मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Sunday, 08 December, 2024
२o७९ मङ्सिर २९ बिहीबार १o:३२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जाडोमा किन रुघाखोकीका घटना बढ्छन् ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १o:३२:oo

वैज्ञानिकहरूले अन्ततः जाडोमा सर्दी र रुघाखोकीका घटना बढ्नुको पछाडिको जैविक कारण पत्ता लगाएका छन् । यो खोजीलाई उनीहरूले ठूलो सफलताको संज्ञा दिएका छन् । चिसो हावाले शरीर विशेषगरी नाकले जनाउने प्रतिरक्षा प्रतिक्रियालाई कमजोर बनाउने हालैमा प्रकाशित एक अध्ययनले पत्ता लगाएको छ ।

‘हाम्रो रोग प्रतिरोध क्षमतालाई चिसो तापक्रमले सीमित बनाउने देखिएको छ । यो यससम्बन्धीको जैविक तथा अणु वैज्ञानिक पहिलो व्याख्या हो,’ स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक डा. जारा पटेलले एक अन्तर्राष्ट्रिय समाचार संस्थालाई भनेकी छन् । यद्यपि, उनी अध्ययनमा संलग्न वैज्ञानिक भने होइनन् ।

अध्ययन जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित छ । नाक श्वासप्रश्वासबाट आउने भाइरसहरूका लागि सम्पर्कको पहिलो स्थान हुनुका साथै शरीरको रोग प्रतिरक्षा प्रतिक्रियाका लागि पनि महत्वपूर्ण स्थान भएको अध्ययनले पाएको छ । यही कारणले गर्दा नाक विशेषगरी चिसोप्रति कमजोर सावित हुन्छ । तापक्रम पाँच डिग्री सेल्सियस घट्दा मात्रै पनि नाकको प्वालमा रहेका कोषको प्रतिरोध क्षमता कम्तीमा ५० प्रतिशतले कम हुने अध्ययनले पत्ता लगाएको छ । यी कोषले अरबौँ भाइरस तथा ब्याक्टेरियासँग लड्ने गर्छन् । 

चिसो हावाले शरीर, विशेष गरी नाकको रोगप्रतिरोध प्रणालीलाई ५० प्रतिशतले कमजोर बनाउने अध्ययनले देखाएको छ 

‘चिसो हावाको सम्बन्ध भाइरल संक्रमणसँग जोडिन्छ किनभने तापक्रमको सानो गिरावटले मात्रै पनि नाकले आधा रोगप्रतिरोध क्षमता गुमाउने पाइएको छ,’ अध्ययनका सहलेखक तथा राइनोलोजिस्ट डा. बेन्जामिन ब्लेयरले भने । उनी म्यासाचुसेट्स आई एन्ड इयरमा ओटोलारिन्गोलोजीको निर्देशक छन् ।

मास्कले भाइरसबाट जोगाउने बताउँदै ब्लेयर भन्छन्, ‘मास्क प्रयोगले भाइरसको सीधै प्रवेशबाट मात्र जोगाउँदैन, यसले नाकलाई चिसोबाट जोगाउने स्वेटरको काम पनि गर्छ ।’ तर, यो अध्ययन सीधै मानव शरीरमा नभई कृत्रिम अवस्थामा प्रयोगशालामा गरिएको थियो । यो अध्ययनले नाकले कम तापक्रमको सामना गर्दा रिसिपेन्ट कोषहरूलाई न्युक्लिक एसिड, प्रोटिन आदि पु¥याउने जैविक कार्य गर्ने डिकोय एक्स्ट्रासेलुलर भेसिकलहरू (इभिएस) को प्रतिकृति निर्माणमा एक सय ६० प्रतिशतले वृद्धि गर्ने गरेको पनि पाएको छ । 

इभिएसहरूको संख्यामा वृद्धि हुँदा सास लिँदा प्रवेश गर्ने भाइरसहरू कोषहरूमा टासिनुको सट्टा यी नै इभिएसमा टाँसिन पुग्ने सम्भावना बढ्छ । यी इभिएसहरू सामान्य कोषजस्तो नभई कोषको सानो संस्करणजस्तो भएको अध्येताले बताएका छन् । उनीहरूका अनुसार इभिएसको डिजाइन नै भाइरसहरूलाई मार्ने खालको हुन्छ । 

इभिएसहरू सामान्य कोषभन्दा २० प्रतिशत बढी ग्रहणशील हुने भएकाले कीटाणुहरूलाई फन्दामा पार्ने उनीहरूको क्षमता पनि बढी हुन्छ । तर, चिसोमा इभिएसहरू सिँगानबाट निष्कासित हुन्छन् । जसका कारण तापक्रममा थोरै कमी आउँदा पनि यिनको संख्यामा ४२ प्रतिशतले कमी आएको अध्ययनले पाएको छ । यसबाहेक, चिसोले तिनको ग्रहणशीलतालाई कम्तीमा ७० प्रतिशतले घटाउने र प्रत्येक भिसिकललाई कम चिपचिपे बनाएर श्वासप्रश्वासबाट छिर्ने भाइरससँग लड्ने क्षमतालाई आधाले घटाउने अध्ययनले पाएको छ ।