्वास्थ्य चौकीदेखि गजेन्द्रनारायण सिंह अस्पताल पु¥याएर उपचार गरेको, तर १७ हजार सकिएपछि डाक्टरले राम्रो अस्पताल लैजान भनेकोमा पैसा नभएकाले घरै फर्काउनुपरेको श्रीमती कविताले बताएकी छिन् । उनले फुलीसमेत बेचेर १७ हजार जुटाएकी थिइन् । उपचारकै अभावमा पाँच वर्षअघि चन्दुका बुबा मिलुवा सदाको पनि मृत्यु भएको परिवारले जनाएको छ । 

पेटमा समस्या भएका राजदेवलाई भने कुनै पनि अस्पताल लैजान नसकेपछि घरमै मृत्यु भएको छिमेकी कुसु सदाले बताएकी छिन् । स्थलगत रिपोर्टिङका लागि शुक्रबार राजदेवको घर पुग्दा श्रीमती रानो सदा माइती गएकाले भेट हुन सकेन । छिमेकी कुसीका अनुसार राजदेव तीन महिनादेखि बिरामी थिए, तर पैसा नभएपछि उपचार गर्न कतै गएका थिएनन् । 

मृतकका परिवारलाई मन्त्रीको १०–१० हजार सहयोग 
मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पाँचै मृतकका परिवारलाई १०–१० हजारका दरले सहयोग गरेका छन् । आइतबार मुसहर बस्तीमा पुगेर उनले सहयोग हस्तान्तरण गरेका हुन् । साह भर्खरै सम्पन्न निर्वाचनमा सप्तरी १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनले बिरामी हालतमा रहेकाको उपचार व्यवस्था मिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । 

घटनाप्रति मधेसी आयोगको ध्यानाकर्षण : उपचार नपाएरै ज्यान गएको प्रारम्भिक निष्कर्ष, टोली खटाउने तयारी

मधेसी आयोगले उपचार नै नपाएर पाँच विपन्न दलित युवाले ज्यान गुमाएको प्रारम्भिक निष्कर्ष निकाल्दै घटनाको थप सत्यतथ्य बुझ्न टोली खटाउने तयारी गरेको छ । घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले पीडित परिवारलाई आवश्यक सबै सहयोग गर्न र बिरामीको स्वास्थ्य उपचार गर्न स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग अपिलसमेत गरेको छ । 

‘सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा पाँचजना अतिविपन्न मधेसी दलितहरूले अकालमै ज्यान गुमाएका छन् । उपचारको अभावमा पाँचजनाको ज्यान गएको प्रारम्भिक अध्ययनबाट देखिन्छ । यस घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आइतबार विज्ञप्ति निकालेर आयोगले भनेको छ ।’

आयोगले यस्ता घटना बर्सेनि हुने गरेको पनि जनाएको छ । समस्या समाधानका लागि राज्यले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउनुपर्ने उसको सुझाव छ । ‘यस्ता किसिमका घटना बर्सेनि हुने गरेको छ । पुनः दोहोरिन नदिन राज्यले गहन अध्ययन गरी समाधानका अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्छ,’ आयोगले भनेको छ, ‘घटनाको सत्यतथ्य जाँच गर्न यथाशीघ्र आयोगले एउटा टोली त्यहाँ पठाउनेछ र सबै सरोकारवालाहरूसँग मन्थन गरी समस्या निदानार्थ कार्य गर्नेछ ।’

संविधानको मौलिक हकमै समेटिएको नागरिकको उपचार ग्यारेन्टीलाई पनि आयोगले स्मरण गराएको छ । ‘नेपालको संविधानको ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा अक्षरअंकित गरेको छ । सबै नागरिकको उपचार राज्यले ग्यारेन्टी गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उपचारको अभावमा कसैको मृत्यु हुनेछैन भन्ने कानुनी व्यवस्थासमेत छ, तर सप्तरीको कञ्चनरूप नगरपालिकामा पाँचजना अतिविपन्न मधेसी दलितले ज्यान गुमाएका छन् ।’