१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सुवास भट्ट काठमाडाैं
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:३o:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय चुनावपछि मतदाता बढे, मत घटे

Read Time : > 6 मिनेट
सुवास भट्ट, काठमाडाैं
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३o:oo

कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ हुँदा स्थानीय निर्वाचनमा एक करोड २५ लाख ८३ हजार ८५० मत खसेको थियो, त्यसयताको सात महिनामा दुई लाख ५४ हजार ८४७ मतदाता थपिए, तर मत भने एक करोड नौ लाख ५७ हजार मात्रै खसेको निर्वाचन आयोगको प्रारम्भिक विवरण

संघ र प्रदेशको आइतबार सम्पन्न निर्वाचनमा सात महिनाअघि भएको स्थानीय तह निर्वाचनको तुलनामा झन्डै १० प्रतिशत कम मत खसेको छ । अहिलेको निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रारम्भिक विवरण छ । जब कि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको थियो । 

आयोगका अनुसार स्थानीय तह निर्वाचनका वेला एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । त्यतिखेर एक करोड २५ लाख ८३ हजार ८५० मत खसेको थियो । वैशाखयताको सात महिनामा दुई लाख ५४ हजार ८४७ मतदाता थपिएर संघ र प्रदेशको निर्वाचनमा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० पुगेका थिए । तर, खसेको मत भने घटेको छ । आयोगको प्रारम्भिक विवरणअनुसार अहिले ६०.९१ प्रतिशत मत खसेको छ । अर्थात्, एक करोड नौ लाख ५७ हजार १८ मत खसेको छ । 

अन्तिम विवरण आउन बाँकी रहेकाले यसमा केही संख्या थपिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले ७० प्रतिशत मतदान हुने अपेक्षा गरेको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । केही ठाउँमा साँझ ८ बजेसम्म पनि मतदान भएको थियो ।

संविधान जारीपछिको यो दोस्रो आमनिर्वाचन हो । निर्वाचनमार्फत प्रत्यक्ष र समानुपातिक गरी संघीय संसद्का दुई सय ७५ र प्रदेश सभाका पाँच सय ५० सांसद चयन हुनेछन् । ताजा जनादेशअनुसार संघीय र सातै प्रदेशमा नयाँ सरकार बन्नेछन् । 

आयोगको अन्तिम मतदाता नामावलीअनुसार एक करोड ७९ लाख ८८ हजार ५७० कुल मतदाता छन् । यसको ६१ प्रतिशत एक करोड नौ लाख ७३ हजार २७ मत हुन आउँछ । ७० लाख १५ हजार ५४३ जना मतदाता अनुपस्थित भएको प्रारम्भिक विवरणले देखाएको छ । 

कुल दश हजार आठ सय ९२ मतदानस्थलमध्ये नौ स्थलका १५ केन्द्रमा मतदान स्थगित भएको छ । बाँकी चुनाव भएका दश हजार ८८२ मतदानस्थलका २२ हजार २१२ केन्द्रमा ६१ प्रतिशत मत खसेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । साँझ ७ बजेसम्म करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । सम्पूर्ण रूपमा केही प्रतिशत वृद्धि हुन सक्छ । यद्यपि, यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो,’ उनले भने । 

आयोगको प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम प्रदेश १ मा खसेको छ । यसमा थपलियाले असन्तुष्टि जनाउँदै भने, ‘बढी अपेक्षा गरिएको प्रदेश १ मा खसेन । मधेस प्रदेशमा ६५ प्रतिशत खसेको छ,’ उनले भने । 

कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको विवरण पनि आएका थिए । केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिसँगको छलफलपछि पुनः सुचारू भएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भौगोलिक विकटता भएकाबाहेक मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकिएको बताए । ‘मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । सातवटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रबाट सेनाको हेलिकोप्टरबाट ल्याइनेछ । मौसमले साथ दिएमा आज अपराह्न ४ बजेसम्म हेलिकोप्टरबाट निर्वाचन अधिकृतको कार्यालय ल्याइसक्ने प्रयास छ,’ उनले भने । 

स्थानीय तहमा भन्दा करिब १० प्रतिशत मत कम 
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सात महिनाअघि भएको स्थानीय तह निर्वाचनको तुलनामा झन्डै १० प्रतिशत कम मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । जब कि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको थियो । 

स्थानीय निर्वाचन भएर मंसिरसम्म आइपुग्दा साढे दुई लाख मतदाता थपिएका थिए । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मतदानमा सहभागी थिए । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मितिसम्म पुग्दा यो संख्या बढेर एक करोड ७९ लाख ८८ हजार ५७० पुगेको छ, तर मतदान भने घट्यो । दुई लाख ५४ हजार ८४७ मतदाता थपिँदा करिब १० प्रतिशत न्यून मत खस्यो । गत स्थानीय तह निर्वाचनमा एक करोड २५ लाख ८३ हजार ८५० मत खसेको थियो । 

विदेशी पाहुनाले गरे पर्यवेक्षण

नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई काठमाडौँको हनुमानढोकास्थित मतदानस्थलमा मतदान प्रक्रियाबारे जानकारी लिँदै । तस्बिर:रासस   

आइतबार सम्पन्न मतदानको मित्रराष्ट्रबाट आएका पाहुनाहरूले अवलोकन गरेका छन् । निर्वाचन पर्यवेक्षण गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र दक्षिण कोरियाका आयुक्त काठमाडौं आएका थिए । त्यस्तै, जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुकेको टोली आइतबारै काठमाडौं आएर मतदानस्थलको अवलोकन गरेको छ । 

भारत, भुटान र बंगलादेशका प्रमुख आयुक्तको टोलीले मीनभवन क्याम्पस काठमाडौं, ख्वप कलेज भक्तपुर, श्रीकृष्ण मावि चाँगुनारायण, भक्तपुर नगरपालिका भवन, पद्म सेकेन्डरी स्कुल दरबार स्क्वायर भक्तपुर, आदर्श मावि सानोठिमीमा रहेको मतदानस्थलको अवलोकन गरेको थियो । 

त्यस्तै, माल्दिभ्सका प्रमुख आयुक्त र कोरियाका आयुक्तको दोस्रो टोलीले सरस्वती मावि कोटेश्वर, बनेपा नगरपालिका वडा नम्बर १० भवन, सञ्जीवनी सेकेन्डरी स्कुल अड्डाबजार धुलिखेल, आदर्श कन्या निकेतम मावि ललितपुर, महेन्द्र आदर्श मावि सातदोबाटो, ललितपुर महानगर वडा नम्बर ४ भवन जावलाखेल, यातायात व्यवस्था कार्यालय कुसुन्ती ललितपुरमा रहेको मतदानस्थलको अवलोकन गरेका थिए । 

त्यस्तै, जापानी विदेश राज्यमन्त्रीको पाँचसदस्यीय टोलीले वेद विद्याश्रम गौशाला, अन्नपूर्ण सेकेन्डरी इंग्लिस स्कुल गैरीगाउँ, हनुमानढोका सत्तल, नेपाल टेलिकम तालिम केन्द्र बबरमहल, महानगरीय प्रहरी परिसर टेकुमा रहेको मतदानस्थलको अवलोकन गरेको छ । विदेशी पाहुनाले आज मीनभवन, स्वयम्भूलगायत ठाउँमा मतगणनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । 

उनका अनुसार मतदानका क्रममा ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार २०७ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गरेका छन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूबाट समेत मतदानको अवलोकन भएको छ । पर्यवेक्षकहरूले मतदानमा उल्लेख्य सहभागिता नदेखिएको निष्कर्ष निकालेका छन् ।

आश्चर्यजनक मतसहित उदाउँदै स्वतन्त्र पार्टी

मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ । पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ ।

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ । मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए ।

‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय ३१ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने यसपटकको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने–नबन्ने अनिश्चित छ । यद्यपि, प्रत्यक्षमा कम्तीमा आधा दर्जन सिटसहित राष्ट्रिय पार्टी बन्ने राप्रपाको दाबी छ ।

हरेक निर्वाचन क्षेत्रमा चार स्थानमा गणना गरिने 

आयोगले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएसँगै सर्वदलीय बैठक राखेर आइतबार रातिदेखि नै मतगणना गर्न निर्देशन दिएको छ । हरेक निर्वाचन क्षेत्रमा चार स्थानमा गणना गरिने प्रमुख आयुक्त थपलियाले बताए । प्रतिनिधिसभा र प्रदेश सभा गरी प्रत्यक्षतर्फ दुई तथा समानुपातिकतर्फ दुई गरी चार मतपत्रबाट चारवटा मतपेटिकामा मतदान भएको थियो । ‘पहिले प्रत्यक्षको गर्ने र समानुपातिकको पछि गर्ने योजना थियो । मतदानको अवस्थाले सँगसँगै गणना गर्ने अवस्था सिर्जना गर्‍यो । त्यसकारण चारवटा बाकसको मतपत्र चार ठाउँमा लगातार गणना हुन्छ । सक्ने ठाउँमा आठ ठाउँमा, १२ ठाउँमा चारले भाग लाग्ने गरी हुन्छ । १२ मंसिरभित्रै परिणाम आउनेमा ढुक्क हुनुस्,’ थपलियाले भने । 

किन खसेन अपेक्षाकृत मत ? 

भोट हालेर के हुन्छ र भन्ने पनि मतदातालाई परेको छ : हरि शर्मा विश्लेषक
मतदानमा सहभागिता घटेको विषयलाई धेरै नकारात्मक रूपमा बुझ्नुहुँदैन । यसमा धेरै पक्ष जोडिन्छन् । व्यक्तिलाई भोट हाल्न जानका लागि धेरै कुराले प्रेरित गर्नुपर्छ । तर, भोट हाल्नका लागि मान्छे प्रेरित भइरहेको छैन ।

भोट हालेर के हुन्छ र भन्ने पनि मतदातालाई परेको छ । स्थापित राजनीतिक दलप्रतिको उनीहरूको आकर्षण छैन । अर्कातिर मतदानका लागि योग्य युवा ठूलो संख्यामा विदेशमा छन् । चुनावकै मुखमा बिदेसिनेको लर्को घटेको छैन । तर, भोट हाल्नकै लागि कोही पनि देश फर्किएका छैनन् ।

स्थानीय निर्वाचनमा मुद्दा थियो । उनीहरू स्थानीयस्तरमा बाटोघाटो र पूर्वाधार बनाउने भनेर भोट मागेर स्थानीय जनप्रतिनिधिले चुनाव जितेका छन् । स्थानीय जनप्रतिनिधिले उठाएकै जस्ता मुद्दा संघीय चुनावका उम्मेदवारले पनि उठाइरहेका छन् ।

फरक मुद्दा दिएर मतदातालाई आश्वस्त पार्न सकेका छैनन् । नयाँ र स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको देखिए पनि तिनले नयाँ मतदाताबाट भोट ल्याउन सकेका छैनन् । उनीहरूले पनि परम्परागत र प्रमुख दलहरूकै भोट तानिरहेका देखिन्छन् । नयाँ र स्वतन्त्रको अभूतपूर्व परिचालन र प्रभुत्व बढे पनि भोटमा देखिएन ।

अर्कोतिर नियमित निर्वाचन हुन थालेपछि त्यसप्रति मतदाताको आकर्षण कम हुँदै गएको पनि हुन सक्छ । बाली थन्क्याउने मौसम, चाडबाड सकिएर विदेश जाने समयका कारण पनि मानिस आफ्नो काममा व्यस्त भएर भोट हाल्न नगएको हुन सक्छ । दलहरूबीच तालमेलको असर हुन सक्छ । मतदाता शिक्षा पनि कमजोर भएको हुन सक्छ ।

मतदाताले नयाँ र सुधार खोजेको देखिन्छ : रामकृष्ण तिवारी : राजनीतिशास्त्रका प्राध्यापक
पहिलो, यो राजनीतिप्रतिको वितृष्णा हो । गरेका घोषणा र प्रतिबद्धता निर्वाचित भएर गएपछि पूरा नगर्ने प्रवृत्तिले उम्मेदवारप्रति नागरिकको वितृष्णा छ । भोट हालेर के हुन्छ र भन्ने मानसिकता मतदातामा विकास भएको छ । अर्को विषय, अहिले युवाको ठूलो संख्या विदेशमा छ ।

काम, अध्ययनलगायत कारण बिदेसिएका उनीहरूको सहभागिता हुन पाएको छैन । राज्यले पनि उद्योग, कलकारखाना खोलेर देशभित्रै राख्नुको सट्टा बाहिरै जान प्रेरित गरेको छ । सहरकै मान्छे पनि गाउँ जान रुचि देखाउँदैनन् । यसको मतलब विदेश गएका र पेसा व्यवसाय गरेर सहरमा रहेका मतदाताको प्राथमिकतामा छैन, भोट हाल्ने कुरा । सत्तामा पटक–पटक उही व्यक्ति गइरहेको छ । दलहरूले ‘बास्केट’बाट छानेर उम्मेदवार उठाए ।

तिनीहरू पनि सत्तामा पुगेपछि अपेक्षित सुधार गर्नतिर लागेनन् । उनीहरूको शैली परिवर्तन भएको छैन । अहिलेको पुस्ताले यस्तो मन पराइरहेको छैन । नयाँ पुस्ता नयाँ कुरा सिक्न, देख्न र अभ्यस्त हुन चाहन्छ । मतदाताले नयाँ र सुधार खोजेको छ ।

जनताले बनाएको संविधानको म्यान्डेटअनुसार चुनाव भएको छ । यसमा सबै सहभागी हुनुपर्ने हो । तर, पाँचै वर्षमा चुनावप्रति मतदाता किन वितृष्णा भए भन्ने प्रश्न जन्मियो । यसमा संविधान नयाँ आयो, प्रणाली नयाँ आयो, तर व्यक्ति नयाँ आएन, वर्षौँदेखि उही फिगर भयो ।

जसले ०१५ यताका सबै निर्वाचनमा मतदान गरे

हेटौँडा/हेटौँडा उपमहानगर– ६ का ९७ वर्षीय टीकादत्त पौडेलले आइतबार हेटौँडास्थित वंशगोपाल मावि केन्द्रमा पुगेर मतदान गरे । वि.सं. १९८२ मा जन्मिएका उनले ०१५ यताका सबै निर्वाचनमा मतदान गरेको बताए । यसपटक नाति विजयको सहयोगमा उनले मतदान गरे । ‘चुनाव भनेको आफ्ना जनप्रतिनिधि आफैँले छान्न पाउने अधिकार हो । यस्तो अवसर पनि कसैले छोड्छ ? भोट हाल्न पाउने अधिकार सबैको हो । सबैले भोट हाल्नुपर्छ । अल्छी गर्नुहुँदैन,’ मतदान गरेपछि पौडेलले भने । ०४२ को निर्वाचनमा उनी आफैँ पनि तत्कालीन हेटौँडा नगर पञ्चायतको वडा नम्बर ६ को सदस्यका उम्मेदवार थिए । आफू झिनो मतान्तरले पराजित भएको उनले सुनाए । 

ad
ad