अभिच्युअरी
सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ...
योगेश वैद्य यो गीतसँगै कालजयी भएर गुन्जिरहनुहुनेछ । यो गीतमा शिव अधिकारीको शब्द र नातिकाजीको संगीत छ । उहाँको थोरै रेकर्डेड गीतमध्ये यो सबैभन्दा चर्चित गीत हो । उहाँको ‘मेरो आँसुमा नहाँसे,’ ‘नेपाल मेरो उपहार भो’लगायतका गीतहरू लोकप्रिय छन् । उहाँका नेपाल भाषाका गीत ‘जय नमो सिरि बुद्ध भगवान्’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् ।
एक दिन गायक योगेश वैद्य संगीतकार नातिकाजीको कोठामा पुग्नुभएछ । त्यसवेला नातिकाजीको टेबलमा एउटा कागज देख्नुभएछ । त्यस कागजमा गीत लेखिएको थियो– सपना भुलाई सारा... । कसको हो भन्ने थाहा थिएन उहाँलाई । त्यो गीत मन पराउनुभएछ । उहाँले नातिकाजीलाई ‘मलाई यो गीत मन पर्यो दाइ म गाउँछु,’ भन्नुभएछ । नातिकाजीले पनि गीत पढेर लय बनाउनुभयो । त्यसपछि नातिकाजीले योगेशलाई भोलिपल्ट आउनू भन्नुभएछ । भोलिपल्ट नातिकाजी स्टुडियोमा जानुभएछ । त्यसपछि उहाँले गीतको धेरैपटक अभ्यास गर्नुभयो । चार–पाँच घन्टामा यो गीत तयार भएको कुरा सुनाउनुहुन्थ्यो । त्यसपछि उहाँलाई यही गीतले चिनायो ।
उहाँ गीत गाउनुअघि महिनौ अभ्यास गर्नुहुन्थ्यो । गीत कन्ठस्थ पारेर आउनुहुन्थ्यो । गीतलाई डुबेर गाउँनुहुन्थ्यो । गीतको भाव आवाजमा भर्न सक्ने खुबी उहाँमा थियो । उहाँमा साहित्यप्रति बढी झुकाव भएर पनि हुन सक्छ, त्यसैले उहाँ गीत डुबेर गाउँनुहुन्थ्यो । शब्दको भावलाई पूर्ण उच्चारण गर्नुहुन्थ्यो । उहाँ गीतमा एकदमै डुब्न चाहनुहुन्थ्यो । एउटा गीत गाउनुपर्यो भने महिनौसम्म अभ्यास गर्नुहुन्थ्यो ।
नेपाली संगीत राम्रो हुनुपर्छ भन्ने उहाँको सधैँ जोड थियो । उहाँले प्राय भन्नुहुन्थ्यो– वास्तविक संगीत गर्ने स्रष्टाहरू कहिल्यै बहकिनु हुँदैन । गीत–संगीतमा स्रष्टाको पनि दायित्व हुन्छ । गीत–संगीत आज हिट भयो भने त्यसको असर इतिहासमा कस्तो हुन्छ ? त्यो विचार गर्नुपर्छ ।
नेपाली गीत–संगीतमा उहाँको अतुलनीय योगदान छ । उहाँ नारायणगोपाल, प्रेमध्वज प्रधान, फत्तेमानलगायतको समकालिन हुनुहुन्थ्यो । मैले पनि उहाँसँग सहकार्य गर्ने अवसर पाएँ । निर्देशक यादव खरेलको शब्द र उहाँको आवाजमा मैले संगीत भरेको छु । मैले उहाँको गीतमा वाद्यवादकको रूपमा पनि काम गर्ने अवसर पाएको थिएँ । मैले उहाँको गीतमा संगीत एरेन्ज गर्न पाएँ । उहाँको त्यो गीत रफ टोनमा पनि फाइनलजस्तै भएको थियो । गीतप्रति उहाँको लगाव धेरै थियो । संगीतका कर्डस्, नोटहरू पूरै याद गर्नुहुन्थ्यो ।
साहित्यविना संगीत बाँच्दैन, संगीतविना साहित्य बाँच्दैन भन्नुहुन्थ्यो । उहाँ सधैँ साहित्य र संगीत परिपूरक हो भन्नुहुन्थ्यो । उहाँसँग बस्दा संगीतको युनिभर्सिटीमा बसेको महसुस हुन्थ्यो । भारतीय गायक महमद रफीको डाइहर्ड फ्यान हुनुहुन्थ्यो । उहाँले गीत मात्रै गाउनुहुन्नथ्यो, गीतबारेमा गहन अध्ययन पनि गर्नुहुन्थ्यो । गीतको राग र ताल सबै कुराको चासो राख्नुहुन्थ्यो । त्यसैले पनि उहाँलाई गीत छान्न निकै समय लाग्थ्यो । गीतकार नातिकाजी र शिवशंकर अधिकारीको मात्रै धेरै गीत गाउनुभयो । एउटा गायकमा धेरै जिम्मेवार हुनुपर्छ भन्नुहुन्थ्यो । गायकमा राष्ट्रिय दायित्व पनि हुनुपर्छ, भन्नुहुन्थ्यो । उहाँ समयको कालखण्डलाई बुझेर हिँड्ने गायक हुनुहुन्थ्यो ।
उहाँ आँखा चिम्लिएर, हात फिँजाएर गाउनुहुन्थ्यो । गीत र शब्द चिन्न उहाँलाई समय लाग्थ्यो । उहाँ धेरै गीत गाउने गायक होइन । थोरै छानिएका गीत गाउनेमध्येको गायक हुनुहुन्थ्यो । उहाँले जीवनको अन्त्यसम्म पनि आफूलाई गाह्रो छ भन्ने महसुस गर्नुभएन । गीत–संगीतलाई सेवा गरिरहनुभयो । संगीतकार सुरेन्द्र श्रेष्ठले भनेअनुसार उहाँ घरमै रेकर्डिङ स्टुडियो बनाउने योजनामा हुनुहुन्थ्यो । नयाँ पुस्ताका गीतकारलाई हौसला दिनुहुन्थ्यो । उहाँका गीतहरू पाइपलाइनमा अझै छन् ।
उहाँबाट धेरै कुरा सिक्न सकिन्थ्यो । उहाँका वजनदार आवाजमा अझै धेरै गीत नेपाली संगीतप्रेमीले सुन्न सक्थे । गायनमा मात्रै नभएर उहाँमा संगीतमा पनि पर्याप्त ज्ञान थियो । उहाँको स्वर एउटा हार्माेनियममा मात्रै गाए पनि राम्रो सुनिन्थ्यो । उहाँको जस्तो मखमली आवाजमा धेरै गीत रेकर्ड गर्न सकिन्थ्यो । उहाँले स्वास्थ्यका कारण लामो समय कसैलाई भेट्नुभएन । तर, उहाँको संगीतप्रतिको लगाव भने कम थिएन । उहाँले गरेका कामबाट हाम्रा पुस्ताले धेरै कुरा सिक्नुपर्छ । जीवनको अन्त्यसम्म पनि नेपाली संगीतको स्तरीयताका लागि उहाँले सधैँ पहरेदारको भूमिका खेल्नुभयो । उहाँसँगको हरेक भेटमा केही न केही सिक्न पाइन्थ्यो । आवाजअनुसार उहाँको व्यक्तित्व थियो । उहाँका रिलिज नभएका सिर्जना र साहित्य बाहिर ल्याउनुपर्छ । राज्यले उहाँको सिर्जना ल्याइदिए अझ राम्रो हुन्थ्यो ।