Skip This
खसीदेखि बंगुरसम्म सबै मासुको भाउ अकासियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
अजित अधिकारी काठमाडाैं
२o८३ असोज १२ सोमबार o६:२४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खसीदेखि बंगुरसम्म सबै मासुको भाउ अकासियो

गत चैतमा कुखुरामा बर्डफ्लु देखिएपछि खसीलगायतका अरू मासुको मूल्य बढाइयो, अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o६:२४:oo

बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाउ अचाक्ली बढेको छ । गत चैतमा देखिएको बर्डफ्लुका कारण कुखुराको मासु, कुखुराको अन्डा र खसीको मासुको भाउ बढेको व्यवसायीको तर्क छ । त्यस्तै, राँगा र बंगुरको मासुको भाउसमेत मागअनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढेको कारण देखाएर वृद्धि गरिएको छ ।

४ चैतमा देखापरेको बर्डफ्लु चार महिनापछि असार अन्तिममा मात्रै नियन्त्रणमा आएको थियो । चार महिनासम्म बर्डफ्लु फैलिँदा ठुलो दरले उत्पादनमा ह्रास आएको लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । उत्पादनमा ठुलो कटौती भएका कारण अहिले कुखुराको अन्डाको भाउ तीव्र रूपले बढेको उनको दाबी छ । संघले बुधबारदेखि लागू हुने गरी अन्डाको भाउ प्रतिक्रेट ६१५ रुपैयाँ निर्धारण गरेको छ । यसअघि १९ भदौबाट लागू हुने गरी प्रतिक्रेट ६०५ रुपैयाँ मूल्य तोकिएको थियो ।

‘प्रतिक्रेट ६१५ रुपैयाँ भाउ निर्धारण हुँदा किसानले ५९० रुपैयाँ पाउँछन्,’ उनले भने, ‘उपभोक्ता मूल्य भने अझै पनि प्रतिगोटा २५ रुपैयाँ नै हुने गरी भाउ तय भएको छ ।’असारमा बर्डफ्लु अन्त्य भएपछि साउन लागेयता संघले निरन्तर भाउ बढाइरहेको छ ।

चैतमा बर्डफ्लु सुरु हुनुअघि लेयर्स कुखुरापालक संघले प्रतिक्रेट ५३५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । तर, बर्डफ्लु संक्रमण बढेर खपत न्यून भएपछि मूल्य घटेर ४७५ रुपैयाँसम्म कायम गरिएको थियो । तर, बर्डफ्लु संक्रमण हटेपछि भने माग बढेको, तर उत्पादनमा सुधार नभएकाले मूल्यमा चाप परेको संघको दाबी छ । साउनमा चारपटक र भदौमा दुईपटक भाउ बढाइएको थियो ।

संघका अनुसार देशभर दैनिक ४० लाख गोटा अन्डाको माग छ । तर, अहिले मुस्किलले ३०–३२ लाख गोटा मात्रै उत्पादन भइरहेको छ । ‘मागअनुसार आपूर्ति गर्न नसक्दा मूल्यमा चाप परेको हो,’ अध्यक्ष पोखरेलले भने ।बर्डफ्लुका कारण कुखुराको मासुको खपत ह्वात्तै घटेपछि उपभोक्ताले खसीको मासुको उपभोग बढाएका थिए । मागअनुसार आपूर्ति गर्न नसकेपछि व्यवसायीले पनि ठुलो दरले मूल्य बढाउन बाध्य भएको माछामासु व्यवसायी संघका सचिव बाबुकाजी महर्जनले बताए । ‘बर्डफ्लुका कारण उपत्यकामा कुखुराको मासुको उपभोग ठुलो दरले कटौती भयो । र, उपभोक्ताले खसीको मासुको माग बढाउन थाले । जसकारण मूल्य बढाउन बाध्य भयौँ,’ कलंकी खसीबजारमा व्यापारसमेत गर्दै आएका महर्जनले भने ।

बर्डफ्लु संक्रमणअघि उपत्यकामा खसीको मासुको भाउ ११ सयदेखि १३ सय रुपैयाँ प्रतिकिलो थियो । तर, असारमा काठमाडौंकेन्द्रित बर्डफ्लु संक्रमण तीव्र रूपले फैलिएपछि खसीको मासुको माग उच्च भयो । जसकारण संघले नै असारमै प्रतिकिलो १६ सय रुपैयाँसम्म निर्धारण गरेको थियो । तर, पसलहरूमा भने असारमै खसीको मासुको भाउ १७ सय रुपैयाँसम्म पुगेको थियो ।

अहिले संघले खसीको मासुको भाउ प्रतिकिलो १६ सय ५० रुपैयाँ निर्धारण गरेको छ । तर, पसलहरूमा प्रतिकिलो १८ सय रुपैयाँसम्म बेच्ने गरेको भेटिएको छ । संघका सचिव महर्जनले उपत्यकामा खसीको माग ह्वात्तै बढेको, तर अहिलेसम्म आपूर्ति बढाउन नसकेका कारण मूल्य घटाउन नसकिएको दाबी गरे । ‘उपत्यकाका तीन जिल्लामा दैनिक पाँच हजार खसी–बोकाको माग छ । तर, मुस्किलले दैनिक तीन हजार दुई सयसम्म खसी–बोका आपूर्ति गर्न सकेका छौँ,’ उनले भने, ‘भारतबाट खसी–बोका ल्याउन प्रतिबन्ध भएपछि स्वदेशी उत्पादनले धान्नुपर्ने बाध्यता छ ।’ स्वदेशमा मागअनुसार उत्पादन हुन नसक्दा अहिले खसीको मासुको भाउ नियन्त्रण गर्न नसकिएको उनले बताए ।

तर, कलंकी खसीबजारमा जिउँदो खसीको भाउ बिहीबार भने घटेको उनले जानकारी दिए । ‘जिउँदो खसी प्रतिकिलो ९५० रुपैयाँसम्म पुगेको थियो, तर अहिले नौ सयमा बिक्री भइरहेको छ,’ उनले भने, ‘यद्यपि, यो प्रयासले मात्र खसीको मासुको भाउ घटाउन सक्ने अवस्था छैन ।’ अहिले कुखुराको खपत सामान्य अवस्थामा फर्किएकाले खसीको मासुको भाउ घट्नुपर्ने होइन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले पनि मागअनुसार खसी–बोकाको मासु आपूर्ति गर्न सकिएको छैन । त्यसैले, मूल्यमा निरन्तर चाप परेको हो ।’

व्यवसायीले गरेको तर्कअनुसार बर्डफ्लुका कारण सबैभन्दा बढी कुखुराको मासुको खपतमा असर परेको छ । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार कुखुराको मासुको खपत दैनिक देशभर आठ लाख किलो र उपत्यकामा मात्र पाँच लाख किलो छ । तर, अहिले मागअनुसार पूर्ति हुन नसक्दा मूल्यमा चाप परेको उनले बताए । संघले कुखुराको मासुको भाउ प्रतिकिलो ४१० रुपैयाँ निर्धारण गरेको छ । एक साताअघि भने प्रतिकिलो चार सय रुपैयाँ तोकेको थियो । तर, बजारमा शुक्रबार कुखुराको मासुको भाउ ४४० देखि ४६० रुपैयाँ थियो ।

कुखुराको छातीको मासु मात्रै लैजानेका लागि भने अझ बढी मूल्य पर्ने गरेको छ । बिहीबारका लागि ललितपुरको भैँसेपाटीस्थित ‘आवास कोल्ड स्टोर’ले कुखुराको छातीको मासुको मूल्य प्रतिकिलो ५३० रुपैयाँ निर्धारण गरेको छ । सोही कोल्ड स्टोरले प्यारेन्ट कुखुराको मासुको भाउ प्रतिकिलो ६२० रुपैयाँ र लेयर्स कुखुराको मासुको भाउ प्रतिकिलो ५७० रुपैयाँ निर्धारण गरेको छ । संघका अध्यक्ष बिसीले दसैँमा खसी, बोका, च्याङ्ग्राको खपत बढ्ने तथा होटेल, रेस्टुरेन्ट पनि बन्द भएर कुखुराको मासुको माग घट्ने भएकाले त्यतिवेला मूल्य घटेर आफैँ नियन्त्रण हुने जानकारी दिए ।

बंगुरको मासुको मूल्य पनि प्रतिकिलो ५० रुपैयाँले बढेको व्यवसायीले बताएका छन् । धराने कालो बंगुरको मासुको मूल्य प्रतिकिलो ६ सयबाट ६५० पुगेको र सेतो बंगुरको मासुको मूल्य ५५० बाट बढेर ६ सय रुपैयाँ प्रतिकिलो पुगेको संघले जनाएको छ ।उपत्यकामा दैनिक २५० वटासम्म बंगुर काट्ने गरिएको संघले जनाएको छ । ‘बफ’ र ‘पोर्क’को मागअनुसार आपूर्ति भइरहे पनि ढुवानी लागतमा भएको वृद्धिका कारण भाउ बढेको संघको दाबी छ ।

माछाको पनि भाउ बढेको छ । एकदेखि डेढ किलोसम्मको जिउँदो रहु माछा प्रतिकिलो ४५० रुपैयाँ थियो, अहिले ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, दुई केजीभन्दा बढी तौल भएको रहु माछाको भाउ प्रतिकिलो ६५० रुपैयाँबाट ७०० पुर्‍याइएको छ ।

माछामासु व्यवसायी संघका सचिव बाबुकाजी महर्जनको दाबी–मागअनुसार आपूर्ति गर्न नसकेपछि ठुलो दरले मूल्य बढाउन बाध्य भएका हौँ
उपत्यकाका तीन जिल्लामा दैनिक पाँच हजार खसी–बोकाको माग छ । तर, मुस्किलले दैनिक तीन हजार दुई सयसम्म खसी–बोका आपूर्ति गर्न सकेका छौँ । भारतबाट खसी–बोका ल्याउन प्रतिबन्ध भएपछि स्वदेशी उत्पादनले धान्नुपर्ने बाध्यता छ । स्वदेशमा मागअनुसार उत्पादन हुन नसक्दा अहिले खसीको मासुको भाउ नियन्त्रण गर्न नसकिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराँती भन्छन्–कालोबजारी ऐनको व्यवस्था हटिसकेकाले मूल्य निर्धारण प्रणाली हाम्रो क्षेत्राधिकारमा पर्दैन
व्यवसायीले तोकेकै मूल्य अन्तिम हुने कानुनी व्यवस्था छ । कुन वस्तुमा कति नाफा लिने भन्ने यसअघिको कालोबजारी ऐनको व्यवस्था हटिसकेकाले मूल्य निर्धारण प्रणाली हाम्रो क्षेत्राधिकारमा पर्दैन । त्यसैले पछिल्लो समय अनुगमन गर्दा मूल्यसूची र साइनबोर्ड टाँस गरे–नगरेको तथा तोकिएको मूल्यमा वस्तु तथा सेवा बिक्री गरे–नगरेको विषयमा केन्द्रित हुने गरेका छौँ ।

↑