१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १९:१४:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

अब ‘आहा ! रारा पोखरा गोल्डकप’, १० वर्षका लागि हिमश्रीले गर्यो पौने तीन करोडको प्रायोजन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

पोखरामा सञ्चालन हुँदै आएको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको नाम परिवर्तन भएको छ। 

नाम परिवर्तन गरी यस वर्षदेखि ‘आहा ! रारा पोखरा गोल्डकप’ को नामबाट प्रतियोगिता सञ्चालन गरिने भएको छ। २२औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको नाम चारपटक परिवर्तन भइसकेको छ। 

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा ०५८ देखि यो प्रतियोगिता आयोजना हुन थालेको हो। 

सुरुमा यसको नाम क्याराभान गोल्डकप थियो। ०५९ देखि ०६८ सम्म ‘आहा गोल्ड कप’ राखिएको थियो भने ०६९ देखि ०७८ सम्म ‘आहा ! रारा गोल्डकप’ नामबाट प्रतियोगिता भएको थियो। 

प्रतियोगिताको २२औँ संस्करण आउँदो १४ देखि २३ पुससम्म सञ्चालन हुने भएको छ। 

हिमश्री फुड्स प्रालिले आगामी १० वर्ष मुख्य प्रायोजन गर्ने
प्रतियोगिता सञ्चालनको लागि विगत २० वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिले आगामी १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । 

आगामी १० वर्षको मुख्य प्रायोजन गर्ने सम्झौतासँगै दुई संस्थाबीचको सहकार्य ३० वर्ष रहनेछ। बुधबार पोखरामा आयोजित कार्यक्रममा मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। 

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका तर्फबाट अध्यक्ष प्रेमकुमारी केसी, निर्देशकद्वय प्रकाश केसी र किरण केसी एवं आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गरे। 

प्रतियोगिता सुरुवातको वर्ष ०५८ मा सहप्रायोजन गरेको हिमश्रीले त्यसपछि दश–दश वर्षको सम्झौता गर्दै आएको छ। 

हिमश्रीले १० वर्षमा दुई करोड ७१ लाख रुपैयाँ दिने
मुख्य प्रायोजन गर्ने सम्झौतासँगै मुख्य प्रायोजक हिमश्री फुड्सले आगामी १० वर्षमा दुई शीर्षकमा गरी प्रतियोगिता आयोजक सहारालाई दुई करोड ७१ लाख रुपैयाँ दिने भएको छ। 

हिमश्रीले मुख्य प्रायोजनबापत १० वर्षमा दुई करोड १६ लाख र व्यवस्थापकीय पक्षलाई मध्यनजर राख्दै अन्य अतिरिक्त आन्तरिक खर्चका लागि १० वर्षमा  ५५ लाख रुपैयाँ दिने भएको हो।

मुख्य प्रायोजनबापत वार्षिक रूपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र अन्तिम वर्ष ०८८ मा २७ लाख रुपैयाँ दिने सम्झौतामा उल्लेख छ।

यसैगरी, अतिरिक्त आन्तरिक खर्चबापत वार्षिक रूपमा पहिलो तीन वर्ष चार लाख ५० हजार, दोसो तीन वर्ष पाँच लाख २५ हजार, तेस्रो तीन वर्ष ६ लाख २५ हजार र अन्तिम वर्ष ०८८ मा सात लाख दिने गरी हस्ताक्षर भएको छ। 

दोहोरो सहकार्य 
प्रतियोगितालाई मुख्य प्रायोजनसँगै केसी परिवारले सहारा क्लबसँग दोहोरो सहकार्य गरेको छ। यसअघि १७ कात्तिक ०७८ मा सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमी सञ्चालनका लागि वार्षिक रूपमा १५ लाख रुपैयाँ दिने गरी केसी परिवारले क्लबसँग सम्झौता गरेको थियो। 

सम्झौतासँगै ०५८ सालदेखि सञ्चालनमा आएको पोखरा १७  दोबिल्लास्थित सहारा एकेडेमीको नाम परिवर्तन गरी ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको थियो। ०५८ मा सूर्यबहादुरकै विशेष पहल र सक्रियतामा क्लबले एकेडेमी स्थापनासँगै प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो। 

एकेडेमीमा हाल १३ जना बालक रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। एकेडेमीको यो तेस्रो ब्याज हो। एकेडेमीमा आर्थिक रूपमा विपन्न तर फुटबल खेलप्रति मोह राख्ने बालकहरूलाई राख्ने गरिएको छ। 
सो एकेडेमी केसीको नाममा नामाकरण भएसँगै आगामी १० (दश) वर्षसम्मको लागि केसीको पुण्य तिथिका दिन उनको परिवारले क्लबलाई वार्षिक १५ लाख प्रदान गर्ने सम्झौता भएको छ।

१७ कात्तिक ०७७ का दिन निधन भएका केसी प्रतिनिधिसभाका तत्कालीन सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी राजनीतिज्ञका साथै प्रतिष्ठित उद्योगी व्यवसायीसमेत थिए।

माछापुच्छे बैंकका संस्थापक एवं पूर्वअध्यक्ष, दक्षिण एसियाकै पहिलो चाउचाउ रारा, हाइड्रो, हाउजिङ, शिक्षा, स्वास्थ्यलगायत धेरै व्यावसायिक क्षेत्रमा उनको र परिवारको लगानी रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय कोषाध्यक्षसमेत रहेका केसी पछि कांग्रेस प्रवेश गरेका थिए। 

हस्ताक्षर कार्यक्रममा कसले के भने ?
कार्यक्रममा हिमश्रीका निर्देशक प्रकाश केसीले खेल क्षेत्रको विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगितालाई मुख्य प्रायोजन गरेको बताए। आफ्ना स्वर्गीय पिताको काम र विचारलाई स्थापित गर्ने तथा जीवन्त बनाई राख्न क्लबसँग जोडिएको बताउँदै उनले सहाराका हरेक कार्यमा आफूहरू हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। 

निर्देशक किरण केसीले स्वर्गीय पिताले आफूहरूलाई समाजनमा घुलमिल हुनुका साथै खेलकुद, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्नु भन्ने गरेको सम्झँदै उहाको इच्छा र चाहनाअनुसार विभिन्न सामाजिक काममा आफूहरूले सहयोग गर्दै आएको बताए। क्लबसँगको सहकार्य आफूपछिका सन्ततिले समेत जारी राख्ने उनले विश्वास व्यक्त गरे। 

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले केसी परिवारले खेलकुदसँगै अन्य सामाजिक काममा गर्दै आएकोमा प्रशंसा गर्दै भावी दिनमा समेत यसलाई निरन्तरता दिन आग्रह गरे।