म्युजिक थेरापी पीडामा भावनात्मक मलम

केदार गान्धारी केदार गान्धारी
शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

संगीतमा यति ठुलो शक्ति हुन्छ कि निरन्तर संगीत बजाएर मानिसलाई एउटा मुडबाट अर्को मुडमा लैजान सकिन्छ 

संगीतले मानिसका भावनालाई नियन्त्रण गर्छ । यसको माध्यमबाट मानिसले आफ्ना पीडा र व्यथा भुल्ने गरेको इतिहास छ । विभिन्न शारीरिक तथा मानसिक अवस्थाका कारण गुणस्तरीय जीवन जिउन कठिनाइ भइरहेकाहरूका लागि ‘म्युजिक थेरापी’ वरदान हो । यसले पीडा कम गर्न, संवादलाई सहज बनाउन र मानिसलाई आरामदायी महसुस गर्न सहयोगी भूमिका खेल्ने गरेको छ । भारतबाट पोस्ट ग्य्राजुयट डिप्लोमा इन म्युजिक थेरापी पढेर आएपछि मैले सन् २०१० यता यस क्षेत्रमा काम गरिरहेको छु ।

संगीत थेरापिस्टका रूपमा हामीले मानिसलाई एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण गर्ने काम गरिरहेका हुन्छौँ । पूर्णतः निको नहुने, तर उपचार गरेर आराम महसुस गर्न सकिने धेरै अवस्थाहरूमा यसले प्रभावकारी काम गर्छ । डिप्रेसन, डिमेन्सिया, मस्तिष्कमा चोट, स्ट्रोक, पार्किन्सन, क्यान्सर, अटिजम, मुड डिसअर्डर, एन्जाइटी डिसअर्डर, लर्निङ डिसएबिलिटिज, पीडा (एक्युट र क्रोनी) लगायत विभिन्न शारीरिक तथा मानसिक अवस्थामा यसले सहयोग गर्छ ।

मानौँ, एउटा मानिस डिप्रेस छ । उसलाई जिन्दगी उदास छ भन्ने लागिरहेको छ । त्यस्तो अवस्थामा सेल्फ स्टिम र आत्मविश्वास बढाउनुपर्ने हुन्छ । म्युजिक थेरापीले आत्मविश्वास जगाउन भूमिका खेल्छ ।

अटिजम भएका मानिसलाई आफ्नो भावनात्मक संवेग अभिव्यक्त गर्न गाह्रो हुन्छ । आफ्ना भावना गुम्स्याएर राख्नुपर्दा उनीहरूलाई गुणस्तरीय जीवन बाँच्न कठिनाइ भइरहेको हुन सक्छ । म्युजिक थेरापी गरेर संगीतको माध्यमबाट उनीहरूले आफ्नो भावना अभिव्यक्त गर्न सक्छन् । कतिपय बच्चामा दोहोरो संवादमा समस्या देखिन्छ । कतिपयलाई सामाजिक रूपमा घुलमिल हुन समस्या हुन्छ । यसमा पनि म्युजिक थेरापी प्रभावकारी हुन्छ ।

क्यान्सरसँग जुधिरहेको बिरामीलाई पनि यसले रोगसँग लड्न सहयोग गर्छ । उनीहरूलाई आशावादी हुन र आत्मविश्वास जगाउन मद्दत गर्छ । क्यान्सरका बिरामीलाई रेडियो थेरापी दिँदा असह्य पीडा हुन्छ । त्यस्तो अवस्थाका लागि तयार गर्न उपचारका क्रममा विदेशतिर ब्याकग्राउन्ड म्युजिक बजाएर उनीहरूको मानसिक अवस्थालाई डाइभर्ट गर्ने काम गरिन्छ । मुड सुधार्न, स्ट्रेस घटाउन, एन्जाइटीको स्तर घटाउन र आरामदायी गराउन यसको प्रयोग हुन्छ । हामीले क्यान्सर भएकाहरूसँग काम गर्दा पहिले उनीहरूको रुचिबारे बुझ्छाैँ । निकै निकट रहेर काम गर्छौं । डाक्टरसँग पनि परामर्शमा हुन्छौँ । उनीहरूलाई मनपर्ने धुन र भजनबारे धेरै बुझेर संगीत सिर्जना गर्छौं । अन्य अवस्थामा पनि यसरी नै तयारी गरेका हुन्छौँ । 

कसरी गर्ने ?

जटिल अवस्थामा हामीले डाक्टर, नर्स, स्पिच थोरापिस्ट, मनोविद्, मानसिक रोग विशेषज्ञलगायतसँग मिलेर काम गर्छौं । सहज अवस्थामा भएकाहरूले पनि हामीसँग बसेर आफ्नो आवश्यकता र रुचिअनुसारको कार्यक्रम तयार गर्न सक्छन् । हामी उनीहरूसँग प्रत्यक्ष संवादमै रहेर यस्तो योजना बनाउँछौँ । उनीहरूसँगकै कुराकानीमार्फत कति लामो सेसन गर्ने भन्ने तय हुन्छ ।

पहिले सम्बन्धित व्यक्तिको पास्ट हिस्ट्री लिन्छौँ । समस्या पहिचान गर्छौं । त्यसपछि एउटा ‘गोल’ बनाउँछौँ । उसको आवश्यकता के हो ? सोसल कम्युनिकेसन बढाउनुपर्ने हो कि, सेल्फ स्टिम बढाउनुपर्ने हो कि, हातको संयोजन मिलाउनुपर्ने हो कि, आत्मविश्वास जगाउनुपर्ने हो कि यसबारे छलफल गर्छौं । कहिलेकाहीँ समूहमा पनि म्युजिक थेरापी गराइन्छ । 

अल्पकालीन र दीर्घकालीन गोल बनाउँछौँ । त्यही ‘गोल’ संगीतका माध्यमबाट पूरा गर्ने कोसिस गर्छौं । उनीहरूको बलियो पक्ष के छ ? त्यसलाई कसरी बढावा दिने भन्ने विषयमा तयारी गर्छौं । 

एक्टिभ–प्यासिभ संगीत 

विशेष अवस्थाहरूमा एक्टिभ थेरापी आवश्यकता पर्छ । त्यसका लागि हामी आफैँले थेरापी रुम सेटअप गर्छौं । यसका लागि पहिले व्यक्तिको अवस्था बुझ्ने र मुड रिड गर्नुपर्ने हुन्छ । उनीहरूसँग जोडिएर दोहोरो संवाद गर्छौं । उनीहरूको मुडलाई ध्यानमा राखेर तत्कालै संगीत सिर्जना गर्छौं । श्रोताको आवश्यक बुझेर स्पोनटेनियस्ली काम गर्नुपर्ने हुन्छ । संगीतमा यति ठुलो शक्ति हुन्छ कि निरन्तर संगीत बजाएर मानिसलाई एउटा मुडबाट अर्को मुडमा लैजान सकिन्छ । 

थाकेको वेलामा कस्तो खालको संगीत सुन्दा थकाइ मेटिन्छ भन्ने कुरा थेरापिस्टले बुझेपछि त्यहीअनुसार संगीत बनाउँछ । त्यसपछि नाच्ने हो कि, खुट्टा ट्रापिङ गर्ने हो कि, हेड ट्रापिङ, ताली बजाउने हो कि । मानिस आफैँ सक्रिय हुन सक्छ । यी काम मानिसको मानसिकता र मुड हेरेर तत्कालै गर्नुपर्ने हुन्छ । 

एक्टिभ म्युजिक थेरापीका क्रममा श्रोताले संगीत सुन्छन्, संगीतकै तालमा बग्छन्, आफैँ गाउँछन्, नमुना उपकरणमार्फत संगीत पनि बनाउँछन्, गीतका शब्दबारे छलफल गर्न वा आफैँ लेख्न सक्छन्, संगीतको तालमा आफूलाई मनपर्ने दुनियाँमा हराउन सक्छन् । 

रेकर्डेड संगीतले पनि हामीलाई आरामदायी महसुस गराएको हुन्छ । रेडियो, टेलिभिजन वा युट्युबबाट संगीत सुन्नुलाई हामी ‘प्यासिभ म्युजिक’ भन्छौँ । कस्तो संगीत सुन्ने, कुन समयमा सुन्ने, कति समयको अन्तरमा सुन्ने यी विषयमा जानकारी राखेर सुन्दा यसको अधिकतम लाभ लिन सकिन्छ । संगीतका धेरै नोटेसन हुन्छन्, स्केलको कुरा आउँछ, लय आउँछ, वाद्ययन्त्रको कुरा हुन्छ, कतिसम्म हर्सपावर सुन्ने भन्ने कुरा आउँछ, यी विषय ख्याल गर्नुपर्ने हुन्छ । ‘इलिमेन्ट्स अफ म्युजिक’ बुझेपछि सुन्न थप मजा आउने भएकाले यसका लागि सबैले परामर्श लिन सक्नुहुन्छ ।

बढ्दै छ सचेतना 

मैले कलेज सकेपछि युरोप, अमेरिका र क्यानडामा इन्टर्न गरेँ । उनीहरू हामीभन्दा निकै अघि छन् । त्यहाँका मानिसले पनि संगीतको फाइदाबारे धेरै बुझेका छन् । संगीत विश्वव्यापी सञ्चार हो । तर, हाम्रोमा अझै पनि संगीतलाई धेरैले मनोरञ्जनकै रूपमा मात्र लिने चलन छ । भजन, कन्सर्ट, दोहोरी गाइरहेकै भए पनि संगीतबाटै उपचार हुन्छ भन्ने जानकारी हामीले राखेका छैनौँ । थाहा नहुँदानहुँदै पनि यसले प्रभावकारी काम भने गरिरहेकै हुन्छ । जस्तो, वृद्धवृद्धा भजनमा जानुहुन्छ । त्यहाँ गएपछि आफ्ना सबै समस्या भुलेर अचानक नाच्न थाल्नुहुन्छ । केही दुखाइ भइरहेको छ वा समस्या छ भने पनि बिर्सनुहुन्छ ।

मैले सन् २०१० मा यहाँ आएर म्युजिक थेरापी सुरु गरेको हुँ । नेपालको सन्दर्भमा यसलाई कान्छो उपचार विधि मान्दा पनि फरक नपर्ला । अटिजम केयर नेपाल सोसाइटीमा सबैभन्दा पहिले काम गरेको थिएँ । त्यतिवेला विशेष क्षमता भएका विद्यार्थीका लागि निकै कम विद्यालय थिए । अहिले बढ्दै छ, खुसी लाग्छ । धेरै विद्यालयमा पनि मैले स्वयंसेवकका रूपमा काम गरेँ । यसबारे सचेतना कम थियो । संगीत उपकरणकै अभाव थियो । बिस्तारै मानिस सजग हुँदै गएको छ । विदेशमा स्वास्थ्य संस्था, विशेष क्षमता भएकाहरूका लागि खोलिएका विद्यालय, क्यान्सर अस्पताल, ट्रमा सेन्टर, वर्न सेन्टरलगायतमा म्युजिक थेरापी गराउने गरिन्छ । हाम्रोमा सचेतना बढ्दै छ । तर, जनशक्ति सीमित छ । 

केही समय हामीले कान्ति बाल अस्पतालमा पनि जलन भएका बालबालिकालाई यो सेवा दिएका थियौँ । ड्रेसिङ चेन्ज गर्ने क्रममा जलन भएकाहरूलाई असह्य पीडा हुन्छ । २०११ मा विदेशी साथी बेरिनासहित हामी चारजनाको टिमले उनीहरूलाई संगीत सुनायौँ । यसले पीडा कम गर्न सहयोग गरेको थियो । उनीहरूको पीडा देखेर अभिभावकलाई पनि छट्पटी भइरहेको थियो । हामीले अभिभावकलाई पनि सँगै राखेर थेरापी गरायौँ । बनेपास्थित स्पाइनल कर्ड सेन्टरमा गएर पनि सेवा दियौँ ।  हामीले विभिन्न कन्फ्रेस, स्कुल, कर्पोरेट क्षेत्रमा कार्यक्रम गरेर यसबारे सचेतना फैलाइरहेका छौँ । अभिभावक, मनोविज्ञहरू पनि यसबारे सजग हुनुहुन्छ । विभिन्न स्कुलले यो थेरापी गराइरहेका छन् ।  सरकारले म्युजिक थेरापीलाई प्रवद्र्धन गरेर धेरैभन्दा धेरै स्वास्थ्य संस्था तथा विद्यालयमा विस्तार गर्न जरुरी छ । यसमा स्थानीय सरकारको भूमिका पनि निकै महत्वपूर्ण छ । गैरसरकारी संस्थाको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 

प्रस्तुति : अन्वेषण अधिकारी 

सम्पादकको रोजाइ

सुझावित समाचार