१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी दोहा
२o८१ बैशाख ३० आइतबार o५:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता फ्रान्स प्रिक्वार्टरफाइनलमा

Read Time : > 2 मिनेट
एजेन्सी दोहा
नयाँ पत्रिका दोहा
२o८१ बैशाख ३० आइतबार o५:५९:oo

साबिक विजेता फ्रान्स कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुग्ने पहलो टोली बनेको छ । फ्रान्सले शनिबार राति स्टेडियम ९७४ मा डेनमार्कमाथि २–१ को रोमाञ्चक जित निकाली समूह डीबाट अन्तिम १६ को स्थान पक्का गरेको हो । फ्रान्सको जितमा स्ट्राइकर केलियन एम्बाप्पेले दुई गोल गरेका थिए । यस समूहमा सबै टोलीले दुई खेल पूरा गरिसकेका छन् । फ्रान्सले दुई खेलमा सर्वाधिक ६ अंक बटुलेको छ । फ्रान्ससँग पराजित भएको डेनमार्क एक अंकका साथ तेस्रो स्थानमा छ । 

४८ प्रतिशत बल पोसेसन बनाएको फ्रान्सले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा फ्रान्सले दुई र डेनमार्कले एक गोल फर्काएको थियो । खेलको ६१औँ मिनेटमा फ्रान्सले १–० को अग्रता बनायो । एम्बाप्पेले डिबक्सभित्र हर्नान्डेजको सटिक पासमा गोल गर्न सफल भए । हर्नान्डेजसँग वान टु वान पास खेल्दै एम्बाप्पेले सहजै गोल गरे । फ्रान्सको अग्रता लामो समयसम्म रहेन । 

खेलको ६८औँ मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । डेनमार्कका लागि एन्ड्रेस क्रिस्टेन्सले बराबरी गोल गरेका हुन् । एन्डर्सनको कर्नरमा आएको बललाई क्रिस्टेन्सनले हेडिङ गोल गरेका हुन् । क्रिस्टेन्सनलाई ६ यार्ड बक्सनजिकबाट हेडिङ गर्ने मौका मिल्यो । 

बराबरीतर्फ गइरहेको प्रतिस्पर्धामा खेलको ८६औँ मिनेटमा एम्बाप्पेले फ्रान्सलाई २–१ को अग्रता दिलाए । उनले यसपटक एन्टोनियो ग्रिजम्यानको क्रसमा गोल गरे । खेल अवधिभर फ्रान्स आक्रामक रूपमा प्रस्तुत भएको थियो । 

लेवान्डोस्कीको पहिलो गोल
अन्तिम विश्वकप खेल्दै गरेका पोल्यान्डका स्ट्राकइर रोबर्ट लेवान्डोस्कीले फिफा विश्वकप फुटबल प्रतियोगितामा पहिलो गोल गरेका छन् । समूह ‘सी’अन्तर्गत दोस्रो खेलमा साउदी अरेबियालाई २–० अन्तरले पराजित गर्दा लेवान्डोस्कीले करिअरको ६ सय गोलसमेत पूरा गरे । लेवान्डोस्कीले एजुकेसन सिटी रंगशालामा विश्वकपमा गोल गर्ने आफ्नो सपना पूरा गर्न सफल भए । पहिलो खेलमा मेक्सिकोविरुद्ध प्राप्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्न चुकेका थिए । जितसँगै पोल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा फर्किएको छ । दुई खेलबाट पोल्यान्डले चार अंक जोड्यो । पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबियाको समान दुई खेलबाट तीन अंक छ । खेलको ३९औँ मिनेटमा पिओर्ट जिअलेस्कीको गोलमा पोल्यान्डले अग्रता बनाएको थियो । 

उनले लेवान्डोस्कीको पास सदुपयोग गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले खेलमा फर्कने अवसर पाएको थियो । तर, प्राप्त पेनाल्टीलाई साउदी अरेबियाका सलिम अलले जाली चुमाउन सकेनन् । उनको प्रहार गोलरक्षक वेजसिएच सटेन्सनेले बचाएका थिए । खेलको ८२औैँ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै पोल्यान्डको प्रिक्वार्टरफाइनल सम्भावना जीवित राखेका हुन् । यो गोलसँगै ३४ वर्षीय लेवान्डोस्कीले राष्ट्रका लागि ७७ गोल गरेका छन् । 

१२ वर्षपछिअस्ट्रेलियाको जित 
अस्ट्रेलियाले फिफा विश्वकपमा १२ वर्षपछि जित निकालेको छ । यो उपलब्धि प्राप्त गर्दा स्ट्राइकर मिचेल डुक नायक रहे । प्रतियोगितामा शनिबार अफ्रिकन राष्ट्र ट्युनिसियाविरुद्ध १–० को जितसँगै अस्ट्रेलियाले कतार फिफा विश्वकप २०२२ मा पहिलो जित निकालेको हो । अल जानोव मैदानमा डुक नायक बनेपछि अस्ट्रेलियाले प्रिक्वार्टरफाइनल सम्भावना कायम राखेको छ ।  

जापानको दोस्रो डिभिजनको फागिआनो ओकायामामा अनुबन्ध रहेका डुकले खेलको २३औँ मिनेटमा बक्सभित्रबाट उत्कृष्ट हेडिङबाट गोल गर्दै अस्ट्रेलियालाई १–० को अग्रता दिलाए । खेलमा थप गोल भएन । डुकको एक मात्र गोलको सहयोगमा अस्ट्रेलियाले महत्वपूर्ण तीन अंक जोड्यो । ट्युनिसियाले गोल गर्ने अवसर निकै सिर्जना गरे पनि ‘फाइनल थर्ड’मा चुकेको थियो । हारसँगै ट्युनिसिया कतार विश्वकपमा पहिलो जितबाट टाढा रह्यो । 

अस्ट्रेलियाका रक्षक ह्यारी सटर बाधक बनेपछि ट्युनिसियाले जित निकाल्न सकेन । स्कटल्यान्डमा जन्मिएका सटरले ट्युनिसियाका मोहमद ड्रागरको प्रहार रोकेपछि अस्ट्रेलियाले तीन अंक प्राप्त गरेको थियो । ट्युनिसियाका युसफ मसाक्नी र वाहवी खाज्रीले गोलको प्रयास गरे माट रायनले असफल पारेका थिए । 

अस्ट्रेलियाले विश्वकपमा १७ खेल खेलेको छ । अस्ट्रेलिया लगातार सातौँ खेलपछि जित निकाल्न सफल भएको थियो । यसअघि अस्ट्रेलियाले सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा सर्वियाविरुद्ध जित निकालेको थियो । खेलको प्लेयर अफ दी म्याच डुक भएका थिए । ग्राहम अनोल्डको सकरुसले अन्तिम खेलमा बुधबार डेनमार्कसँग खेल्नेछ । 

ad
ad