जलरंग चित्रकला पर्यटन प्रवर्द्धनको माध्यम

एनबी गुरुङ एनबी गुरुङ
शनिबार, १९ साउन, २०८१
डिजिटल संस्करण

जलरंग ललितकलाको एउटा छुट्टै माध्यम हो । यसमा पानी र रंगको मात्रा मिलाएर कागजमा पोतिन्छ । यो निकै पारदर्शी हुन्छ । निकै ताजा देखिन्छ । त्यहीकारण यो चित्र बनाउँदा निकै चाडो निर्णय लिनुपर्ने हुन्छ । नत्र, यो पेन्टिङ बिग्रन्छ । एकचोटी बिग्रिएपछि सपार्न मिल्दैन । 

तसर्थ, कलाकारले पहिल्यैदेखि योजना बनाउनुपर्छ । त्यसपछि पानी र रंगको मात्रा मिलाउन निकै ध्यान दिनुपर्छ । किनकि पारदर्शी हुने भएकाले रंग हल्का बढी र गाढा कम हुँदा पातलो स्पष्टै देखिन्छ । 

यसका लागि पर्याप्त समय र मनैभित्रदेखि लगाव चाहिन्छ । क्विक डिसिजन गर्न सक्ने खुबी भएन भने जलरंग चित्र बनाउन सकिँदैन । 

यसलाई यथास्थानमा बसेर बनाउँदा एकदमै सहज र उत्कृष्ट हुन्छ । कागज आफैंमा हलुका हुन्छ, रंग पनि बोक्न सजिलो हुन्छ । त्यहीकारण कलाकारहरू हिमाल हेर्दै वा सम्पदा हेर्दै मनमा फुरेका भावलाई पेन्टिङमा प्रत्यक्ष उतार्न मन पराउँछन् । त्यसरी बनाउँदाको मजा नै बेग्लै हुन्छ । 

‘रंग लगाउने, सुकाउने, फेरि लगाउने, सुकाउने..’ एउटा विधि छ । यसरी तयार गर्दा दुई–चार दिन वा हप्ता दिन पनि लाग्न सक्छ । अर्को चिसोमै सुक्ने खालको पनि हुन्छ, जसलाई ‘वेट एन्ड वेट’ भनिन्छ । यसरी पेन्ट गर्दा निकै चाँडै तयार हुन्छ ।  कलर च्वाइस, पेपर च्वाइसलगायतले पनि पेन्टिङलाई राम्रो देखाउन भूमिका खेल्छ । राम्रो गुण भएको पेपर छनोट गर्नुपर्ने हुन्छ । 

संसारभर जलरंगका धेरै महोत्सव र प्रदर्शनी हुने गरेका छन् । त्यसमा हामीले आफ्नो उपस्थिति पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ । हाम्रोमा तयार भएका पेन्टिङले एक्सपोजर पाउँदा नेपाल हेर्न आउनेको संख्या पनि बढ्न सक्छ । त्यस्तै नेपालमा पेन्ट गर्न आउने कलाकारको पनि संख्या बढ्न सक्छ । अर्थात्, पर्यटन प्रवर्द्धनका लागि पनि जलरंग एउटा राम्रो माध्यम हो । 

नेपालमा पनि हामीले विभिन्न समय प्रदर्शनी गर्ने गरेका छौँ । अन्तर्राष्ट्रिय जलरंग समाजले नौ महिनाअघि मात्रै ‘आर्ट एन्ड टुरिजम’ नारासहित नेपालमा अन्तर्राष्ट्रिय प्रदर्शनी गरेको थियो ।

जलरंगको भविष्य र सम्भावना निकै राम्रो छ । नेपालभन्दा पनि विदेशमा जलरंगका पारखी धेरै भेटिन्छन् । पेन्टिङको डिमान्ड प्रायः उतैबाट आउँछ । विदेशीहरूले नेपालका परम्परागत सम्पदा र हिमालहरूको तस्बिर निकै मनपराउने गरेका छन् । जलरंगलाई गहिरोसँग बुझेका वा कलाको महŒव बुझेकाहरूले अब्स्ट्रयाक पेन्टिङ मन पराउँछन् । हामीले विभिन्न मुद्दालाई पनि जलरंगमार्फत उठाउने गरेका छौं । 

नेपालमा धेरै कलाकारले जलरंगबाटै आफ्नो करिअर थाल्नुुहुन्छ । तर, यसमा धेरै समय र मिहिनेत लाग्ने भएकाले उहाँहरू क्रमशः चित्रकलाका अन्य विधातर्फ लाग्नुहुन्छ । व्यावसायिक रूपमा जलरंग पेन्टिङ गर्नेहरूको संख्या भने निकै कम छ । अन्तर्राष्ट्रिय जलरंग समाज, जहाँ म अध्यक्ष छु, यसमा नौ सदस्यीय कार्यसमिति र झन्डै २५ जनाजति साधारण सदस्य हुनुहुन्छ । लगाव र समय धेरै लाग्ने भएकाले पनि धेरैजसो कलाकार जलरंगभन्दा अन्य विधातर्फ आकर्षित हुनुहुन्छ । तर, जलरंग अर्गानिक पेन्टिङ हो, त्यहीकारण पारखीहरूले यसलाई सधैँ मनपराउनुहुन्छ । पेन्टिङ तयार भइसकेपछि कलाकारलाई मिल्ने सन्तुष्टि नै अलग हुन्छ, उसमा आउने ऊर्जा नै अलग हुन्छ । 

प्रस्तुति : अन्वेषण अधिकारी 

सम्पादकको रोजाइ

सुझावित समाचार