नेपाली संगीतमा बलिउडको नक्कल धेरै छ

पवन बराइली/राजु स्याङ्तान पवन बराइली/राजु स्याङ्तान
शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

संगीत हृदय छुने हुनुपर्छ । हामीले हाम्रै संगीत खोज्नुपर्छ । हाम्रै माटोको बास्ना खोज्नुपर्छ ।

नेपाली संगीतमा रञ्जित गजमेरको योगदान अतुलनीय छ । ‘कुसुमे रुमाल’, ‘मोहनी लाग्ला है’, ‘वीरताको चिनो’, ‘मन छाडे मैच्याङ’, ‘सुन कथा एउटा गीत’जस्ता सयौँ चर्चित गीत नेपाली मनमा दशकौँदेखि गुन्जिरहेका छन् । गजमेरले मूलतः नेपाली चलचित्रमा संगीत भरे, आफैँले लेखे पनि । एक समय तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गरेका उनले बलिउडमा समेत आफ्नो कलाको जादु देखाउन भ्याए । बलिउडका वरिष्ठ संगीतकर्मीहरू आरडी बर्मन, लता मंगेशकर, किशोर कुमारसँग समेत काम गरेका उनी बलिउड नगरीमा ‘कान्छा’ उपनामले परिचित छन् । बलिउडमा नेपाली बाजा मादल परिचित गराउने श्रेय पनि उनैलाई जान्छ । हाल मुम्बईमा अस्थायी रूपमा बस्दै आएका गजमेर संगीतकै सिलसिलामा नेपाल आइपुगेका छन् । उनीसँग पवन बराइली र राजु स्याङ्तानले संगीत–संवाद गरेका छन् :

दार्जिलिङदेखि काठमाडौँसम्म

नेपाल आउँदा तपाईंलाई सबैभन्दा धेरै कुन पक्षको सम्झना आउँछ ?

मैले अनगिन्ती नेपाली गीतमा काम गरेँ । नेपालसँग मेरो रगत र माटोको नाता छ । हामीभित्र नेपाली माटोको साइनो गडेर बसेको छ । नेपालीलाई म आफन्त मान्छु । नेपाली जहाँ छन्, सबै मेरा आफन्त हुन् । 

नेपाल टेक्नेबित्तिकै मलाई मेरा साथीहरूको सम्झना आउँछ । मेरा एकदमै मिल्ने साथीहरू थिए । उनीहरूले मलाई नेपालमा आउँदा दुःखसुखमा साथ दिएका थिए । पिटर जे. कार्थक, नर्बु याेञ्जनलगायत साथीहरूले ठूलो गुन लगाएका छन् । त्यस्ता साथीहरू अब कहाँ भेटिन्छन् र !

तपाईं पहिलोपटक कहिले र कुन सन्दर्भमा नेपाल आउनुभएको थियो ?

सन् १९६७/०६८ तिरको कुरा हो । कलेजको पढाइ सकेपछि संगीतमा काम गर्ने इच्छा जाग्यो । तर, दार्जिलिङमा गीत–संगीतको काम गर्ने अवसर मिलेन । नेपालमा रेडियो स्टेसन खुलेको छ रे भन्ने सुनेँ । ठुल्ठूला होटलमा पनि बाजा बजाउने काम पाइन्छ रे भन्ने सुनेँ । श्रीमतीले पनि जाऊँ भनिन् । त्यसपछि हामी दुई छोरीहरू च्यापेर कामको खोजीमा काठमाडौँ आयौँ । दार्जिलिङबाट पिटर जे. कार्थक, अनुराधा कोइरालासहित हामी काठमाडौँ आयौँ ।

अम्बर गुरुङसँगको संगत तपाईंको कस्तो रह्यो ?

अम्बर गुरुङ दार्जिलिङमा हुँदा गीत–संगीतमा एकदमै सक्रिय हुनुहुन्थ्यो । उहाँलाई संगीतको बारेमा धेरै कुरा थाहा थियो । म मात्रै होइन, शरण प्रधान, अरुणा लामा, जितेन बर्देवा, रुद्र गुरुङ, गगन गुरुङ, गोपाल योञ्जन, कर्मा योञ्जन सबैले उहाँबाट संगीतको ज्ञान सिकेका थिए । उहाँले हामीलाई कक्षा राखेरै संगीत सिकाउनु त भएन, तर उहाँबाट हामीले धेरै सिक्यौँ । उहाँलाई म गुरु मान्छु । उहाँले गर्दा नै म यहाँसम्म आइपुगेको हुँ । 

तीन दिनपछि मादल लिएर स्टुडियो पुगेँ । किशोर कुमार र लता मंगेशकरले त्यो गीत गाउने तयारी गरिसकेका रहेछन् । आरडी बर्मन भित्र थिए । गीत रेकर्ड सुरु भयो । रेकर्ड सकिएपछि सबैले तारिफ गरे । आरडी बर्मनले खुसी हुँदै भने, ‘अबी तेरा नाम कान्छा हे ।’ त्यसपछि मेरो नामै कान्छा भयो ।

त्यसवेला धेरै कवि–कलाकारलाई महेन्द्रले नेपाल बोलाएर कला सिर्जना गर्न लगाए । तपाईंलाई त्यो अफर आएन कि आएर पनि अस्वीकार गर्नुभयो ?

त्यसवेला मलाई नबोलाएको हो । उनीहरूको र मेरो संगीतको विधा फरक थियो । म तबला मात्रै बजाउँथेँ । मलाई कसैले पनि याद गरेका थिएनन् । पछि नेपालमा मलाई कसैले बोलाएको होइन । आफैँ आएर संघर्ष गरेको हुँ । 

अम्बर गुरुङ नेपाल आउने वेला तपाईंसँग केही कुराकानी भएन ? 

अम्बर दाइसँग त्यसवेला कुनै कुराकानी भएन । ‘नौ लाख तारा उदाए...’ भन्ने गीत इन्डियामा प्रतिबन्ध लागेपछि उहाँलाई राजा महेन्द्रले बोलाएका रहेछन् । अम्बर दाइ हिँड्ने वेला कुनै कुरा भएन । ‘नौ लाख तारा उदाए...’ गीतबारे केही भनिदिनुस् न ।

गोर्खाल्यान्ड आन्दोलन चलिरहँदा सुवास घिसिङहरूले अगमसिंह गिरी दाइलाई त्यो गीत लेख्न लगाएका हुन् । अगम दाइले गीत लेखेपछि अम्बर दाइले संगीत भर्नुभयो । एउटा स्कुलको कोठामा रातभरि बसेर हामीले त्यो गीत तयार पा¥यौँ । म त्यसवेला सानै थिएँ । मैले तबला बजाएँ । अम्बर दाइ र अगम दाइ रातभर रक्सी खानुहुन्थ्यो । त्यसवेला पनि खानुभयो । गीत तयार भएपछि रेकर्ड गर्न अम्बर दाइ र म तीन दिन लगाएर कलकत्ता पुग्यौँ । मैले मादल लैजानै बिर्सेछु । तबलालाई नै मादल बनाएर गीत रेकर्ड गरियो । त्यो गीत दार्जिलिङमा बज्न थालेपछि भारत सरकारलाई खपिनसक्नु भएछ । गीतलाई प्रतिबन्ध लगाइयो । तर, नेपालमा चाहिँ रेडियो नेपालमा बज्दो रहेछ । त्यसवेला राजा महेन्द्रले त्यो गीत सुनेछन् । रेडियोमा गीत सुनेरै अम्बर दाइलाई महेन्द्रले बोलाएका हुन् । महेन्द्रले अम्बर दाइको आवाज मात्रै सुनेछन् । त्यो गीत कसले लेखेको हो भन्ने उनले वास्ता गरेनन् । अम्बर दाइ थुप्रै कार्यक्रममा गीत गाउँदै हिँड्नुभयो । उहाँले मानसम्मान पाउनुभयो । तर, कहिल्यै पनि अगमसिंह गिरीको नाम लिनुभएन । पछि दार्जिलिङमै रक्सीले मातेर भिरबाट लडी अगम दाइ बित्नुभो । मलाई त्यो कुराको अझै खेद लाग्छ ।

अम्बर गुरुङजस्ता संगीतका ‘लेजेन्ड’ले पनि गीतकारको नाम लिन किन भुल्नुभएको होला ?

त्यो उहाँको कुरा हो । हुन त उहाँलाई म गुरु मान्छु । उहाँबाट धेरै कुरा सिकेँ । तर, त्यस्तो कुरा भुल्नु हुँदैनथ्यो । 

अम्बर गुरुङ नेपाल आएपछि उता तपाईंहरूको सांगीतिक यात्रा कस्तो रह्यो ?

दार्जिलिङमा गीत–संगीतको सम्भावना राम्रो थिएन । भारत सरकारले नेपालीहरूका लागि केही गर्दैनथ्यो । त्यसवेला हामी सबै नेपाल नै जानुपर्छ भन्ने महसुस हुन्थ्यो । नेपाल आएर पनि अम्बर दाइले गीत–संगीतमा धेरै काम गर्न सक्नुहुन्थ्यो । उहाँ नेपाल एकेडेमीको ठूलो पदमा हुनुहुन्थ्यो । गायक, संगीतकार धेरै उत्पादन गर्न सक्नुहुन्थ्यो । तर, उहाँले गर्न सक्नुभएन । कुन्नि के भयो, मलाई अझै थाहा छैन ।

गोपाल योञ्जनसँग चाहिँ तपाईंको संगत र सहकार्य कस्तो थियो ?

गोपाल योञ्जन, शरण प्रधान, अरुणा लामा र म बाल्यकालदेखिकै साथी हौँ । हामी सँगै हुर्कियौँ । अरुणा जामा लगाउँथिन् । म, शरण र गोपाल हाफपाइन्ट लगाउँथ्यौँ । अरुणा गीत गाउँथिन्, म, गोपाल र शरण संगीत भथ्र्यौं । हामी एकअर्कामा तँ–तँ भनेर गफ गर्थ्यौँ । 

काठमाडौँदेखि मुम्बईसम्म 

दार्जिलिङबाट संगीतमा केही गर्न काठमाडौँ आउनुभयो । काठमाडौँबाट फेरि मुम्बई पुग्नुभयो । यो यात्राबारे केही बताइदिनुस् न ।

नेपालमै संघर्ष गरिरहेको थिएँ । तर, यहाँ जति काम गरे पनि राम्रो गर्न सकिरहेको थिइनँ । म नेपाल एकडेमीमा काम गर्दै थिएँ । त्यसवेला संयोगले मुम्बईबाट सपरिवार नेपाल घुम्न आउनुभएको मनहरि दाइसँग भेट भयो । उहाँ दार्जिलिङको नामी संगीतकार हुनुहुन्थ्यो । मनहरि दाइ एकेडेमीमा सबैलाई भेट्न आउनुभयो । उहाँ मलाई देखेपछि छक्क पर्नुभयो । ‘तिमी काठमाडौँमा छौ भन्ने थाहा थिएन,’ भन्नुभयो । छुट्टिने वेला मैले सोधेँ, ‘मुम्बई आउँदा हामीले चान्स पाइएला दाइ ?’ उहाँले भन्नुभयो, ‘किन चान्स नपाउनु, राम्रो काम गर्ने सबैले चान्स पाउँछ । काम राम्रो गर्नुपर्छ । तिमी आउने भए आऊ । एक–दुईजना संगीतकारसँग चिनजान गराइदिउँला ।’ उहाँले त्यति भनेपछि म खुसी भएँ । मुम्बई जाने कुरामा श्रीमतीको पनि सहमति भयो । मुम्बईमा मेरा ठूलो दिदी र भिनाजु पनि हुनुहुन्थ्यो । हामी भारततर्फ लाग्यौँ ।

त्यसवेला हामीसँग पैसा थिएन । एकेडेमीमा काम गर्थेँ, रेडियोमा कहिलेकाहीँ बाजा बजाउँथेँ । तर, पैसा थिएन । हामीलाई घरमा बस्न दिने नोर्बु गुरुङका बुबाले दुई सय भारु दिनुभयो । त्यसपछि हामी ट्रकमा चढेर काठमाडौँबाट वीरगन्ज हुँदै तीन दिनमा मुम्बई पुग्यौँ ।

मुम्बई पुगेपछि आरडी बर्मनको गाडी चलाउने, खाना बनाउनेलगायत सबै काम गर्ने मनोहरि दाइको भाइ सन्तोषसँग भेट भयो । उहाँले नै आरडी बर्मनकोमा पुर्याइदिनुभयो ।

बलिउडमा तपाईं ‘कान्छा’ उपनामले समेत परिचित हुनुहुन्छ । त्यो उपनामचाहिँ कसरी पाउनुभयो ?
आरडी बर्मनको घर पुग्दा उहाँ हार्मोनियम लिएर बस्नुभएको रहेछ । आरडी बर्मनको सिटिङमा धेरै संगीतकारसँगै अभिनेता देवानन्द पनि बसेका रहेछन् । मसँग मादल देखेपछि देवानन्दले खुब चासो दिएर हेरे । उनी पहिले नेपाल आउँदा मादल देखेका रहेछन् । सबैले मादल बजाउन लगाए । चिटचिट पसिना आइरहेको थियो । धेरै ठुल्ठूला संगीतकार थिए । उनीहरूले मलाई गीत पनि गाउन लगाए । मैले धेरै अघि बनाएको ‘कान्छा रे कान्छा रे...’ भन्ने गीत मादल बजाउँदै सुनाएँ । देवानन्दले अंग्रेजीमा यस्तै खालको गीत चाहियो भने । त्यसपछि आरडी बर्मनले तीन दिनपछि गीत रेकर्ड गर्नुपर्छ स्डुडियोमा मादल पनि लिएर आउनू भने ।

नेपाली मौलिक संगीत बिर्सिनु भएन । तर, नेपाली संगीतमा भारतीय राग प्रयोग भइरहेका छन् । अहिलेका अधिकांश गीतमा बलिउडको नक्कल पाइन्छ । नेपाली गीत बलिउडको जस्तो लाग्छ । हाम्रा संगीतकर्मीले नयाँ काम गर्न सकिरहेका छैनन् । खै त नयाँ संगीत ?

तीन दिनपछि मादल लिएर स्टुडियो पुगेँ । किशोर कुमार र लता मंगेशकरले त्यो गीत गाउने तयारी गरिसकेका रहेछन् । आरडी बर्मन भित्र थिए । गीत रेकर्ड सुरु भयो । रेकर्ड सकिएपछि सबैले तारिफ गरे । आरडी बर्मनले खुसी हुँदै भने, ‘अबी तेरा नाम कान्छा हे ।’ त्यसपछि मेरो नामै कान्छा भयो । मलाई बलिउडमा रञ्जित गजमेर भनेर चिन्दैनन्, कान्छा भनेर चिन्छन् । 

तपाईंले बलिउडका दिग्गज कलाकारसँग काम गर्नुभयो । तर, बलिउडमा काम नगरी नेपाली संगीतमै किन फर्किनुभयो ? 

हामी नेपाली हौँ, नेपाली गीत–संगीतमै केही गर्नुपर्छ भन्ने थियो । नेपाल र नेपालीसँग सानैदेखिको सेन्टिमेन्ट जोडिएको छ । मुम्बईमा मैले सानो घर लिएको थिएँ । तुलसी घिमिरे, शम्भु प्रधान, डेनी, मुरलीधरलगायत मेरो घरमा आउनुहुन्थ्यो । दसैँ–तिहारमा सबै जम्मा हुँदा खुब रमाइलो लाग्थ्यो । त्यसवेला तुलसीजी फिल्म सम्पादनको काम गर्नुहुन्थ्यो । उहाँले एक दिन नेपाली फिल्म बनाउनुपर्यो दाइ भन्नुभयो । मैले धेरै हिन्दी गीतमा काम गरिसकेको थिएँ । मेरी श्रीमतीले पनि ‘हिन्दी गीतमा काम गर्ने मान्छे धेरै छन्, नेपाली गीतमा तपाईंले गर्नुभएन भने कसले गर्छ ?’ भनिन् । त्यसपछि मैले हिन्दी गीत छोडेँ । नेपाली गीतमा काम गर्न थालेँ ।

नेपाली गीत–संगीतमा तपाईंको ठूलो योगदान छ । तर, कहिलेकाहीँ बलिउडमै बस्न पाएको भए योभन्दा धेरै काम गर्न सक्थेँ जस्तो लाग्छ ? 

मलाई त्यस्तो लाग्दैन । यो सबै भगवान्ले दिएको आशीर्वाद हो । तपाईंको आफ्नै शब्द–संगीत रहेको ‘कुसुमे रुमाल’ नेपाली चलचित्रको कालजयी गीत बन्यो । यो गीतको रचनागर्भ भनिदिनुस् न ।

तुलसी घिमिरेजीले ‘कुसुमे रुमाल’ फिल्म बनाउन लाग्नुभएको रहेछ । कुसुमे रुमालबाटै शब्द आउनुपर्छ भन्ने लाग्यो । बिहान हामोर्नियमसहित ओछ्यानमै थिएँ । श्रीमती पनि सँगै थिइन् । उनी कुनै धुन राम्रो सुन्नेबित्तिकै ‘यो राम्रो छ’ भन्थिन् । अनि कुनै शब्द राम्रो सुन्नेबित्तिकै कापीमा टिपेर राख्थिन् । ‘कुसुमे रुमाल’ गीत उनलाई राम्रो लागेपछि मैले पूरा गरेँ । पछि तुलसीजीलाई गीत सुनाएँ । उहाँले असाध्यै मन पर्यो भन्नुभयो । त्यसपछि त्यही फाइनल भयो ।

पछिल्ला नेपाली गीत–संगीतहरू कत्तिको सुन्नुहुन्छ ? नेपाली संगीतलाई अझै उचाइमा पुर्याउन के गर्नुपर्ला ? 

अहिलेका प्रायः सबै गीत सुनिरहेको हुन्छु । केही नयाँ भाइबहिनीले राम्रा गीत सिर्जना गर्दै हुनुहुन्छ । सिक्नचाहिँ पर्छ है ! संगीतको कक्षा नै लिएर सिक्नुपर्छ भन्ने छैन । 

अम्बर गुरुङ, गोपाल योञ्जन, तपाईंलगायत संगीतकारहरूको प्रवेशसँगै नेपाली संगीतले एक किसिमको उचाइ पायो । तर, संगीत समीक्षकले तपाईंहरूको प्रवेशसँगै नेपालको खास लोक–संगीतचाहिँ छायामा पर्यो भन्छन् नि !

यो गलत हो । किनभने नेपालीले लोकगीतबाटै संगीत सिक्ने हो । हाम्रो क्लासिकल म्युजिक छैन । क्लासिकल म्युजिक सिक्न कि भारत जानुपर्थ्यो, कि वेस्टन म्युजिक सिक्नुपर्थ्यो । खै हाम्रो संगीत सिक्ने ठाउँ ? हामीले ‘फोक सङ’बाट नै सिक्नुपर्छ । नेपाली मौलिक संगीत बिर्सिनु भएन । तर, नेपाली संगीतमा भारतीय राग प्रयोग भइरहेका छन् । अहिलेका अधिकांश गीतमा बलिउडको नक्कल भइरहेको छ । नेपाली गीत सुनिरहँदा बलिउडको गीत सुनेजस्तो लाग्छ । हाम्रा संगीतकर्मीले नयाँ काम गर्न सकिरहेका छैनन् । खै त नयाँ संगीत ? 

त्यसो भए अब नेपाली संगीत कसरी अगाडि बढ्नुपर्छ त ? 

सुदूरपश्चिम र पूर्वका उहिलेका गीत सुन्दा क्या राम्रो लाग्छ । उहिले उनीहरूले संगीतको राग कहाँ जानेका थिए होलान् र ! पहिलेको सबै लोकसंगीत नै हो । ‘दर्पण छाया’ को ‘लहनाले जुरायो कि...’ भन्ने गीत दार्जिलिङको लोकसंगीत हो । हामी केटाकेटी हुँदै त्यो संगीत सुन्थ्यौँ । त्यसवेला त्यो लोकसंगीत कसले रचना गर्यो होला ? राग कसले बनायो होला ? त्यो कसैले भन्न सक्दैन । तामाङ सेलोको आफ्नै सुर छ । त्यसकारण संगीत हृदय छुने हुनुपर्छ । हामीले हाम्रै संगीत खोज्नुपर्छ । हाम्रै माटोको बास्ना खोज्नुपर्छ ।

तपाईंका थुप्रै गीत सुपरहिट छन् । ती गीतमा चाहिँ लोकसंगीत कत्तिको झल्किएको पाउनुहुन्छ ?

मैले के भन्नु ! तपाईंहरू आफैँले मेरो संगीत बुझिहाल्नुभएको छ नि ।

नयाँ पुस्तालाई तपाईंको सन्देश के छ ? 

संगीत हृदयमा महसुस हुने हुनुपर्छ । म आज पनि संगीत सिकिरहेको छु । 

सम्पादकको रोजाइ

सुझावित समाचार