‘घरको माली परदेशमा गाको
धेरै भयो केही खबर नपाको,
पाइनँ खबर
घर फर्की आउनुहोस्, मेरो हजुर ।’
यसै मर्मस्पर्शी गीतबाट हरिदेवी कोइरालाको औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । उनले यो गीत सिर्जना गर्दा गायिका हुन्छु, भनेर कहिल्यै पनि सोचेकी थिइनन् । जब उनले यो गीतको रचना गरिन्, यसै गीतले उनलाई चर्चित बनायो र आज हरिदेवी कोइराला लोक–संगीतमा एक बलियो खम्बा बनेर उभिएकी छिन् ।
२०१६ सालमा कास्कीको बैदाममा जन्मिएकी हरिदेवी सानैदेखि संगीतप्रति रुचि राख्थिन् । उनका बुबाका पाँचजना दाजुभाइ थिए । संयुक्त परिवारमा करिब ४० जना सदस्य थिए । ठूलो परिवारमा जन्मिएकी र भाइबहिनीहरू धेरै भएकाले भाइबहिनी हेर्ने उनको काम थियो । नजिकै फेवाताल भए पनि उनलाई पौडिन आउँदैनथ्यो । साथीहरू पौडेको हेर्थिन् र त्यसैमा रमाउँथिन् । पौडिन नजान्दानजान्दै पौडिँदा एकपटक उनले पानी खाइन्, त्यसपछि झनै डराइन् ।
कक्षा ५ सम्म तालबाराहीमा अध्ययन गरेकी हरिदेवीले एसएलसी भने पोखराकै बाराही माध्यमिक विद्यालयमा उत्तीर्ण गरिन् । बैदाममा हरिदेवीको धेरै खेतीपाती भएकाले खेतालाहरूले घैया, मकै गोड्ने वेलामा गाउने गीतले बैदामलाई नै संगीतमय बनाउँथ्यो । स्कुले उमेरमै गीत, कविता लेख्थिन्, सुनाउँथिन् । गन्धर्वहरूले सारंगी बजाउँदा उनलाई पनि गीत गाउँगाउँ लाग्थ्यो ।
यसरी जन्मियो ‘पाइनँ खबर’
एसएलसी सकिएसँगै ०३४ सालमा हरिदेवीको रामबहादुर कोइरालासँग विवाह भयो । त्यसपछि उनले सांगीतिक यात्रामा श्रीमान्को साथ पाइन् । बिहेअघि भट्टराई रहेकी हरिदेवीको थर कोइरालामा बदलिएसँगै उनको जिन्दगी नै बदलियो । श्रीमान् सरकारी जागिरे थिए । उनी आफू पनि अध्यनसँगै शिक्षण पेसामा जोडिइन् । सरकारी जागिरे भएपछि श्रीमान्–श्रीमतीसँगै बस्न नपाएको पीडा उनी आफैँले पनि भोगेकी थिइन् । त्यो समयमा लाहुरे बन्न विदेश जानेहरूको जमात ठूलै थियो । भर्खरै विवाह गरेका जोडीहरू छुट्टिएर प्रवास जानुपर्ने पीडा देख्दा आफूलाई केही हदसम्म भए पनि भाग्यमानी ठान्थिन् ।
नेपालभित्रै भएर पनि श्रीमान्सँग छुट्टिनुको आफ्नो बाध्यता ती लाहुर जानेका श्रीमतीसामु फिक्का लाग्थ्यो । प्रवासमा हुने श्रीमान् र गाउँघरमै श्रीमान्को केही खबर नपाएका श्रीमतीहरूको यथार्थ पीडामा आधारित भएर उनले रचना गरिन्– पाइनँ खबर...। भन्छिन्,‘घरतिर मलाया र हङकङमा लाहुरे हुन जानेको जमात ठूलो थियो । अझ लमजुङमा बसेर पढेकाले गुरुङ समुदायमा यो ज्यादा थियो । भर्खरै बिहे भएका श्रीमान् लाहुर जाँदा श्रीमतीको पीडालाई नजिकबाट निहालेँ र त्यही पीडामा गीत बनाएँ ।’
एक कार्यक्रममा हरिदेवीको भेट अर्की गायिका देवी गुरुङसँग भयो र भेटपश्चात् गीत सुनाइन् । स्वर सुनेपछि रेडियो नेपालमा जानुपर्छ, भन्दै हौस्याइन्, देवीले । रहरैरहरमा रेडियो नेपालमा गीत रेकर्ड गर्ने भनेर काठमाडौं आएकी उनले एक सामान्य स्टुडियोमा गीत रेकर्ड गराइन् । काठमाडौं आएपछि श्रीमान्का मामासमेत पर्ने कलाकार प्रेमराजा महतले सहयोग गरे । गीत रेकर्ड गर्नकै लागि काठमाडौं आउनु भनेको सामान्य कुरा थिएन । त्यसवेलामा स्टुडियो पाउनै मुस्किल । स्टुडियो पनि भन्न नसुहाउने सानो भ¥याङमुनिको एक कोठामा राजु मानन्धरले गीत रेकर्ड गरिदिएको सम्झना उनको स्मृतिमा ताजै छ ।
स्वर राम्रो भए मात्र क्यासेट निकाल्नु भन्दै हरिदेवी गाउँ फर्किइन् । रेकर्ड भएर बजारमा आएको दुई महिनापछि मात्र हरिदेवीले थाहा पाइन् । जब गीत बजारमा आएको थाहा पाइन्, त्यो वेलासम्म चर्चा चुलिइसकेको थियो । यसरी गीत चर्चामा हुन्छ भन्ने उनलाई लागेको थिएन । क्यासेटहरू धेरै बिक्री भइसकेका थिए । यस्तो खबरले उनी थप हौसिइन् ।
त्यसवेला छोरीबुहारीले गीत गाए नाचे भने नकारात्मक दृष्टिले हेरिन्थ्यो । हरिदेवी सम्झिन्छिन्,‘मन परेका भाकाहरू गुन्गुनाउन त परै जाहोस्, रेडियो बजाएर गीत सुन्नसमेत पाउने वातावरण थिएन् । केही गाउनुपर्यो, सिक्नुपर्यो भने लुकेर सिक्नुपथ्र्यो, कोही नभएको वेला एकान्तमा गीत गुनगुनाउँथेँ ।’ विवाहपछि श्रीमान्को दरिलो साथ र सहयोगले नै आज हरिदेवीलाई देशले चिनेको उनी ठान्छिन् । उनी थप्छिन्, ‘यदि मैले श्रीमान्को साथ नपाएको भए अहिले म एउटी गृहिणीमा सीमित हुन्थेँ ।’
अनि अफवाह फैलियो
हरिदेवीको ‘पाइनँ खबर’ गीत सार्बजनिक भएपछि चर्चासँगै हल्ला र अफवाहसमेत फैलियो । गीत लोकप्रिय भएसँगै आफ्नै कहानीमा हरिदेवीले गीत बनाइन् भन्ने व्यापक अफवाह फैलियो । तर, वास्तविकता त्यो थिएन, गीत आफ्नो यथार्थ नभएर समाज र देशको यथार्थ थियो । ‘पाइनँ खबर’को व्यापक चर्चापछि हौसिएकी हरिदेवी गीतसंगीतमै रमाउन थालिन्, र छोटो समयमै अर्को गीत सार्वजनिक गरिन् । उनकी दुई आमा हुनुहुन्थ्यो । त्यसवेला पनि समाजमा बहुविवाह गर्नेलाई राम्रो मानिदैन थियो । त्यो देखेकी हरिदेवीले त्यसमै गीत रचिन् ।
‘प्यासै मेटियो पानी धाराको के सिन्दुर पहिरेछु,
धर्मछाडाको बिचारै नगरी दियौ बाबाले,
चम्धारौ रुवायो पापी मायाले ।’
जब यो गीत सार्वजनिक भयो, फेरि समाजमा हरिदेवीको श्रीमान् विदेश गएका थिए, पछि सौता ल्याएछ, हरिदेवीलाई दुःख छ, भनेर अफवाह फैलाइयो । उनी भन्छिन्, ‘त्यो समयमा तपाईंलाई कस्तो छ ? भनेर घरमै पनि दिदीबहिनीहरू भेट्न आउनुहुन्थ्यो ।’ यस गीतपछि उनको चर्चा झनै चुलियो ।
अहिलेको लोकसंगीत
अहिलेका धेरै गीतलाई लोकगीत भन्न नमिल्ने हरिदेवी बताउँछिन् । कतिपय राम्रा गीत भए पनि, धेरै गीतहरूमा पराम्परागत गीतमा हुने पृथक् लय, पृथक् विषयवस्तु, मौलिक सुगन्ध, शब्दमा हुनुपर्ने ठेटपन हराउँदै गएकोप्रति उनी चिन्तित देखिन्छिन् । भन्छिन्,‘त्यो वेलाका गीत भाषाका अति धनी थिए, अहिले कोठामा सिर्जना गरिएका विषयवस्तु उस्तै लागे पनि विविधता कम, उश्रृंखल, एकैठाउँमा बसेर हेर्न नमिल्ने, शिष्टतामा कमी र बजारमा कसरी बिकाउने भन्ने होडबाजी मात्र छ ।’ यस्तै हुँदै जाने हो भने भोलिको पिढीले आफ्नोपन थाहा नपाउने चिन्ता उनलाई छ ।
तीजगीतको पनि हालत उस्तै छ । तीजको खास लय, भाका, बिषयबस्तु रत्तिभर नपाइने उनको भनाइ छ । भन्छिन्, ‘तीजको मर्म एकातिर, गीत अर्कोतिर । रातो लगाएर नाच्दैमा तीज गीत हुँदैन । अहिलेका गीत सबै दोहोरी र रत्यौली गाएजस्तो मात्र छ ।’ तिज, दसैँ, देउसी, भैलो, सोरठी सबै गीतका छुट्टै विशेषता हुन्छन्, यी सबै संस्कृति बाँच्नुपर्ने र बचाउन सबैजना आफ्नो ठाउँमा जुट्नुपर्ने उनी बताउँछिन् । परम्परागत, रैथाने भाकाहरूको संरक्षण गर्नुपर्नेमा हरिदेवीको जोड छ । उनी थप्छिन्,‘लोकगीत भनेको नेपालीपन हो, यसको अध्ययन गरौँ, नबिर्सौँ । लोकसंगीत संगीतको जननी हो, यसको जरामा धमिरा लाग्यो भने लोकसंगीत लोप हुन्छ ।’सुपाच्य, समाजलाई सुसंस्कृत गर्ने खालका लोकगीत रचना गर्न नयाँ पुस्तालाई उनको सुझाव छ । गीतसंगीतमा वढेको विकृती, बिसङ्गतीलाई कम गर्न राज्यबाट सेन्सर गर्ने व्यवस्था भए राम्रो हुने उनको धारणा छ ।
०५६ सालमा भएको विमान दुर्घटनामा उनले आफ्ना बुबा र कान्छी आमा गुमाइन् । त्यो दुःखद क्षणले हरिदेवीको मन खिन्न बनाइरहन्छ । एउटै दुर्घटनामा घरका दुई सदस्य गुमाउनुपर्दाको पीडाले उनलाई अहिले पनि झस्काइरहन्छ ।
०४२ सालतिर लमजुङको फूलबारी भन्ने ठाउँमा कर्मचारी मिलन केन्द्रको कार्यक्रम थियो, हरिदेवी त्यहाँ सम्मानित भएकी थिइन् । उक्त कार्यक्रममा ‘पाइनँ खबर’सहित आमाका पीडा बोल्ने अरू धेरै गीत गाइन् । उनले गीत गाउँदा धेरै आमाहरू भावुक भई रोए । त्यही कार्यक्रममा आमाहरूले उनलाई पैसाको माला लगाइदिए । त्यो खुसीको क्षण उनको जीवनको सबैभन्दा अविस्मरणीय क्षण बन्यो । ‘त्यो वेलामा एक–दुई रुपैयाँ पनि ठूलो थियो, आमाहरूले पैसाको माला लगाइदिनुभयो । त्यो क्षणले मलाई अगाडि बढ्न प्रेरणा पनि दियो,’ उक्त पल सम्झँदै उनी भन्छिन् ।
हरिदेवीले आमाहरूका पीडा, दिदीबहिनीका खुुसी र गाउँघरमा गाइने लोकभाकामा थुप्रै गीत सिर्जना गरिन् । यसका अलावा रत्यौली, भजनकीर्तन पनि उनले गाइन् । ‘पाइनँ खबर’, ‘चौतारीमा वरको छायाँ छ’, ‘हितको माया’, ‘पिपलको छायाँले’, ‘फुलको डालीमा’, ‘आँधीखोला स्याङ्जा बजार,’लगायत सयौँ गीत रचना गरेकी छिन्, गाएकी छिन् । उनका गीतहरू कालजयी र जीवन्त छन् । लोकसंगीतका पारखीहरूमाझ उनका गीत आज पनि उत्तिकै रुचाइन्छ । सुरिलो स्वर र मार्मिक शब्दकी धनी हरिदेवी कला, साहित्य र संगीतमा आज पनि सक्रिय छिन् । ६३ वर्षीय उनले गीत, कविता, बालगीतसंग्रहसहित १० वटा संग्रह प्रकाशन गरिसकेकी छिन् । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानअन्तर्गत लोकसंगीत विभागको विभागीय प्रमुखको जिम्मेवारीमा समेत छिन् ।