१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १ बिहीबार ११:३०:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

मतदाताको अभूतपूर्व समर्थन देखेको छु

कुशल चिकित्सक हुँ, बेदाग राजनीतिकर्मी बनेर देखाउँछु

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर १ बिहीबार ११:३०:००

 

विगत १७ वर्षदेखि चिकित्सकका रूपमा विरामीको सेवा गरेका डा. अधिकारीले अब राजनीतिमार्फत् चितवन ३ र सिंगो दशका जनताको सेवामा समर्पित हुने प्रण गरेका छन् 

स्वास्थ्य क्षेत्रमा चर्चित नाम हाे, डा. भोजराज अधिकारी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्डले चितवन ३ छाडेर जब गोरखा २ रोजे त्यसयता राजनीतिमा पनि यो नाम चर्चामा छ । प्रचण्डका उत्तराधिकारी बनेर उनी चितवन ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छन् । 
पश्चिम चितवनको पटिहानीमा हुर्किएका डा. अधिकारीको बालापन आर्थिक अभाव र संघर्षमै बितेको थियो । बास पनि अरुको घरमा थियो । अधिया कमाएर, ज्यालादारी गरेर परिवारको गुजारा चल्थ्यो । बाल्यकालमा भोजराजको मनमा गरिबीको यो दुस्चक्रबाट कसरी निस्कने होला भन्ने हुटहुटी चल्थ्यो । त्यसैले उनले आफ्नो सम्पूर्ण ध्यान पढाइमा लगाए । मेधावी छात्र भएकाले उनले उत्कृष्ट नतिजा ल्याउँदै गए । त्यही हुटहुटीले उनलाई एमबिबिएस र एमडी छात्रवृत्तिमा पढ्ने अवसर दिलायो । उनी एउटा कुशल चिकित्सक बनेर निस्किए । 
चिकित्सा क्षेत्रमा ख्याती कमाउँदै गएका यसपटक पूर्ण रूपमा राजनीतिमा होमिएका छन् । माओवादीनिकट चिकित्सक संगठनमा बसेर पनि उनले जनस्तरमा स्वास्थ्यसेवा दिँदै आएका थिए । 

चितवन ३ मा माओवादीबाट उम्मेदवार बने पनि उनी कांग्रेस, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाका साझा उम्मेदवार हुन् । यहाँ उनको प्रतिस्पर्धा एमालेले समर्थन गरेका कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला, कांग्रेसकै पूर्वनेता जगन्नाथ पौडेल र राप्रपाका विक्रम पाण्डेसँग छ । 
जनमत लिएर संसद् छिर्ने प्रयासमा रहेका डा. अधिकारीसँग नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश :

चुनावी प्रचारको अन्तिम समयमा हुनुहुन्छ । विरामी जाँच्न सजिला रहेछ कि मतदाताको मत माग्न ?
अलि भिन्न महसुस त भइरहेकै छ । मेडिकल साइन्स र पोलिटिकल साइन्स पक्कै भिन्न विधा हुन् । मैले आफैँले पनि र स्वयम् मतदाताले पनि यसको महसुस गर्नुभएको छ भन्ने मलाई लाग्छ । पहिले विरामीहरू म कहाँ आउनुपर्थ्यो । अहिले म मतदातासमक्ष पुगिरहेको छु । हिजो हप्तौँ पालो पर्खिएर मात्र तपाईंलाई भेट्न पाइन्थ्यो अहिले तपाईं नै हाम्रो घरदैलोमा आउनुभएको छ भनेर मतदाताहरूले भन्ने गर्नुभएको छ । मलाई खुसी लाग्छ । पहिले मैले तपाईंको उपचार गर्न पाएको रहेछु । अहिले म आफ्नो परीक्षण गराउन तपाईंसमक्ष आएको छु । ४ मंसिरमा मलाई मत दिएर जिताउनुहोला भन्ने गरेको छु ।

चितवनमा माओवादीका धेरै पुराना नेता हुनुहुन्छ । तपाईंलाई नै पार्टीले किन टिकट दियो होला ?
पहिलो कुरा त, यहाँ पार्टी अध्यक्ष प्रचण्ड नै उम्मेदवार बन्ने तयारीमा हुनुहुन्थ्यो । उहाँले गोरखा रोज्नुभएपछि यहाँका जनताले स्पष्ट रूपमा उहाँको अभाव महसुस गर्नुभएको थियो । यस्तोमा पार्टीले मलाई अघि सारेको हो । मैले विगतमा सक्रिय राजनीति नगरे पनि म आफ्नो विज्ञता भएको क्षेत्रमा परिचित छु । चितवनका जनताको बीचमा परिचित छु । साथै, चितवनको स्वास्थ्यको विकासका निम्ति यहाँका राजनीतिक नेतृत्वहरूसँग काँधमाकाध्म मिलाएर काम गर्दै आएको छु । पार्टीमा म स्वास्थ्य विभागको उपप्रमुखको जिम्मेवारीमा पनि छु । मेरो नेतृत्वयले यी सबै हेरेर अवसर दियो भन्ने लाग्छ । पार्टीका अरु सबै नेताहरूको पनि  सदीक्षा भएकैले मलाई यो अवसर प्राप्त भयो भन्ने लाग्छ । 

चुनाव जित्ने आधार के के छन् ?
मेरो चुनाव जित्ने मुख्यआधार गठबन्धनको जनमत हो । गठबन्धनमा रहेका कांग्रेस, समाजवादी, जनमोर्चालगायत पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक सबैले मलाई विश्वास गर्नुभएको छ । मैले पनि उहाँहरूमाथि विश्वास गरेको छु । यस्तै, म १७ वर्ष यही भूगोलमा बिताएको, सेवा गरेको व्यक्ति हुँ । दलीय व्यवस्थाभित्र फरक सोच भएको, राजनीतिसँग विकास जोड्न सक्ने क्षमता भएको युवा हुँ । एमालेका आफ्नो उम्मेदवार नभएकाले एमालेप्रति आस्था राख्नेहरूले पनि मलाई मतदान गर्न सक्ने वातावरण बनेको छ । म चिकित्सक रहँदा यसक्षेत्रका करिब ५० हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष सम्पर्कमा छु । यी सबै मेरा जितका आधार हुन् । 

कांग्रेसको कुरा गर्नुभयो । तर, कांग्रेसका बागी उम्मेदवार पनि छन् । असर त पक्कै गर्ला ?
मलाई त्यस्तो लागेको छैन । किनभने, पार्टीको निर्णय अलग छ । पार्टीको निर्णयभन्दा बाहिर केही साथीहरूले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सिंगो पार्टी गठबन्धनका उम्मेदवारलाई जिताउन एकढिक्का देखिएको छ । कांग्रेसमा आस्था राख्ने मतदाताहरूले मलाई मतदान गर्न असहज महसुस गर्नु पर्ने अवस्था पनि छैन । किनभने, मैले अहिलेसम्म सबैलाई विभेद नगरी सेवा दिएको छु । मलाई अन्तिम अवस्थाा असन्तुष्ट साथीहरू पनि फर्कनुहुनेछ भन्नेमा ढुक्क छु । यसअघि असन्तुष्ट भएर उम्मेदवारी दिनुभएका चारजना उम्मेदवार साथीहरूले मलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिने वा निस्कृय गर्ने काम गरिसक्नुभएको छ । यो गठबन्धन संविधानको रक्षाका लागि पनि भएको र कांग्रेस पार्टी लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध पार्टी भएकाले मैले पूरा सहयोग पाउँछु भन्ने विश्वास छ । 

डा. भोजराज अधिकारी, माओवादी उम्मेदवार

चितवन ३ का जनतासमक्ष तपाईंका प्रतिबद्धता के के छन् ?
मेरो प्रतिवद्धता बनाउँदा तीनवटा कुरा याद गरेको छु । पहिलो जन्मदेखि मृत्युसम्म म डाक्टर हुँदा पनि देखेको सा–सासाना योजना जहाँ जनता खुसी हुन्छन् । दोस्रो, निरन्तर चलिरहेका योजनाहरूलाई सम्पन्न गर्ने र कानुनी कारणले सुरु नै हुन नपाएका योजना (जस्तै– निकुञ्जभित्र पक्कीसडक निर्माण) अघि बढाउन कानुनी बाधा हटाउने कुरालाई प्राथमिकतामा राखेको छु । तेस्रो यहाँको कृषिको विकासका निम्ति विशेष काम गर्ने मेरो प्रतिबद्धता छ । म, चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश १ बाट हाम्रै गठबन्धनका सूर्यकान्त घिमिरे (जो आफैँ कृषिविज्ञ हुनुहुन्छ) र प्रदेश २ का उम्मेदवार पूर्वनगरप्रमुख ठाकुरप्रसाद ढकालले संयुक्त घोषणापत्रमार्फत चितवनको विकास र समृद्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छौँ । 
कृषकसँग हाम्रो प्रतिवद्धता किसान पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान, कृषक एम्बुलेन्स छ । भूमिहीनसँग हाम्रो संकल्प जग्गाधनी प्रमाणपूर्जा र आवासको व्यवस्था छ । उद्यमी÷व्यवसायीसँग हाम्रो वाचा  ‘मेड इन भरतपुर’ र ‘मेड इन माडी’ को ब्रान्डिङ र बजारीकरणसँगै  एक वडा–एक उद्यम–एक सहकारी उत्पादनको योजना कार्यान्वयन गराउने छ । युवाहरूलाई रोजगारी र स्वउद्यमको प्रत्याभूति, विद्यार्थीलाई सरकारी विद्यालय÷क्याम्पसमा छात्रवृत्तिसहित निःशुल्क शिक्षा अनि ज्येष्ठ नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा, मासिक निर्वाहभत्ता वृद्धि र दिवा डे–केयर ज्येष्ठ नागरिक संरक्षण केन्द्रको स्थापनाजस्ता कार्यक्रम हामीले अघि सारेका छौँ । बालबालि, महिला, दलित, आदिवासी–जनजाति, सीमान्तकृतसंगै सहिद, संघर्षका घाइते, बेपत्तायोद्धा परिवारसँग हाम्रो प्रतिवद्धता र संकल्प छन् । यी सबै पूरा गर्न यहाँका मतदाताले हामीलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास छ । 

मतदातासमक्ष पुग्दा कतिको समर्थन पाउनुभएको छ ? 
मैले आफ्नो प्राथमिकता ६ वटा ‘स’ राखेको छु । त्यसको पहिलो प्राथमिकता स्वास्थ्य नै छ । व्यवस्थित स्वास्थ्य सेवा, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, सडक सञ्जाल र सेवालगायत पाउन मेरो जित आवश्यक छ भनेपछि सबै उत्साहित हुनुभएको छ । मेरो त अभियान नै कृषि, पर्यटन, स्वास्थ्य र शिक्षामार्फत उत्पादन बढाउने भन्ने छ । जनप्रतिनिधि भए पनि व्यक्तिगत रूपमा उहाँहरूको उपचारमा पनि म खटिने छु । अब विरामी घरघरमा पुग्ने हैन कि, विरामीलाई भेट्न चिकित्सक अस्पतालसहित घरघर पुग्नुपर्छ । फर्मेसी, ल्याब उपकरणसहितको गाडी रुट नै बनाएर चोकचोकमा पुग्नेछ । विरामीले आफ्नै घरबाट सेवा लिनेछन् । मैले स्वास्थ्यक्षेत्रमा मतदातालाई गरेको यो प्रतिवद्धता पनि हो । यस्ता प्रतिबद्धतासहित मतदातासमक्ष पुगेकाले अभूतपूर्व समर्थन पाएको छु ।