Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जर्मनीविरुद्ध जापानको सनसनीपूर्ण जित

खेलको ७५औँ र ८३औँ मिनेटमा जापानले दुई गोल गर्दा चारपटकको विजेता जर्मनी २–१ ले स्तब्ध

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:३९:००

दोहाको खालिफा रंगशालामा बुधबार सम्भवतः चालू विश्वकप फुटबल प्रतियोगिताकै सर्वाधिक रोमाञ्चक तथा सनसनी खेल भयो । चारपटकको विजेता जर्मनीले एसियन पावरहाउस जापानको सामना गरेको थियो । अघिल्लो विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले २२औँ संस्करणमा उत्कृष्ट सुरुवात गर्न चाहन्थ्यो । तर, कहिले काही सोचेको जस्तो नहुने रहेछ । सिनियर तथा युवा खेलाडी सम्मिलित जर्मनीले जापानमाथि सहजै जित निकाल्ने अपेक्षा थियो । आठ मिनेटको अन्तरमा जापानले दनादन दुई गोल फर्काउँदा सन् २०१४ को च्याम्पियन जर्मनी २–१ ले स्तब्ध भयो । 

कतार विश्वकपमा लगातार दुई दिन अप्रत्याशित नतिजा आयो । जापानले पहिलोपटक इतिहासमै जर्मनीमाथि जित निकाल्यो । मंगलबार साउदी अरेबियाले दुईपटकको विजेता अर्जेन्टिनामाथि २–१ कै सनसनी नतिजा हात पारेको थियो । इतिहासमा अहिलेसम्मकै उत्कृष्ट नतिजा तथा पहिलोपटक दक्षिण अमेरिकी टोलीलाई हराएको खुसीयालीमा साउदी अरेबियामा बुधबार सार्वजनिक बिदा जारी गरियो । 

खालिफा रंगशालाको कथा ठ्याक्कै अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलजस्तै थियो । अर्जेन्टिनाले पनि साउदी अरेबियाविरुद्ध पेनाल्टीमा अग्रता लिएको थियो । यस खेलमा तीनवटा गोल अफसाइड भयो । जापान र जर्मनीबीचको खेलमा यस्तै भइदियो । जर्मनीले जापानमाथि १–० को अग्रता लिँदा पेनाल्टी गोलकै सहयोग लियो । प्रतिस्पर्धामा जर्मनीको दुई तथा जापानको एक गोल अफसाइड दिइएको थियो ।

प्रतिस्पर्धामा एकतिहाइ बल पोसेसन पकड बनाएको जर्मनीले खेलको ७५ देखि ८३औँ मिनेटमा जापानलाई हल्का लियो । जर्मनीले यसको ठूलै मूल्य चुकायो । रमाइलो पक्ष के छ भने जर्मनीविरुद्ध दुई गोल गरेका खेलाडी बुन्डेस लिगामा आबद्ध छन् । बुन्डेस लिगा खेलिरहेका रित्सु डोआन र ताकुमा असानोले समान एक गोल गरेपछि जर्मनीले स्तब्ध नतिजा हात पार्‍यो । यसअघि खेलको ३३औँ मिनेटमा इल्काय गुन्डोगानले पेनाल्टी गोल गरेका थिए । जापानी गोलरक्षकले जर्मन खेलाडीलाई डिबक्सभित्र फल गरेपछि जर्मनीले पेनाल्टी पाएको हो । 

म्यानचेस्टर सिटीका खेलाडी इल्काय गुन्डोगानले जापानी गोलरक्षकलाई विपरीत दिशामा डाइभ गराउँदै गोल गरे । मध्यान्तरपछि खेलको स्वरूप नै बदलिएको थियो । जर्मनीले काउन्टर, लङ पास र डिबक्सभित्र हेडिङ गोललाई प्रयास गरेको थियो । प्राविधिक रूपमा उत्कृष्ट खेल पस्किएको जापानले जर्मनीविरुद्ध काउन्टरभन्दा पनि वान टु वान पासमा दबाबमा राख्यो । यसै रणनीतिमा जापानले जर्मनीको पोस्टमा एकपछि अर्को पोस्ट चार्ज गर्‍यो । खेलको ७५औँ मिनेटमा वैकल्पिक खेलाडी रित्सुले जापानलाई बराबरीमा ल्याए ।

खेलको ८३औँ मिनेटमा ताकुमाले लामो पास नियन्त्रणमा लिँदै डिबक्सभित्र वर्तमान समयमै उत्कृष्ट गोलरक्षक मानुएल नुएरलाई छेक्न मौका नै नदिई जापानलाई खेलमा पहिलोपटक २–१ को अग्रता दिलाए । उनले इताकुराको पास सदुपयोग गरेका थिए । प्रतिस्पर्धामा जापानका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए । जर्मनीले समूह ‘ई’मा आइतबार सन् २०१० को विजेता स्पेनसँग खेल्नेछ । यसपछि कोस्टारिकासँग खेल्ने तालिका छ ।

 क्रोएसिया गोलरहित बराबरीमा 
विश्वकपअन्तर्गत समूह ‘एफ’मा साबिक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रोएसियाले मोरक्कोविरुद्धको खेलमा बल पकड बनाए पनि गोल गर्न सकेन । मोरक्कोका गोलरक्षक यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवै हाफमा यासिनले उत्कृष्ट बचाउ गर्दा क्रोएसियाले अंक बाँड्यो । मोरक्कोले क्रोएसियाविरुद्ध काउन्टर अवसरलाई सदुपयोग गर्न सकेन । 

पहिलो हाफको इन्जुरी समयमा मोरक्कोका गोलरक्षक बोनोउले क्रोएसियाका निकोलाको राम्रो गोल प्रयासलाई विफल पारे । इभान पेरिसिचले पनि मोरक्कोको कमजोर डिफेन्सको फाइदा उठाउन सकेनन् । दोस्रो हाफमा मोरक्कोले काउन्टर अट्याकको रणनीति अपनाएको थियो । प्रतिस्पर्धामा क्रोएसिया र मोरक्को दुवैले सात–सात प्रहार पोस्टमा गरेका थिए । दुवै टोलीको दुई प्रहार अनटार्गेट थिए । जारी विश्वकपको यो चौथो बराबरी हो । 

 फ्रान्सको सानदार जित
प्रतियोगिताको साबिक विजेता फ्रान्सले कतार विश्वकपमा सानदार जित निकालेको छ । मंगलबार राति फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हरायो । प्रतिस्पर्धामा अस्ट्रेलियाले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । खेलको नवौँ मिनेटमा अस्ट्रेलियाका लागि गुडविनले १–० को अग्रता गोल गरे । खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले १–१ को बराबरी गोल फर्काए । बराबरी गोल फर्काएपछि फ्रान्सले थप आक्रमण ग¥यो । खेलको ३२औँ मिनेटमा ओलिभर जिरुडले फ्रान्सलाई २–१ को स्थितिमा ल्याए । फ्रान्सका लागि केलिएन एमबाप्पेले ६८औँ मिनेटमा तेस्रो गोल गरेका थिए । खेलको ७१औँ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्स ४–१ ले विजयी भयो ।

 स्पेन आधा दर्जन गोलले विजयी
स्पेनले बुधबार राति कोस्टारिकालाई ७–० ले पराजित गरेको छ । चालू विश्वकपमा इंग्ल्यान्डपछि ठूलो जित अन्तर निकालेको स्पेन दोस्रो टोली बनेको छ । समूह ईमा स्पेन गोलअन्तरमा शीर्ष स्थानमा छ । यस समूहमा जापान तीन अंकका साथ दोस्रो स्थानमा छ । स्पेनको जितमा ६ खेलाडीले गोल गरेका थिए । खेलको ११औँ मिनेटमा ओल्मोले स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

 खेलको अन्तिम इन्जुरी समयमा अल्भारो मोराटाले स्पेनका लागि सातौँ गोल गर्दा कोस्टारिका ७–० ले पराजित भयो । कोस्टारिकाले स्पेनविरुद्ध कुनै पनि मुभ बनाउन सकेन । स्पेनले विश्वकप इतिहासमा पहिलोपटक विपक्षी टोलीमाथि ७–० को अन्तरले जित निकालेको हो । प्रतिस्पर्धामा स्पेनले ८२ प्रतिशत बल पोसेसन बनाएको थियो । यसको तुलनामा कोस्टारिकाले केवल १८ प्रतिशत मात्र बल पोसेसन राखेको थियो । 

युवा टोली स्पेनविरुद्ध कोस्टारिकाका खेलाडीले एकपटक पनि गोल प्रयास गरेनन् । यसको विपरीत स्पेनले १६ पटक गोलका लागि प्रयास गरेको थियो । स्पेनले प्राविधिक खेल खेल्दा कोस्टारिकामाथि दबाब राखेको थियो । स्पेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल थप्यो ।