Skip This
खोटाङको बाक्सिला बजारमा भीषण आगलागी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ४ सोमबार १९:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार १९:५४:oo

केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज (सोमबार) साँझ भीषण आगलागी भएको छ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रणबाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन्। 

आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ। प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको पूर्ण रूपमा जलेर नष्ट भएको हो। 

आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउने काम भइरहेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए। ‘आगलागी नियन्त्रणमा लिन गाउँपालिकाको जेसिबी प्रयोग गरेर स्थानीय अकबर राईको जल्दै गरेको घर ढाल्ने काम भइरहेको छ,’ उनले भने, ‘आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगलागीबाट लाखौँको क्षति भइसकेको छ।’

आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटेल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए। दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स, शुभशेरको घरमा गाउँपालिका प्रमुख समिर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटेल रहेको जनाइएको छ।

डिल्लीकुमारको घरमा स्वयं डिल्लीकुमारको कपडा पसल तथा उनका छोरा पवन श्रेष्ठको कपडा र भाँडा पसल रहेको थियो। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए। 

जस्तापाताको छाना तथा ढुंगामाटोले बनेको परम्परागत घर भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए।

‘आगलागीमा परेका सबै घर आपसमा जोडिएका छन्,’ उनले भने, ‘दमकल अभावका कारण ठूलो क्षति भएको छ। अहिले प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन्।’ 

बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भए पनि अहिलेसम्म मानवीय क्षति भने हुन नपाएको प्रनाउ मुकारुङले जानकारी दिए।