योञ्जनका गीतले जीवनका अनेक आयाम स्पर्श गर्ने सामर्थ्य राख्छन्
इतिहासको गर्तमा धेरै कुरा पुरिइजान्छन्, बिस्तारै–बिस्तारै । म जो आज सानका साथ फाइँफुट्टी लाइरहेछु, यही पनि त हराइजानेछ । सम्झने फुर्सद कसलाई छ र बिलाइसकेको विगतको ? अनि सम्झनुको दरकार पनि के ? यस्तै खुल्दुलीमाझ छु यतिखेर ।
अनायासै आउँछ एउटा निम्तो । गुन्जिदिन्छ फेरि एकपटक झन्डै–झन्डै भुलिसकेको त्यो सुदूर संगीत । त्यसले दिइजान्छ मेरो अघिको खुल्दुलीको पनि निदान ।छुटिगएका पल सम्झनुको खास दरकार हुने रहेछ । जस्तो कि, आज फेरि चहकिलो छाएका छन् गोपाल योञ्जन । कोभिड–१९ महामारीमाझ वरिष्ठ गायक प्रदीप बोम्जन आफ्ना श्रद्धेय गुरुलाई सम्झने चाँजो मिलाउँछन् । र, यसरी गोपालमय बनिदिन्छ, साउन १९ को अपराह्न । हलभरिका दर्शकलाई सुनाउनुपर्ने गीत आज फेसबुकबाट लाइभ गर्नुको विकल्प छैन । त्यसकारण पनि यस स्मृतिगायन पल ऐतिहासिक बनिदिन्छ । म भएको छु थोरैमध्येको एक साक्षी, गोपाल गुञ्जनको ।
एक अविस्मरणीय समयले दिएको उत्साह त छ नै, अझ त्यस पल असरदार बनिदिन्छ, जब बोम्जन गाइदिन्छन् भिन्न बान्कीका गोपाल योञ्जनका गीतहरू । उनको व्यक्तित्वको एक अलग पाटो फेरि मज्जाले छाइदिन्छ हामीमाझ । गाउने क्रममा उनी भूमिका कस्दै भन्छन्, ‘गोपाल योञ्जनले मान्छेको गीत लेख्नुभएको छ । ती गरिब, जो सधैँ सीमान्तकृत भइरहे, उनीहरूको गीत गाउनुभएको छ ।’ म उनको भनाइले हठात् तानिन्छु । अडिन्छु र गौर गरी सुन्छु ती शब्दहरू । साँच्ची, यसरी त कहिले सुनेको रैनछु उनलाई । ती गीतहरूको भित्री भाव बुझ्ने प्रयत्न गर्छन् उनी र हामीलाई पनि सामेल गराउँछन् । मभित्र पनि उनले भुइँमान्छेका लागि सिर्जना गरेका गीतहरू बुझ्ने र सुन्ने हुटहुटी चुलिजान्छ । अब बुझाइ यात्रामा अघि बढ्नु नै पर्छ । गोपाल योञ्जनका गीतहरूको मर्म स्पर्श गर्नु जरुरी भइसकेको छ ।
उनी हामीमाझ नभएको पनि तेइस वर्ष भइसकेछ । तर, उनी नभएजस्तो कहिल्यै भएन । आज पनि उत्तिकै ताजा छन् उनका प्रेमिल गीतहरू । युवामाझ आज पनि अत्यधिक चर्चित छ, ‘यति चोखो यति मिठो दिउँला तिमलाई माया ।’ देशभक्ति भावले ओतप्रोत, ‘पश्चिम कोही पूर्व घर’ आज पनि गजबले घन्किबस्छ । तर, उनी त प्रेम र राष्ट्रगानमा मात्र सीमित गीतकार होइनन् । उनी त बोम्जनले औँल्याएजस्तै सम्पूर्ण मानवबारे सोच्ने फराकिलो हृदय भएका स्रष्टा हुन्, द्रष्टा हुन् । उनको गीतले अँगालेको तामाङ रैथानेपना, कालजयी, ‘च्याङ्बा होई च्याङ्बा’ले बोलिरहेको छ एकातिर भने अर्कोतिर धुलोको मर्म स्पर्श गर्दै उनी भनिरहेछन्,
फुलेका फूलहरू, बोटमै रमाउन दिनू
झरेछ कोही भने, यो छातीमा सिउरिदिनू
आकाश आकाश नै हो, उठाउनुपर्दैन
दबेको पाउमुनिको धुलोलाई उठाइदिनू
गतिलो बिम्बसहित यति मर्मस्पर्शी रूपमा गीत लेख्नु चानचुन हो त ? पक्कै होइन । यस गीतले उनको समाज र समय चेतनाको एक फराकिलो दायरालाई उजागर गर्छ । वरिष्ठ संगीतज्ञ गणेश रसिकको दाबी छ, ‘गोपाल योञ्जनले नेपाली गीत लेखन र संगीतमा नयाँ धार मात्र भित्र्याएनन्, उनले त कवितात्मक बिम्बसहितका सामाजिक चेतनाका गीत लेखेका छन् । उनले भुइँमान्छेका कुरा उठाएका छन् ।’ निश्चय नै उनको लेखनको यही सामथ्र्यकै कारण ती जहिल्यै विमर्शमा उत्रिने क्षमता राख्छन् । उनको लेखनको शक्ति खासमा यही हो ।
गोपाल योञ्जन एक सफल संगीतकार मात्र नभई एक सामयिक चेतना बलियो भएका लेखक हुन् । उनका गीतहरूको मर्म यदि बुझिएको भए यस संक्रमणकालमा सूर्यबहादुर तामाङजस्ता श्रमिक ढल्ने थिएनन् सडकपेटीमा । लकडाउनकालमा सूर्यबहादुर अस्ताए, रोगले होइन भोकले । यहाँ आकाशको जयजयकार गर्दै दौडिनेको भिड बाक्लो छ । तर, भुइँका धुलाहरू सधैँ उपेक्षामा पर्छन् । धुलो अर्थात् सिमानामा धकेलिएको मानिस, जसलाई साँच्चै जरुरत हुन्छ, सबैको साथको । यस गीतले सूर्यजस्तै धुलोको मानिसको वकालत गर्छ, जसलाई उठाउन जरुरी छ । स्वर, संगीत र लेखन तीनै विधामा समान रूपमा सफल गोपाल योञ्जन सीमान्तकृत वर्गका पक्षधर हुन् ।
दोस्रो जनआन्दोलनको उभारसँगै साठीको दशकबाट सीमान्तकृत जाति, वर्ग र समुदायका विषय बुलन्द रूपमा सतहमा आए । नेपाली समाजमा भित्रिएको राजनीतिक सामाजिक परिवर्तनले एक नवीन सामाजिक चेतना सिर्जना गरिदियो । यही फेरोमा साहित्य, संगीतलगायत विभिन्न सिर्जना विधाहरूले पनि महत्वका साथ सीमान्त आवाजलाई उजागर गर्न थालेको पाइन्छ । तर, चालीसकै दशकतिरै गरिएका गोपाल योञ्जनका सिर्जनाहरू आजको समय अनुहार प्रतिबिम्बित गर्न सक्षम देखिन्छन् । ०४६ सालमा देशले प्रजातन्त्र त भित्र्यायो, तर त्यसले गरिब निमुखा जनताको जीवनमा खास फरक पारेन । दैनिक ज्यालामजदुरी गर्नेको अनुहारमा खुसीका लहर फैलाउन सकेन, बदलिएको राजनीतिक माहोलले त्यस वेला । जब देशमा जनयुद्ध चर्कियो र त्यसको बैठानस्वरूप राजतन्त्रको पतन र गणतन्त्रको स्थापना भयो, त्यसवेला पनि जनतामा ठूलो आशा थियो । तर, फेरि एकपटक विसादपूर्ण विगत दोहोरियो । गरिबको चिसो ढाडमा आज पनि घामको न्यानो पर्न सकेको छैन । विभिन्न राजनीतिक दलको सत्ता र शक्तिको निरन्तरको होडबाजीमा निमुखा जनताहरू घुनझैँ पिसिइरहेका छन् । योञ्जनको यस गीतले यस्तै भाव बोल्छ,
कहाँ पर्यो पूर्व हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो, वैरागी राम
माथि जाने बाटो छैन, समाउने लाठो छैन
आफूलाई त दिउँसै पनि, लाग्छ सधैँ राति
यस गीतको मर्म धेरै नेपालीले व्यहोरिरहेका छन् । गरिब, निमुखा श्रमजीवीहरू पानीसरह आफ्नो पसिना पोख्दा पनि पेटभर खान नपाई क्षयरोगका सिकार भइरहेका छन् । उनीहरूका लागि न माथि जाने ठाउँ छ, न समाउने कुनै हाँगा । भोक, अभाव र दैनिक श्रमभन्दा परको दुनियाँ उनीहरूको नसिब छैन । बिहानीले पनि उज्यालो छर्न नसकेको उनीहरूका लागि न पूर्वको भेउ छ, न पश्चिमकै । देशले गणतन्त्र पाएपछि पनि जनताहरू गरिबी र भोकका कारण दिनदिनै सुक्दै छन्, तर नेताहरूको ज्यान फुक्ने क्रम जारी छ । उनीहरू पहिलेभन्दा झन्–झन् सुकिलामुकिला र मोटाघाटा हुँदै छन् । यस गीतले खासमा ती तमाम श्रमिकको पीडा बोल्छ । देशमा आएका अनेकन् परिवर्तनले नछोएको एक भुइँमान्छेको कथा कहन्छ । संगीतसाधक आभास गोपाल योञ्जनका सिर्जनाबारे भन्छन्, ‘वाज्ञेयकार योञ्जन आममान्छेका संगीतकार, गीतकार र गायक हुन् ।’ उनको गीतमा गुन्जिएको छ, आममान्छेको पीडाको लय । जमिनको कथा बोलेको यस गीत, विसंगत समयप्रतिको योञ्जनको एक शक्तिशाली अभिव्यक्ति हो ।
अन्योलपूर्ण समयको ठिहीले सेकाएको वेला जीवनप्रतिकै वितृष्णा पोखिएका भाव पनि योञ्जनका गीतहरूमा भेटिन्छन् । पीडा, जीवनको एक अभिन्न पाटो हो, जसलाई चाहेर पनि त सिनित्तै पन्छाउन सकिन्न । मन दुखेको बखत, टेक्ने खुट्किला र समाउने साथहरू नपाउँदा, निश्चय नै विचलित हुन्छ मानिस । गोपाल योञ्जन जीवन भोगाइका अनेक पाटा छिचोली अघि बढेका मानिस हुन् । उनलाई प्रेमको न्यानो स्पर्शदेखि असंगत समयले उब्जाइदिने पीडाको राम्रो ज्ञान छ । उनी त्यसैलाई गहनतासाथ लेखिदिन्छन् गीतहरूमा ।
जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको, तिमी आज हेर
उनी जीवनको व्यथा बुझेका सर्जक । जीवन भन्नु घाम र पानीको सन्तुलन भन्ने महसुस गरेका उनले गीतमा उतार्छन्, उही सत्य ।
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम, सयौँ दिनको पानी
घाम र पानीको संगम छ र त जीवन अघि बढेको छ । उनी जीवनलाई बहुत जतनले छुन्छन् । शब्दहरू छानी–छानी प्रयोग गर्छन् । लाग्छ, उनी जीवनलाई अत्यधिक प्रेम गर्छन् । मानवीय अनुभूतिको गर्तभित्रको गुम्फन घरी उनको गीतमा निराशा भई पोखिन्छ भने त्यही अलिक पर पुगेर प्रेमिल लय समाउँछ । सायद त्यस्तै कुनै क्षण बनेथ्यो कालजयी गजल ‘मेरो पाउमा आज...।’ प्रेमको वकालतले जीवनको पनि त पक्ष समाउँछ । जब जीवन छैन, तब प्रेम कहाँ ? योञ्जन जीवनगीतका सर्जक हुन् । उनका गीत जीवनका अनेक आयाम स्पर्श गर्ने सामथ्र्य राख्छन् ।
नेपालीका आफ्नै खाले विशिष्ट खुसी छन् । तर, छन् उस्तै विशेष पीडा पनि । लाहुर जाने चलन या बाध्यताले कहाँ मुस्कान मात्र फक्राइदिएको छ र जनजाति आँखामा । यसले त अथाह वेदना पनि त साथै ल्याइदिएथ्यो । पहिलो र दोस्रो विश्वयुद्धका लागि छानी–छानी पहाडका चिम्सा आँखावाला ठिटाहरू राणाले लाहुर लखेटिदिए । कति मरे, मारिए कहाँ रहन्छ लेखाजोखा ? मात्र देखियो बाँचेका लाहुरेले भित्र्याएको धनदौलत । अनि बिस्तारै लाहुरको हुटहुटी बढ्न थाल्यो युवामाझ । आजपर्यन्त छ, उसैगरी लाहुर जाने चलन । तर, आजकल लाहुरे खाडीको तातो घाममा पग्लिँदै छन् । गोपाल योञ्जनले लाहुरे दुःख पस्केका छन्, उनका कैयौँ गीतमा, जो अत्यन्त मार्मिक छन् ।
घर त मेरो हिमाली पाखा बेसी हो रे
कुन दिनको संयोगले बनेँ लाहुरे
ज्यान हत्केलामा राखी अर्काको देश जोगाइदिने ढाल बनेका लाहुरेका अनेक पीडा छन् । गोर्खाली र साहसका प्रतीक मानिएका उनीहरूको भित्री दुखाइ गनिसाध्ये छैन । झलक सुवेदीले कोसिस गरेका छन्, थोरबहुत बुझ्न, बुझाउन । गोपाल योञ्जनले पनि मनन गरेका छन् लाहुरे कहर । एक उच्छ्वास उनी यसरी पनि पोखिदिन्छन्,
भनिदेऊ नेपाली दाइ, मेरो देश कहाँ पर्यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो
लामो समय विदेशी भूमिमा बिताएकाहरूका लागि आफ्नै देश बिरानो हुन थाल्छ । तर, यस गीतले लाहुरेलाई मात्र नभई आज देशभित्रै बेघर भएकाहरूको पनि आवाज मुखरित गरेको छ । बर्खाको झरीमाझ प्रशासनले नै चितवनका चेपाङहरूको घरवास उठाइदिनु, छाप्रो भत्काइदिनु, कति विडम्बना ! खोइ त देश, समाज र आफ्नो जमिन ती सिमानाका मानिसहरूको ? के उनीहरू कसैको सत्तारोहणका खातिर मात्र केही थान भोट हुन् ? यस्ता अनेक प्रश्न ब्युँताइदिएको छ यस गीतले । प्रश्न हो सत्ताधारीप्रति, जो वीर सहिदहरूको रक्तरञ्जित इतिहासको उपहास गरिरहेछन् र लागिरहेछन् भागबन्डामा । लिप्त छन्, कमिसन र लेनदेनमा । जनता भोकै ढल्दै छन्, मर्दै छन्, आफ्नै घरबाट निकाला हुँदै छन् । यस्ता अनेक बेस्वादे समयलाई मनभित्रै कच्याककुचुक पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अटुट लस्करमा मिसिँदै छन् युवा । आजका अरब लाहुरेहरू खल्तीमा देशको माटो जतनसाथ च्यापेर उड्दै छन् पराइ देश । लाहुर जीवन अनिश्चित छ । कति फर्किन्छन् बोकी केही अँजुली खुसी परिवारका लागि भने कोही बन्द बाकसमा पार्सल भई फर्किन्छन् । योञ्जनले उठाएको लाहुरपीडा आज पनि उत्तिकै पेचिलो छ । अझ कडा पो हुँदै छ, दुःखको स्वाद । र, यी स्वाद चाख्नेमा पर्छन्, उही भुइँमान्छे, उनै धुलोमा छोपिएका ज्यानहरू ।
कुरा यति उप्काइसक्दा म सहजै दाबी गर्न सक्छु, गोपाल योञ्जनका गीतहरू आममान्छेका गीत हुन् । उनी सीमान्तकृत वर्ग समुदायका पक्षधर हुन् । हुन् उनी एक समर्पित देशभक्त र शान्तिपथका यात्री । उनी जित्नुपर्ने युद्ध देख्दैनन् र शान्तिभन्दा पर भेट्नुपर्ने बुद्ध नभएको ठोकुवा गर्छन् । अर्थात् उनी सहअस्तित्व, समानता र सहसमृद्धिको कामना गर्छन् । आजसम्म पनि नभएको त्यति त हो, यस देशमा । कोही ठूलो, सत्ताधारी, शक्तिशाली छन् र त अरूलाई कमजोर, तल्लो दर्जाको ठम्याउँदै दमनतन्त्र मा उत्रिदिन्छ शक्तिकेन्द्र । ऊ किन अरूलाई आफ्नो भाग बाँडोस् ? त्यसैले लामो समयबाट समाज उही गोलचक्करमा छ केन्द्र र सिमानाको । कम्तीमा सर्जकहरूले आफ्ना कलमका माध्यमबाट विभेदरहित समाजका लागि आवाज उठाइरहेछन् । गोपाल योञ्जन तिनैमध्येका एक शक्तिशाली लेखक र संगीतसाधक हुन् । उनले धेरै अघि नै आफ्नो गीतमार्फत आवाजविहीन भुइँमान्छेको आवाज बुलन्द गर्ने काम गरिसकेका छन् । अब हाम्रो भागमा छ, उनैले औँल्याएको धुलोको मर्म बुझ्ने ।