गीतकार साउदको प्रश्न संगीतकार बास्कोटाको उत्तर

पवन बराइली पवन बराइली
शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

कार्यक्रमका लागि विदेश गइरहनुहुन्छ । नेपाली गीत–संगीत विश्वस्तरमा कहाँ पाउनुहुन्छ ?
नेपाली संगीतले विश्वमा आफ्नो पहिचान बनाउन बाँकी नै छ । हामीले पनि आफ्नो पहिचान बनाउन जरुरी छ । हामीले नेपाली संगीतको पहिचान बनाउँन सक्यौँ भने विदेशी दर्शकहरू पनि आउनुहुन्छ । अहिले विदेशमा नेपाली समुदायले नै हाम्रो संगीत धानेको छ । संसारभरि  कहीँको पनि संगीत कमजोर छैन । हाम्रो संगीत पनि राम्रो छ । संगीतले आफ्नै पहिचान बोकेको छ भनेर विश्वसामु देखाउनुपर्छ । त्यसैले विश्वसामु पुग्नलाई हामीले आफ्नो संगीतको पहिचान बनाउनैपर्छ । सबैका आ–आफ्नै पहिचान छन् । यसमा भाषाको पनि उत्तिकै महत्व छ । तर, अंग्रेजी संगीतको ठूलो बजार छ, धेरैले सुन्छन् । त्यही भएर पनि उनीहरू अघि छन् । तर, हामी पनि हाम्रो भाषाले त्यहाँ पुग्न सकिन्छ । किनभने स्पेनिस, कोरियन गीतहरू पनि संसारभर लोकप्रिय छन् ।


आफूलाई संगीतकार, गीतकार र गायकमध्येकुनचाहिँ बढी हुँ जस्तो लाग्छ ?
म आफूलाई गायक बढी देख्छु । सिनेमामा पनि हिरोलाई बढी देखिन्छ । तर, म आफूभित्र कम्पोजरलाई बढी हाबी गराउँछु । मलाई धेरैले गायक भनेर चिन्नुहुन्छ । आफूलाई म्युजिक कम्पोजरको रूपमा चिन्छु । अहिले मलाई गायक वा संगीतकारभन्दा रियालिटी सो जज रूपमा पनि चिन्नुहुन्छ । त्यो एउटा इमेजको कुरा मात्रै हो । तर, आज मैले जे कर्म गरिरहेको छु त्यो ‘म्युजिक कम्पोजर’ भएरै हो । 


अधिकांश गीतहरू आफ्नै कम्पोजिसनमा गाउनुभएको छ । अरूको कम्पोजिसनमा खासै गाउँनुहुन्न । किन होला ? 
मेरो बुझाइमा गायकले गीत बोक्न सक्नुपर्छ । म आफ्नो गीत राम्रोसँग बोक्न सक्छु । कतिपय अवस्थामा गीत संगीतकार आफैँले गाउनुपर्ने हुन्छ । आफूले ज्यान दिएर संगीत भरेको गीत गाउन सकेन म आफैँ गाउँछु । उसले भन्दा आफूले न्याय गर्छु भनेर पनि गाउँछु । संगीतकारहरूको पनि स्वर राम्रो हुँदैन भन्ने होइन । ‘सुन साइली’ गीत म आफैँले पनि गाउन सक्थेँ । पछिल्लो समय मेरो संगीतमा धेरै गायक–गायिकाले पनि गाइरहेका छन् । ती गीत सबै म आफैँले गाउन सक्थेँ । म सबैभन्दा इमान्दार मेरो गीतसँग हुन्छु । म आफ्नो गीतका लागि एकदमै समय दिन्छु । गीतलाई कसरी उत्कृष्ट बनाउने भन्नेमा चिन्तन गर्छु । म अरूले कम्पोज गरेको गीत गाउन सक्दिनँ । 

सौभाग्य, मेरो पहिलो गीत नै राम्रो चल्यो । पहिलो गीतले पहिचान पनि बनायो । त्यही गीतले उत्प्रेरित गरायो । संगीतमा लागेको झन्डै १६ वर्ष भयो । यो समय नै मेरा लागि साधना भयो । अहिले पनि संगीतकै काम गरिरहेको छु । कामले ठूलो कुरा सिकाउँदो रहेछ ।
 


आफ्नो पहिलो गीत र पछिल्लो गीतमा के फरक पाउनुहुन्छ ? ती गीतमा कस्ता त्रुटि भेट्नुहुन्छ ? 
मेरा गीतका त्रुटि मलाई थाहा हुन्थ्यो । त्यसैले पनि म आफ्नो गीत सुन्दिनथेँ । अहिले मेरा पुराना गीत सुन्न थालेको छु । म आफ्नै गीतमा सिक्दै, बुझ्दै अघि बढेँ । अहिलेसम्म झन्डै एक सय गीतमा काम गरेँ होला । हिजोका पुराना गीत सुन्दा त्यसवेला मेरो दिमागले यसरी सोच्थ्यो भन्ने लाग्छ । हाम्रो दिमाग परिवर्तन भइरहन्छ । अहिले मेरो दिमागमा अर्कै गीत चलिरहेको छ । हिजोको गीतको समय मैले बिर्सिसकेको छु । कतिपय गीतलाई यसरी गर्नपाएको भए हुन्थ्योजस्तो लाग्छ । किनभने समयअनुसार विचार पनि परिवर्तन हुन्छ । मैले म्युजिक जानेर र सिकेर करिअर सुरु भएको होइन । आफैँ सिक्दै गएँ ।  जति जानेँ त्यति गरेँ । अझै पनि म्युजिक सिक्ने क्रम जारी छ । 


सांगीतिक रियालिटी सोको जज पनि हुनुहुन्छ । ‘रियालिटी सो’बाट उत्पादन भएका गायक–गायिका जुन रूपमा आउनुपर्ने थियो, त्यसरी आएको देखिँदैन नि, किन ? 
यो कुरा सत्य हो । रियालिटी सोबाट आएका कतिपय कलाकार गुमनाम छन् । तर, कतिपयले राम्रो काम गरिरहेका छन् । रियालिटी सोको एउटा फम्र्याट हुन्छ । त्यो फम्र्याटअनुसार उपाधि जित्ने हो । तर, त्यो फम्र्याटभन्दा बाहिरको संसारमा केही फम्र्याट छैन । तपाईंको लगाव कस्तो हुनुपर्छ ? तपाईंको मनोवृत्ति कस्तो हुनुपर्छ ? भन्ने कुराले पनि ठूलो महत्व राख्छ । तपाईं कतिको इमानदार हुन भयो भन्ने कुरा हो । यो कर्मशील सो पनि हो । यसका राम्रा–नराम्रो दुवै पाटा छन् । रियालिटी सोलाई त्यस्तो सिरियस्ली लिनु पनि हुँदैन । यसलाई इन्जोय गर्नुस् । ज्यान दिएर घरजग्गा बेचेर आउनुपर्दैन । रियालिटी सो भनेको ‘सर्वस्व’ होइन नि । 

तपाईंको सिर्जनाले समाजमा कस्तो प्रभाव पार्यो ? यो नै प्रमुख कुरा हो । हामीले ‘साइँली’ गीत बनायौँ । यो गीत अझै पनि आमनेपालीको मुखमा झुन्डिएको छ । ४० कटेसी रमाउँला भन्ने शब्दले निकै ठूलो अर्थ बोकेको छ । यो गीत त्यसै मन पराइएको होइन । समाजले यो गीतलाई आफ्नो गीत ठानेर स्विकारेको छ ।


‘निर जहिल्यै रिसाउनी...’ ठमेल बजार’,‘पारि त्यो डाँडामा...’लगायत थुप्रै गीत रुचाइएको छन् । सबैले मनपराउनुको कारण के होला ? 
सुरुसुरुमा मैले गाएको गीत मान्छेहरूलाई कसरी मन पर्यो भन्ने आफूलाई थाहा थिएन । म यो  इमानदर भएर भन्दै छु । मैले गायकीका लागि त्यति धेरै साधना गरेको छैन । मलाई संगीत मन पर्छ । संगीतको सेरोफेरोले मलाई बाँधेर राख्छ ।  मेरो संगीत सिकाइको सुरुवातमा गायकीलाई फोकस गरेर आएकै होइन । कुनै पनि समय म गायक बन्छु भन्ने पनि थिएन । तर, गायकले एउटा लोक बोक्न जान्नु पर्नेरहेछ । लोक र गीतलाई बोक्न जान्नु नै गायक हुनेरहेछ । गायन यस्तो हुनुपर्छ त्यस्तो हुनुपर्छ भन्ने होइनरहेछ । त्यसरी नै मैले पनि गीत गाउँन त भनेर गाएको हुँ । सुरुसुरुमा गीत गाउँदा डर पनि लाग्थ्यो । बिस्तारै मलाई गीत गाउन रहर लाग्यो । गीत गाउने रहर सायद जिन्दगीभर पूरा गरिनैरहन्छु । 


नेपाली गीत–संगीतमा तपाईं आफूलाई कहाँनिर उभिएको देख्नुहुन्छ ? 
मैले गीत–संगीतको क्षेत्रमा आफूलाई तुलना गरेर हेरेको छैन । आफ्नो कस्तो ठाउँ बन्यो ? म आफू कहाँ छु ? थाहा छैन । तर यत्ति हो, मैले नेपाली गीत–संगीतमा धेरै गर्न बाँकी छ । कम्तीमा आफूलाई चिनाउन सकेँ । आफ्नो गीत, आफ्नो कथा आफूले देखेका समाजको कथा गीतमा ल्याउनुपर्ने वेला आएको छ । 


तपाईंका गीतलाई लिएर विभिन्न टिप्पणी पनि गरेको सुनिन्छ । खासमा किन त्यस्तो भएको होला ?   
कहिलेकाँही आफूलाई ‘छिटो क्लिक भइहालोस्’ भन्ने लाग्दोरहेछ । तर, यस्ता कुरा जीवनमा आउनुपर्नेरहेछ । किनभने यस्ता कुराले एकदमै होसियार बनाउँदोरहेछ । तपाईंलाई यसले बिग्रन नदिँदोरहेछ । साथसाथै, आफूलाई सच्याउन पनि जरुरी बनाउँदोरहेछ । मान्छेको धेरैको इन्टेन्सन हुँदोरहेछ ।  कतिपयको नियतै ‘मोरलडाउन’ गराउने पनि हुँदोरहेछ । यदि मैले गर्न खोजेको कुरा तपाईंले गर्दै हुनुहुन्छ भने तपाईंलाई मैले कसरी कमजोर बनाउने भन्नेतिर लाग्छु । जसरी हुन्छ तपार्इंको ‘मोरलडाउन’ गराउँने । यस्ता कुरा बुझ्न जरुरी हुँदोरहेछ ।


आफ्नो सांगीतिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?
मैले संगीतभन्दा पनि कर्मको साधना बढी गरेँ । म संगीत त्यति जान्दिनँथेँ । र, पनि संगीतमै लागिपरेँ । सौभाग्य मेरो पहिलो गीत नै राम्रो चल्यो । पहिलो गीतले पहिचान पनि बनायो । त्यही गीतले उत्प्रेरित गरायो । संगीतमा लागेको झन्डै १६ वर्ष भयो । यो समय नै मेरा लागि साधाना भयो । अहिले पनि संगीतकै काम गरिरहेको छु । कामले ठूलो कुरा सिकाउँदोरहेछ । राम्रो हुनु/नहुनु, टिक्नु/नटिक्नु फरक कुरा रहेछ । निरन्तरता एकदमै ठूलो कुरा रहेछ । जतिवेला मेरो संघर्षको समय थियो, त्यतिवेला आफ्नो गीत कतै बज्यो भने निकै खुशी लाग्थ्यो ।  विवाह पार्टी, पिकनिक जाँदा वा अन्य समारोहमा जाँदा आफ्नै गीत घन्किन्छन् । यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु । 


अहिले कतिपयले बजारलाई मध्यनजर गरेर पनि गीत निकाल्छन् । अहिलेको अवस्थामा बजारको रुचिको गीत बनाउने कि आफूले चाहेको बनाउने ?
सबैभन्दा पहिले आफू बाँच्नुपर्छ । कलाकारलाई पनि अभाव हुन्छ, पीडा हुन्छ । पेट मारेर पनि कलाकारितामा लाग्न सकिँदैन । गीतमा आममान्छेको कथा बुन्नुपर्छ । जब आममानिसको कथा भन्न थालिन्छ कुनै कुराले पनि रोक्न सक्दैन । प्रविधिको प्रयोग भरपूर गर्नुपर्छ । यी सबै कुरा गलत छैनन् । अब एआई आर्ट फर्म सुरु हुन्छ । पहिलेको आर्ट फर्म त कहिल्यै बिग्रिदैन । आर्टको लागि पढेर मात्रै आउँनुपर्छ भन्ने मान्दिनँ । तपाईंभित्रको कुरा एक्सप्रेसन गर्न सक्नुपर्छ ।


कतिपय गीतको क्षणिक चर्चा हुन्छ, केही समयपछि बिलाउँछ । यस्तो हुनुमा गीत बजारकेन्द्रित भएर हो कि गतिलो नभएर हो ? 
आफूले जन्माएको सन्तानको भविष्य थाहा नभएजस्तै गीतको भविष्य पनि थाहा हुँदैन । तर, हाम्रो जिन्दगी नै गीत हो । हरेक समय दिमागमा गीतबाहेक अरू केही चलेको हुँदैन । गीत हिट हुनु ठूलो कुरा होइन । तपाईंको सिर्जनाले समाजमा कस्तो प्रभाव पार्यो ? यो नै प्रमुख कुरा हो । हामीले ‘साइँली’ गीत बनायौँ । यो गीत अझै पनि आमनेपालीको मुखमा झुन्डिएको छ । ४० कटेसी रमाउँला भन्ने शब्दले निकै ठूलो अर्थ बोकेको छ । यो गीत त्यसै मन पराइएको होइन । समाजले यो गीतलाई आफ्नो गीत ठानेर स्विकारेको छ । हामीले समाजमा प्रभाव पार्ने यस्तै गीत गाउनुपर्छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार