संगीतले आकर्षित नगर्ने कसलाई होला र ? यही आकर्षणलाई कतिपयले बाल्यकालदेखि नै पछ्याउँदै गायक–गायिका बन्छन् । सांगीतिक क्षेत्रमा लाग्ने उस्तै सपना भएकाहरू कतिपय मिलेर ‘ब्यान्ड’ स्थापनासमेत गर्छन् । समयसँगै आर्थिक अभाव, व्यक्तिगत मतभेद र मौलिक सिर्जना गर्न नसक्दा बिचमै हराएका उदाहरण पनि धेरै छन् ।
१२ वर्षपछि ठमेलबाट बाहिरिँदा...
नेपालका केही ब्यान्डले भने स्थापनाको छोटो समयमै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरेका छन् । यस्तैमध्येको एक हो ‘रक हेड्स नेपाल’ ब्यान्ड । यो ब्यान्डको प्रस्तुतिले संगीतप्रेमीलाई भिन्नै स्वाद दिइरहेको छ । रक हेड्स नेपाल ब्यान्डको सदस्य हुन्, बुढानिलकण्ठका सम्यक लामा । उनी ब्यान्डका ड्रमर हुन् । स्कुल पढ्दैदेखि उनी गितार र ड्रम बजाउँथे । उनी संगीतलाई नै जीवनको लक्ष्य सोच्ने गर्थे । सानै उमेरदेखि संगीतमा अघि बढ्न निकै सजिलो होला भन्ने ठानेका उनी संगीतमा जति डुब्यो उति गहिराइमा पुगेको बताउँछन् । ‘संगीतमै भविष्य बनाउँछु भन्दा घरमा मान्नुभएको थिएन, संगीत नै पढ्छु, मलाई अनुमति दिनुस् भनेपछि परिवार सकारात्मक भयो,’ उनी सम्झन्छन्, ‘इन्जिनियरङ र संगीतलाई सँगै अघि बढाएँ ।’
सम्यक ठमेलका पप, बार र क्लबमा ड्रम बजाउँथे । बजाउने क्रममा उनको सञ्जय आर्यालसँग भेट भयो । सञ्जय पनि क्लबमा कभर गीत गाउँथे । त्यसपछि उनीहरूसँगै मिलेर क्लबमा लाइभ म्युजिक बजाउन थाले । त्यसपछि टिममा दावा शेर्पा पनि थपिए । उनीहरू घनिष्ठ भए र ब्यान्ड स्थापना गर्ने सोच बनाए । यसैको परिणामस्वरूप सन् २०११ मा ‘रक हेड्स नेपाल’ ब्यान्ड स्थापना गरे ।
नेपालमा सन् १९९० देखि यता थुप्रै सांगीतिक ब्यान्ड स्थापना भए । नब्बेको दशकपछि नै नेपथ्य, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, कबवेब, कन्दराजस्ता ब्यान्ड जन्मिए । स्थापना मात्र होइन, यी ब्यान्डको निरन्तरताले नेपाली संगीत आकाशलाई फराकिलो बनायो ।
‘हामी हरेक रात ठमेलको बारमा लाइभ म्युजिक गरिरहेका थियौँ । रातको रमाइलोमा मात्रै भुलिरहेका थियौँ । एक दिन राति ठमेल चोकमा चारजना साथी बसेर ब्यान्डको नाम जुरायौँ । ब्यान्ड स्थापना गरे पनि आफ्नो ओरिजनल गीत सिर्जना र गाउन कन्फिडेन्ट नै आउँदैनथ्यो । हाम्रो प्रस्तुति देखेर आफ्नै गीत निकाल्न सल्लाह दिनेहरू भने थिए ।’

ब्यान्डका अर्का सदस्य दावा शेर्पा भन्छन्, ‘सुरु–सुरुमा ठमेलको पप र बारका लागि ब्यान्ड खोलेका थियौँ । यसरी कभर गीत गाएर मात्रै नहुनेरहेछ भन्ने बुझ्न थाल्यौँ र कन्सर्टमा आफ्नै गीत गाउन थाल्यौँ ।’ब्यान्ड स्थापना गरेर पनि उनीहरूले १२ वर्षसम्म अरूकै गीत (कभर) गाएर रमाए । सम्यकले भने, ‘ठमेलका क्लबमा १२ वर्ष लाइभ म्युजिक ग¥यौँ । यसरी हामी ब्यान्ड सदस्य मौलिक संगीत सिर्जनामा केन्द्रित भयौँ ।’
कोभिड महामारी सुरु भएपछि सांगीतिक गतिविधि ठप्प भयो । त्यसपछि उनीहरू आफ्नै गीत सिर्जनामा केन्द्रित भए । ब्यान्डले ‘रङ’ बोलको गीत सार्वजनिक ग¥यो र यसलाई निकै रुचाइयो । त्यसपछि ब्यान्डको उचाइ ह्वात्तै बढ्यो । सम्यक भन्छन्, ‘यो गीत स्वप्निल शर्माले लेखेका थिए । धेरैले मन पराइदिनुभयो । सामाजिक सञ्जालमा फ्यान फलोअर्स बढ्दै गए । यसपछि बल्ल अर्काे गीत ल्याउने आँट आयो ।’
ब्यान्डले त्यसपछि ‘भावना’ बोलको गीत बजारमा ल्यायो । यो गीतलाई पनि दर्शकले निकै मन पराए । ब्यान्ड सदस्य दावा भन्छन्, ‘ठमेलमा दर्जनौँ कभर ब्यान्ड रमाइरहेका छन् । हामी पनि १२ वर्ष यसरी नै रमायौँ । मूलधारको ब्यान्डमा आउन समय लाग्यो ।’ उनीहरूले आफ्नै गीत सिर्जना गरेपछि कन्सर्ट गर्ने योजना बनाए । अक्टोबर २०२३ मा सांगीतिक टुरमा निस्किए । विराटनगर, बिर्तामोड, काँकडभिट्टा, पोखरा, बुटवल, चितवनसहित आठ सहरमा कन्सर्ट गरे । त्यसै वर्ष उनीहरू नेपालको १४ ठाउँ पुगे । ब्यान्डको सशक्त प्रस्तुतिले दर्शक–श्रोता आकर्षित भएको सम्यक सम्झन्छन् । त्यसवेला कन्सर्टमा पाँच हजार दर्शक आएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘ठमेलबाट पहिलोपटक निस्किएर बाहिर कन्सर्ट गर्दा डर लागेको थियो । तर, दर्शकले हाम्रो गीत र प्रस्तुति मन पराइदिनुभयो । त्यसले अर्काे कन्सर्ट गर्न ऊर्जा मिल्यो ।’
सन् २०२४ मा ब्यान्डले काठमाडौंसहित नेपालका ५१ ठाउँमा कन्सर्ट गर्यो । ब्यान्डले सन् २०२५ मा देश–विदेशमा गरी सय ठाउँमा कन्सर्ट गर्ने योजना बनाएको उनी बताउँछन् । ‘पाँच वर्षयता ब्यान्डले सातवटा गीत निकालिसकेको छ । प्रत्येक नयाँ गीत अघिल्लोभन्दा चर्चित बनेका छन् । ‘हजार जन्म...’, ‘फर माई लभ..., धुन र भावनाजस्ता गीतलाई दर्शकले निकै रुचाए,’ उनी भन्छन्, ‘बजारमा सुनिरहने गीतभन्दा नयाँ स्वादको गीत ल्याउन खोजिरहेका छौँ ।’

‘द सर्माउन्ट नेपाल’ आफ्नै संगीतमा
बजारियाभन्दा फरक स्थानीय स्वाद पस्कने अर्को सांगीतिक ब्यान्ड हो भक्तपुरको ‘द सर्माउन्ट नेपाल’ ब्यान्ड । यस ब्यान्डले आफ्नै सिर्जनामा गीत–संगीत प्रस्तुत गर्दै आइरहेको छ । ब्यान्डमा वीरेन्द्र थिङ (भोकलिस्ट), सहिल मिश्र (गिटारिस्ट), सर्जु सैँजू (ड्रमर), सिजल सैँजू (साउन्ड इन्जिनियर) र जयन्त कर्मचार्य (बेसिस्ट) छन् ।
भक्तपुरका सहिल मिश्र स्कुल पढ्दादेखि नै मेटल म्युजिक सुन्थे । पछि उनले यसैमा भविष्य देखे । उनले साथीहरूसँग मिलेर ब्यान्ड स्थापना गर्ने सोच बनाए । भक्तपुरकै वीरेन्द्र थिङ र सर्जु सैजूसँग मिलेर सन् २०१४ मा ब्यान्ड स्थापना गरे । ब्यान्डले पहिलो कन्सर्ट सन् २०१५ मा भक्तपुरमै आयोजना गर्यो । त्यसयता हरेक वर्ष भक्तपुरमा संगीत प्रस्तुत गर्दै आएको छ ।
सहिल भन्छन्, ‘मेटल संगीतलाई प्रायः नेपाली सांगीतिक क्षेत्रमा सामान्य रूपमा लिइन्थ्यो । यद्यपि, हामी यही संगीतको माध्यमबाट सपना पूरा गर्ने लक्ष्यमा थियौँ र ब्यान्ड स्थापनासमेत गर्यौँ ।’सन् २०१९ मा ब्यान्डले दार्जिलिङबाट पहिलो सांगीतिक टुर गर्यो । ‘सर्माउन्ट नेपालले अन्तर्राष्ट्रियस्तरमा पहिचान पायो । नयाँ दर्शक जोडिए । सबैको ध्यान हामीप्रति आकर्षित भयो । यसले ब्यान्डलाई आगामी योजनाका लागि प्रोत्साहन गर्यो,’ उनले भने । त्यसपछि ब्यान्डले बुटवलस्थित ‘द कन्सेप्ट क्लब एन्ड बार’मा प्रस्तुति दियो । उनी भन्छन्, ‘अहिले धेरै नयाँ कलाकारमा कभर सङ गाएर चर्चा बटुल्ने सोच देखिन्छ । हामी भने आफ्नै सिर्जनालाई पस्किरहेका छौँ ।’ ब्यान्डले ‘सयौँ जन्म’ एल्बम बजारमा ल्याइसकेको छ । यो एल्बममा कसरी सुनाऊँ..., भावना..., चञ्चल..., मेरो निराशा..., यसैगरी... र झुटो आशा...’ गरी सातवटा टाइटल गीत बजारमा ल्याइसकेको छ ।

उनीहरूले सामाजिक अभियानका लागि पनि सांगीतिक प्रस्तुति दिँदै आइरहेका छन् । एक वर्षअघि ब्यान्डले भक्तपुर क्यान्सर अस्पतालमा ‘ब्रेस्ट क्यान्सर’का बिरामीका लागि च्यारिटी ग¥यो । भोकलिस्ट वीरेन्द्र थिङ भन्छन्, ‘अब अटिजम, अपांगता भएका मान्छे र सडक जनावरको कल्याणका लागि सांगीतिक कार्यक्रम गर्ने योजना छ । संगीतमार्फत थोरै भए पनि सेवा गर्न सकियोस् भन्ने योजना छ ।’
‘द सर्माउन्ट नेपाल’ केवल मनोरञ्जन प्रदान गर्ने मात्रै नभएर संगीतको माध्यमबाट समाजमा परिवर्तन ल्याउने ब्यान्ड भएको उनी बताउँछन् । ‘संगीत एउटा सशक्त साधना हो, जसले मानिसको भावना र विचारलाई उजागर गर्न सक्छ । गीतमा समाजका समस्यालाई उजागर गर्न, असमानता र अन्यायका विरोधमा बोल्न पनि सहयोग गर्छ,’ उनी भन्छन्, ‘मौलिक संगीतप्रेमीमाझ जोडिने योजना छ । ब्यान्डले संगीतमा विविधता र नवीनता दिएर भिन्न पहिचान बनाउने सोच छ ।’
इथ्नो म्युजिकपछ्याउँदै सोनागी ब्लुज
पहाडको घर छोडी आएँ है काठमान्डू सहर
धुवाँधुलो छँदै छ नि खुत्रुकेमा आशा बोकेर ...
‘सोनागी ब्लुज’ ब्यान्डको यो गीतको शब्द, संगीत र स्वरले धेरैको ध्यान खिचेको थियो । ब्यान्ड सदस्य अपिल पौडेलले लेखेको गीतमा मानिसको भोगाइ देखिन्छ । गाउँबाट सहर आउने मान्छेको भोगाइलाई समेटेर गीत सिर्जना गरेको अपिल सुनाउँछन् । उनी भन्छन्, ‘गाउँबाट सहर आएका मान्छेको भोगाइ गीतमा ल्याउन खोजेको हुँ । धेरैजसो मान्छे सुन्दर भविष्यको खोजीमा सहर पस्छन् । तर, उनीहरूले देखेको सपना सहरमा पूरा हुँदैन र दिक्क बन्छन् । सहर बस्न बाध्य भएको भडासलाई गीतमा पोखेको हुँ ।’ चार वर्षअघि स्थापना भएको यो सांगीतिक ब्यान्ड फरक र स्थानीय स्वाद पस्कन अग्रणी छ । भिन्न शैलीको संगीत सिर्जना गरेर यो ब्यान्ड नयाँ बाटो पहिल्याउन उद्यत छ ।
काठमाडौं विश्वविद्यालयबाट इथ्नो म्युजिकोलोजी विभागबाट संगीतमा स्नातक गरेका अपिल पौडेल ब्यान्डका सरोदवादक तथा गायक हुन् । उनी ब्यान्डका गीतकार पनि हुन् । स्नातक तह पहिलो वर्ष पढ्दै गर्दा सरोद बजाउँथे । उनीसँगै काठमाडौं विश्वविद्यालयबाट इथ्नो म्युजिकोलोजी विभागको एउटै कक्षामा अध्ययनरत थिए आयुष थापा र सिजल सैँजू । त्यसपछि उनीहरूले ‘सोनागी’ नाम दिएर ब्यान्ड स्थापना गरे । ब्यान्डको नाम ‘सोनागी ब्लुज’ भयो । उनीहरूले संगीत सिर्जनासँगै कन्सर्ट गर्न थाले ।
काठमाडौं विश्वविद्यालयबाटै इथ्नो म्युजिकोलोजीमा स्नातक आयुष गितार बजाउँछन्, निश्चल राई नगरा बजाउँछन् भने प्रशान्त शाक्य (बेस) र सिजल सैँजू साउन्डमा साथ दिइरहेका छन् ।इथ्नो म्युजिकोलोजी अध्ययन गर्ने क्रममा नेपाली लोकसंगीतबारे बुझ्न पाएको अनुप बताउँछन् । उनी संगीतमा केही नयाँ र नेपाली मौलिक संगीत खोजिरहेको बताउँछन् । ब्यान्डमार्फत सामान्य मानिसलाई पनि नेपाली संगीतबारे बुझाउने, संगीत संरक्षण र प्रवद्र्धन लागेको उनको भनाइ छ । ‘हामीले विश्वविद्यालयमा संगीत पढ्ने क्रममा फरक–फरक समुदाय फरक कला संस्कृतिबारे बुझ्ने अवसर पायौँ । त्यसपछि संगीत अध्ययन र अनुसन्धान गर्न पायौँ,’ उनी भन्छन्, ‘रक, शास्त्रीय संगीत र नेपाली लोकसंगीतबाट प्रभावित भएर ब्यान्ड खोलिएको हो ।
रक, शास्त्रीय र लोकशैलीको मिश्रित संगीत गर्छाैं । तर, धेरैले लोक संगीतको ब्यान्ड भन्छन् । तर, रक, शास्त्रीय र लोक संगीतको फ्युजन ब्यान्ड हो । जसले फरक जनराको म्युजिक सिर्जना गर्छ ।’नेपाली लोकसंगीत र शास्त्रीय संगीतमा काम गर्न पाउँदा उनीहरूलाई सन्तुष्टि मिल्ने बताउँछन् । ब्यान्डले काठमाडौं, ललितपुर, पोखरालगायत २० भन्दा बढी ठाउँमा प्रस्तुति दिइसकेको छ । विदेशबाट समेत निम्तो आएको उनीहरूको भनाइ छ । एल्बम रिलिज गरेपछि नेपालका सबै सहरमा कन्सर्ट गर्ने योजना रहेको अपिल बताउँछन् । उनी भन्छन्, ‘अहिले ब्यान्डले आफ्नै पहिचान बनाएको छ । संगीतको नयाँ–नयाँ जनरालाई प्रयोग गर्ने कोसिसमा छौँ । आगामी दिनमा हामीले सिर्जना गरेको संगीत समान्य मान्छेलाई पनि बुझाउन सकियोस् भन्ने छ । नेपाली संगीतलाई विदेशसम्म पु¥याउने हाम्रो कोसिस रहनेछ ।’
आफ्नै सिर्जनाले टिकेका ब्यान्ड
संगीत अन्वेषक बुलु मुकारुङले लेखेको ‘नेपाली संगीतको अभिलेख’ पुस्तकअनुसार सन् १९७७ मा काठमाडौंमा ‘ब्रदरहुड ब्यान्ड’ स्थापना भएको थियो । किशोर गुरुङ (गितार) राजु गुरुङ (गायन र ड्रम) सुवर्ण लिम्बू (बेस) श्याम परियार (सेक्सोफोन)लगायत ब्यान्ड सदस्य थिए । सन् १९७० मा नेपालमा सांगीतिक ब्यान्ड खोलिएको मुकारुङको दाबी छ । यद्यपि, त्यसवेला खोलिएका ब्यान्ड अहिले सक्रिय छैनन् । नेपालमा सन् १९९० देखियता थुप्रै सांगीतिक ब्यान्ड स्थापना भए । नब्बेको दशकमा ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, हरिश माथेमा, भीम तुलाधर, बबिन प्रधानजस्ताले नेपाली पप संगीतको जग बसाए ।
नब्बेकै दशकका उदीयमान नेपथ्य, १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, कबवेब, कन्दराजस्ता ब्यान्ड जन्मिए । स्थापना मात्र होइन, यी ब्यान्डको निरन्तरताले नेपाली संगीत आकाशलाई फराकिलो बनाए । बिस्तारै ब्यान्डको फरक शैलीको प्रस्तुतिले प्रशंसा र लोकप्रियता झनै बढ्यो । टेलिभिजन र रेडियोको प्रयोग बढेसँगै नयाँ विचार र प्रयोगका सांगीतिक गतिविधि बढ्न थाले । त्यसपछि नेपालमा अडियो क्यासेट र सिडीको व्यापार बढ्न थाल्यो । त्यसपछि काठमाडौंसहित पोखरा, धरानजस्ता प्रमुख सहरमा ब्यान्डको संख्या बढ्यो, जसले नेपालमा ब्यान्ड संस्कृति र संगीतमा विविधता थपियो ।
‘१९७४ एडी’का संस्थापक सदस्यमध्येका एक निराकार याक्थुम्बाका अनुसार सन् १९९० पछि नेपालमा पप, रक, लोक पप, लोक रक, ब्लुज, मेटल रकलगायत विधाका थुप्रै ब्यान्ड स्थापना भए । उनी भन्छन्, ‘नेपालमा व्यवस्थित भएर ब्यान्ड कल्चर सुरु भएको नब्बेको दशकपछि नै हो । यसअघि एक–दुईवटा ब्यान्ड थिए । तर, व्यवस्थित ब्यान्ड भएका थिएनन् । त्यसवेला रक ब्यान्डको कल्चर थियो । त्यसपछि क्रमिक रूपमा नेपाली संगीतका नयाँ शैली र ट्रेन्डको विकास हुँदै गयो, विभिन्न विधाका ब्यान्ड खोलिन थाले ।’
नब्बकै दशकमा सांगीतिक क्षेत्रमा नव प्रतिभाहरूको प्रादुर्भाव हुने क्रममा जेम्स प्रधान, सञ्जीव प्रधान, निमा रुम्बा, नवीन के. भट्टराई, धीरज राईलगायतले नेपाली संगीतलाई उजागर गर्ने कार्य गरे ।पछिल्लो समयमा गीतकै विभिन्न विधालाई आधार बनाएर सांगीतिक समूहको उदय भइरहेको छ । यसमा कुमा सागर एन्ड द ख्वपः ‘जन चाम्लिङको ब्यान्ड’, ‘पूर्ण राई एन्ड दाजुभाइ’, ‘झिल्के एन्ड द कम्पनी’ ‘एक्सिस’जस्ता केही नयाँ ब्यान्ड उदाएका छन् ।
नेपालमा दुई सिजन ‘ब्यान्ड च्याम्पियन’ नामक रियालिटी शो पनि आयोजना भएको थियो । द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाका अनुसार रियालिटी शोले नेपालमा ब्यान्डहरूको स्थापना बढाएको पनि थियो । ‘ब्यान्ड च्याम्पियन रियालिटी शोमार्फत देशभरका ब्यान्डलाई मञ्च प्रदान गर्ने उद्देश्य थियो । ०७८ सालमा भएको ब्यान्ड च्याम्पिएनको दोस्रो सिजनमा दुई सय ब्यान्डले आवेदन दिएको थिए । त्यसमध्येबाट २५ वटा छनोट गरेका थियौँ । पहिलो सिजनमा पनि झन्डै ७० वटा ब्यान्ड छनोट गरेको थियौँ । यस्तो रियालिटी शोले ब्यान्ड कल्चर विकासमा समेत सहयोग गरेको थियो ।
नेपालमा पछिल्लो समय ब्यान्ड कल्चर फेरि ब्युँतिएको पुराना संगीतकर्मीहरूको बुझाइ छ । कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ नयाँ ब्यान्डको आगमनले निकै उत्साहित बनाएको बताउँछन् । सही सोच राखेर आउने हो भने नयाँ ब्यान्डका लागि पर्याप्त सम्भावना देख्छन्, उनी । ‘अहिले आफ्नै सिर्जनासहित नयाँ ब्यान्ड आइरहेका छन्, यो आफैँमा स्वागतयोग्य छ । नयाँ ब्यान्डको व्यवस्थापन पनि राम्रो देखिएको छ । जसले गर्दा कन्सन्र्टहरू व्यवस्थित देखिन्छन् ।’ ‘१९७४ एडीका ड्रमर सञ्जय श्रेष्ठ पनि नेपालमा ब्यान्ड कल्चर मौलाउँदै गएको बताउँछन् । उनी भन्छन्, ‘८–१० वर्षअघि ब्यान्ड कल्चर हराइसकेको थियो । अहिले फेरि ब्युँतिएको छ । नयाँ–नयाँ कलाकारको आगमनसँगै ब्यान्ड कल्चर फर्किएको छ । यो सांगीतिक उद्योगका लागि राम्रो हो । ब्यान्डलाई टिकाउन मौलिक सिर्जना हुनुपर्छ ।’
ब्यान्डको आफ्नै सिर्जना हुनुपर्छ
निराकार याक्थुम्बा, संस्थापक सदस्य, ‘१९७४ एडी’ ब्यान्ड
ब्यान्ड खोल्नु ठुलो कुरा होइन । गीत गाउन र ड्रम–गितार बजाउन जानेर मात्रै ब्यान्ड टिक्दैन । यो संंगीतको सामूहिक काम हो । यसका लागि सिर्जनात्मक टिम हुनुपर्छ । ब्यान्डका सबै सदस्यमा संगीतको ‘प्यासन’ हुनुपर्छ । कतिपयले क्षणिक चर्चाको लोभमा पनि ब्यान्ड खोलेका हुन्छन् । दुई–चारवटा गीत गाएपछि ब्यान्ड खोल्ने हुटहुटी चल्न थाल्छ । जसले छोटो समयका लागि भाइरल पनि बनाउँला । तर, केही समयमै ब्यान्ड हराइहाल्छ ।
नाम र पैसा कमाउने उद्देश्यले ब्यान्ड खोल्नु हुँदैन । यो मानसिकताले संगीतमा टिक्न सकिँदैन । दुई–चारजना साथी मिलेपछि ब्यान्ड खोल्न सजिलो छ । तर, ब्यान्ड टिकाउन सजिलो छैन । यतिले मात्रै ब्यान्डलाई अगाडि बढाउन सकिँदैन । संगीतको सतही अध्ययनले मात्रै पुग्दैन । ब्यान्ड स्थापना गर्नुअघि संगीतको अध्ययन गर्नैपर्छ । मिहिनेत गर्नैपर्छ । ब्यान्डको आफ्नो सिर्जना हुनैपर्छ । अर्काे ब्यान्डका सदस्यबिच सम्मान हुनुपर्छ । जसले टिमवर्कलाई सजिलो बनाउँछ । एकजनाले मात्रै गर्छु भनेर हुँदैन । टिमवर्कमा ‘इगो’ हुनुहुँदैन । इगोले ब्यान्डमा दरार ल्याइदिन्छ । सामूहिक सोच र भावना हुनुपर्छ । टिममा एकअर्कामा उत्तिकै इज्जत गर्नुपर्छ । त्यसले ऊर्जा प्रदान गर्छ ।
हामीले ब्यान्ड सुरु गर्ने वेलामा रक ब्यान्डको कल्चर थियो । त्यसपछि सोलो लाइभ कन्सर्ट गर्ने चलन पनि आयो । कतिपयले ट्र्याकमा पनि गीत गाए । कतिपयले कन्सन्र्टमा गीत गाएजस्तो मात्रै गाउँथे । ट्र्याकमा गाएर कन्सर्ट गरेजस्तो देखाउँथे । यसरी गाउनेबित्तिकै ब्यान्ड लामो समय टिक्दैन । त्यसैले ब्यान्डको आफ्नै सिर्जना हुनुपर्छ । त्यसले दीर्घकालीन हुनलाई मौलिक सिर्जना हुनुपर्छ । अहिले नेपालमा कन्सर्ट कल्चर बढ्दै गएको छ । विदेशमा समेत नेपाली कलाकारको माग बढ्दै गएको छ । २५ वर्षअघि १९७४ एडी अमेरिका कन्सर्ट गर्न जाँदा कसरी गए होला भनेर धेरैले सोच्थे । तर, अहिले हरेक साताजस्तो विदेशमा कन्सर्ट गर्न नेपाली ब्यान्ड पुगेका हुन्छन् । संगीत उद्योगमा मिहिनेत र इमानदार भएर आउनेका लागि राम्रो छ । जसले अल्छी गर्छ, उसका लागि संगीतिक उद्योगमा टिक्न गाह्रो हुन्छ ।