१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १६:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज विस्तारका नाममा नागरिकमाथि ज्यादती  

वनको दाउरा छुन पाइँदैन, खोलाकाे पानी पिउन मिल्दैन !  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

फोन गर्न दुई घन्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ। सडक ६ महिना चल्छ, ६ महिना बन्द हुन्छ। वरपर वनजंगल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन। 

बस्तीनजिकै खोला बग्छन्, तर खानेपानीको सहज सुविधा छैन। यस्तै पीडाले पिरोलेको छ, राष्ट्रिय निकुञ्जभित्रका बस्तीहरूलाई। 

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका– ७ मलैखोलादेखि दंगीशरण गाउँपालिका– १ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीहरूमा यस्तै समस्या छन्। 

यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ। त्यहाँ टेलिकमको टावर नहुँदा घन्टाैँ हिडेर अग्लो डाँडोमा पुगेर फोन गर्नुपर्ने अवस्था रहने गरेको छ। 

पटक–पटक टावर निर्माणको माग गरे पनि त्यसको सम्बोधन हुन नसकेको मलैखोलानिवासी  बमबहादुर बुढाले भने। ‘हामीले पटक–पटक यहाँको टेलिफोनको समस्या समाधानका लागि ठाउँ–ठाउँमा भन्यौँ,’ उनले भने, ‘तर, हाम्रा मागहरू सम्बोधन भएका छैनन्।’ 

टेलिकमको टावर निर्माणका लागि गएको वर्ष सर्भेमा आएको भए पनि त्यसपछि भने देखा नै नपरेको उनले गुनासो गरे। त्यहाँ सडकको हालत पनि उस्तै छ। 

०६३ सालतिर त्यहाँ सडकको ट्रयाक खोलिएको हो। तर, अहिलेसम्म पनि त्यसको स्तरोन्नति हुन सकेको छैन। त्यहाँ वर्षातको समयमा सडक आवतजावत नै ठप्प हुन्छ। ‘वर्षातमा ६ महिना सडक बन्द हुन्छ,’ मलैनिवासी अमर बुढाले भने, ‘बाँकी ६ महिना धुलाम्मे सडकमा गाडी चल्छ।’  

त्यहाँ कक्षा १० सम्म पढाइ हुने विद्यालय छ । त्योभन्दा माथिल्ला शिक्षा आर्जन गर्न विद्यार्थीहरू कि त घोराही, कि त तुलसीपुर पुग्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर हुनेहरू पढाइ छोडेर भारततर्फ जानुपर्ने बाध्यता छ। 

स्थानीय प्रेम पुनले भने, ‘आर्थिक अवस्था कमजोर हुनेहरू कामको सिलसिलामा भारत जाने गर्छन्। धेरै विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेका छन्।’
  
त्यहाँको मलैखोलाको कटानको पनि उस्तै समस्या छ। खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्न थालेपछि समस्या भएको पुनले बताए। 

बस्तीको बीचमा निकुञ्ज हुनाले बाघ, भालुलगायतका जंगली जनावरको त्रास उत्तिकै छ। पाकेर भित्र्याउन ठिक्क पारेको अन्नबाली बँदेलले नष्ट गरिदिन्छ। बाघले गाई, बाख्रा खाइदिने समस्या त सामान्य भइसकेको छ। 

बस्तीवरिपरि घना वनजंगल भए पनि काठदाउरा त्यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन्। स्थानीय समितिको सल्लाहअनुसार दाउरा पाए पनि आवश्यक परेको खण्डमा काठ प्रयोग गर्न नपाउने सल्लीनिवासी प्रकाश रोकायले बताए। 

रोकायाले भने, ‘२०६८ सालमा त्यहाँ राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो। त्यसपछि हामीले त्यो जंगललाई राम्रोसँग प्रयोग पनि गर्न पाएका छैनौँ। पोहोरसाल पशु बिरामी परे, हामीले प्राविधिक बोलायौँ। दुर्गम भएकै कारण यहाँ आउन मान्नुभएन।’

बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्ने सडक निर्माण हुन सके यहाँको दैनिकी सहज हुने स्थानीय बताउँछन्। गाउँमा नेता आउँछन् र आफ्ना समस्या बताउँला बनेर बसेका निकुञ्जपीडितका समस्या सुन्न न त नेता आए, न उनीहरू भोट हाल्न उत्साहित नै देखिन्छन्।