१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
पर्शुराम काफ्ले नयाँदिल्ली
Invalid date format o६:२५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतमा आधारकार्ड नभएका नेपालीलाई सिमकार्डमा रोक

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

भिसा लागेको पासपोर्ट वा भारतीय आधारकार्ड नभएका विदेशी नागरिकलाई सिमकार्ड दिन रोक लगाउने भारत सरकारको निर्णय, उपचारका लागि भारतमा आउने नेपाली सबैभन्दा मर्कामा

भारतमा रहेका नेपालीलाई यहाँको आधारकार्डविना मोबाइलको सिम दिन रोक लगाइएको छ । नेपालबाट उपचारका लागि दिल्ली र अन्य भारतीय सहर आउने नेपाली नागरिकलाई यसबाट सबैभन्दा धेरै मर्का परेको छ । 

भारत सरकारले भिसा लागेको पासपोर्ट वा भारतीय आधारकार्ड नभएका विदेशी नागरिकलाई सिमकार्ड दिन रोक लगाउने निर्णय गरेको छ । नेपालीलाई भारत जान भिसा आवश्यक छैन, त्यसैले भारतीय भिसा लागेको पासपोर्ट हुँदैन । यसको मारमा नेपाली परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो नेपाल भ्रमणका क्रममा आठ वर्षअघि १८ साउन ०७१ मा संसद्लाई सम्बोधन गर्ने क्रममा भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउने आश्वासन दिएका थिए । यो आश्वासन त पूरा भएन नै, अहिले नेपालीलाई सिम पाउनबाट पनि वञ्चित गरिएको छ । 

नेपाली राजदूत शर्मा भन्छन्– समाधान खोज्न प्रयास गर्दै छौँ 
नयाँदिल्लीस्थित नेपाली दूतावासले यो समस्या समाधान गर्नेबारे प्रयासरत रहेको जनाएको छ । ‘यो समस्याबारे अवगत नै छु । हामी यो विषय समाधानका लागि प्रयासरत छौँ,’ नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भने । 

दिल्लीको करोलबागमा भेटिएकी काठमाडौं नैकापकी अप्सरा खत्रीले नेपाली नागरिकता र राहदानीका आधारमा भारतीय सिम नपाएको बताइन् । ‘पहिला नेपाली डकुमेन्टबाट सिमकार्ड पाइन्थ्यो, अहिले आधारकार्ड अथवा भिसा लागेको पासपोर्टका आधारमा मात्रै सिमकार्ड पाइने रहेछ,’ उनले दुखेसो पोखिन् । 

आफन्तको उपचारमा आएका कास्कीका रोशन गुरुङले पनि सिमकार्ड नपाएको दुखेसो पोखे । ‘नेपालको डकुमेन्टका आधारमा सिमकार्ड पाइएन । सिमकार्ड नभएपछि यहाँ इन्टरनेट चलाउन पनि असजिलो हुँदोरहेछ । नेपालमा सम्पर्क गर्न नै असाध्यै गाह्रो भयो,’ करोलबागमा भेटिएका गुरुङले भने । मोबाइलको सिमकार्ड नभएका कारण स्वास्थ्योपचारमा आएका नेपालीले घरमा सम्पर्क गर्न समस्या भएको बताए । 

करोलबागमा मोबाइलको सिम बेच्ने गरेका राकेश कुमारले भने, ‘भिसा नलागेको डकुमेन्टका आधारमा मोबाइलको सिम नदिनू भन्ने निर्देशन छ । सरकारले मोबाइल कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीबाट हामीहरूलाई निर्देशन आएको छ । यसको कारण हामीलाई थाहा छैन ।’ पहाडगन्जका मोबाइल व्यापारी मुकेश कुमारले कुनै पनि कम्पनीको सिम लिन भारतीय आधारकार्ड अथवा भिसा लागेको पासपोर्ट अनिवार्य रहेको बताए ।

‘विदेशी नागरिकको हकमा आधारकार्ड वा भिसा लागेको पासपोर्ट लिएर सम्बन्धित व्यक्ति आफैँ आउनुपर्छ र उनको बायोमेट्रिक लिएर मात्रै हामी सिम दिन्छौँ,’ मुकेशले भने, ‘मैले बुझेसम्म सिम आवेदक विदेशी नागरिकको सेक्युरिटी क्लियरेन्सको प्रक्रिया पूरा भएपछि मात्रै सिम एक्टिभ हुन्छ, कुनै शंका लागेमा सिमकार्ड एक्टिभ हुँदैन ।’

दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्काले नेपाली नागरिकता वा पासपोर्टका आधारमा विगतमा सिमकार्ड उपलब्ध हुने गरेकामा अहिले भारत सरकारको निर्णयले धेरै नेपाली मर्कामा परेको बताए । ‘नेपालबाट भारत आउन भिसा लाग्दैन, अब भिसा लागेको डकुमेन्ट कहाँबाट देखाउने ?’ खड्काले भने, ‘हेर्दा सामान्यजस्तो लागे पनि धेरै नेपालीलाई यसबाट समस्या भएको छ । नेपाल सरकारले भारतसँग कुराकानी गरेर समस्याको समाधान गर्नुपर्छ ।’

भारत बिहारका लोकसभा सांसद रामप्रीत मण्डलले नेपाली नागरिकले नागरिकता वा पासपोर्टका आधारमा भारतीय सिमकार्ड पाउनुपर्ने बताए । ‘१९५० को सन्धिअनुसार नेपाली नागरिकलाई भारतमा आउन नागरिकता वा पासपोर्ट भए पुग्छ । जहाँका नागरिकलाई भिसा लाग्दैन, उनलाई भिसा लागेको पासपोर्टका आधारमा मात्रै सिमकार्ड दिन्छु भन्न कसरी मिल्छ ?’ मण्डलले भने, ‘यो विषय म भारतीय विदेशमन्त्री र राज्यमन्त्रीहरूलाई पनि भन्छु र संसद्मा पनि कुरा उठाउनेछु । भिसा लागेर आएका पाकिस्तानी नागरिकले मोबाइलको सिमकार्ड पाउने, हाम्रो रोटीबेटीको सम्बन्ध भएका नेपाली नागरिकले परिचयपत्रका आधारमा सिमकार्ड नपाउने कुरा जायज होइन,’ मण्डलले भने ।