अरुण थापा एक तिलस्मी गायक

निर्मल अर्याल निर्मल अर्याल
शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

चोट के हो व्यथा के हो 
मजस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो 
मसँग कहिल्यै सोद्धै नसोध । 

गीतकार सुवासचन्द्र ढुंगेलको शब्दमा गायक अरुण थापाले आफ्नै संगीतमा गाएको यो चर्चित गीत थापाको जीवनमा पनि मेल खाने खालको छ । थापा स्वयंले यो गीतलाई आफ्नो सर्वोत्कृष्ट गायन भनेका छन् । जीवितै छँदा ढुंगेललगायतका साथीभाइलाई थापाले भनेका थिए, ‘मेरो शव यात्रामा पनि यही गीत बजाउनू’ । थापाको निधनपछि उनका शुभचिन्तकहरू शवयात्रामा ‘चोट के हो व्यथा के हो...’ लेखिएको ब्यानरसहित देखापरेका थिए । 


भूषण खरेलको रचना तथा थापाको स्वर/संगीत रहेको ‘म रोएँ पनि तिमी हाँसी दिनु.....’ बोलको गीतले पनि उनको दर्दनाक जीवनको आरोह–अवरोहलाई प्रतिबिम्बित गरेको छ । सायद त्यसैले होला यस कारुणिक गीतलाई पनि उनले आफ्नो उत्कृष्ट गीतको सूचीमा राखेको पाइन्छ । वास्तवमै थापाको जीवन वियोग नै वियोगले भरियो । परिणामस्वरूप घात, प्रतिघात र बिछोडका गीतहरूमा ‘ट्र्याजिडी किङ’ थापा सबैभन्दा बेजोड सुनिए ।

थापाजत्तिको ‘मुड’मा गीत गाउने गायक आफूले नदेखेको उनका मित्रसमेत रहेका गायक तथा सञ्चारकर्मी रविन शर्मा बताउँछन् । शर्मा भन्छन्, ‘अरूको गीत केही हदसम्म हुबहु गाउन सकिएला, तर थापाको जस्तो मुड निकालेर गीत आउन असम्भव नै छ ।’ गायक दीप श्रेष्ठ थापालाई आफ्नै अथक मिहिनेतले स्थापित सक्षम गायकको संज्ञा दिन्छन् । थापालाई हार्मोनियम सिकाएका गायक श्रेष्ठका अनुसार गायनमा आफ्नो विशिष्ट स्तर कायम गर्न सक्नु थापाको खुबी हो । थापाका गुरु विशिष्ट संगीत साधक दिव्य खालिङ परिवारजनसँग भन्थे, ‘सरसर्ती अनुहार मात्र हेर्दा यो थापाले के गीत गाउँलाजस्तो लाग्छ, तर उनको युनिक स्वर माइकमा ठोक्किएपछि सबै चकित पर्छन् ।’ संगीतकार राजु सिंह पनि थापालाई गुणस्तरमा सम्झौता नगर्ने मौलिक आवाजका धनी गायक भन्छन् ।


३० को दशकमै चर्चाको शिखरमा पुगिसकेका थापा पारिवारिक बेमेलसँगै चरम आर्थिक अभावका कारण लागु पदार्थ दुव्र्यसनीमा समेत फस्न पुगे । सोही कारण जेलको चिसो छिडीमा समेत महिनौसम्म उनी जाकिए । अन्तर्वार्ता लिन पुगेका पत्रकार तथा सञ्चारकर्मीहरूसँग समेत ‘केही सय’ सहयोगका लागि उनी हात फिजाउँथे । उनका लागि आयोजना गरिएका कार्यक्रममा समेत उनी स्वयं अनुपस्थित भई नशाको सुरमा काठमाडौंका गल्लीहरूमा लडिरहेका हुन्थे ।

अरुणको गीत सुनेर ताली बजाउने हजारौँ भए,तर अशक्त भएर खाटमा पल्टिरहँदा उनलाई सहयोग गर्ने कोही भएनन्

हेपाटाइटिस बीलगायतका घातक रोगहरूसँग जुध्दाजुध्दै उनले २०५६ साल साउन ५ मा मृत्युवरण गरे । उनका पीडादायी दिनहरूलाई धेरैले अर्का प्रखर कवि–गीतकार हरिभक्त कटुवालको कष्टकर दैनिकीसँग तुलना गरेको पाइन्छ ।
अत्यन्त लोकप्रिय गीतहरू गाएर चर्चाको शिखरमा पुगे पनि थापाको जीवनमा चन्द्रमा ‘दाहिने’ भएन । त्यसो त नजिकका साथीभाइका अनुसार कमजोरी थापामा पनि थियो । ‘सेलिब्रेटी’ बनेपछि मोजमस्तीमा रमाएका उनले व्यावहारिक जीवनप्रति चासो नै दिएनन् ।

कतिले त उनलाई प्रशंसा ‘पचाउन’ नसकेको समेत भने । त्यसैले उनको पारिवारिक जीवन सुखद रहन सकेन । जीवनको उत्तराद्र्धमा थापाको आर्थिक अवस्था यति नाजुक भयो कि चुरोट किन्ने पैसासमेत नभएर उनी बागबजारका गल्लीगल्लीमा चुरोटका ठुटो बटुल्थे, सल्काउनसमेत नमिल्ने गरी ठुटोको पनि अत्यन्त सानो अंश छाड्नेहरूलाई सराप्दै हिँड्थे । रोगले गाँज्दै लगेको उनको उदास मुहार देखेर उनलाई गम्भीर त भनियो, तर उनी विषम परिस्थितिमा समेत कसरी बाँचिरहेका छन्, कसैले हेक्का राखेन । अरुणको गीत सुनेर ताली बजाउने हजारौँ भए, तर अशक्त भएर खाटमा पल्टिरहँदा उनलाई सहयोग गर्ने कोही भएनन् । उही गीतकार ढुंगेलको गीतको अन्तराको भावझैँ– 


गम्भीर भन्छन्, सबै मलाई 
मेरो उदास मुहारदेखि 
भन्दैनन् कोही यो बाँचेको छ 
छातीभरि घाउ बोकी
(चोट के हो व्यथा के हो.....) 


थापाको जन्म वि.सं २००९ साल माघ ११ गते कोलकातामा भएको थियो । नेपाल बैंकका कर्मचारी रहेका उनका पिता गुञ्जमान थापाको दरबन्दी कलकत्ता (हाल कोलकाता)स्थित नेपाली महावाणिज्य दूतावासमा रहेकाले आमा शान्तिको कोखबाट अरुण उतै जन्मिए । थापा परिवार पछि ललितपुरको झम्सिखेलमा बस्न थालेपश्चात् उनी जेपी स्कुलमा भर्ना भए । चकचके स्वभावका थापा केही सुध्रन्छन् कि भनेर उनलाई केही वर्ष अध्ययनका लागि दार्जिलिङको टर्नबुल हाई स्कुलमा भर्ना गरियो । तर, थापा दार्जिलिङमा रमाउनै सकेनन् र फेरि काठमाडौं फर्केर २०२८ सालमा जेपी स्कुलबाटै एसएलसी उत्तीर्ण गरे । खेलकुद तथा संगीतमा विशेष लगाव भएका थापा केही समय नेपाल बैंकका कर्मचारी रहे पनि जागिरे जीवनमा कहिल्यै रमाउन सकेनन् । पिता गुञ्जमान थापाको तबलाप्रतिको मोहले पनि उनलाई सांगीतिक दुनियाँमा डोर्यायो । ३० को दशकमै पोखराका गल्लीगल्लीमा गितार बोक्दै हिँड्ने उनी हिन्दी क्लासिकल गीत–संगीतबाट प्रभावित थिए ।

नेपालमा चाकडी–चाप्लुसीको भरमा धेरै स्रष्टाले दर्जनौँ तक्मा भिरेका छन् । तर, स्वाभिमानी स्रष्टाहरूको कथा बेग्लै छ । उनीहरूले राज्यबाट पाउनुपर्ने न्यूनतम सुविधा पनि पाउन सकेका छैनन् । मरणोपरान्त पनि उनीहरूको योगदानको कदर राज्यले गर्न सकेको छैन । थापा पनि एक त्यस्ता तिलस्मी गायक हुन् जसले नेपाली गीत–संगीतको विकास विस्तारमा महत्वपूर्ण योगदान दिए पनि राज्यबाट केही पाएनन् ।
 


२०३० सालमा परिवारसँगै पोखरा गएपछि अरुणको औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । साहित्य–संगीतमा अत्यधिक रुचि भएका पोखराका जोशिला युवाहरू सरोजगोपाल बज्राचार्य, विनोद गौचन, सरुभक्तलगायतसँग उनको ‘ट्युनिङ’ निकै मिल्यो । २०३४ सालमा बज्राचार्यकै अध्यक्षतामा ‘पोखरेली युवा सांस्कृतिक परिवार’ गठन गरी यो समूह लामो समय साहित्य–संगीतको सेवामा समर्पित रहेको साहित्यकार तथा थापाका मित्र सरुभक्त बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी थापा वेलावेलामा क्याम्पसमा सांगीतिक प्रस्तुति दिइरहन्थे । थापाका सुमधुर गीतहरू सुनेपछि उनीसँग प्रभावित हुने सूचीमा थिइन्, स्थानीय एक महिला । अन्ततः यी दुई प्रेमिल सम्बन्धमा गाँसिए र परिवारको असहमतिबीच भागेर अन्तर्जातीय विवाह गरे । ती महिलालाई फिर्ता गर्ने सर्तमा केही समयका लागि थापाबाट अलग गरिए पनि कालान्तरमा उनको विवाह अर्कै पुरुषसँग गरियो । यसबाट थापा मर्माहत भई दुव्र्यसनमा लागे र उनले मुटु थिचेर आफ्नो जीवनसँग मिल्ने ‘जति माया लाए पनि, जति कसम खाए पनि (शब्द विनोद गौचन, संगीत अरुण थापा) ........’लगायतका सदाबहार गीत गाए ।


प्रेम, विवाहमा परिणत भए पनि अन्ततः धोका पाएपछि थापा आत्मीय साथीभाइमाझ भन्थे, ‘माया, प्रेम भन्ने कुरा यस्तै रहेछ, अब म संगीतमै समर्पित हुन्छु ।’ २०३४ सालमा उनले घनिष्ठ मित्र विक्रम गुरुङको शब्दमा सजिएको ‘आँखाको निद खोसी लाने......’ बोलको गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरे । स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले गुरुङकै शब्द रहेको ‘कतै टाढा पुगे भने कल्पेर नबस्नु, ठूलो छ संसार हजार छन् मुटु, आफैँमा हराई बर्बाद नहुनु.......’ बोलको गीत रेकर्ड गराए । तर, यो गीत त्यति चर्चित भएन । विनोद गौचन रचित ‘जति माया लाए पनि, जति कसम खाए पनि.........’ गीत रेडियोबाट बज्न थालेपछि भने उनी सुपरस्टार गायक बन्न पुगे । रेकर्डअघि नै उनले योलगायतका गीत स्टेजमा पटक–पटक गाएर ख्याति कमाइसकेका थिए ।


थापामा गीत रचना गर्न सक्ने क्षमता पनि थियो । तर, गायन र संगीतमा पोख्त उनले सबैतिर हात हाल्दा असफल भइएला कि भनेर गीत–रचनामा खास चासो दिएनन् । सांगीतिक क्षेत्रमा स्थापित भए पनि उनको पारिवारिक जीवन भने निराश नै रह्यो । जीविकोपार्जनका लागि उनले २०४० सालताका सोल्टी होटेलको क्यासिनोमा पनि जागिर खाए । पहिलो विवाह असफल भएको केही वर्षपछि थापाले दोस्रो विवाह गरे । तर, यो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । पारिवारिक बिछोड र एक्लोपनबाट मुक्ति पाउन उनले अन्ततः मादक तथा लागु पदार्थ रोजे । 

थापाले गाएका ‘भुलुँभुलुँ लाग्यो मलाई...’ ‘यो मनको के भर हुन्छ...’ ‘नपोखिने, नजोखिने...’ ‘दोष कसैलाई दिन चाहन्न...’ ‘साँझको जूनसँगै...’ लगायतका गीतहरू पनि अत्यधिक लोकप्रिय छन् । नातिकाजीको संगीतमा उनले भजनमा समेत मीठो स्वर दिएका छन् । एकाध राष्ट्रिय गीत पनि गाएका छन् । पटक–पटक स्टेजमा गाएर अभ्यस्त भइसकेका गीतलाई पछि मात्र रेकर्ड गर्ने उनको अनौठो बानी थियो ।


अन्यत्र सयौँ गीत गाएपछि मात्र गायक स्थापित तथा चर्चित भएको पाइन्छ । तर, थापाले ४० भन्दा कम गीत गाएर नै यो कीर्तिमान कायम गरेका छन् । उनको लोकप्रियताको कसी नाप्न एउटा गीत नै पर्याप्त छ । राजेन्द्र रिजालको शब्द तथा राम थापाको संगीतमा उनको आवाजले सजिएको ‘ऋतुहरूमा तिमी, हरियाली वसन्त हौ......’ बोलको गीत सन् २००३ मा बिबिसीले गरेको सर्वेक्षणमा विश्वकै लोकप्रिय गीतहरूको सूचीमा सातौँ स्थानमा परेको थियो । गीत चयनको सवालमा उनी स्वरस्रमाट नारायणगोपालजस्तै ‘चुजी’ थिए । सरसर्ती शब्दहरू हेर्दा मन परेन भने अभ्यासका लागि कुनै बल गर्दैनथे । तर, अरू कोहीले राम्रा शब्दहरूमा अभ्यास गरेको पाए, उनी मागेर वा आग्रह गरेर भए पनि त्यो गीत लिन्थे ।

गायक दिवाकर खड्काले ‘ऋतुहरूमा तिमी, हरियाली वसन्त हौ....’ बोलको गीतमा अभ्यास गरेको देखेपछि थापाले यो गीतलाई आफूले कालजयी बनाउन सक्ने भन्दै गीत मागेका थिए । थापाले गाएका ‘भुलु भुलु लाग्यो मलाई........’ ‘यो मनको के भर हुन्छ........’ ‘नपोखिने, नजोखिने........ ’ ‘दोष कसैलाई दिन चाहन्न......’ ‘साँझको जूनसँगै.......’ लगायतका गीतहरू पनि अत्यधिक लोकप्रिय छन् । नातीकाजीको संगीतमा उनले भजनमा समेत मीठो स्वर दिएका छन् ।

एकाध राष्ट्रिय गीत पनि गाएका छन् । पटक–पटक स्टेजमा गाएर अभ्यस्त भइसकेका गीतलाई पछि मात्र रेकर्ड गर्ने उनको अनौठो बानी थियो । स्वरसम्राट नारायणगोपालका ठूला फ्यान थापा भारतीय गायन क्षेत्रका ‘त्रिमूर्ति’ मोहमद रफी, मुकेश र किशोर कुमारबाट पनि निकै प्रभावित थिए । समकक्षी गायक ओमविक्रम विष्टसँग मितेरी साइनोमा रहेका थापा अर्का गायक दीप श्रेष्ठसँग पनि उत्तिकै नजिक थिए । निरन्तर पोखरा पुगिरहने विष्टलाई थापाले मौखिक रूपमा निकै पहिलेदेखि ‘मीतज्यू’ भने पनि पोखराकै एक मन्दिरमा धेरैपछि एक–आपसमा टीका लगाइदिएर उनीहरू मितेरी साइनोमा बाँधिएका हुन् । 


नेपालमा चाकडी चाप्लुसीको भरमा धेरै स्रष्टाहरूले दर्जनौँ तक्मा भिरेका छन् । तर, स्वाभिमानी स्रष्टाहरूको कथा बेग्लै छ । उनीहरूले राज्यबाट पाउनुपर्ने न्यूनतम सुविधा पनि पाउन सकेका छैनन् । मरणोपरान्त पनि उनीहरूको योगदानको कदर राज्यले गर्न सकेको छैन । थापा पनि एक त्यस्ता तिलस्मी गायक हुन् जसले नेपाली गीत–संगीतको विकास विस्तारमा महŒवपूर्ण योगदान दिए पनि राज्यबाट केही पाएनन् । प्रतिष्ठान, गुठी वा कोषका भित्तामा टाँस्ने गरी उनले पदक–प्रमाणपत्रहरू नपाए पनि देश–विदेशमा रहेका लाखौँ नेपालीहरूको मनमस्तिष्कमा उनले राज गर्दै आएका छन् । वास्तवमा स्रष्टाले पाउने सबैभन्दा ठूलो तथा ‘सक्कली’ सम्मान पनि यही नै हो ।


कमजोर स्वास्थ्यका कारण संगीतमा निरन्तरता दिन नपाउँदा थापामा ठूलै ग्लानि थियो । स्तरीय एल्बम निकाल्ने उनको सोच नि पूरा हुन सकेन । निधनको केही दिनअघि हिट्स एफएमका सञ्चारकर्मीद्वय रवि श्रेष्ठ र दीपेश श्रेष्ठले थापालाई बागबजारस्थित एक गेस्ट हाउसमा अन्तर्वार्ताको अन्त्यमा ‘नेपाली स्रोतालाई तपाईं के भन्न चाहनुहुन्छ’ भनी प्रश्न गर्दा थापाले निकै मार्मिक शैलीमा भनेका थिए– 

‘जीवनमा सबथोक पाएर मैले सबथोक गुमाउन पुगेँ
कहाँ पुग्नु थियो मलाई, कहाँ पाइला बढाएँ 
तर, म त यस्तै अन्योलमा रमाउने मान्छे 
मलाईं रुखो सहानुभूति नै प्यारो छ 
यहाँ पिर बिसाउनै गाह्रो छ’

सम्पादकको रोजाइ

सुझावित समाचार