१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय पार्टी बन्यो राप्रपा

अपेक्षाकृत परिणाम आएन, तर हामी उत्साही छौँ : प्रवक्ता श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१o:oo

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा (२०७४) निर्वाचनमा जम्मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारसम्म प्रत्यक्षतर्फ पाँच सिट जितेको छ भने समानुपातिकतर्फ तीन लाख मत कटाएर राष्ट्रिय पार्टी भएको छ। 

गत वर्ष महाधिवेशनमा दोस्रो पुस्ताका राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएको एक बर्षभित्रै राप्रपा राष्ट्रिय दल भएको छ। राप्रपाले अपेक्षित परिणाम नआएको तर प्राप्त जनमतको जगमा उभिएर सबल पार्टी बन्ने ढोका खुलेको प्रतिक्रिया दिएको छ। 

२०४७ जेठ १५ मा स्थापना भएको राप्रपा मुलुकमा कम्युनिष्ट पार्टीहरुपछि धेरै पटक विभाजन भएको राजनीतिक दल हो। लिङ्देन निर्वाचित भएपछि पूर्व अध्यक्ष कमल थापा नेतृत्वको समूहले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेको थियो। 

‘नेतृत्व परिवर्तनका कारण राप्रपाप्रति बढेको आकर्षणको जगमा हामीले अहिलेको जनमत पाएका हौँ, युवाहरुलाई राजनीतिमा आकर्षण बढाएको पनि हाम्रो पार्टीमा भएको नेतृत्व परिवर्तनले नै हो’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अध्यक्ष राजेन्द्र लिङ्देनको प्रतिबद्धतालाई जनताले  र विशेष गरि युवाहरुले मन पराएको अर्थमा हामीले यो परिणामलाई लिएका छौँ। हामी यही जगमा टेकेर अघि बढ्छौँ।’ यद्यपि परिणाम अपेक्षाकृत नआएको उनले बताए । ‘हामीले अझै राम्रो परिणामको अपेक्षा गरेका थियौँ, तर यो जनमतले हामीलाई उत्साही नै बनाएको छ’ श्रेष्ठले भने। 

राप्रपाले २०७४ सालमा जम्मा एक सिट जितेको थियो। त्यसबेला पार्टी महामन्त्री रहेका लिङ्देन झापा ३ बाट निर्वाचित भएका थिए। अहिले राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष धु्रबबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, नेता दीपकबहादुर सिंह प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। अर्का उपाध्यक्ष विक्रम पाण्डे र नेता दीपक बोहराले पनि यो समाचार तयार गर्दासम्म अग्रता लिएका छन्।

२०७०को दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन तर उसले समानुपातिक तर्फ २४ सिट जितेको थियो। राप्रपाले भने प्रत्यक्ष र समानुपातिक गरि १२ सिट जितेको थियो। 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले ४ र राप्रपाले ८ तथा जनशक्ति पार्टीले ३ सिट पाएका थिए । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा ११ सिट जितेको थियो । २०४८ को निर्वाचनमा राप्रपाका दुई समूहले जम्मा तीन सिट जितेका थिए। 

‘अहिलेको राप्रपा विगतका सबै राप्रपा समूहहरूको समूच्च रुप हो’ प्रवक्ता श्रेष्ठले भने, ‘विगतमा राप्रपाका सबै धाराहरुको प्रतिनिधित्व अहिले राप्रपाले गर्छ । हामी थप सुदृढ हुन्छौं।’ 

एकता र विभाजनबाट गुज्रिँदै आएको राप्रपा अहिले पनि दुई समूहमा छ। यद्यपि कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल शक्तिका रुपमा कमजोर छ। प्रवक्ता श्रेष्ठले राप्रपा एक ढिक्का रहेको र यसको कुल सामथ्र्यमा केही पनि फरक नपरेको बता । 

ad
ad