मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
मञ्जु टेलर काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ०६:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा बढ्यो वायु प्रदूषण 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ०६:१६:००

वातावरण विभागको तथ्यांकअनुसार एयर क्वालिटी इन्डेक्स (एक्युआई) सुनसरीमा १७४, काठमाडौंमा १५१ र कञ्चनपुरमा १३९ पुग्यो

जाडो मौसमको सुरुवातमै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । मंसिरको तेस्रो साताको सुरुमै वायु प्रदूषणको लेभल अस्वस्थकर देखिएको हो । काठमाडौं उपत्यका, सुनसरी, कञ्चनपुरलगायतका केही स्थानमा एक्युआई अस्वस्थकर देखिएको हो । 

वातावरण विभागको तथ्यांकअनुसार एक्युआई अर्थात् वायु प्रदूषणको लेभल एक सय नाघेको छ । जुन स्वास्थ्यका दृष्टिकोणले अस्वस्थकर मानिन्छ । विभागको तथ्यांकअनुसार सोमबार सुनसरीमा एक्युआई एयर क्वालिटी इन्डेक्स १७४ र काठमाडौंमा १५१ पुगेको छ । यसबाहेक कञ्चनपुरमा समेत वायु प्रदूषण अस्वस्थकर देखिएको छ । सोमबार कञ्चनपुरको एक्युआई १३९ पुगेको छ । 

डा. भूपेन्द्र दास, वायु प्रदूषणविद्
ट्रेन्ड हेर्दा जनवरी महिनामा प्रदूषणको लेभल बढ्ने गरेको छ । तर, सवारीसाधनको चाप, पूर्वाधार निर्माण, आगलागी, फोहोरमैला जलाउनेजस्ता विभिन्न कारण जाडो महिनामा मात्रै नभई मार्च र अप्रिलमा समेत प्रदूषणको लेभलले खतराको बिन्दु नाघ्ने गरेको छ ।

सुनसरीपछि काठमाडौं उपत्यकामा एक्युआई बढी देखिएको हो । वातावरण विभागको तथ्यांकअनुसार सोमबार सबैभन्दा बढी शंखपार्कमा १५१, खुमलटारमा १२७ र रत्नपार्कमा १२३ एक्युआई पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई एक सयभन्दा बढी हुँदा श्वासप्रश्वासका बिरामीका लागि जोखिमयुक्त मानिन्छ । 

भौगोलिक बनावटका कारण हावाको बहाव समानान्तर नहुँदा प्रदूषण बढ्दै जाने काठमाडौं उपत्यकामा जाडोको सुरुवातमै प्रदूषणको लेभल उच्च देखिनुले जोखिम बढाएको वायु प्रदूषणविद् डा. भूपेन्द्र दास बताउँछन् । ‘ट्रेन्ड हेर्दा जनवरी महिनामा प्रदूषणको लेभल बढ्ने गरेको छ । तर, सवारीसाधनको चाप, पूर्वाधार निर्माण, आगलागी, फोहोरमैला जलाउनेजस्ता विभिन्न कारण जाडो महिनामा मात्रै नभई मार्च र अप्रिलमा समेत प्रदूषणको लेभलले खतराको बिन्दु नाघ्ने गरेको छ,’ उनले भने ।

डा. दासका अनुसार सामान्यतया जमिनको सतह न्यानो र उचाइमा चिसो हुने गर्छ । तर, जाडोको सुरुवातसँगै बढ्ने प्रदूषणले काठमाडौं उपत्यकामा ‘टेम्परेचर इन्भर्जन’ हुने गरेको छ । जसकारण वायुमण्डलमा प्रदूषण थुप्रिँदै जान्छ र जमिन सतहमा हावाको बहाव नहुँदा काठमाडौंमा एक्युआईले खतराको लेभल नाघ्ने गरेको छ । ‘नेपाल र विशेष गरी काठमाडौं उपत्यका अधिकांश विश्वकै बढी प्रदूषित स्थानमध्ये मुख्य १० स्थानमा पर्ने गरेको छ । वातावरण विभागको तथ्यांकअनुसार उपत्यकामा चल्ने सवारीसाधनबाट निस्कने धुवाँधुलो र बाहिरबाट आउने प्रदूषणका कारण सधैँ जोखिमयुक्त हुँदै आएको छ,’ डा. दासले भने ।

दम र आज्माका बिरामी बढे 
काठमाडौं उपत्यकामा तापक्रम घट्दै जाँदा इन्फ्लुएन्जा, एडिनो भाइरसलगायतका मौसमी फ्लु, दम र आज्माका बिरामीको चाप बढ्न थालेको चिकित्सकहरू बताउँछन् । छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार यो वर्ष जाडोयामको सुरुवातमै दम, आज्मा र मौसमी फ्लुका बिरामी अस्पताल आउने दर बढेको छ । ‘चिसो बढिरहेको छ, सँगै भाइरल इन्फेक्सन पनि बढ्दो क्रममा छ । चिसोसँगै धुलो–धुवाँका कारण फोक्सोमा असर पुर्‍याउने भएकाले खोकी र पहिलेदेखि नै दम र आज्माको समस्या भएकाहरू प्रभावित हुन थालेका छन्,’ उनले भने । डा. बमका अनुसार सामान्यतया पुसको पहिलो सातापछि खोकीसहित आज्मा र दमको समस्या बढ्ने भए पनि यो वर्ष अस्पतालमा अहिलेदेखि बिरामीको चाप देखिन थालेको छ । 

दिल्लीमा प्रदूषणले खतराको तह नाघ्यो
भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणले खतराको तह नाघेको छ । दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोगले जाडोको सुरुवातीमै एक्युआई ४०७ पुगेको जनाएको छ । पछिल्ला केही दिनयता बढ्दै गएको प्रदूषणले खतराको तह नाघेपछि सजग रहन आग्रह गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै वायु गुणस्तर व्यवस्थापन आयोगले प्रदूषणलाई बढवा दिने हरेक गतिविधिमा रोक लगाएको छ ।