फेरि त्यो दिन सम्झन चाहन्नँ...

आधुनिक हुने चक्करमा पश्चिमा भएछु

पवन बराइली पवन बराइली
शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

नेपाली पप संगीतका लोकप्रिय गायक हुन् सुगम पोखरेल । उनले गाएका ‘फेरि त्यो दिन सम्झन चाहन्नँ...,’ ‘सम्हालिन्छ कहिले मन...’, ‘जाँदै छु टाढा...’, ‘कति दिन बिते कति रातहरू...’, ‘झिल्केले...’ जस्ता गीतहरू चर्चित छन् । पोखरेलले दर्जनौँ चलचित्रका गीतहरू पनि गाइसकेका छन् । गायक पोखरेलले आफ्नो सांगीतिक यात्राबारे पवन बराइलीलाई सुनाएका छन्:

मलाई सानैदेखि फिल्मको हिरो बन्ने रहर थियो । हिन्दी फिल्म धेरै हेरिन्थे । घरमा नाटकमा काम गर्ने दाइ (सुनील पोखरेल) हुनुहुन्थ्यो, जसले गर्दा अभिनय मन पर्थ्यो । त्यसैले ६–७ कक्षा पढ्दा नै टेलिसिरियलमा अभिनय गरेँ । तर, मलाई अभिनय निकै गाह्रो लाग्यो ।

एउटै अभिनय पटक–पटक गर्दा अप्ठ्यारो हुँदोरहेछ । बल्लतल्ल टेलिसिरिलयमा चाहिँ काम गरेँ । त्यसपछि अभिनय मेरो बाटो होइन भन्ने महसुस भयो र गायनतिर केन्द्रित हुन थालेँ । स्कुलको कार्यक्रममा पनि गीत गाउथेँ । मेरो गायनलाई सबैले प्रशंसा गर्थे । 

एसएलसी सकेपछि कलेज पढ्न काठमाडौं आएँ । कलेजमा पनि गीत–संगीतको माहोल बन्यो । गीत–संगीतमा रुचि राख्ने साथीहरूसँग भेट भयो । साथीहरूसँग मिलेर एउटा गीत लेखेँ । गीत रेकर्ड भयो, आफ्नो स्वर सुनेर दंग परेँ । गीत हाम्रै साथीहरूले मात्रै सुने । एफएममा दियौँ, तर गीत सोचेजस्तो चलेन । आफ्नो स्वरमा गीत रेकर्ड भयो भन्ने भयो । त्यसपछि जेम्स प्रधान दाइलाई कम्पोज गर्न लगाएर अर्काे गीत रेकर्ड गरियो, त्यो पनि राम्रो भएन । ०५३ सालतिरको कुरा हो । साथीहरू पनि पढाइ गर्न थाले । म पनि रेडियो सगरमाथामा काम गर्ने थालेँ । संगीतको लाइब्रेरीमा काम गर्न पुगेँ ।

फेरि मेरो संगत संगीतसँगै हुन थाल्यो । त्यसबिचमा अमेरिका जाने चक्करमा थिएँ । नेपालमै केही गर्नुपर्छ भन्ने लाग्यो । फेरि बिस्तारै संगीतमा लगाव बढ्दै गयो । रेडियोले गर्दा फेरि संगीतसँग गहिरो सम्बन्ध बन्दै गयो । तर, गीत रेकर्ड गर्ने आँट आएको थिएन । दुई–तीनवटा गीत असफल भइसकेका थिए । मैले ‘आफ्नो त कर्म अभागी’ भन्ने गीत कम्पोज गरेको थिएँ । आफूभित्रको वेदनालाई लिएर गीत लेखेँ । त्यसवेला रेडियोमा काम गर्थेँ ।

एउटा रेडियोमा बजेको गीत अर्काे रेडियोले नबजाउने चलन थियो । त्यसपछि मैले वान म्यान ब्यान्ड भनेर गीत रिलिज गरेँ । त्यो गीत रेडियोमा निकै चर्चित भयो । तर, मेरो गीत भनेर थाहा थिएन । गर्लफ्रेन्ड (अहिले श्रीमती)लाई सम्झेर गीत लेखेँ । आफ्नो वेदना पोखेर गीत रेकर्ड गरेँ । 

मेरो संसार तिमी नै हौ
बाँच्ने आधार तिमी नै हौ...

अटोट्युन प्रयोग गरेँ । अटोट्युन मेरा लागि लक्की भइदियो । हुन त यो अन्धविश्वास पनि हो । अहिले पनि सबै गीतमा अटोट्युन प्रयोग गर्छु । अहिले धेरै प्रयोग गरेर बिगारेका छन् । 

मेरो संसार गीत निकै चल्यो । त्यसपछि मलाई अर्काे गीत ल्याउनुपर्ने चुनौती थियो । त्यसपछि ‘फेरि त्यो दिन सम्झन चाहन्नँ... आयो । यो गीत निकै चर्चित भयो । त्यसपछि बल्ल अरू एल्बम गर्ने आँट आयो । फेरि त्यो दिन सम्झन चाहन्नँ... गाएपछि पछाडि फर्कनुपरेन । बिस्तारै अरु गीत रेकर्ड गर्न थालेँ । गीतहरू चल्दै गए ।

त्यसरी नै मेरो गायन यात्रा सुरु भयो । म संगीतमा आउने वेला ‘पप गीत’को लहर चलेको थियो । त्यसवेला धेरैजसो कलाकारले गीत गाउने, गर्लफ्रेन्ड बनाउने, रक्सी पिउने र विदेश गएर बस्ने सोच राख्थे । तर, मलाई कहिल्यै त्यस्तो सोच आएन । म अग्रज गायकहरूलाई हेरेर मन बुझाउथेँ । यसर्थ, म आफूलाई लक्की पनि ठान्छु । म पप गीत गाउने मान्छे पनि टिक्न सकेँ । मैले गाउने गीत शब्द मात्रै नेपाली अरू पश्चिमा नै थियो । मेरो अधिकांश गीतमा पश्चिमाको धेरै प्रभाव हुन्थ्यो । त्यसवेला हामीले पप गीत गाउँदा गीत बिगारे पनि भनिन्थ्यो । 

अहिले सबै भ्रमबाट मुक्त भएर बाहिर निस्किएँ । म म्युजिक मात्रै सुन्छु । आफूभित्रको कुरा निकाल्न मात्रै लागिपरेको छु । मनलाई जे राम्रो लाग्छ त्यसरी काम गरिरहेको छु । अहिले म नयाँ गीत तयारी गर्न लागिपरेको छु । पहिलो एल्बमजस्तै अहिलेको एल्बममा काम गरिहेको छु । गीत चलोस्–नचलोस् मतलब छैन । 

बिस्तारै मलाई पनि फरक खालको गीत गाउनुपर्छ भन्ने लाग्यो । ‘सम्हालिन्छ कहिले मन...,’ ‘तिमी मभन्दा कोशौँ टाढा छौ...’ जस्ता आधुनिक शैलीका गीत गाएँ । त्यसवेला पप गीत गाउनेले आधुनिक जनराको गाउन खोज्दैनथे । मैले त्यसवेला आफूलाई जोखिम मोलेरै आधुनिक गीत गाएँ । फरक जनरामा पनि आफूलाई प्रमाणित गर्न सकेँ । 

सन् २००८ तिरको कुरा हो । म युकेमा एउटा सांगीतिक कार्यक्रम गएको थिएँ । त्यहाँ मैले पप गीत गाएँ । कार्यक्रम सकिएपछि एउटा विदेशी दर्शकले ‘तिम्रो आफ्नै म्युजिक खै ?’ भनेर प्रश्न गरे । त्यसपछि म झस्किएँ । मैले नेपाली गीत गाएकै रहेनछु भन्ने महसुस भयो । युकेबाट फर्केपछि थुप्रै पुस्तक पढ्न थालेँ । त्यसपछि मैले लोकशैलीका गीत पनि गाउन थालेँ । ‘दसैँ तिहार’ बोलको गीत ल्याएँ । मलाई महसुस भयो, म मोडर्न हुने चक्करमा वेस्टर्न भइरहेको रहेछु । त्यसपछि लोकशैली र सिनेमाका गीत पनि गाउन थालेँ ।

भोगाइले सिकिनेरहेछ 

धेरैले आफ्नो कमजोरी लुकाउँछन् । तर, मचाहिँ कमजोरी लुकाउँदिनँ । म कमजोरी सहजै स्वीकार गर्छु । जीवनमा कहिलेकाहीँ नराम्रो पनि हुनुपर्नेरहेछ । अनि मात्रै जीवन बुझ्न सकिनेरहेछ । सधैँ राम्रो भइरह्यो भने जीवन रंगीबिरंगी मात्रै देखिनेरहेछ । तर, जीवन ब्ल्याक एन्ड ह्वाइट पनि रहेछ । भोगाइले जीवनका अँध्यारो र उज्यालो पाटाहरू देखिनेरहेछ । अर्काको जीवनलाई देखेर नसिकिनेरहेछ । सिक्नलाई आफैँले भोग्नुपर्नेरहेछ । भोगाइपछि आफूलाई बदल्यो भने जीवन साँच्चै सुन्दर हुनेरहेछ । मैले पनि जीवनमा उतारचढाव व्यहोरेको छु । त्यसले मलाई जीवन बुझ्न मद्दत गर्यो । म आफूले गरेको कामलाई पनि विश्लेषण गरिरहन्छु । विगतका भोगाइ पनि सम्झन्छु । त्यो भोगाइले पनि मलाई बलियो बनाउन सहयोग गर्दाेरहेछ ।

म १०–१० वर्षमा एउटा जँघारमा उभिने कोसिस गर्छु । मलाई एउटा चरण पुगेपछि जीवनमा रिस्क मोल्न मन लाग्छ । १० वर्षसम्म एउटै गति भइरह्यो भने मोनोटोनस लाग्दोरहेछ । हरेक १०–१२ वर्षमा संसारको सबै कुरा परिवर्तन भइरहेको हुन्छ । तपाईंको जीवनमा केही परिवर्तन हुनैपर्छ । त्यसैले म जीवनमा अप्ठ्यारो परेका घटना सम्झन्छु, अनि जीवनलाई क्याल्कुलेट गर्छु । त्यसले फेरि अर्काे स्टेप चाल्न मद्दत पुग्नेरहेछ ।

बजारको पछि लागेछु 

मैले दर्जनौँ गीत गाइसकेँ । योबिचमा बजारलाई सोचेर धेरै गीत गाएँ । पहिले गीत लेख्दा कर्मसियल कसरी बनाउने भन्ने सोच आउँथ्यो । मैले कतिपय गीत बाँच्नको लागि गाएँ । धेरै फिल्मका लागि गीत गाएँ । तर, मलाई कहिल्यै सन्तुष्टि मिलेन । मैले ‘फेरि त्यो दिन सम्झन चाहन्नँ ...’ गीत आत्माले गाएको थिएँ । तर, योबिचमा मलाई धेरै बजारिया भएको महसुस भयो । बाँच्नका लागि मात्रै गीत गाइयोजस्तो लाग्यो । ‘लकडाउन’को वेला लामो समय घरमै बस्नुपर्यो । घरमै बसेर संगीत सिर्जना गरेँ । त्यसवेला आफ्नो कामलाई फर्केर हेर्ने मौका पाएँ । पैसाका लागि मात्रै गीत गाइरहेको रहेछु भन्ने लाग्यो । त्यसपछि गीत गाउन अलि कम गरेँ । 

अहिले म झनै बिग्रिएँजस्तो महसुस गर्न थालेको छु । किनकि जहाँ पनि गीत गाउँदै हिँडियो । यसले मलाई झन् बिगार्योजस्तो लाग्यो । गत वर्ष अस्ट्रेलियाको कार्यक्रममा गएपछि छ्याङ्ग भएँ । जथाभावी गीत गाउनु नहुनेरहेछ भन्ने महसुस भयो । अब आफ्ना लागि गीत गाउनुपर्नेरहेछ भन्ने लाग्यो । अरूका लागि गीत गाएर पैसा त कमाइनेरहेछ, तर आफ्नो गीत नहुनेरहेछ । 

मैले फिल्मका गीत पनि धेरै गाएँ । फिल्मको गीतले मलाई फाइदा पनि पुग्यो । तर, फिल्मको गीत पाँच वर्षपछि अरूले गाइदिन्छन् । आफ्नो गीत हुँदैन । अहिले सबै भ्रमबाट मुक्त भएर बाहिर निस्किएँ । म म्युजिक मात्रै सुन्छु । आफूभित्रको कुरा निकाल्न मात्रै लागिपरेको छु । मनलाई जे राम्रो लाग्छ त्यसरी काम गरिरहेको छु । अहिले म नयाँ गीत तयारी गर्न लागिपरेको छु । पहिलो एल्बमजस्तै अहिलेको एल्बममा काम गरिहेको छु । गीत चलोस्÷नचलोस् मतलब छैन । धेरै वर्षपछि आफ्नो कामलाई समीक्षा गरेर काम गर्दै छु । गीतमा नेपाली संस्कृति समेट्दै छु । जीविकोपार्जन त आफैँ हुनेरहेछ भन्ने लाग्यो । म माझी समुदायको कथामा आधारित गीत लेख्दै छु । अहिले जुम्लाआसपासको कथालाई समेटेर पनि गीत गाउँदै छु ।

अहिले कतिपय संगीतकार लोभी भइरहेको देख्छु । उनीहरूलाई आफूले कम्पोज गरेको सबै गीत आफैँ गाउनुपर्छ भन्ने छ । सबै गीत आफैँ गाएर ध्वस्त भइरहेको देख्छु । त्यसले एउटा समयसम्म उनीहरूलाई फाइदा हुन्छ होला । तर, कालान्तरमा राम्रो हुँदैन । अहिले नयाँ पुस्ताका कलाकार स्वार्थी मात्रै भेटिरहेको छु । अहिले गीत–संगीतमा ‘म मात्रै राम्रो’ हो भन्ने परिपाटीको विकास भएको देखिन्छ । हाम्रो पालामा पुरानो र नयाँ कलाकार मिसिएर कार्यक्रम गरिन्थ्यो । नयाँ र पुरानाबिच आत्मीयता हुन्थ्यो । अहिले त्यस्तो छैन । एउटाले अर्काको अस्तित्वलाई स्वीकार नगर्ने चलन छ । हुन त यो बजारको प्रभाव पनि होला । एक–अर्कामा सिक्ने सिकाउने परिपाटी छैन । समय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । समयअनुसार आफूलाई अपडेट गर्नुपर्छ । 

अहिले सस्तो चीज धेरै विक्ने समय छ । तर, कतियप ठाउँमा बजारबाट निर्देशित नहुने पर्ने रहेछ । मान्छेले आजभोलि तारिफ नगर्ने रहेछन् । संगीत पनि बजारमुखी भएर होला । द्विअर्थी शब्दको गीत चल्ने वेला छ । पहिले निश्चित ठाउँ र समयमा मात्रै गीत सुन्न पाइन्थ्यो । त्यसको मीठास थियो । पहिले डुबेर सुन्थे । अहिले टाइम पासका लागि मात्रै गीत सुन्छन् । फास्टफुड कल्चरको विकास भयो । 

म आफूलाई पारिवारिक गायक ठान्छु । मैले विभिन्न शैलीका गीत गाएँ, तर परिवार र आफन्तसँगै बसेर सुन्न सक्ने गीत गाएँ । अहिले गीत–संगीतमा लाग्नेलाई सजिलो पनि छ । राम्रो प्रतिभालाई बाहिर ल्याउन विभिन्न प्लाटफर्म आइसकेका छन् । प्रविधिले सजिलो बनाइदिएको छ । तर, यसका दुःखद पक्ष पनि छन् । द्विअर्थी शब्दका गीतहरू छिट्टै क्लिक भइदिन्छ । गीत–संगीतमा राम्रो गर्छु भन्ने मान्छेलाई अझै पनि गाह्रो छ । राम्रा स्रष्टाहरू अझै छायामा छन् । वास्तविक गीत गाउने मान्छेहरूलाई अझै सोचेजस्तो भएको छैन । 

सम्पादकको रोजाइ

सुझावित समाचार