मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
स्टेफन मोर्गन
२०७९ मङ्सिर १९ सोमबार ११:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

कोभिड प्रतिबन्ध खुकुलो होस् वा नहोस्, चिनियाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्नेछ

Read Time : > 2 मिनेट
स्टेफन मोर्गन
२०७९ मङ्सिर १९ सोमबार ११:४४:००

चीनको जिरो–कोभिड नीतिविरुद्ध हालै भएको विरोध प्रदर्शन संख्या, तीव्रता र फैलावटका हिसाबले अभूतपूर्व छ । यो प्रदर्शन सन् १९८९ को तियानमेन स्क्वायर प्रदर्शनपछिकै सबैभन्दा ठूलो नागरिक अवज्ञा हो ।उसो त विरोध प्रदर्शनले चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता ढल्ने सम्भावना देखिँदैन, तथापि यसले पार्टीका महासचिव र चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि ठूलो चुनौती उत्पन्न गरेको छ । यो प्रदर्शनले चीनको स्थानीय अर्थतन्त्र र समाजका साथै विदेशी व्यापार र विश्व अर्थतन्त्रमा पनि महत्वपूर्ण प्रभाव पार्नेछ ।

विरोध प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय जगत्को आश्चर्य र डरमिश्रित प्रतिक्रिया आएका छन् । यद्यपि, कोभिड प्रतिबन्ध थप खुकुलो बन्ने, चीन विश्व जगत्का लागि पुनः पहुँचयोग्य हुने र विद्यमान आपूर्ति शृंखलाका अवरोध हट्ने भनेर आशा गर्ने ठाउँ थियो ।

२६ र २७ नोभेम्बरमा भएको प्रदर्शनपछिको सोमबारका दिन विश्व सेयर बजारमा भारी गिरावट आयो । तर, मंगलबारकै दिन जब प्रदर्शनकारीमाथि तीव्र प्रहरी दमन र गिरफ्तारी भयो, विदेशी लगानीकर्ताले चीनमा पुनः लगानी खन्याएपछि सेयर बजार उकालो लाग्यो ।   

लगानीकर्ताले विरोध प्रदर्शनलाई कम आँक्न थालेका छन् र बेइजिङले नीतिमा परिवर्तन गर्ने र पुनः अर्थव्यवस्था खोल्न बाध्य हुनेमा आशावादी छन् । उपप्रधानमन्त्री सन चुनलानले हालको भाइरस संक्रमण कम विषाक्त भएको भन्दै कोभिड प्रतिबन्धलाई खुकुलो बनाउने संकेत दिएका छन् । यद्यपि, उत्साही लगानीकर्ताले चीनको विद्यमान राजनीतिक वातावरण, घरेलु अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारका सम्भावनाबाट उत्पन्न दीर्घकालीन अप्ठ्यारालाई बेवास्ता गरेर जोखिम मोलिरहेका छन् ।

चिनियाँ नीतिमा बदलाव  : सत्ताको अस्तित्व आजको चिनियाँ राजनीतिक संस्कृतिको केन्द्रमा छ । सीले चीनलाई धनी र शक्तिशाली बनाउन चाहेको भए पनि घरेलु राजनीतिको व्यवस्थापन र भूराजनीतिक द्वन्द्व समाधान गर्नु बढी महत्वपूर्ण ठान्छन् । अक्टोबरको पार्टी कंग्रेसमा सीले अर्थतन्त्रभन्दा रक्षा महत्वपूर्ण हो भन्ने धारणा दोहोर्‍याएका थिए । यसले विश्व बजारका साथै चीनको घरेलु अर्थतन्त्र र राजनीतिमा प्रभाव पारेको अन्तर्राष्ट्रिय लगानीकर्ताले बुझ्नु जरुरी छ । तसर्थ, लगानीकर्ता र व्यवसायले चीन कोभिड संक्रमण वृद्धिका लागि तयार नभएको देखिन्छ ।

सरकारले संख्या बढाउने लक्ष्य राखे पनि ६० वर्षभन्दा माथिका दुईतिहाइले मात्र तेस्रो बुस्टर खोप लगाएका छन् । यद्यपि, चीनको कमजोर स्वास्थ्य सेवा प्रणाली, आइसियू बेडको अभाव र प्राकृतिक प्रतिरक्षाको न्यूनस्तरलाई ध्यानमा राख्दै, अर्थव्यवस्था पुनः सुचारु गर्दा मृत्युदरमा उल्लेखनीय वृद्धि हुन सक्छ ।

कोभिड नियन्त्रण हटाएर हुने कुनै पनि किसिमको आर्थिक वृद्धि चीनका लागि दिगो नहुने सम्भावना छ । घरेलु अर्थतन्त्र धराशायी छ । सुरुवातमा केही खुकुलोपन हुँदा प्रारम्भिक लाभ थिए, तर त्यसबाहेकको अवस्था हेर्ने हो भने सन् २०२० पछि आर्थिक वृद्धि कमजोर भएको छ । सन् २०२२ को पहिलो तीन त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन केवल तीन प्रतिशतले बढ्दा सरकारको ५.५ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुनेछैन । 

आवास मूल्य र लगानीमा पनि तीव्र गिरावट देख्न सकिन्छ । सन् २०२० देखि, चीनका ७० ठूला सहरमध्ये अधिकांशमा नयाँ निर्माण र पुनर्बिक्रीका लागि तोकिएको अपार्टमेन्टको मूल्य स्थिर वा घट्दै गएको छ । अक्टोबरलाई वर्षको समाप्ति मान्दा आवासीय क्षेत्रमा ३८.५ प्रतिशत लगानी घटेको छ । घरजग्गा उद्योगमा भएको समस्याले स्थानीय सरकारको राजस्व घटाएको छ । स्मरण रहोस्, यसले कोभिड महामारी रोक्ने बेइजिङ नीतिलाई कार्यान्वयन गर्न सहयोग गर्छ ।

सन् २०२२ को पहिलो १० महिनामा उपभोक्ता खुद्रा बिक्री ०.५ प्रतिशतमात्र भयो, त्यसैगरी खाद्य सेवा बिक्री ८.१ प्रतिशतले कम भयो । जेहोस्, यी गिरावट सन् २०२० को वसन्तमा सांघाई, सिचुआन र गुआङ्डोङमा भएको लकडाउनमा अनुभव गरेको २३ प्रतिशतभन्दा निकै कम हो । खरिद प्रबन्ध सूचकांक अक्टोबरमा ४९ दशमलव दुईमा झरेको छ र यो वर्षको पहिलो १० महिनामध्ये ६ महिनामा ५० भन्दा मुनि रहेको छ । यसले अर्थतन्त्र खुम्चिँदै गएको संकेत गर्छ ।

चीनको वैश्विक भूमिका :  चीनले अन्तर्राष्ट्रिय जगत्मा विश्व अर्थतन्त्रको इन्जिनका रूपमा आफ्नो केही प्रभाव गुमाउन सक्छ । कोभिड प्रतिबन्ध खुकुलो होस् वा नहोस्, चिनियाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्नेछ र अर्थतन्त्रमाथि रक्षालाई प्राथमिकतामा राख्ने बेइजिङको निर्णयले विदेशी व्यवसायलाई केही कदम चाल्न बाध्य पार्नेछ । धेरै व्यवसायले पहिले नै चीन छोडिसकेका छन् । अहिले केही मात्रै बाँकी छन्, जस्तो एप्पल । एप्पलको सेयर मूल्य अत्यधिक बढेको थियो, किनभने कार उत्पादकझैँ एप्पल चिनियाँ बजार र त्यहाँको उत्पादन प्रणालीमा निर्भर छ ।  

केही पश्चिमा नेताले चीनलाई अलग्याउनु नै समाधान हो भन्ने तर्क गर्छन् । सुरक्षा चासोका कोणबाट अलगाव जायज देखिए पनि सम्भव छैन । सेमिकन्डक्टरमा बिक्री प्रतिबन्ध लगाउने अमेरिकाको हालैको कदम सन् २००० को दशकदेखि चीनले आक्रामक रूपमा प्रविधि हासिल गरिरहेको छ भन्ने विषयको ढिला बुझाइको परिणाम हो । थुप्रै पश्चिमाले सन् २०१० को प्रारम्भमा सीको टिप्पणीलाई बेवास्ता गरेका थिए र जब बेइजिङको मेड इन चाइना २०२५ योजना सन् २०१६ मा स्पष्ट भयो, तब मात्रै कान ठाडा पारेका थिए ।

चीनको ठूला घरेलु बजारमा नाफाको खोजीका कारण अन्तर्राष्ट्रिय कम्पनीले चिनियाँ बजारको राजनीतिलाई बेवास्ता गरेको छ । चीनमा सरकारको व्यवसाय अन्ततः व्यापारले पार्टी–राज्यको हित र लक्ष्य पूरा गर्न सुनिश्चित गर्नमा निर्भर छ भने बुझ्न आवश्यक छ ।
(मोर्गन नटिङ्घम विश्वविद्यालयका आर्थिक इतिहासका सेवानिवृत्त प्राध्यापक हुन्) द कन्भर्सेसनबाट