नेपाली पप संगीतमा स्थापित नाम हो सुगम पोखरेल । ‘सम्हालिन्छ कहिले मन’, ‘जाँदै छु टाढा’, ‘फेरि त्यो दिन सम्झन चाहन्न,’ ‘कति दिन बिते कति रातहरू’जस्ता चर्चित गीतमा स्वरमा दिएका पोखरेल पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा व्यस्त छन् । वर्तमान नेपाली संगीतको विविध आयामबारे पोखरेलसँग नवीन प्यासीले गरेको कुराकानी :
..............
पछिल्लो समय पाश्र्व गायनमा व्यस्त हुनुहुन्छ । तपाईंको आफ्नो विधामा चाहीँ ग्यापजस्तो देखिएको छ । के कारणले हो ?
चलचित्रका गीतमा व्यस्त भएँ । आफ्नो गीत पनि गरिरहेको छु । जुन किसिमको गीत गरिरहेको छु, ती गीत कमर्सियल नाच्नेखालका होइनन्, आफूले इन्जोय गर्ने गीत गरिरहेको छु । मिडियामा अनुहार नदेखाएको मात्र हो ।
पुँजीवादी बजार व्यवस्थाले सर्जकको र उसको सिर्जनाको मूल्य तोक्छ । त्यही मूल्यलाई मानक मानेर सिर्जना होइन, वस्तु उत्पादन गरिरहेको उदाहरण छन् । तपाईंचाहिँ बजारलाई कसरी लिनुहुन्छ ?
गीत कसका लागि भन्ने हुन्छ । कुनै गीत सुन्नका लागि बनेका हुन्छन् । तर, अहिले चाहिँ ‘गीत हेरिस् ?’ भन्ने चलन छ । गीत सुन्नेभन्दा पनि हेर्ने माध्यम भएको छ । म पनि चलचित्रका गीतले दर्शकसम्म पुगिरहेको छु । आजभोलि करोड क्लब भन्ने चलन छ, तर मचाहिँ बजारसँग जोडिनकै लागि चलचित्रका गीत गाउने गर्छु । म पप गायकीबाट जसरी आएँ, त्यसले चलचित्रमा असर नगरोस् भनेर गाउँछु । सुरुवाती चरणमा पनि बजारलाई भनेर कुनै गीत गाइनँ । मनले गीत बनाइयो र गाइयो । बजारले मन परायो । अहिले सस्तोखालका गीत अलि धेरै आइरहेका छन् । त्यसले चाहिँ सर्जकलाई वस्तु उत्पादन गर्ने भाँडोमा परिणत गरिरहेको छ ।
अहिलेका गीत करोड क्लबमा त पुगेका हुन्छन्, तर गायक-गायिकाको नामै पत्तो हुन्न, त्यो किन भइरहेको छ ?
कलाकारकै कमजोरी हो । मैले भन्ने पनि गरेको छु । पर्दामा डेढ–दुई लाख दिएर जो चलिरहेको छ (भाइरल भइरहेको छ) उसलाई राखेर आफू छायामा पर्ने काम भइरहेको छ । एकाध कलाकारलाई छाडेर अन्य कलाकार अरूको काँधमा बन्दुक राखेर पड्काउने किसिमका भए । ‘नाइँ मलाई थाहा छैन’ भन्ने गीत टीका प्रसाईं बहिनीको रहेछ । उनी राम्रो गायिका हुन् । आशिष अविरलको संगीत रहेछ । तर, मान्छेले भन्दा कार्टुन क्रुज नाचेको छ, उसैको गीत भनिदिने । हाम्रो श्रोता-दर्शक खोजी गर्नेखालका हुनुहुन्न । जे पस्केर दियो, त्यही लिनुहुन्छ । अहिले गायक-गायिकाको परिचय संकटमा पर्नुमा धेरैलाई आफूप्रति विश्वास नभएर हो । भाइरल भएकाहरूको काँधमा बन्दुक राखेर पड्काउन खोज्दा पछाडि नपरेर अगाडि जाने कुरै हुँदैन नि ।
‘अरूको काँधमा बन्दुक राखेर’ भन्नुको मतलब सर्जक सर्जकजस्तो नरहेको अवस्था हो ?
त्यही भनेर बुझ्दा हुन्छ । आफू र आफ्नो क्षमतामाथि विश्वासै नहुनु हो । हामीमा ज्ञानको पनि कमी छ । अहिले पुरानो गीतकारको नाम लिँदा चिन्दैनन् । आफू जुन पेसामा छन्, उनीहरू नै गीतका सर्जक चिन्दैनन् । मै हुँ भन्नेहरू बढी छन् । अध्ययन पुगिरहेको छैन ।
अहिले संसार डिजिटलाइज्ड भएको छ । आफ्नै गीत हिट हुँदा पनि सर्जक गुमनाम हुन्छन् । खासमा सर्जकहरू कहाँ चुकिरहेका छन् ?
अहिले जति गीत निर्माण भएका छन्, कलाकार स्वयंले प्रोड्युस गरेका कम छन् । कोहीकसैले व्यापारका लागि बनाइरहेका छन् । समय पनि परिवर्तन भयो । आजभोलि ‘फलानाको गीत हेरिस्’ भनिन्छ, तर गीत त सुन्ने हो । सुन्ने संस्कार हामीकहाँ एकदमै कम छ । अर्को कुरा बजारअनुसार मात्र सबैले गीत भनिरहेका छन् । फास्टफुड टाइपको । युट्युबको ट्रेन्डिङ हेर्नुहोला थाहा भइजान्छ । सूचना प्रविधि हातहातमा भयो । पहिला कुनै चिज थाहा पाउनुप-यो भने खोजेर, पढेर मात्र थाहा हुन्थ्यो । अहिले इन्टरनेट छ, धेरैचिज छ । तर, जानेको चाहिँ एकदम हल्का र थोरै चिज छ ।
श्रोता–दर्शकमा गाम्भीर्यता कम हुँदै जानुमा सर्जकको पनि त भूमिका होला नि ।
हामीमा पनि कमजोरी छ । राम्रो संगीत आएको छैन । आए पनि ठाउँ पाएको छैन । मुख्य कुरो त लगानी एकदमै धेरै, प्रतिफल शून्य भयो । अनि हामी संवेदनाहीन भइसक्यौंँ । अरूलाई गाली गर्छौं, आफू कति इमानदार छौँ, सोच्दैनौँ । हामी डिजिटल संसारमा छिरिसक्यौँं । मेसिन भइसक्यौँ । हामी दिनदिनै एउटा फन्डाको अपेक्षा गरेर बस्छौँ । सर्जकहरू पनि यहीँ फसिरहेका छन् ।
सहानुभूति, मानवीयता,सामाजिक सेवा देखाउनेभन्दा महसुस गराउनेतिर सर्जकको भूमिका खोइ त ?
खोला एकतिर बगिरहेको भने कि त्यसैमा समाहित भएर जानुप-यो, कि त्यसले करेन्टलाई पास गराउनुप-यो । म कतिपय गीतको म्युजिक भिडियो बनाउँदिनँ । त्यो सुन्ने गीत हो भन्ने लाग्छ । मैले गाउने गीत अबको पचास वर्षपछिका लागि पनि हो । म १३-१४ वर्षकी छोरीको बाउ हो । मेरो सामाजिक दायित्व छ । मैले गीत गर्दा मेरो समाजसँग पनि म रहनुपर्छ । कुनै दिन म हुँला या नहुँला, तर त्योवेला मान्छेले महसुस गरुन् । मेरा गीत फास्टफुड टाइपको नहोउन् । बरु गुन्द्रुक होस्, ६ महिना कुहाएर राख्ने, त्यसपछि निकाल्दा अर्को वासना आओस् ।
अहिले भाइरलको जमात बढी छ । क्षणिकता हेरिन्छ । तपाईंले साधनाको मूल्य हुन्छ भन्दै गर्दा भाइरलहरूले तपाईंजस्तो सर्जकलाई पनि असर त गरेको होला ?
प्रविधि आयो, त्यसले सहजता ल्यायो । तर, हामीले राम्रो कुरा मात्र अनुसरण गरेनौँ । अहिले बजारमा मास्क पाउन छाडिसक्यो । मान्छेमा दया करुणा छैन । एकदिन आर्यघाट जान्छौंँ, ‘जीवन त यत्ति रहेछ’ भन्छौँ । अनि गौशाला आइपुगेको हुँदैन ‘हे त्यसलाई नछोड्’ भन्न थाल्छौँ । हामीलाई पैसा, पद, प्रतिष्ठा सबैथोक भएको छ । त्योबाहेक अरू थोक पनि छ भन्ने हामीलाई लाग्दैन । अहिले सिरियामा मान्छे धनसम्पत्ति छाडेर लुगाको पोका बोकेर टर्कीको बोर्डरमा उभिएका छन्, ग्रिस छिर्न दिन्छ कि दिँदैन भन्दै । भनेपछि जिन्दगी त्यो पनि रहेछ । हामीले १२ वर्षे जनयुद्धले सिकाएको पाठ पनि बिर्सिसक्यौँ ।
हाम्रो गीतले अहिलेको समय बोल्नुप-यो । तर, अहिले सबै सर्जक फास्टफुड टाइपका छन् । सर्जकको अर्को समस्या भनेको उनीहरू सोच्छन्, ‘मेरो समय दुई–चार वर्ष हो । जति सकिन्छ, मैले अहिले नै सोहोर्नुपर्छ ।’
नेपालको गीतसंगीत सुन्दा हामी कुन कालखण्डबाट गुज्रिएका छौँ भन्ने थाहा हुन्छ । पहिलापहिला ‘चौतारीमा राजा भेटियो’ खालका हुन्थे । बिस्तारै ०४६ आएपछि ‘जनताको दिन आयो’ खालका गीत आए । त्यसपछि जनयुद्धमा ‘दाजुभाइ कति काटमार गर्ने’देखि परिर्वतनको हुँकार लिएर गीत बने । अहिले आएर गीत ‘स्याचुरेसन प्वाइन्ट’मा छ, ‘लुट्न सके लुट कान्छा’ टाइपको ।
हामी पुरानोबाट नयाँ आउने संघारमा छौँ । अहिले मलाई भन्दा ज्यादा छोरीलाई थाहा छ ग्याजेटबारे । पत्रपत्रिकाभन्दा ज्यादा अनलाइन पढ्छन् मान्छे । तर, मलाई चाहिँ बिहानै चिया खाँदै पत्रिका चाहिन्छ । न्युज होइन, त्यसभित्रको सम्पादकीय, मुख्य लेख कसले लेखेको छ भनेर पढ्न मन लाग्छ । अहिले रेडियोलाई चुनौती छ । छापालाई संकट छ । तर, मलाई थुक लगाएर पत्रिकाका पन्ना पल्टाउन मजा लाग्छ ।
हामीलाई प्रविधिले एकात्मकतातिर लगिरहेको छ । मान्छेले विकासको नाममा विनाश गर्दै गइरहेको छ । हामीलाई सबै अरूको राम्रो । सेतो छालाले केही भन्यो भने त्यही सत्य । तर, हाम्रोमा कसैले भने पत्याउँदैनौँ । प्रपन्नाचार्यले त्यत्रो पढे, बाहुनलाई चुनौती दिए । र पनि पत्याइ हाल्दैनौँ । इन्टरनेटले पनि संगीतलगायत सबै कुरालाई भाँड्दै गइरहेको छ । त्यसमा भाइरलहरू आएका छन्, त्यसले राम्रो स्रष्टालाई असर त गर्छ नै ।
र पनि, कुनै न कुनै दिन मानिस जीवनतिर फर्किएला नि । त्यसका लागि संगीतले पुलको काम कसरी गर्न सक्ला ?
भुइँचालोले मान्छेलाई एक ठाउँमा ल्यायो । महलमा रहनेलाई पनि सडकमा ल्याइदियो । त्योवेला मान्छेलाई महसुस भयो । तर, फेरि एकछिनमै बिर्सियौँ । संगीतलाई ब्युँताउनका लागि या संगीतले पुलको काम गर्नका लागि बाटाहरू छँदै छन् । मायाप्रेमबाहेक अरू चिज पनि जीवनमा छँदै छन् । हाम्रा गीत समाजसँग जोडिनुप-यो । अहिलेको अवस्थामा ‘गाउँगाउँबाट उठ’को आफ्नै महत्व छ । हाम्रो गीतले पनि अहिलेको समय बोल्नुप-यो । अहिले सबै सर्जक फास्टफुड टाइपका छन् । सर्जकको अर्को समस्या भनेको उनीहरू सोच्छन्, ‘मेरो समय दुई–चार वर्ष हो । जति सकिन्छ, मैले अहिले नै सोहोर्नुपर्छ ।’ ‘होइन, म बीस वर्षसम्म गीत गाउँछु, त्यहाँसम्म जान्छु’ भनेर कसैसँग त्यो दृष्टि छैन । यसमा राम्रा कलाकारले पनि जोखिम लिन डराइरहेको अवस्था छ । श्रोता–दर्शकको मनोविज्ञान पनि परिवर्तन भएको छ ।
मैले जुन इमानदारीका साथ गीत गाउँथेँ, अहिले ममा त्यो इमानदारी छैन । मलाई के–केले छोपिसकेको छ । मैले जुन समर्पणसहित गीत गर्थें, त्यो जुनुनमा खिया लागेको छ । हामीले श्रोता–दर्शकको नर्भ पक्रन नसकेको हो कि । यदि पक्रन सकियो भने गीतसंगीतले मानिसलाई जीवनतिर फर्काउन काम गर्ने नै छ ।
पछिल्लो समय चलचित्रका गीतमा गायक-गायिका थपनाजस्तो देखिन्छ । तपाईं पाश्र्व गायनमै व्यस्त हुनुहुन्छ, यस्तो अवस्थालाई कसरी झेलिरहनुभएको छ ?
यहाँ देखासिखी धेरै छ । एउटा गीत पपुलर भयो भने सबै त्यसलाई पछ्याउँछन् । अहिले स्टुडियोमा गयो, एकएक लाइन गायो, सकायो । त्यहीँ नै चिट भइरहेजस्तो लाग्छ । खासमा हामी सतही मात्र मिहिनेत गरिरहेका छौँ । अहिलेका कलाकारको अवस्था दिग्भ्रमितजस्तो छ । अहिले जता जाँदा पनि सेल्फी, क्यामेरा हुन्छ, त्यो सधैँ रहँदैन । उकाली चढेर ओराली झर्नचाहिँ मजा हो । यहाँ त उकाली चढेका छन्, तर ओरालो झर्नै बाँकी छ ।